बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विदेशमा बस्नेको कुरा सुन, स्वदेश फर्काउने उपाय गुन

विदेशमा बस्नेको कुरा सुन, स्वदेश फर्काउने उपाय गुन

वैदेशिक रोजगारमा जानेहरु विदेशी मुद्रा भित्र्याउने साधनमात्र हैनन्, देश निर्माणको बलियो आधार हुन् । देशमा रोजगारी सिर्जना नहुँदा विदेशिएकाहरुको हक–अधिकारको पैरवी गर्नु, रोजगारदाता मुलुकसँग उनीहरुको अधिकार माग गर्नु तथा सहजीकरणमा लाग्नु राज्यको कर्तव्य हो ।


  • Dhorpatan News
  • माघ १५ २०८२, बिहिबार

चुनाव नजिकिएको छ । देशमा के हुँदैछ भन्नेबारे विदेशमा बस्ने नेपालीहरुले दिनहुँ चासो व्यक्त गरिरहेका छन् । देश सप्रे फर्कने अभिव्यक्ति दिइरहेका छन् । टाढा बसेकाहरुले देशप्रति देखाएको असीम मायालाई नजरअन्दाज गर्न मिल्दैन बरु उनीहरुलाई फर्कने वातावरण सिर्जना गर्नुपर्छ । देशमा रोजगारी नहुँदा बाध्यताले नागरिकहरु विदेशिएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार गएको पुस महिनामामात्रै ३१ हजार ७ सय ५० जना रोजगारीको लागि बाहिरिँदा महिलाको संख्या ४ हजार २ सय २० छ । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो अंग्रेजी वर्ष सन् २०२५ को डीसेम्बर १६ देखि सन् २०२६ को डीसेम्बर १६ (पुस महिनासम्म) विभिन्न एजेन्सीबाट २१ हजार ७ सय २३ जना विदेशिएका छन् । यस्तै व्यक्तिगत प्रयासमै ३० हजार ८ सय ९ जनाले व्यक्तिगत रुपमा पुनः भिसा लिँदा दोस्रोपटक विदेश जानेको संख्या ६२ हजार ५ सय ५९ जना नयाँ रहेको छ । कुल १०५ वटा देशलाई उनीहरुले गन्तव्य बनाएका छन् । नेपालीको गन्तव्य मुलुक बनेका केही देशहरु नामै नसुनिएका पनि छन् ।

यति धेरै नागरिकले श्रम स्वीकृति लिनुको अर्थ हो, उनीहरु रोजगारीको लागि मुलुक छाड्दैछन् । युवा जनशक्तिले देश छाड्नु दुःखद हो तर यो नै हाम्रो नियति हो । सरकारी तथ्याङ्क अनुसार करिब ६० लाखभन्दा बढी नेपालीहरु वैदेशि रोजगारीमा छन् । अवैधानिक बाटो प्रयोग गरी विदेशिएका,अध्ययन एवं अन्य प्रयोजन देखाउँदै त्यता लागेका र भारतमा रहेका नेपालीको संख्या यसमा समेटिएको छैन । यति ठूलो जनशक्ति विदेशमा रहनु चिन्ताको विषय हो । यो जनशक्तिलाई नेपाली श्रम बजारले धान्ने र यहीँ उत्पादनशील कार्यमा लगाउन सक्ने हो भने देशले काँचुली फेर्ने थियो तर हामी अभिषप्त छौँ । सत्य के हो भने, वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सले झुपडीका चुल्हाहरु बलेका छन् भने अर्थतन्त्र सन्तुलित बनाएको छ । विदेशी मुद्रा आप्रवाह बढेन भने नेपालको अर्थतन्त्रले ऋणात्मक दिशा लिन्छ । करिब ६० प्रतिशत घरधुरीमा रेमिट्यान्स पुगेको छ भने ४२ प्रतिशत रहेको नेपालको गरिबी १८ मा ओर्लनुमा पनि वैदेशिक रोजगारको विशेष योगदान छ । विदेश गएकाहरुबाट आर्थिक वर्ष २०८२÷०८३ को मंसिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ देश भित्रिएको पनि राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

श्रम स्वीकृति लिनुको अर्थ हो, अर्थतन्त्रलाई यति ठूलो योगदान दिने ती नागरिकले सास्ती पाउँदा राज्यको मन दुख्नुपर्छ । उनीहरुलाई कसरी सहुलियत र सुविधा दिने भन्नेबारे नीतिगत तहबाटै निर्णय गरिनुपर्छ । दक्ष, उत्पादनशील, प्राविधिक जनशक्ति निर्माणमा ध्यान दिन नसक्नु एकातिर बिडम्बना छ भने अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेहरुलाई राज्यले ध्यान दिन सकेको छैन ।

वैदेशिक रोजगारमा जानेहरु विदेशी मुद्रा भित्र्याउने साधनमात्र हैनन्, देश निर्माणको बलियो आधार हुन् । देशमा रोजगारी सिर्जना नहुँदा विदेशिएकाहरुको हक–अधिकारको पैरवी गर्नु, रोजगारदाता मुलुकसँग उनीहरुको अधिकार माग गर्नु तथा सहजीकरणमा लाग्नु राज्यको कर्तव्य हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार ऐन २०६४ र नियमावली २०६४ मा पनि समानुकूल आवश्यक सुधार गर्नेतर्फ ध्यान दिनुपर्छ । बोर्डलाई जागिर खाने वा खुवाउने थलोमा सीमित गरिनुहुँदैन । मन्त्रालयले पछिल्लो समय रोजगारदाता मुलुकबाटै श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरेको जनाएको छ । श्रम स्वीकृतिको लागि पुनः स्वदेश फर्कनुपर्ने बाध्यताबाट मुक्त गराउने यो कदम सकारात्मक छ । अनलाइनबाट गरिने भनिएको यो कार्य व्यवस्थित होस् । श्रम स्वीकृति नलिइ रोजगारदाता मुलुकमा कथंकदाचित कुनै नागरिकको निधन भएमा उसको परिवारले सामाजिक सुरक्षा सेवाबाट पाउने सुविधा पाउनसक्ने वातावरण बनोस् । नागरिकलाई विदेश जानै नपर्ने वातावरण निर्माणमा राज्यको ध्यान पुगोस् । वैदेशिक रोजगारम जानेहरुलाई स्वदेशमै रोजगारी दिने विषयलाई दलहरु घोषणा पत्रमा समेटून् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->