पोखरा/नेपालको नक्साको मध्यतिर देखिने कास्की र लमजुङको नेपाल एकीकरणसँगमात्र हैन,राणाहरुसँग पनि गहिरो साइनो छ । कास्की र लमजुङको राजाकै रुपमा राणाहरुले श्री ३ महाराजको उपमामात्र पाएनन्,१०४ वर्षसम्म शासन–सत्तामा रजगज गरे । तर,लमजुङ र कास्कीलाई केही दिएनन् । राणाबाट केही नपाएको लमजुङले राणाविरुद्ध नै ‘जेहाद’ छेड्यो । त्यो विद्रोह सशस्त्र नभएर सामाजिक थियो,जातीय विभेदसँग जोडिएको थियो ।
त्यो बेला बाहुनले हलो जोत्दैनथे । त्यसको जिम्मा अछूतको काँधमा थियो । पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मुखिया हरिदासले २००४ तिर नै हलो जोतेर राणा शासनको विरोध गर्ने योजना बुनेछन् तर हरिदासको निधनपछि योजना पछि सरेछ । २००६ साल साउन ११ गते चाहिँ लमजुङ दुराडाँडाका शेषकान्त अधिकारीले ‘अनौ’ समाते । अहिलेजस्तो हातहातमा सूचना दिने मोवाइल थिएन । तर,हल्ला छिमेकी जिल्लामा पनि फैलियो । राणाहरुको विरोधमा गरिएको त्यो सामाजिक अभियान २००७ सालको क्रान्तिमा समाहित भयो । राणा फालिए ।
लमजुङको दुराडाँडा अहिले पनि चेतनाको बिगुल फुक्ने ठाउँको रुपमा परिचित छ । तर, २००७ सालको क्रान्तिमा ठूलो योगदान गरेको लमजुङले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने नेता भन जन्माउन सकेको छैन । भूगोलविद डा. हर्क गुरुङले जीवनको एक कालखण्डमा नेता हुने दृष्टता गरे पनि उनी सफल भएनन् । २०७९ को चुनावी नतिजालाई आधार मान्ने हो भने नेकपा एमालेका उपाध्यक्षको रुपमा पृथ्वीसुब्बा गुरुङ लमजुङबाट कुनै राजनीतिक दलको उच्च तहमा पुग्ने नेतामा दर्ज भएका छन् । र,उनै पृथ्वीसुब्बा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि लमजुङबाट उम्मेदवार छन् ।
गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट विस्थापित सरकारका प्रवक्तासमेत रहेका पृथ्वीसुब्बा अघिल्लोपटक लमजुङबाट सहजै विजयी बनेका थिए । तर,सरकारको प्रवक्ताको रुपमा उनले दिएका अभिव्यक्ति, मातृपार्टी एमालेको खस्कँदो अवस्था एवं नयाँ राजनीतिक दलहरुको उदयका कारण उनी अघिल्लोपटकजस्तो ‘सेफ जोन’मा छैनन् । रक्षात्मक बन्दै चुनावी अभियानमा चाहिँ सक्रिय बनेका छन् । एमालेका कार्यकर्ताहरुले चाहिँ उनलाई संकटको बेला राष्ट्रिय राजनीतिको ‘मियो’ बन्ने वैकल्पिक नेताको रुपमा व्याख्या गरिरहेका छन् । एमालेले अध्यक्ष केपी ओलीलाई भावि प्रधानमन्त्री घोषणा गरिसकेको छ । तर, कथंकदाचित संसदमा अध्यक्ष ओलीको अनुपस्थिति रह्यो भने विकल्प पृथ्वीसुब्बा नै हुन उनीहरुको जिकिर छ ।
हो, पृथ्वीसुब्बा यतिबेला लमजुङबाट कुनै दलको शीर्ष नेतृत्वमा पुग्ने एक्ला नेता हुन् । तर,उनी आलोचनामात्र मुक्त छैनन् । अघिल्लो चुनावमा माओवादीका उपाध्यक्ष देव गुरुङलाई पराजीत गर्दै संसद यात्रा सुनिश्चित गरेका पृथ्वीसुब्बामाथि पटक–पटक आफैं उम्मेदवार बनेको र पुस्तान्तरणलाई नसघाएको आरोप छ ।
प्रत्यक्ष निर्वाचन जितेका उनै पृथ्वीसुब्बालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले २०८१ साल असार ३१ गते संचार तथा सूचना प्रविधिमन्त्रीमात्र बनाएनन्,सरकारको प्रवक्ता पनि तोके ।
ओली अलोकप्रिय बन्दै गएका थिए तर पृथ्वीसुब्बा सो सरकारका प्रवक्ता थिए । सरकारको प्रवक्ताको रुपमा उनी ओलीको बचाउमा उभिन थाले । गएको भदौमा सरकारले सामाजिक सञ्जाल बन्द गराउने निर्णय ग¥यो । त्यो जानकारी दिने जिम्मेवारी प्रवक्ताको रुपमा पृथ्वीसुब्बाकै थियो । उनले त्यही काम गरे अनि आलोचनाको तारोमा परे ।
पृथ्वीसुब्बा नवौंपटक संसद यात्राको जमर्को गदैछन् । उनी प्रतिस्पर्धाविहीन छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यहाँ राप्रपाका केविन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङ,नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु,राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी, नेशनल रिपब्लिक नेपालका भरत गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेपाल कम्युनिष्ट पार्टी माओवादीका रवीन्द्र नखोला, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङ, स्वतन्त्र सन्तोष घिमिरे र नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङको उम्मेदवारी परेको छ । यीमध्ये रास्वपाका धर्मराज केसी अघिल्लो चुनावका अनुभवी हुन् भने बाँकी सबै नयाँ छन् ।
पृथ्वीसुब्बा नवौंपटक चुनाव लड्दैछन् । २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा मैदानमा उत्रिएका पृथ्वीसुब्बाले हार र जीत दुबैको स्वाद चाखेका छन् । २०४३ सालमा हारेका उनी २०४८ सालको संसदीय चुनावमा तत्कालीन एमालेको तर्फबाट संसदीय प्रतिस्पर्धामा कांग्रेसका रामबहादुर गुरुङसँग पराजीत बने ।
२०४८ मा उनी कांग्रेसका रामबहादुर गुरुङसँग पराजित भए । २०५१ को मध्यावधिमा पनि उनलाई चुनाव फापेन पुनः रामबहादुरसँग हारे । २०६४ सालमा देशैभर माओवादी लहर आउँदा चाहिँ उनी विजयी बने । २०७० को दोस्रो संविधानसभा चुनाव चाहिँ कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६७२ मतले पराजीत भए । २०७४ सालमा उनले प्रदेश रोजे । प्रदेश मुख्यमन्त्री बने । मुख्यमन्त्रीको कार्यकाल पूरा गर्न पाएनन् ।
आठौंपटक चाहिँ उनलाई पार्टीले संघीय सांसदमा उठायो । माओवादीका देवप्रसाद गुरुङसँगको प्रतिस्पर्धामा ३४ हजार ९ सय ६९ र देवले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे । ३ हजार १ सय ८८ मतले चुनाव जीते । त्यो बेला माओवादीका देवलाई कांग्रेसले सघाएको थियो । कुल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको लमजुङमा त्यो बेला ८० हजार १ सय ९२ मत खस्दा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले २ हजार २ सय ३१ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ चाहिँ एमालेले ३१ हजार १ सय ७८,नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत र माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत ल्याएका थिए । पहिलो संसदीय चुनावमा होमिएको रास्वपाले ८ हजार २ सय १७ मत, राप्रपाले २ हजार ३०८ मत प्राप्त गर्दा नेकपा (एस)ले ५९२,नेसनल मंगोल अर्गनाइजेशनले ४९७ र जसपाले २६१ मत पाएका थिए ।
फागुन २१ को चुनावको लागि कांग्रेस अहिले एक्लै मैदानमा छ । गगन थापा सभापति बनेपछि कांग्रेसले नयाँ उत्साहसाथ एक्लै चुनावी मैदानमा होमिँदै छ भने स्थानीयस्तरमा राम्रो प्रभाव रहेका सादगी गमप्रसाद गुरुङ उम्मेदवार छन् । पृथ्वीसुब्बा र गमप्रसाद एउटै क्हेंलासोथर गाउँपालिकाका बासिन्दा हुन् । गमप्रसादको घर ८ को घाम्राङ हो भने पृथ्वीसुब्बाको ९ को टक्सार । गमप्रसाद नेपाली कांग्रेसको १४ औं महाविधेशनको क्रममा सभापतिमा पराजीत भएका थिए । जिल्ला समिति सदस्य रहेका उनी २०५४ सालमा कांग्रेस फुट्दा चाहिँ शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा थिए । पछिल्लो समय भने उनी सभापति गगन थापा समूहमा छन् । सभापतिमा विजयी डा. टकराज गुरुङ प्रदेशको अर्थमन्त्री भइरहँदा अहिले दुबैबीच मन मिलेको छ । मस्र्याङ्दी पारिका टकराज र वारिका गमप्रसादको मन मिल्दा कांग्रेसीहरु हौसिएका छन् ।
‘गमप्रसाद दाइ भनेको सादगी नेता हो । गाउँमा नै बस्नुहुन्छ । सामाजिक काम गर्नुहुन्छ । दुःख–सुखमा साथ दिने नजिकको मित्र हो उहाँ,’क्हेंलासोथर गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका युवा नेता टेक गुरुङ भन्छन्,‘लमजुङ सीप विकास प्रतिष्ठान, लमजुङको पहिलो सामुदायिक रेडियो मस्र्याङ्दीका संस्थापक उहाँ नै हो । सामाजिक कार्य सँगसँगै आफ्नै गाउँ भोँजेमा जडिबुटी तथा फलफूल खेती गरिरहनुभएको छ । उहाँ जेन–जीले चाहेको र जनताले भरोसा गर्ने नेता हो ।’ हो,टेकले भनेजस्तै गमप्रसाद गाउँमै तीतेपाती र जडीबुटी खेती गरिरहेका छन् ।
उता, योपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टीले लमजुङ सुन्दरबजारका युवा धर्मराज केसीलाई नै मैदानमा उतारेको छ । अघिल्लोपटक छोटो समयको तयारीमा नै झण्डै १० हजार मत ल्याउँदै तेस्रो शक्ति बनेको रास्वपाले अहिले जिल्लाका ७२ वटै वडामा संगठन बिस्तार गरेको छ । धर्मले चुनावी अभियान सुरु गरिसकेका छन् । अघिल्लोपटक परम्परागत शक्तिलाई आच्छुआच्छु पारेका उनीसँग योपटक चुनावी अभियानमा खटिने कार्यकर्तामात्र नभएर रणनीति पनि छ । सामाजिक सञ्जालमार्फत् उनले चुनावी खर्च दिन देश–विदेशमा रहेकाहरुसँग आग्रह गरेका छन् ।
लमजुङमा साविक माओवादीको पनि राम्रै प्रभाव छ । नेपाली कम्युनिष्ट पार्टीले उठाएका हरिजंग तामाङ युवा हुन् । युवामाझ उनको राम्रो पकड छ । ‘जंग’ अर्थात् राप्रपा उपाध्यक्ष हेमजंग गुरुङको गृहजिल्लामा राप्रपा पनि कम्ता छैन । यीमध्ये कसको भाग्यमा विजय लेखेको छ भन्ने कुरा चाहिँ योपटकको चुनावमा लमजुङबाट मतदान गर्ने १ लाख ३७ हजार १ सय २४ मतदाताको हातमा छ ।





