बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देशको आवश्यकता संबोधन गर्ने घोषणापत्र आओस्

देशको आवश्यकता संबोधन गर्ने घोषणापत्र आओस्

अहिले त झन सामाजिक सञ्जालमार्फत् हल्ला फैलाउने र लोकप्रियतावादको बुइ चढ्नेहरुको बोलबाला देखिएको छ । लोकप्रिय हुनका निम्ति सम्भव नै नभएको कुरा बोलिदिने प्रवृत्ति व्यापक छ । दल र उम्मेदवाररुले यो प्रवृत्तिबाट मुक्त हुनैपर्छ । यथार्थमा टेकेर घोषणापत्र निर्माण गरिनुपर्छ ।


  • Dhorpatan News
  • माघ १९ २०८२, सोमबार

चुनाव नजिकिँदै छ । राजनीतिक दलहरु चुनावी घरदैलोमा छन् । चुनावमा होमिएकामध्ये केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने अन्य दलहरुले पनि घोषणापत्र लेख्दै गरेका समाचार बाहिरिएका छन् । घोषणापत्र भनेको राजनीतिक दल र उम्मेदवारको प्रतिवद्धतामात्र नभएर उसले समाजलाई कसरी हेरिरहेको छ भन्ने प्रमाण पनि हो । उसको दृष्टिकोण र दर्शन पनि घोषणापत्रमा समेटिएको हुन्छ । दल वा उम्मेदवारले देशलाई कता लैजाने,आर्थिक र सामाजिक मुद्दाहरु कसरी संवोधन गर्ने भन्ने योजना पनि घोपणापत्रमा समेट्छन् । नागरिकहरुले त्यही घोषणापत्रको आधारमा कसलाई मत दिने भन्ने निक्र्यौल गर्छन् ।

तर, नेपालमा सम्पन्न आवधिक निर्वाचनहरुमा दल र उम्मेदवारले गरेका प्रतिवद्धता चाहिँ कार्यान्वयनमा आउन सकेका छैनन् । यसअघिका चुनावमा चुच्चेरेलदेखि पानीजहाजसम्मका सपना देखाइयो । तर,ती नाराहरु कहिल्यै कार्यान्वयनमा आएनन् । रोजगारी सिर्जनादेखि आर्थिक समृद्धिसम्मका नाराहरु पनि त्यत्तिकै हराए । बोली र व्यवहारमा देखिएको यही फरकका कारण राजनीतिक दलहरुप्रतिको जनविश्वास डग्मगाउन थाल्यो । अहिले त झन सामाजिक सञ्जालमार्फत् हल्ला फैलाउने र लोकप्रियतावादको बुइ चढ्नेहरुको बोलबाला देखिएको छ । लोकप्रिय हुनका निम्ति सम्भव नै नभएको कुरा बोलिदिने प्रवृत्ति व्यापक छ । दल र उम्मेदवाररुले यो प्रवृत्तिबाट मुक्त हुनैपर्छ ।

यथार्थमा टेकेर घोषणापत्र निर्माण गरिनुपर्छ । यस्ता घोषणापत्र लेख्दा विज्ञहरुको सल्लाह लिने, साँच्चै अगाडि सारिएका योजना कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भन्ने विचार गर्नुपर्छ । देश यतिबेला साँच्चै संकटमा छ । विदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ । उत्पादनमूलक उद्योग,कलकारखाना स्थापना हुन सकेका छैनन् । वार्षिक ५ लाखको हाराहारीमा श्रम बजारमा आउने नागरिकहरुले रोजगारी पाउन सकेका छैनन् ।

दुई छिमेकी देशले तीव्र आर्थिक वृद्धिका गरिरहँदा नेपाल चाहिँ अहिले पनि पछौटेपनमै रुमल्लिएको छ ।यसबाट मुक्तिका निम्ति स्पष्ट योजना चाहिन्छ । उत्पादन बढाउनुपर्छ । कृषिको आधुनिकीकरण, उच्च मूल्य दिने बस्तुहरुको उत्पादन र आयात प्रतिस्थापन गर्ने गरी योजनाहरु निर्माण हुनैपर्छ । नेपालको शिक्षा अहिले पनि कारिन्दा उत्पादन गर्नेभन्दा अगाडि बढ्न सकेको छैन । विश्व बजारमा बिक्ने प्रतिस्पर्धी नागरिक तयार पार्ने हो भने शिक्षामा आमूल परिवर्तन गरिनुपर्छ । राजनीतिक दलहरुले यो तथ्यलाई नजरअन्दाज नगरून् । हावादारी सपना देखाउने र जनता झुक्याउने प्रवृत्तिबाट माथि उठून् । नाम जे दिए पनि घोषणापत्र हावादारी गफको पुलिन्दा हैन कि यथार्थवादी होस् । जनआकांक्षालाई केन्द्रमा राख्दै घोषणापत्र कार्यान्वयन गर्छौँ भन्ने प्रतिवद्धता जनाइयोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->