बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य बिमाले पैसा नदिदाँ अस्पताल चलाउन मुस्कील

स्वास्थ्य बिमाले पैसा नदिदाँ अस्पताल चलाउन मुस्कील


  • अमृत बास्कुने
  • माघ २० २०८२, मंगलबार

म्याग्दी/  २०८२ बैशाख देखि स्वास्थ्य बिमा मार्फत प्रदेश अस्पताल बेनीले पाउनु पर्ने रकम पूर्ण रुपमा भुक्तानी नआउँदा अस्पताल चलाउनै मुस्कील भएको छ ।

आफ्नो स्वास्थ्योपचारमा आर्थिक सहजताका लागि स्वास्थ्य बिमा गरेका नागरिकहरुको उपचार गरेको तथा औषधिको रकम प्रदेश अस्पतालले सबा तीन करोडभन्दा बढी पाउन सकेको छैन । बैशाखदेखि यता झण्डै एक वर्षकै स्वास्थ्य बिमा तथा ‘डाइलासिस’ बापतको तीन करोड २६ लाख भन्दा बढी भुक्तानी नपाउँदा अस्पताल अब आफै बिरामी जस्तो अवस्थामा पुगेको बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले जानकारी दिए । बैशाखदेखि पुस मसान्तसम्म डाइलासिस तर्फको बिमा ४५ लाख ७५ हजार र स्वास्थ्य बिमा तर्फ दुई करोड ८० लाख ९५ हजार चार सय ८५ गरी कुल तीन करोड २६ लाख ७० हजार चार सय ८५ रुपियाँ भुक्तानी पाउन बाँकी रहेको डा. बाँस्तोलाको भनाइ छ ।

बेनी अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीहरूको स्वास्थ्योपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नदिँदा अस्पतालले भुक्तानी पाउनु पर्ने रकम बढ्दै गएको हो । बेनी अस्पतालले पाउनु पर्ने स्वास्थ्य बिमाको रकम भुक्तानी नपाँउदा फार्मेसीका लागि आवश्यक औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा.बाँस्तोलाले बताए । रकम भुक्तानीका लागि ताकेता गर्दा पनि सुनुवाइ नभएको उनले जनाए । हालैमात्र स्वास्थ्यमन्त्री डा.सुधा गौतमलाई अस्पतालको समस्याको बारेमा कुरा राखेको र उहाँले समाधानकालागि प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको भएपनि अरु केही प्रगति नदेखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बताए ।

‘स्वास्थ्य बिमा गरेका बिरामी समस्या पर्दा अस्पताल आइपुग्नु हुन्छ, सेवा दिनै पर्छ, तर बोर्डले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ’, डा.बास्तोलाले भने । अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब भने मुस्कील देखिएको उनको भनाई छ ।

स्वास्थ्य बिमामा आवद्ध म्याग्दी जिल्ला र पर्वतको जलजला गाउँपालिकाका अधिकांश नागरिकले अस्पतालबाट सेवा लिन्छन् । स्वास्थ्य बिमा बोर्डले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बानियाँले गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->