
म्याग्दी/ पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान शुरु हुनु भन्दा केही समय पहिला हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि भ्याक्सीन सम्बन्धी सरोकारवाला तथा सञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यक्रममा आइतबार प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले स्वास्थ्यकर्मीको मृत्यु भएको जानकारी गराएका हुन् । आफूलाई देखिएको लक्षणअनुसार चेकजाँचमा ध्यान नपुग्दा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान नहुँदा स्वास्थ्यकर्मीकै मृत्यु भएको उनले बताए ।
म्याग्दी जिल्लामा यस पटक एचपिभि खोप अभियानमा कक्षा ६ मा अध्ययनरत बालिकाहरुलाई एचपिभि खोप दिन लागिएको हो । गत वर्ष छुट भएका कक्षा ७ देखि १० सम्म पढ्ने बालिका र समुदायमा भएका ११ देखि १४ वर्षका बालिकालाई पनि यस पटक भ्याक्सीन दिन लागिएको हो ।
यस वर्ष बेनी नगरपालिकामा ३३४ जना, मंगला गाउँपालिकामा ११०, मालिका गाउँपालिकामा १७८, धौलागिरी गाउँपालिकामा १४०, रघुगंगा गाउँपालिकामा ७८ जना र अन्नपुर्ण गाउँपालिकामा ६४ जना रहेका छन् । त्यसैगरी मंगला गाउँपालिकामा दुई जना, धौलागिरीमा एक जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी विद्यालय नजाने बालिका गरी कुल नौ सय २३ जनालाई खोप लगाइँदै छ ।
उक्त अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले क्यान्सरले विरामीका साथ परिवारलाइ पनि आर्थिक, सामाजिक र मानसिक रुपमा समेत कमजोर बनाउने बताए । उनले क्यान्सरले गरिबी बढाउने भन्दै यसको रोकथामका लागि सचेतना बढी आवश्यक हुने धारणा राखे ।





