बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिउँ, कलम र कथाकार

हिउँ, कलम र कथाकार


  • देवेन्द्र चिनार
  • फाल्गुन १ २०८२, शुक्रबार

केहि महिना बिते । कथा जन्मिन सकेको छैन ।
महिनौंपछि……….
घामले आकासको उकालो बाटो हिंडेर तेर्सो बाटो समात्ने बेलातिर घामको चउरभरि मैलो बादल मडारिन थाल्यो । टुकुचेबाट कागवेनीतिर हुइकिंदै गरेको वतास पनि थाकेछ क्यारे, भरिला बैंशका हाँगा पनि थपक्क बसे । धौलागिरीले मैलो बादलको मजेत्रो ओढ्यो । नीलगिरीले पनि उस्तै पछ्यौराले ढाक्यो । अनि आफ्नो श्वेत जवानी छोप्यो ।
त्यो दिन हिउँ नपरेको भए पनि हुने । तर पर्यो नै ।
जोमसोममा म घुलिसकेको थिएँ । चिसो पानीमा डावर ग्लुकोच घुलेजस्तो । भर्खर खाना खाएर मुनामदनको राजमार्गमा मदनसँग भोटतिर जाँदै थिएँ, त्यही बेला छेउमै सुतेको मोबाइलले शंखध्वनीको आवाज बजायो । त्यो आवाजमा न्तराको हिउँ खेल्ने आग्रह मिसिएको थियो । सँगै भोट जाँदै गरेको म मदनलाई बीच बाटोमै छो८र निस्किएँ हिउँले निम्तो मान्न ।
जोमसोमको मेरो पहिलो हिउँ अनुभव, मलाई भोट जाँदै गरेको मदनभन्दा बढी प्यारो लाग्यो–हिउँको बर्षा र अन्तराको हिउँको होली खेल्ने आग्रह ।
झरी मलाई सबैभन्दा बढी मन पर्ने याम हो । असार साउनको झरीमा आमाको आँखा छलेर बारीतिर गएर रुझ्नु मेरो बाल्यकालको सबैभन्दा ठूलो शोख थियो । बाल्यकाल हुर्किंदै गयो तर झरीमा रुझ्ने मेरो बानी हरेक असार साउनमा उही रह्यो, उस्तै रह्यो । बर्षे छुट्टि सकिएपछि स्कूल जाँदा झरी परेको दिन म असाध्यै खुशी हुन्थें । स्कूल जाने रहरले होइन, एक रुपियाँको बरफ खाने रहरले पनि होइन अनि र्यापुञ्जेलसँग आँखा जुधाउने रहरले पनि होइन । प्यारो झरीमा रुझ्न पाइने भयो भनेर खुशी हुन्थें । तर आमाको आँखा अगाडी रुझ्न त कहाँ पाउनु र ?
आमा सधैंजसो भन्नुहुन्थ्यो–बाबु तिमीलाई सानोमा निमोनिया भएको हो, धेरै चिसोमा नबस्नु है । म हस् भन्थें आमाको अगाडी । तर न–हस हुन्थ्यो झरी परेपछि ।
झरी परेको दिन स्कूल जाँदा घरबाट केराको पात ओढेर निस्कन्थें, आमाको आँखा शीतल बनाउन तर मेरो मन भने भौरो जस्तो हुन्थ्यो । स्याङ्ग खोला तर्ने बित्तिकै किताब र्यापुञ्जेलको हातमा थमाउथें र केराको पातलाई बडहरको फेदमा । स्कूल जाँदा रुझ्दै गयो भनेर अनि स्कूलमा छुट्टि भएको बेलामा पानीमा रुझ्यो भनेर कति पटक उजुरी पर्यो मेरी आमाको इजलासमा तर अहँ मेरो बानी भने फेरिएन । बारबार ति उजुरी पन्छाउने बहाना जुरी नै रह्यो । पछि त यस्तो लाग्थ्यो–उजुरी भनेको बहाना जुरी पनि हो । अर्को बहाना बनाउन पाइने ।
जोमसोमको हिउँ वर्षाले रोक्न सकेन मलाई चुकुल लगाएको कोठाभित्र अनि सँगै हिंड्न दिएन मदनसँग भोटतिरको यात्रा पनि ।
स्वर्ग अनुभव कस्तो हुन्छ ? यो प्रश्नको सही जवाफ यो ब्रह्माण्डमा सायदै पाइएला । स्वर्ग हुन्छ या हुँदैन ? कसले दिन सक्छ जवाफ । तैपनि काठेपुलको छेउमा भेटिएपछि खेलेको हिउँको होली, ओढेको हिउँको आकास, टेकेको हिउँको चउर, रुझेको हिउँको झरी र अन्तरासँग साटेको हातको पञ्जा र गलाको गलवन्दीको अनुभव स्वर्गको गुलियो अनुभवभन्दा कम गुलियो लागेन ।
हिउँले रुझाइरह्यो ।
म रुझिरहें ।
अन्तराले साथ दिइरही । हिउँमा रुझेर ।
अन्तराले बेलाबेला हिउँ उठाएर फ्याँक्थि मेरो जीउभरी । अनि हुन्थ्यो हिउँको सेम टु यु ।
सेम टु यु को यात्रा जीपपार्क, जनहित स्कूल, एफएम स्टेशन हुँदै ठिनीको गाउँमा पुग्यो । तर धरतीलाई पुगेन हिउँसँगको रोमान्स । मेरो मनलाई पुगेको थिएन हिउँको झरीमा रुझ्ने रहर । आँखालाई पुगेको थिएन सेताम्य धरती हेर्ने रहर, सिख्रा स्याउका बोट र खेतभरीको उवालाई पुगेको थिएन तिर्खा मेटाउने पानी । अन्तरालाई पुगेको थिएन हिउँको लोला बनाएर मलाई हिर्काउन ।
“चि…..सो भयो, चाउचाउ खाउँ है ।” ठिनीको एउटा रेस्टुरेण्ट अगाडी पुगेपछिको अन्तराको आग्रह थियो यो ।
आग्रह नकार्न सकिन । चिसोमा तातो आग्रह नकार्ने कुरा पनि भएन ।
झरीरहेको हिउँको झरीलाई सि यु अगेन भन्दै भित्र पस्यौं, रेस्टुरेण्टमा ।
ठूलो कोठा थियो । भित्र पस्नेबित्तिकै बाायाँपट्टि चाइनिज चूल्होमा बसालेको कित्लीबाट पानी उम्लिरहेको वाफ बाहिर निस्किरहेको थियो । चूल्हो अगाडी एक लहरमा बसेका थिए केही लोग्नेमान्छेहरु । भित्ताको अर्को लहरमा काठको तख्ताभरि हार मिलाएर राखिएका थिए हिउँजत्तिकै सुकिला भाँडा । आखिर थकाली न परे । भाँडा मिलाउन र मीठो पकाउन कसले पो बाजी मार्नु र । ढोकाको सिधा अगाडीको भागको भित्ताभरि टाँसिएको थियो–ल्हासाको शहर ।
सम्झें–मदनलाई नछाडेको भए पनि यतिबेला म ल्हासा पुगिसकेको हुन्थें होला । र उसलाई बीच बाटोमै छाडेर अन्तराको हात समाउँदै हिउँमा हिंड्दा पनि ल्हासा नै आइपुगें । यसो हेर्दा ठ्याक्कै जोमसोमजस्तै देखिंदो रहेछ ल्हासा–नदी, बजार र नाङ्गा डाँडाको रुपमा ।
“टसी ढेलेक” गर्दै उठे सम्लेको पेम्बा दाइ ।
“टसी ढेलेक” गर्दै मिलाएँ हात र बसें अर्को मुढा तानेर, उसकै छेउमा ।
अँ त साँच्चि अन्तरा पनि थपिइ, अलि पछाडीपट्टिको बसाइमा, ढोका दिदीको दाहिनेपट्टि ।
मौसमले च्यालेन्ज गरो र पो त यसो सुरु गरेको नि सर । उनै पेम्बा दाइले सुरु गरे उवाको जिनीसको कुरा ।
हुन त थकालीलाई जातैले दिएको कुरा हो, तर किन मौसमले च्यालेन्ज गरेको बहाना बनाएका होलान् कुन्नि ? मसँग तत्काल जवाफ थिएन ।
एसो हेरें याकको सुकुटीसँग उवाको जिनीस पिउँदै थिए ।
अन्तराले चाउचाउ खाने आग्रह गरेपछि भित्र छिरेको । मौसमले मलाई पनि च्यालेन्ज गरेजस्तो लाग्न थाल्यो । आखिर, मौसमले च्यालेन्ज गरेपछि मौसमलाई च्यालेन्ज फर्काउन मैंले पनि सिकिसकेको थिएँ–जोमसोमको बसाइमा ।
कैलाश चियाको विज्ञापनको सूक्तिजस्तो भयो । मुड चेन्ज भयो तुरुन्तै ।
अन्तरा तिमी चाउचाउ खाउ, म अलिकति उवाको खान्छु है । भनें अन्तरालाई ।
केही बोलिन । ओखरका दानाजत्रा आँखा तीखो पारेर पसारी मतिर । देव्रेतिरको ओंठको कुना लाम्चिएर कानतिर आउँदा देब्रे आँखाको कुनातिर अलिकति मुजा पर्यो ।
टेरिन उसका तीखा आँखा र रायोको पातजस्तो आँखाको कुनालाई पनि । रित्तो गिलास मागेर नीलो जगबाट भरें–उवाको उही सोमरसी सर्वत ।
थाहा थियो–अब अन्तरासँग आँखा जुधाउन बर्जित छ । मनाही छ उसँग बोल्न । र कफ्र्यू छ उसको बारेमा सोध्न । र पनि बिचार गरिरहें ।
उसको लागि चाउचाउ पाक्दै गरेको भन्ने थाहा पाए पनि उसले कति खाइ र कसरी खाइ भन्ने ख्याललाई दुई गिलास उवाको जिनिसले नै खाइदिएको थियो त कसरी चाल पाउनु ।
मौसमलाई राम्रैसँग च्यालेन्ज फर्काएपछि पुर्लुक्क हेरें अन्तरालाई– मलाई नै हेर्दै थिई उस्तै आँखा उस्तैगरी पसारेर ।
लाज लाग्यो ।
र, लाज लागेन पनि । बरु उवाले लाज नै बगाएर लगेजस्तो लाग्यो–तल उवा उम्रेको खेतको गरातिर ।
साहुनी पैसा कति भयो भनेर सोधेको, कर्म छिरीङ्गले मलाई पैसा तिर्नै दिएनन् । दिएनन मलाई आफ्नै गोजीको आफ्नै पर्सभित्रको पैसा झिक्न पनि ।
निस्क्यौं बाहिर ।
उही बाटो फर्कियौं जोमसोम, जुन बाटोभरि ठिनी जाँदा हाम्रो होली उत्सब रंगिएको थियो ।
फर्किंदा न अन्तराको आँखामा आँखा जुधाउने हिम्मत भयो, न अन्तरा भनेर सम्बोधन गर्ने नै ।
हिउँको झरी उस्तैगरी झरिरहेको थियो ।
रुझाइरह्यो ।
रुझिरहें ।
रुझिरह्यौं बाटैभरि ।
मौनम् शरणम् गच्छामी भन्दै मनमन गुन्दै हिंडेका हामीलाई हिउँ र बतासको बहेलीले भने जिस्काइरहेजस्तो लाग्यो ।
फर्कंदा मेरो भन्दा पहिले अन्तराको कोठा आइपुग्थ्यो । नबोलीनबोली उसैको कोठामा गयौं ।
बाहिर हिउँको झरी रोकिने कुनै छाँटकाँट देखिन्थेन ।
बाटोभरि जति नबोलेपनि कोठाभित्र नबोली रहन कहाँ सकिन्थ्यो र । उसैमा पनि ब्रह्माका भिन्न भिन्न जैविक प्रकृतिका सजिब चित्र ।
अन्तराले मकै भुट्न थाली । म भने अघि बाटैभरि खिचेका फोटा हेर्न थालें ।
उसले ति फोटा हेर्न र मकै खान उसका अरु साथी नबोलाएको भए हुने । उसको कोठामा उ र म बाहेक अरु कोही पनि नभैदिएको भए हुने । ढोकाको चुकुल आफैं लागिदिएको भए हुने । फोनको टावर पनि त्यही बेला गैदिएको भए हुने । तर त्यस्तो केही भएन ।
मकै भुटेर मिल्क कफी तयार पार्दापार्दै आइपुगे उसका अरु साथी पनि ।
त्यो गोरी साथीसँग मेरो बोलचाल नभएको भए पनि हुने । मैंले नमस्ते गरेको बेला उसले नमस्ते नफर्काएको भए पनि हुने । परिचयको पिङ्ग नखेलेको भए पनि हुने ।
सेतो कमिज र कालो जिन्स पाइण्ट लगाएकी थिई उसकी त्यो गोरी साथीले ।
नमस्कार म चिनार । रोङ्गवा हुँ । यति भनेर दिएँ आफ्नो परिचय ।
नमस्कार है । मेरो नाम याङ्जिन ल्हामु । उसले पनि बताइ आफ्नो पहिलो परिचय ।
परिचय अरु साथीहरुसँग पनि भयो तर मलाई भने अझैसम्म पनि उसको परिचय मात्रै याद छ । कुन्नि किन हो ।
हाम्रो रोङ्गवा साथीको घर कता हो त नि अन्तरा ? याङ्जिनले अन्तरालाई सोधेको प्रश्न थियो यो ।
कफीका गिलास सबैका अगाडी राख्दै गरेको बेला अन्तराले भनी– सोध्न उसैलाई ।
अन्तरा मलाई तँ भनेर भन्थि पहिलेदेखी नै ।
मैंले भनेको नसुने झैं गरें र अघिका फोटातिर आफ्नो सबै ध्यान खिचेको जस्तो गरें ।
कफीको गिलास उठाएर एक मुठी मकै मुखमा हाल्दै गर्दा सोधें–याङिजनको घर कहाँ हो नि ?
अपर मुस्ताङ्ग हो । यहाँ पढ्न बसेकी । कोठा लिएर बसेकी छु । अनि तपाईं ? बताई र सोधी फेरी ।
उसले पहिलोचोटी कफीको गिलास ओंठमा पुर्याउँदै गर्दा भनें– घर त गुल्मीतिर हो । यहाँ घुम्न आएको । यतै पो हराएँ म त तीन तीन महिनासम्म ।
क्याहो, अन्तराको घरमा माक्पा बस्ने हो कि कसो हो ?
माक्पा त नबस्ने । भनें मैंले । जामेसोमको बसाइमा बुझ्न थालेका केही थकाली शब्दहरुमध्ये माक्पा पनि एक थियो ।
उसो भए मागेरै लैजाने हो त ? यो पनि रोङ्गवा हुने भै है । बोली दुर्गा ।
धेरै नबोल है तिमीहरु । के के भन्न सकेको होला । उ मेरो साथी मात्रै त हो नि । मनमा त के थियो कुन्नि, भन्न चाहिं त्यही भनि अन्तराले ।
चुप लागे सबै । तर मेरो मन भने ४ डिग्री सेन्टिग्रेड तापक्रमको पानी जस्तो भयो । अलिकति ताते पनि भाँडाबाट पोखिने, अलिकति चिसिए पनि भाँडाबाट पोखिने ।
धन्न । पोखिनुपरेन मलाई कुनै भाँडोबाट पनि ।
सकियो गिलास गिलासको कफी र थालभरिको मकै पनि ।
तर सकिएको छैन त्यो दिनको अरु कथा ।
बाहिर हिउँ पर्न रोकिएको थियो । भनिरहनु नपर्ला सारा धरती सेताम्य थियो भनेर । जता हेरे पनि सेतै । त्यो दिनभरि भेट भएका मान्छेको मन कस्तो थियो हेर्न सकिएन तर अरु देखिनेजति सबै सेतै थियो । याङ्जिनको दाँतजस्तै ।
आकास सरकारी स्कूलको ड्रेस सर्टजस्तो रहिरहेको भए बतासेडाँडामाथि घाम पुग्ने बेला हुन थालेको थियो । घरघरका आँटीमा छतमा मान्छे बेल्चा लिएर हिउँ बाटोतिर फ्याँक्दै थिए । शख्खरको माटोले लिपेको घरको छतबाट हिउँ पग्लिएर भित्र रसाउला भन्ने डर थियो सबैलाई ।
त्यहाँबाट छुट्टियौं र लाग्यौं आआफ्नो कोठातिर ।
भर्खर कोठामा आइपुगेको थिएँ, घरबेटी दाईले सुनाउन भ्याइहाले–क्या हो पाण्डे भाइ आज त ठिनीतिर मौसमलाई च्यालेन्ज गरिएछ नि ।
लौ जा थाहा पाइहालेछन् नि ।मनमनै सोचें ।
भनें– मौसमलाई च्यालेन्ज गरेको हैन दाई, मौसमले च्यालेन्ज गरेर बदला तिरेको मात्रै हो ।
हिउँ पर्दा जाडो हुँदैन । हिउँ परिरहँदा जाडो हुँदैन । जब हिउँ पर्न रोकिन्छ र बतासेडाँडातिरबाट हावा जहाजकै गतीमा बत्तिंदै बग्न थाल्छ, अनि थाहा हुन्छ चिसो के हो ? मुस्ताङ्गको जाडो के हो ? भन्ने कुरा ।
बतास चल्न थाल्यो । ए साँच्चि बतास होइन, हावा चल्न थाल्यो । पहाडतिर चैत–बैशाखमा चल्ने गतीको बतास जोमसोममा लगभग हरेक दिन चल्छ त कसरी भन्नु त्यसलाई बतास भनेर । त्यसको नाम हावा हो र त्यही नाम नै सुहाउँछ त्यसलाई ।
बाहिर बडो वेगले हावा चल्न थाल्यो, एसो छिद्र पायो कि त कोठाभित्र पसेर मुटु थुरुरुरु पारिहाल्थ्यो । झ्याल ढोका सबैको चुकुल लगाएँ, स्लिपिङ्ग ब्यागको चेन अन गरें, आफूलाई त्यसैभित्र अफ गरें, माथीबाट फेरी ब्लांकेट थपें २ ओटा । अब जाडोको बाउ नै आए पनि केही लछार्न सक्दैन भन्ने कुरामा ढुक्क जस्तै भएँ । ढुक्क चाहिं होइन । के बेर फेरी कतिबेला कताको बाटो हुँदै चिसो हावा बग्ने हो र भेटाउने हो कोठाभित्र छिर्ने सानो चर । तैपनि आसा लाग्यो अब निदाउन सकिन्छ । अब गर्नु बाँकी एउटै काम थियो–मोबाइलको डाटा अन गर्ने ।
गरें ।
फेसबुक खोलें । सर्च गरें–याङ्जिन ल्हामु ।
एउटै पनि भेटिएन फेसबुकको सर्च बारको नतिजामा । मुटु त बल्ल पो कठ्याङ्ग्रियो ।
त्यही बेला अन्तराको मोबाइल सन्देश नआएको भए झनै कठ्याङ्ग्रिनथ्यो होला मुटु तर एकैछिनलाइ नहल्लि बस्न पायो । सोध्दै थिई– के गर्दै हो देव ?
रिप्लाई गरें– म त निदाइसकेछु । मेसेजले मोबाइल घ्यार्र गर्दा पो ब्युझिएँ । अनि तिमी के गर्दै छौ त ?
तत्काल जवाफ आयो– खाना बनाउँदै छु ।
झसङ्ग भएँ–खाना त मैंले पनि पकाउनुपर्ने होला । मैंले पनि खानुपर्ने होला । अन्तराले भुटेका मकैले रात त नकट्ने होला ।
अल्छी अल्छी गरेरै भए पनि उठें । र्याकबाट भाँडा भिकें । कुक्करको विर्को भुईंमा खसेर चर्को आवाज गरेको घरबेटी दिदीले सुनिछन् क्यारे , अल्छीले बल्छी थापेजस्तै भयो । खाना घरवेटी दिदीले पकाएको नै खाने भइयो।
फेरी आफैंलाई अफ गरें स्लिपिङ्ग ब्यागभित्र । अफ गरें आँखाका परेली पनि ।
राती ल्हामु आई ।
ढोका ढकढकाउँदै आई ल्हामु । आँखाको ढोका । मनको ठुलो ढोका । पाल्पा दरबारको भन्दा पनि ठूलो ढोका ।
भोलीपल्टको बिहान । घाम उदाएको बिहान । एकाबिहानै धौलागिरी राताम्य देखिएको बिहान । आकास नीलो देखिएको बिहान । बादलका भुल्का राँटा केही पनि नदेखिएको बिहान ।
जोमसोमका प्रत्येक घरका मान्छेसँग परिचय भैसकेको थियो । कथा लेख्न आएको रोङ्गवा भनेर भन्थे रे मेरो बारेमा आफु–आफू कुरा गर्दा । प्रत्येक कर्मचारीसँग पनि परिचय भैसकेको थियो । प्रायः सरकारी कर्मचारीको बिहान सुरु हुन्थ्यो– होटल माउण्टेन ब्रिजमा पाक्दै गरेको चियासँगै । म पनि त्यहाँको चियाको नियमित ग्राहक भैसकेको थिएँ । र कहिलेकाहीं बेलुकीको सियाको ग्राहक पनि । कहिले सरकारी कर्मचारीसँगै र कहिले अरुसँग पनि ।
माथिल्लो तलाको हटरुममा बसेर चिया पिउँदै थिएँ । चियासँगै बोनसमा पाइने मकै पनि थियो । एक थाल मकै । ठेला नभेटिने मकै ।
अलि परको कुर्चि टेबल ओगटेर टोष्ट र चियाले पेट भर्दै गरेको युवकसँग भेट भयो । आँखाको भेट । कपाल चाउचाउ जस्तो देखिन्थ्यो उसको । दाह्री पनि लामै देखिन्थ्यो । अनुहार टुकुचेको बगरजस्तो–फुङ्ग उडेको । आँखामा कुनै उदासी भाव सहजै अनुमान गर्न सकिन्थ्यो । मनमा ठूलै हुरी चलेको पनि अनुमान गर्न गाह्रो हुन्थेन उसलाई देखेपछि । कालो टिसर्टमा छातीको भागमा लेखिएको थियो– वयmकयm mबमभ mभ धचष्तभच
लौजा ! कथा लेख्न भनेर जोमसोम आएको म , अर्को लेखकसँग पो जम्काभेट भयो । मीत लाइहालुँजस्तो लाग्यो । तर लगाइन ।
बोलिन । केही पनि बोलिन उसँग । हेरिरहें । सबै हेरिरहें । कायाकैरन हेरें उसलाई । हेरें उसले खाँदै गरेको परिकारलाई । प्लेटको टोष्ट र कपको चिया सकिएपछि नीलो जिन्स पाइण्टको अगाडीपट्टिको खल्तीबाट सूर्य चुरोटको मिनिप्याक झिक्यो । त्यसबाट एउटा खिल्ली झिक्यो । अनि लाइटर खोजेजस्तो गर्यो ।गोजीमा छामछुम गर्यो। तर भेटेन ।
सर त्यो सलाई दिनुस न । उसले बल्ल मलाई हेरेर भन्यो ।
म पनि कुन ड्याङ्गको मूला परेछु कुन्नि । यत्तिञ्जेल आफ्नो अगाडीको टेबलमा सलाई भएको मेसो नै पाएको रहेनछु ।
दिएँ । टपक्क उठाएर उ नजिकै गएर हातमै दिएँ ।
यहाँको यो सेवाको लागी म के दिउँ ? उसले मनकारी मन भएजस्तै देखायो , बोलीमा ।
जोगीलाई खरानी माग्न लाज हुनुपरेन क्यारे । झिक्नुस अर्को खिल्ली । उसले त्यो बेला जे दिन सक्थ्यो त्यही नै मागें ।
हेर्यो । सरसर्ती हेर्यो मेरो आँखामा । अनि घटायो मिनिप्याकको गोदाम ।
कहाँबाट घुम्न आउनुभएको हजुर ? उसलाई सोधें ।
दोलखाबाट । उसको छोटो जवाफ ।
ए…. दोलखाबाट आउनुभएको रैछ र पो त ल खा भनेर दिनुभएको भनेर फिस्स हाँसें ।
शब्द खेलाउने गज्जबको बानी रैछ हजुरको । उसको मुखको बाटो बाहिर निस्किएका शब्द थिए यि ।
हामीले खेलाउने नै शब्द त हो हजुर । जीवन त अर्कैले खेलाएर झुत्रोझाम्रो बनाइदिन्छन् । अब उसको मन हान्नु थियो नि त मलाई ।
वाउऽऽऽ गज्जबको कुरा गर्नभयो त हजुर ।
गज्जबको मान्छेसँग के अगज्जबी कुरा गर्नु नि भनेर पो त ।
मेरो शिरमा कसरी गज्जबको मुकुट पहिरिएको देख्नुभयो र ?
शिरमा हैन । छातीमा देखें ।
हँ ??? म त केटो मान्छे पो । केटाको छातीमा पनि मुकुट हुन्छ त ?
कसको मा हुन्छ त छातीमा मुकुट ?
अफकोर्स केटीको । भन्यो र लामो हाँसो हास्यो ।
नाईं । इन्कार गरें उसको यो जवाफ । र थपें–केटीको छातीमा त कलि हुन्छ ।
मुकुट पनि त कलि नै हो नि , हैन र ? हान्यो उसले पनि । परीक्षितलाई सम्झनु त । उनको मुकुटमै हैन कलि बसेको ? अकडिङ टु शास्त्र, कलि बस्न सुरु गरेको नै मुकुटमा हो । भर्जिन मुकुटमा कलि बसेर मुकुटको भर्जिनिटी हराएको हैन ? के म गलत छु ?
अँऽऽऽ नाईं गलत हुनुहुन्न । तर तपाई को हो ?
को जस्तो लाग्छ र म ?
खै भर्खरको उत्तरले त कुमार नगरकोटी हो कि जस्तो लाग्यो त ।
को कुमार नगरकोटी ? त्यही चिन्डे टाउकोवाला नगरकोटी ?
अँ त्यस्तै लाग्यो । कस्तो ठ्याक्कै उही नगरकोटीको जस्तो शब्दावलीको हार छ त तपाईंको उत्तरमा ।
मृत्युलाई पहेंलो टोपी लगाएर आएको देख्ने नगरकोटी हैन म । ऋग्वेद नामको मेरो कुनै साथी पनि छैन । मलाई माउसुली मन पर्दैन । म काठमाण्डुलाई कुनै भ्रम पनि देख्दिन । प्लस प्लस लेख्दै कथामा मान्छेको संख्या, सरी सरी पात्रको संख्या बढाउने बानी पनि छैन मेरो ।
ए….उसो भए कुन कोटी हो त तपाईं हजुर ? तेत्तीसकोटी नै त होइन ?
नाईं हैन । कोटी त कोटी नै हुँ । तर राजकोटी ।
राजकोटी कि राजकोठी ?
राजकोटी । कुमार राजकोटी ।
देख्दा त कुमार लाग्दैन नि हजुर ?
कुमार भए नभएको पनि हेरेर अनुमान गर्ने बडो अकुमार हो कि के हो ?
होइन । जस्ट फर अ जोय । त्यत्तिकै भन्देको नि ।
अ्याक्चुअली म फ्ल्यासब्याक जोमसोम शीर्षकको कथा लेख्न आएको एउटा अकथाकार हुँ । अनि तपाई ?
म जोमसोम थकाली लेख्न आएको ।
ए……फेरी गज्जब भो । दुवै लेख्नलाई आएका रैछौं त ।
अँ । अनि लेखिसक्नुभयो त फ्ल्यासब्याक जोमसोम ?
नाईं लेखिन । यहाँ आएर निर्णय गरें म मेरो नाममा त्यस्तो ब्याकस्याकको कथा लेख्दिन ।
उसो भए जोमसोममा कमब्याक मात्रै भयो कि के हो हजुर ?
रियल्ली……भन्यो र चुरोटको ठुटोलाई एस्ट्रेमा किचिमिचि पारिदियो ।
तपाईंले लेख्नुभयो जोमसोम थकाली ?
छैन । छेउटुप्पो केही भेटिन ।
त्यसपछि संवाद मौनतामा हुन थाल्यो ।
तल सरकारी कर्मचारीहरुको चियागफ चलिरहेकै थियो । कोही किचनमा मुढामा बसेका, कोही हलमा कुर्चि टेबल ओगटेर बसेका, कोही बाहिर घाममा जीउ भिजाउँदै गरेका ।
अकथाकार+अकथाकार≠कथाकार । नेपकिन पेपरमा लेखेर देखाएँ उसलाई । हाँस्यो । रामायण टेलिचलचित्रमा रावणको पात्र हाँसेजस्तै ।
साँझ भेटिने अशर्तमा छुट्टियौं । यतिबेलासम्म ९ बजिसकेको थिायो । म पनि सरकारी कर्मचारीहरुको फर्काइको लहरमै मिसिएर फर्कें कोठातिर । मेरो कोठा जिल्ला अस्पतालको छेउमै थियो । लगभग एक महिना भैसकेको थियो–साजिराको होटल छाडेर कोठा भाडामा लिएर बस्न लागेको ।
साँझ पर्यो । उस्तै गरी पर्यो जसरी पथ्र्यो अघिल्लाअघिल्ला दिनहरुमा । घाम बतासे डाँडा हुँदै धौलागिरीबाट डोल्पातिर लागेर ।
उही चाउचाउ कपालको राजकोटी अकथाकारसँग भेट हुन गएँ, उही होटलमा ।
अकथाकारका कथाकारी गफ भए । प्रेमका गफ भए । बियोगका गफ भए । आँसुका गफ भए । हुँदाहुँदै गफ उवाको गिलासतिर ढल्कन थाल्यो । होटल साहुनीकी छोरीले मिनरल वाटरको बोतलमा उवाको जिनिस र प्लेटमा कुखुराको मासु लिएर आइन् ।
चियर्सऽऽऽसँगै गिलास दुवैको मुखभित्र ढल्कन लाग्यो ।
दार्शनिक अकथाकारले किन फ्लयासब्याक जोमसोम नलेख्ने निर्णय गर्यो भन्ने जिज्ञासाको सानो भेल बग्दै थियो मनभित्र । अब प्रसंग बिस्तारै त्यतैतिर बगाउनुथियो मलाई ।
जोमसोमसँग तपाईंको सम्बन्ध कसरी जोडियो मिस्टर राजकोटी ? मेरो प्रश्न ।
अँऽऽऽ साँच्चि मैंले हजुरको नाम सोध्नै बिर्सेछु बिहान । पछि होटल साहुनीलाई सोधेको चुलबुल पाण्डे भन्दै थिइन । कसरी भयो तपाईंको नाम चुलबुल पाण्डे ?
नाम कसरी हुन्छ र ?
राखेर ।
हो त मेरो त्यो नाम पनि राखेरै भयो । तर न्वारनको बेला पण्डितले राखेर हैन , यिनै साहुनीले राखिदिएकी हुन त्यो नाम त । बट आइ लभ टु नेम्ड दिस । इट्स ओके टु टेल मि ए्याज मिस्टर चुलबुल पाण्डे ।
इफ सो, इट्स ओके ।
अँ साँच्चि मेरो र जोमसोमको सम्बन्ध कसरी जोडियो भनेर सोध्दै हुनुहुन्थ्यो क्यारे, हैन ? भनेर गोजीबाट सूर्यको मिनिप्याक झिक्यो र मिनिप्याकभित्रको गोदामबाट दुइटा खिल्ली झिक्यो । सल्कायो दुइटै आफैंले र दियो मलाई एउटा । गिलास फेरी अर्कोपल्ट ओंठलाई फ्रेन्च किस गर्न गयो अनि कुखुराले झनै डेन्जर टङ्ग किस हान्यो ।
लामो कथा छ मिस्टर पाण्डे । सक्छौं भने मेरो यही कथालाई तिमीले जोमसोम थकालीमा लेखे पनि हुन्छ । मैंले कुनै रोयल्टी दाबी गर्ने छैन । यही कथा यही ठाउँमा आएर लेख्छु भनेर आएको हुँ , तर यहाँ आएपछि निर्णय गरें मैंले यो कथा मेरो नाममा लेख्दिन भनेर । यु आर फ्रि टु फिट माई स्टोरी इन योर जोमसोम थकाली । तिमीले मेरो कथा तिम्रो नाममा लेख्नु र बचाइदिनु मेरो कहानी ।
यति भन्दै गर्दा उसले मुखबाट भित्रतिर बगाएको उवाको झोल आँखाको बाटो आँसु बनेर निस्कन लागिसकेको थियो । सायद उसको कथा बगेको होला उसका ति दुईटा आँखाका चेपबाट ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->