बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालयहरुमा विद्यार्थी मनोपरामर्श कक्ष किन ?

विद्यालयहरुमा विद्यार्थी मनोपरामर्श कक्ष किन ?


  • राजु खड्का
  • फाल्गुन १३ २०८२, बुधबार

बालबालिकाको मनको समस्या वा पीर, चिन्ता, तनाव एवम् अलमललाई समानुभूतिपूर्वक सुनिदिएर मनको समस्यालाई कम गर्न प्रदान गरिने मनोवैज्ञानिक उपचार पद्धति विद्यार्थी मनोसामाजिक परामर्श हो । बालबालिकाहरुमा मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको छ । आजको युगमा प्रत्येक विद्यालयमा मनोविमर्श कक्ष स्थापना हुनु पर्दछ । विद्यालयमा मनोविमर्शकर्तासम्बन्धी ज्ञान भएको शिक्षक हुनैपर्छ ।

नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी जीवनशैली र आर्थिक अनिश्चितताले दैनिक जीवनलाई सजिलो मात्र बनाएको छैन, यसले मानसिक दबाब पनि उत्तिकै बढाएको छ ।

सामाजिक सञ्जालको अत्याधिक प्रयोगका साथै शिक्षाप्रति विद्यालय र अभिभावकको दबाबका कारण आज धेरै बालबालिका मनोसामाजिक समस्यामा परेको देखिन्छ । बालबालिकाको मानसिक स्वास्थ्यबारे ख्याल नगरी विद्यालय र अभिभावकले उच्चतम् अंकबारे दबाब बढाइरहेको मैले पाएको छु । यसले बालबालिका समस्यामा देखिन्छन् । केही विद्यालयमा स्मार्ट बोर्ड र घरमा ट्याप, कम्प्युटर तथा मोबाइलको अत्यधिक प्रयोगबाट विद्यार्थी एकोहोरो हुने, आक्रामक बन्ने, आँखा रातो हुने, दुब्लो हुने, निद्रा कम हुने, खानामा ध्यान नदिने, आदि समस्यामा देखिएका छन् । यसले उनीहरुमा रचनात्मक क्षमता घटाएको र एकांगी बनाएको देखेको छु ।

अहिले विद्यार्थीहरुलाई मनोसामाजिक समस्या र समाधान, बालमनोविज्ञान र सकारात्मक सोच, आत्मविश्वास र तनाव व्यवस्थापन, सामाजिक सद्भाव, मानसिक स्वास्थ्यबारे खुलेर छलफल गर्ने कार्यक्रम विद्यालय तथा समुदायमा जरुरी छ । मुख्यतः बालबालिकाका मनका कुरा अभिभावक र शिक्षकले महत्व दिएर सुनिदिनुपर्ने देखिएको छ ।

अभिभावकहरूमा पनि मनोशिक्षासम्बन्धी ज्ञान हुनु जरुरी देखिएको छ । आफ्ना बच्चाहरूका कुरा ध्यान दिएर सुन्ने, बेला बेलामा हौसला दिने, भावना व्यक्त गर्न दिने, उनीहरूलाई सम्झाउने, अप्ठ्यारो भएमा अभिभावकलाई जानकारी गराउन हौसला दिने र अभिभावकले पनि आफ्ना बच्चाहरूलाई अनिवार्य समय दिनु पर्छ ।

वर्तमान समयमा विद्यार्थीहरूमा मनोसामाजिक समस्या दिन प्रतिदिन बढिरहेको देख्न सकिन्छ । जसको फलस्वरूप विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रत्यक्ष असर पुगेको छ । विद्यार्थीहरूमा देखिने चिन्ता, डर तथा दिक्दारीपन आत्मविश्वासको कमी हुने, रुन मन लाग्ने, निराशावादी हुने, मन चिसो हुने मनोसामाजिक समस्या जसले उदाशिनता तथा मानसिक रोग निम्त्याउन सक्दछ । सोको पहिचान र व्यवस्थापन गर्न विद्यार्थी मनोसामाजिक परामर्श अत्यन्तै आवश्यकता छ । प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा विद्यालयमा हुन जरुरी छ । अधिकांश समस्या औषधिबिना नै निको हुने र समयमै समस्याको पहिचान गरेर मनोविमर्श सेवा दिनसके प्रभावकारी हुने देखिन्छ ।

धेरै मानिसहरु डिप्रेसनलाई रोग मान्दैनन् । बुढेसकालमा स्मरणशक्ति घट्दा सामान्य रुपमा लिन्छन् जुन अल्जाइमरजस्तो रोग पनि हुन सक्छ । यसबाट हामीले के बुझ्नु पर्ने हुन्छ भने मानसिक स्वास्थ्यबारे पर्याप्त जनचेतनामुलक कार्यक्रमहरु जरुरी छ । डिप्रेसनले पार्ने प्रभाव निराशा, ऊर्जामा कमी, काममा रुचि हराउनु, भविष्यप्रति नकारात्मक सोच र आत्मविश्वास घट्नु यसको कारण हो । यो समस्या सानो हैन तर समस्यासँग कत्ति पनि नआत्तिएर परामर्श वा उपचारमा लागे सहज समाधान हुन्छ । यो सन्देश प्रवाह गर्नु आजको आवश्यकता हो ।

हामीले बुझ्नै पर्ने कुरा मानसिक रोगप्रति पहिले मात्र हैन कि अहिले पनि समाजमा भेदभाव छ । यो नेपालमा मात्रै होइन विकसित मुलुकमा पनि छ । यसको मुख्य कारण यथेष्ट जनचेतना आम मानिसहरुमा पुगेको छैन । रुघाखोकी लुकाउँदैनन्, ज्वरो लुकाइँदैन तर मानसिक समस्या लुकाइन्छ । समाजको यहि डरका कारण भित्रभित्र ठूलो समस्या बनिरहेको छ । अव मानसिक स्वास्थ्यबारे खुलेर छलफल गर्ने र समस्या परे मनोपरामर्श वा स्वास्थ्य संस्थामा जाने वातावरण बनाउनैपर्ने छ । यो मामिलामा साझा क्रियाशिलता जरुरी छ ।

नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, सामाजिक सम्बन्ध र तनाव व्यवस्थापन यी सबै मानसिक स्वास्थ्यका सुरक्षात्मक तत्व हुन् । यी उपायले मानसिक रोग न्यनिकरण र जोखिम घटाउन मद्दत पुग्छ ।

विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुने चर्चा छ । स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक १० जनामध्ये एकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ । यहाँ दैनिक सरदर १९ जनाले आत्महत्या गर्छन् भने करिब ६ लाख जना कडा खालको मानसिक समस्याबाट गुज्रिरहेका छन् । आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिन्छ ।

हाम्रो समाजमा एन्जाइटी, डिप्रेसन, ओसिडीलगायत मानसिक तथा मनोसामाजिक समस्यासंग जुध्न नसकेर हात्महत्याको घटनाले निरन्तरता मात्र पाएको छैन यो समस्या बढ्दै पनि गैरहेको छ । लैंगिक हिंसा, आर्थिक समस्या, बेरोजगारी, दुव्र्यसनी, असफलता आदि घटनाले हाम्रो बागलुङ जिल्ला र बागलुङ नगरपालिका अत्याधिक प्रभावित रहेको छ । यो प्रभावमा बालबालिकाहरु पनि पर्नु ज्यादै चिन्ताको विषय हो ।

अलमल र उल्झनमा परेका बालबालिकाका लागि निकास दिने माध्यम मात्र नभएर उनीहरुमा उर्जा भर्ने, सक्रिय र सृजनशील बनाउने सशक्त माध्यम पनि हो मनोपरामर्श । विद्यार्थीहरुका समस्या, पिर, मर्का, रुची, चाहना, भावना, तनाव, मनका कुरा निर्धक्क भन्ने वातावरण सिर्जना गर्नु जरुरी छ । यसो भएमा बालबालिकाको समस्या, प्रतिभा, क्षमताको पहिचान गर्न सघाउ पुग्छ । जब हामी समस्याको पहिचान गर्न सक्छौं तब समाधान गर्न पनि सक्षम हुनेछौं ।

विद्यार्थीहरुमा जे–जस्ता समस्या देखिन्छन् त्यसको पछाडी मनोवैज्ञानिक कारण वा समस्याहरु अवश्य हुन्छन् । विद्यार्थीले कक्षा कोठामा मिहिनेत गरिरहेकै देखिन्छन् तर रिजल्ट किन राम्रो आएन ? यो विद्यार्थीको मात्र समस्या हैन यसमा सरोकार राख्ने पक्ष अन्य पनि हुन सक्छन् । यस विषयमा हामीले कति ध्यान दिएका छौं त ?

अब परीक्षाको बेला सुरु हुदैछ । यो बेला अभिभावक, शिक्षक र विद्यार्थी अनावश्यक तनावमा हुन्छन् । विद्यार्थीहरुको तनाब अझै बढी देखिन्छ । परिक्षापछि आउने रिजल्टले धेरै विद्यार्थीहरुलाई प्रभाव पार्ने गरेको छ । कतिपय अवस्थामा रिजल्टलाई स्वीकार गर्न नसकेर आत्महत्या समेत हुने गरेको छ । यो अवस्थामा पढाइ, परिक्षा र रिजल्टबारे विद्यार्थीहरुलाई सन्तुलित रुपमा तयारी गर्न र बुुझ्न सक्ने गरी मनोपरामर्श सेवा दिन जरुरी छ ।

विद्यालय जाने विद्यार्थीहरु विभिन्न पृष्ठभूमि, जाति, भाषी, संस्कृति, चालचलन, भूगोल आदिबाट आएका हुन्छन् । उनीहरुलाई हामीले एउटै कक्षा कोठामा राखेर, एउटै पुस्तक, एउटै भाषा, एउटै शैली र एउटै शिक्षकबाट पढाउने गर्दछौं । अझ किताबमा लेखिएभन्दा दायाँ बायाँ पढ्ने र लेख्ने अवस्था छैन । अनुशासनको नाममा विद्यार्थीले फरक धारणा राख्न सक्ने वातावरण पनि छैन । यो अवस्थामा विशेष मनोवैज्ञानिक तवरबाट विद्यार्थीहरुलाई जोड्न नसक्ने हो भने कक्षाका सबै विद्यार्थीहरुको पठनपाठन र रिजल्ट राम्रो आउन गाह्रो नै हुने देखिन्छ ।

अर्काे बिडम्बना पनि छ । २४ घण्टामा ६ देखि ७ घण्टा विद्यालयमा र बाँकी करिब सबै समय घरमा रहने विद्यार्थीहरुको पूर्ण विवरण यि ३ पक्षलाई आपसमा थाहा हुन सकेको पनि देखिदैन । आत्मिय र भावनात्मक रुपमा यी ३ पक्ष पूर्ण नजोडिदासम्म गुणात्मक परिणाम आउन मुश्किल छ । अभिभावक, विद्यार्थी, शिक्षक बीचको खाडललाई तिनै पक्षले गम्भीर रुपमा आत्मसमिक्षा गर्नुपर्ने देख्छु । यो तिन पक्षको खाडलले धेरै मार विद्यार्थीहरुलाई परेको छ । विद्यालय पठाएपछि बालबालिकाको सम्पूर्ण जिम्मा विद्यालयले लिनुपर्ने र घर नै बालबालिकाको पहिलो पाठशाला रहेकाले बालबालिकालाई राम्रो विद्यार्थी बनाउन अभिभावकले जिम्मेवार भूमिका खेल्नुपर्ने विद्यालयको भनाइले बालबालिका प्रभावित छन् ।

मानसिक रोगलाई सामान्य स्वास्थ्य समस्या जस्तै बुझ्न आवश्यक छ । मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो भन्ने कुरालाई आम मानिसमाझ पु¥याउन जरुरी छ । समयमै उपचार र समर्थन पाए मानिस पूर्ण रूपमा सामान्य जीवनमा फर्कन सक्छ ।

बद्लिँदो समाजसँगै मानसिक स्वास्थ्यलाई प्राथमिकता नदिए भविष्यको स्वास्थ्य प्रणालीमाथि ठूलो दबाब पर्ने निश्चित छ । यो जिम्मेवारीलाई मैले गम्भिर ढंगले ग्रहण गरेको छु र मानसिक स्वास्थ्यलाई अभियानकै रुपमा अगाडी बढाउनु पर्ने आवश्वकता देखेको छु । जब एउटा मानसिक स्वास्थ्यसँग प्रभावित व्यक्ति कपडा खोलेर सडकमा आउँछ वा दुर्घटना हुन्छ तब मात्र हामी उसको बारेमा छलफल गर्छाैँ । जबकि, मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिले लक्ष्यणहरु देखाउँदा हामी उसको बारेमा नकारात्मक कुरा गरेर बस्छौं । समाज जिम्मेवार बन्नुपर्ने त्यहिं हो ।

मानसिक रोगको सबैभन्दा ठूलो चुनौती उपचार नभई समाजको धारणा हो । समाजमा अझै पनि मानसिक रोगलाई कमजोरी, पागलपन वा चरित्रसँग जोडेर हेर्ने प्रवृत्ति बलियो छ । मानसिक रोग एकै कारणले हुँदैन । वंशानुगत प्रभाव, वातावरणीय तनाव, बाल्यकालका अनुभव, जीवनशैली र सामाजिक समर्थन सबैले भूमिका खेल्छन् । मानसिक रोग उपचारयोग्य हुन्छ । धेरैजसो अवस्थामा औषधि, थेरापी र जीवनशैली सुधारले उल्लेखनीय सुधार ल्याउन सक्छ । तर समयमै उपचार नलिँदा समस्या जटिल बन्दै जान्छ ।

हो, मानसिक रोगको उपचार गर्ने सक्षम अस्पताल हाम्रो देशमा कम छन् । तर यसको लक्ष्यण देखिनासाथ हामी मनोविमर्शकर्ताको परामर्शमा पुग्यौं भने पनि उपचार गर्न सक्छौं नि । अब हामी त्यहिं बाटोमा छौं । बागलुङ नगरपालिका र खुशी मन बागलुङ संवेदनशील भएर मानसिक स्वास्थ्यबारे विद्यालय तहमा अभियान चलाइरहेका छौं । मानसिक स्वास्थ्यबारे आफूमात्र सचेत रहेर पुग्दैन सार्वजनिक बहस र महत्वको विषय बनाउन आवश्यक छ ।

(लेखक खड्का बागलुङ नगरपालिकाका उपप्रमुख हुन् । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->