पर्वत/ सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पर्वत जेसीजले प्रदेश अस्पताल पर्वतमा ‘अटोमेटिक बायोक्यामेष्ट्री एनालाइजर’ मेसिन सहयोग गरेको छ ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएको र हाल प्रयोगमा रहेको मेसिन अपुग भएकाले सहयोग गरिएको जेसिजले जनाएको छ । कलेजो, मिर्गौला र रगतमा कोलेस्ट्रोलको अवस्थाको परीक्षण गर्ने उक्त उपकरण प्रदान गरेपछि अस्पतालले दिने सेवा अझै छिटो र प्रभावकारी हुने पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माले बताइन् । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको पहलमा रोजगारीको सिलसिलामा विदेशमा रहेका पर्वतेली तथा अन्य नेपालीहरूको सहयोगमा उक्त मेसिन ल्याइएको हो ।
अस्पतालमा आधुनिक उपकरण तथा प्रविधिहरू हुँदा जिल्लाका बिरामीलाई स्वास्थ्य परीक्षणका लागि पोखरा, काठमाडौं लगायतका ठाउँहरूमा जान नपर्ने भएकोले मेसिन सहयोग गरिएको शर्माको भनाइ छ । मेसिनको मूल्य १६ लाख रुपैयाँ रहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुण्डिराज पौडेलले अस्पतालमा रहेको मेसिनले मात्रै सेवा गर्दा कहिलेकाहीँ सामान्य समस्या आएको अवस्थामा सेवा अवरुद्ध हुने सक्ने बताए । सहयोगका रूपमा आएको ‘बायो केमेस्ट्री एनालाइजर’ लाई ‘ब्याक अप’ उपकरणका रूपमा राख्दा बिरामीको चापको आधारमा प्रयोगमा ल्याएर छिटो सेवा दिन सकिने उनको भनाइ छ ।
स्वास्थ्यमा विभिन्न समस्या देखिएको व्यक्तिहरूको अन्तरङ्ग रोग र अङ्गहरूको अवस्थाको बारेमा पत्ता लगाउन प्रयोग हुने यो उपकरण प्राप्त भएसँगै अब एउटा मेसिनलाई आकस्मिक कक्षमा र अर्कोलाई बहिरङ्ग विभागमा राखेर सेवा दिन सकिने छ । सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वत स्तरोन्नति भएर ५० शय्या भन्दा बढी क्षमतामा सञ्चालनमा रहेको छ । १५ शय्या क्षमतामा चल्दै आएको अस्पतालको स्तारोन्नती भएपछि बिरामीहरूको चाप पनि दैनिक रूपमा बढिरहेको छ । ५० शय्या सञ्चालनको अनुमति पाएको भए पनि ६४ शय्या क्षमतामा सेवा प्रदान गरिरहेको अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापन भएपछि उपचारका लागि पोखरा र अन्य ठाउँमा जानुपर्ने पर्वतबासीहरुको बाध्यताको अन्त्य भएको छ ।
केही वर्ष अगाडिसम्म दैनिक करिब ४०/४५ जना बिरामीहरूलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब तीन सय भन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको छ । यही अवस्थामा पर्वत जेसीजले गरेको सहयोगले अस्पतालको सेवा प्रवाहमा थप गुणस्तर कायम हुने र सेवा छिटो पनि दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार (शिव) ले बताए ।





