पोखरा/महिलाहरुद्धारा सञ्चालित गणेश योग साधना केन्द्र, पोखरा–४ गणेश टोलको नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार योग केन्द्रमा आयोजित कार्यक्रममा पतञ्जलि योग समिति कास्कीअन्तर्गत उक्त केन्द्रको नवौँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले स्वास्थ्यका लागि योग साधना आवश्यक रहेको उल्लेख गर्दै सबै वडावासीहरूलाई जोड्दै जानुपर्ने बताए ।
योग केन्द्रको व्यवस्थित सञ्चालनका लागि आवश्यक सामग्रीहरू सहयोगका लागि वडा कार्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो । महिलाहरूको आर्थिक सशक्तीकरण तथा सीप विकासका लागि वडाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले वडाका कार्यक्रमहरूमा सहभागी बन्न आग्रह पनि गरे ।
पतञ्जलि योग समिति गण्डकी प्रदेश संयुक्त प्रभारी दीपक सिग्देल, महामन्त्री विश्वमणि तिवारी, महानगर प्रभारी शेषकान्त ढकाल, कास्की जिल्ला उपाध्यक्ष प्रकाश बास्तोला, भीमसेन योग केन्द्रकी अध्यक्ष मैया बाटाजु र गणेश गुठीका सचिव जय मुल्मीलगायतले योग साधना मानव स्वास्थ्यका लागि अति आवश्यक रहेको बताएका थिए ।
पतञ्जलि महिला महानगर समितिकी महिला प्रभारी एवं गणेश योग केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योगगुरु बन्दना पालिखेले स्वागत एवं सचिव कमला श्रेष्ठको सञ्चालन रहेको थियो ।





