पृष्ठभूमि
जनमानसमा क्षयरोग भनेर नबुझिने तर टिबी भनेर चिनिने अत्यन्तै घातक र खतरनाक रोग क्षयरोग हो । यो रोग लाग्दा शरीर निकै दुब्लो र पातलो भई ख्याउटे बन्नेहुँदा गाउँघरमा कसैले यो रोगलाई खपटे रोग भनेर पनि चिन्ने गर्छन् । यसवर्षको विश्व क्षयरोग दिवस मार्च २४ तारिख अर्थात् यही चैत्र १० गतेका दिन ‘यस वी क्यन इण्ड टिबी,लिड बाइ कन्ट्रीज,पाओर्ड बाइ पिपल अर्थात् ‘हो, हामी क्षयरोग अन्त्य गर्नसक्छौंः देशहरुको नेतृत्वमा, जनशक्तिको बलमा’ भन्ने विश्वव्यापी नारा सहित संसारभर जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने कार्यक्रम विश्व स्वास्थ्य संगठनले तय गरेको छ ।नेपालमा भने ‘हो,हामी क्षयरोग अन्त्य गर्छाैंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मनाइँदै छ । सन् १८८२ मार्च २४ तारिखमा बेलायतका वैज्ञानिक डा. रबर्ट ककले यो रोगको किटाणु पत्ता लगाएपछि क्षयरोग पनि व्याक्टेरियाबाट लाग्ने निकै सरुवा रोग रहेछ भन्ने कुरा पत्ता लागेको हुनाले उक्त दिन अर्थात् मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसका रुपमा मनाउने गरिन्छ । विश्व क्षयरोग दिवसको अवसर पारेर सबैलाई क्षयरोगबारे थोरै मात्र भएपनि जानकारी होस् भन्ने ध्येयले यो आलेख तयार गरिएको छ ।
क्षयरोग र यसलाई उच्च प्राथमिकता दिनुपर्ने कारण
क्षयरोग एक विश्वव्यापी समस्यायुक्त रोग हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा गत एकवर्षमा १ करोड ७ लाख (१०.७ मिलियन) व्यक्ति क्षयरोगबाट प्रभावित भएका थिए जसमा पुरुष ५.८ मिलियन, महिला ३.७मिलियन र बच्चा १.२ मिलियन थिए । यसको उपचार गर्दा ८८ प्रतिशत बिरामी पूर्ण निको भएका र १२ लाख ३ हजार (१.२३ मिलियन) व्यक्तिको मृत्यु भएको थियो । उपचार गर्ने क्रममा पत्ता लागे अनुसार ७७ प्रतिशतमा क्षयरोग विरुद्धको औषधि प्रतिरोध (किटाणुले औषधि पचाएको) रहेको पाइएको थियो । जति बिरामीलाई अन्तिम निदान गरेर उपचार गरियो ती बाहेक २.४ मिलियन व्यक्ति अझै निदान हुन सकेका छैनन् । यो तथ्याङ्कका आधारमा हामी के अनुमान गर्न सक्छौं भने समुदायमा क्षयरोग प्रभावित व्यक्ति धेरै रहेका छन् जसलाई उपचारमा ल्याउन सकिएको छैन ।
यसैगरी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा गतवर्षको तथ्याङ्क अनुसार ६७,००० अनुमानित क्षयरोगका बिरामीमध्ये नयाँ बिरामी ३९ हजार १ सय १८ जना (पुरुष ६४ प्रतिशत र महिला ३६ प्रतिशत) पत्ता लागेका थिए । तीमध्ये करिब ९२ प्रतिशतको रोग निको भएको र १ हजार २ सय ८० को मृत्यु भएको तथ्याङ्क छ भने औषधी पचाउने नयाँ क्षयरोगी २,४०० रहेका थिए ।
यो तथ्याङ्कलाई राम्रोसँग केलाएर हेर्ने हो भने क्षयरोग नेपालमा मात्र नभइ विश्वव्यापी समस्यायुक्त जनस्वास्थ्यको गम्भीर रोग हो । किनकि यो रोगको मृत्युदर बढी छ र यो प्रायः सक्रिय उमेरका व्यक्तिमा बढी लाग्छ वा क्षयरोग युवाहरूको मृत्युको मुख्य कारण पनि हो ।त्यसकारण क्षयरोगलाई सबैले उच्च प्राथमिकतामा राखेर रोकथामका लागि पहल गर्नु जरुरी छ ।
क्षयरोग : सर्ने तरिका, लक्षण तथा चिन्हहरु र रोकथामका उपायहरु
क्षयरोग जुनसुकै उमेरका व्यक्तिलाई र जुनसुकै मौसममा पनि लाग्न सक्ने रोग हो । जनस्वास्थ्यका जटिल समस्याहरू मध्ये क्षयरोग एक प्रमुख समस्या हो । क्षयरोग एक किसिमको सूक्ष्म व्याक्टेरियाबाट लाग्ने रोग हो जसकोे नाम माइकोब्याक्टेरियम ट्युबरकुलोसिस हो । कहिलेकाहीँ क्षयरोगी पशुको दुध काँचै खाँदा वा राम्ररी नउमाली खाएमा माइकोब्याक्टेरियम बोभिसनामक व्याक्टेरियाबाट पनि क्षयरोग लाग्न सक्छ । क्षयरोग सूक्ष्मदर्शक यन्त्रद्वारा सामान्य खकार परीक्षण र छातीको एक्सरेबाट पत्ता लगाउन सकिन्छ ।
क्षयरोग हाम्रो शरीरको रौं र नङ् बाहेक शरीरका भित्री तथा बाहिरी सबै अङ्गमा लाग्न सक्छ । तैपनि क्षयरोग मुख्य दुई प्रकारका हुन्छन्–
१) फोक्सोको क्षयरोग
२) फोक्सो बाहेकको क्षयरोग
फोक्सोको क्षयरोग सबैभन्दा बढी सर्ने र धेरै व्यक्तिहरूलाई हुनसक्छ भने फोक्सो बाहेकको क्षयरोग कम मात्रामा सर्नसक्ने र कम मानिसलाई मात्र हुनसक्छ । संसारमा फोक्सोको क्षयरोग सबैभन्दा धेरै मानिसलाई हुने गरेको छ ।
क्षयरोग एकदेखि अर्को व्यक्तिमा असाध्यै सर्ने गर्छ । यो रोग हावाको माध्यमबाट सर्ने हुँदा घरमा एक जनालाई क्षयरोग लागेमा परिवारका सबै सदस्यलाई पनि लाग्न सक्छ । त्यो बाहेक बिन्दु सङ्क्रमण वा रोगीले खोक्दा, हाछ्युँ गर्दा निस्किएका थुकका छिटाछिटी र हावामा तैरिने निकै मसिना थुकका कणहरू सास लिने क्रममा अन्य व्यक्तिको फोक्सोभित्र प्रवेश गर्दा, प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित भाँडाकँुडा र लत्ताकपडाबाटजथाभावी खोक्दा र खकार फ्याँक्दा तथा सङ्क्रमित गाई भैंसीको दुध नपकाइ काँचै खानाले समेत सर्नसक्छ ।
क्षयरोग सबैभन्दा एचआइभीसङ्क्रमण भएका व्यक्तिहरू, मधुमेहका रोगीहरू, फोक्सोका दीर्घ रोगीहरू, अत्यधिक धुम्रपान गर्ने र जाँड रक्सी खानेहरू, अर्बुद (क्यान्सर) रोगीहरू, मृगौलाका रोगीहरू, कुपोषणले सताइएकाहरू, बुढौैलीपन, न्यून आय भएका व्यक्तिहरू, लागुपदार्थ प्रयोग गर्ने व्यक्तिहरू, खराब वातावरणमा बसोबास गर्नेहरू र क्षयरोगीको साथमा काम गर्ने व्यक्तिहरूलाई बढी मात्रामा लाग्नसक्छ ।
क्षयरोग लागेमा लामो समयसम्म खोकी लाग्नेगर्छ अथवा फोक्सोको क्षयरोगको सबैभन्दा प्रमुख लक्षण नै खोकी लाग्नु हो । जुनसुकै प्रकारको खोकी लागेतापनि क्षयरोग हो कि भनी शङ्का गर्नुपर्दछ । यो बाहेक क्षयरोग लाग्दा देखापर्ने अन्य मुख्य लक्षण तथा चिन्हहरू यसप्रकार छन्–ज्वरो आउने (क्षयरोग हुँदा आउने ज्वरो हल्का हुन्छ र त्यति कडा हुँदैन । ज्वरो खासगरी बेलुकापख मात्र आउने, ज्वरोको साथमा पसिना समेत आउने तथा टाउको समेत दुख्नसक्छ ।), खाना खान मन नलाग्ने, तौल घट्ने वा दुब्लाउँदै जाने, छाती दुख्ने, सास फेर्न कठिन हुने, छाती कराउने, खकारमा रगत देखापर्ने (क्षयरोग भएमा फोक्सोमा किटाणुहरूले घाउ बनाइदिन्छन् र खोकी लाग्दा ती घाउ फुटेर खकारमा रगत देखापर्ने भएको हो । अतः यो अवस्था क्षयरोगको जटिल अवस्था हो ।) समयमै क्षयरोगको पूरा उपचार नभएमा रोगीको मृत्यु पनि हुनसक्छ ।
क्षयरोग एक गम्भीर प्रकृतिको, निकै सर्ने, घातक र मृत्यु गराउने रोग भएकाले यो रोग नियन्त्रणका लागि विभिन्न रोकथामका उपायहरू नै अपनाउनुपर्छ । यो एक विकराल सामाजिक समस्या भएकाले सबै सचेत हुनुपर्छ । किनकि अहिले क्षयरोग यति भयावह रुपमा फैलिँदो क्रममा छ र औषधीको काम गर्ने क्षमतालाई पनि पचाउने गरी किटाणुको शक्ति विकसित हुँदैछ । यही अवस्था कायम रहिरहेमा क्षयरोगले अब आउँदा वर्षहरूमा जनस्वास्थ्यमा ठुलो समस्या ल्याउन सक्ने र मृत्युदर बढाउन सक्ने सम्भावना देखिन्छ । त्यसकारण पनि क्षयरोग सुरुमै पत्ता लगाइ उपचार गर्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ । नेपालमा क्षयरोग नियन्त्रणका लागि लिइएको लक्ष्य र उद्देश्यहरू यसप्रकार छन्–क्षयरोगबाट हुने बिरामी दर र यसबाट हुने मृत्युदर घटाएर क्षयरोगलाई एक अर्कामा सर्ने प्रक्रियालाई रोक्ने र समाजमा क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने, पत्तालगाईएका नयाँ खकार पोजेटिभ क्षयरोगीमध्ये कम्तीमा ८५ प्रतिशतलाई निको पार्ने, अनुमानित नयाँ खकार पोजेटिभ क्षयरोगी मध्ये कम्तीमा ८० प्रतिशत पत्ता लगाउने, सन् २०५० साल सम्म प्रतिलाख जनसंख्यामा १ जना भन्दा कम जनामा मात्र क्षयरोगको समस्या रहनसक्ने गरी क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट निराकरण गर्ने,सम्पूर्ण क्षयरोगीहरूलाई डट्स ९म्इत्क्० बाट उपचार गर्ने र प्रत्येक उपचार केन्द्रमा निरन्तर र पर्याप्त औषधी वितरण गर्ने ।
क्षयरोगको उपचार थप क्षति हुन नपाउँदै गर्नु सबैभन्दा बढी बुद्धिमानी हो । क्षयरोगको निदान तथा औषधि उपचार सेवा निःशुल्क उपलव्ध छ । नेपालका क्षयरोग नियन्त्रणका लागि अपनाइएको डट्स उपचार पद्धति विश्वकै एक नमूना क्षयरोग नियन्त्रण कार्यक्रम हो । त्यसकारण यो रोगको अवस्था भयावह हुन नदिन सबै सचेत हुनु जरुरी छ ।
यो रोग रोकथाम र नियन्त्रण गर्न निम्न उपायहरू अपनाउन सकिन्छ– बच्चा अवस्थामै सकभर छिटो बिसीजी खोप लगाउने, रोगीले जथाभावी नथुक्ने, नखोक्ने, मास्कको प्रयोग गर्ने, उत्सर्जित खकार, सिङ्गान पुर्ने वा जलाउने, बिरामीसँग बढी लसपस र प्रत्यक्ष सम्पर्कमा नजाने, बिरामीले प्रयोग गरेका लत्ताकपडा, भाँडाकँुडा राम्ररी सङ्क्रमणरहित पारेर मात्र प्रयोग गर्ने र जुठो नखाने, घरमा कुनै एकजनामा यो रोग देखापरेमा सबै सदस्यले खकार परीक्षण गराउने र यो रोगबारे समुदायमा व्यापक जनचेतना जगाउने ।
अन्तमा, क्षयरोग शतप्रतिशत उपचार गर्न सकिने रोग हो तर वंशाणुगत होइन । क्षयरोगका औषधिहरू सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइन्छन् । त्यसकारण रोगले ग्रस्त नपार्दै रोगको पहिचान गरी स्वास्थ्य संस्थाबाटै औषधी सुरु गरेमा थप आर्थिक, शारीरिक तथा मानसिक क्षति हुन पाउँदैन । क्षयरोग एक सामाजिक असमानता ल्याउने रोग पनि हो । क्षयरोगले गरिबी निम्त्याउँछ । किनकि क्षयरोग लागेको बिरामी निकै कमजोर हुने, कार्यक्षमता हराउने, उपचारमा धाइरहनुपर्ने हुँदा सञ्चित पैसा पनि सकिने साथै उसलाई हेरविचार गर्ने मानिसको समेत रोजगारी गुम्ने हुँदा परिवारमै गरिबी आउँछ । क्षयरोग एक रोग मात्र नभई यसको प्रभाव साझा सामाजिक समस्याको रुपमा रहेकाले यसवर्षको नारामा पनि राज्यका सबै नागरिक सचेत भएर क्षयरोगको उपचारमा लाग्ने हो, लापरवाही नगर्ने हो, एकले अर्कालाई सहयोग गर्ने हो भने यसलाई परास्त गर्न सकिन्छ भन्ने रहेको छ । क्षयरोग नियन्त्रण र रोकथाममा राज्यले मात्र पहल गरेर हुँदैन कि नागरिकहरु समेत सचेत भइ साझा चुनौतीको रुपमा रहेको क्षयरोगलाई अन्त्य गर्न सबै तहका जनशक्तिको बल लगाउनु जरुरी छ अथवा जनशक्तिको बलबाट क्षयरोग अन्त्य सम्भव छ भन्न सकिन्छ ।अतः अब आइन्दा क्षयरोगवाट कुनैपनि मानिस मर्न नपरोस् र क्षयरोग उपचार सेवा सबैका लागि सधंै उपलब्ध भैरहोस् अस्तु ।




