कहिलेकाहीँ जीवनमा देखिने सामान्य दृश्यले मनभित्र असाधारण तरंग उठाउँछ । आज बिहान अमेरिकाको क्यालिफोर्नियास्थित मिरामार रिर्जभ (खानेपानी व्यवस्थापनको कृत्रिम ताल) वरिपरि हिँड्दा नौलो अनुभूति भयो । यो तालको पाँच माइल लामो फन्को मार्दै गर्दा सोचाइले धेरै फन्का मार्यो । आजको तालको फन्को पुरानै गीतमा नयाँ स्वर सुनेझैँ भयो ।
बिहानको सुर्योदयले पानीमा हल्का सुनौलो छाया छर्दै थियो । तालको निर्मल पानीले आकाशलाई अँगालो हालिरहेको थियो । चराचुरुङ्गीहरूको मधुर आवाजले वातावरणलाई जीवन्त बनाएको थियो । बाटोको दुवै छेउमा सिपाही उभिएझैँ देखिने ताडका रूखहरू अनुशासनको मौन पाठ पढाइरहेका थिए । मेरो जीवनसंगिनी साथमा थिइन् । पन्ध्र मिनेट कार चलाएर हामीलाई यो ठाउँसम्म ल्याउने लैजाने आफन्त नानी सँगसँगै थिइन् । मन निर्धक्क थियो ।
सयौँ मानिसहरू बिहानको हिँडाइमा थिए । ती सबै बटुवा शिष्ट, अनुशासित र आ–आफ्नै लयमा थिए । कयौं वृद्धहरू दुबै हातका लठ्ठीको साहायताले सुस्त सुस्त आफ्ना पाइलाहरू चाल्दै थिए । कसैले कसैलाई पर्खने र पर्केर हेर्ने फुर्सद थिएन । एकान्त कुनामा हाम्रा अघि एक्लै हिंड्दै गरेकी एउटी आमाको हातबाट लठ्ठी चिप्लियो । उनी लरखराउदै भुइँमा ढलिन् । मैले यस्तै अवस्थामा दस वर्ष पहिले पहिलोचोटी अमेरिका आउदा ‘डन् टच मि’को एउटा दरिलो ठक्कर खाइ सकेको थिएँ । ती आमालाई मैले अघिल्लो वर्ष वालमार्ट पसलको टाँडमा सामान मिलाउदै गरेको देखेजस्तो लाग्यो । त्यतिखेर मेरो मनले नौ दशकमा पाँच थपेर उमेर हिसाब गरेको थियो । एकै देखिने धेरै हुन सक्छन् भन्ने पनि लाग्यो । हामीहरूले एक पटक आँखाको भाषा बोल्यौं र अघि बढ्यौं । म सुटुक्क पछि फर्के । ती आमाले बसिबसि एउटा हात ठडाएर हल्लाइन् । मैले पनि आमैको नक्कल गरे ।
हिंड्दै जाँदा बाटोको छेउमा तारबारभित्र बसेका बाख्राको ठूलो बथान देखियो । बाख्रा ठ्यक्कै नेपालका घोरले जातका जस्ता । विदेशी भुमिमा आफ्नै खरबारिमा भएजस्तो चिलाउनेको ठुटो देख्दा पनि हामी सम्मोहित हुन्छौं । एकपटक छुन पुग्छौं । अचम्म लाग्यो । यति धेरै बाख्रा तर कुनै कोलाहल छैन । मानिसको स्वभाव बाख्रामा सर्दो रहेछ कि भन्ने लाग्यो । त्यो शान्तिको पछाडि दुईवटा रहस्यहरू रहेछन् । पछि थाहा लाग्यो । बाख्रा तारबारबाट बाहिर निस्कन प्रयास नगर्नुको कारण बारमा करेन्ट छोडिएको रहेछ । अर्को कारण त्यो बथानमा अधिकांश खसि पारिएका बोका र बाख्रीहरू मात्र रहेछन् ।
मैले सोचे– शान्ति स्वभावको उपहार मात्र होइन रहेछ बरु यो अवस्था र व्यवस्थापनको परिणाम रहेछ । घाँस, बुट्यान सफा गर्न वर्षको तीन पटक तालको वरिपरि बाख्रा चराउने काम हुदो रहेछ । यसो गर्नाले डढेलो नियन्त्रण, वातावरण संरक्षण र खर्च बचत हुँदो रहेछ । यो एक बुद्धिमानी तरिका रहेछ । बाख्राले सबै किसिमका घाँस खाने र माटोलाई पोषण दिने गर्दा रहेछन् । मेसिन प्रयोग गर्न अप्ठ्यारो हुने ठाउँमा पनि यिनीहरू सजिलै पुग्ने नै भए ।
त्यो दृश्यले मलाई बाल्यकालतिर तानेर लग्यो । मैले गाउँमा साठी पैसठ्ठी वर्ष पहिले गैरबारि दाइले पालेका बाख्राहरू सम्झिएँ । मेरो अन्तर्मनले तिनीहरूलाई मौरी भिरमा चरिरहेका, उफ्रिरहेका र कराइरहेका अवस्थामा देख्यो । त्यतिबेलाको त्यो बथानमा केहि बोकाहरू हुन्थे । तिनीहरू स्वतन्त्र मात्र होइनन् उद्दण्ड पनि थिए । त्यहाँ कुनै तारबार थिएन न कुनै व्यवस्थापनको कठोरता । त्यो कोलाहलमा पनि एउटा जीवन्तता थियो । आजको शान्त बथान र हिजोको त्यो उफ्रँदो बथानबीचको अन्तरले मनमा एउटा प्रश्न जन्मायो– के हामीले देख्ने “स्वभाव” वास्तवमा परिस्थिति र संरचनाको उपज हो ?
दार्शनिक जाक रूसोले भनेका छन् – “मानिस स्वतन्त्र जन्मिन्छ, तर सबै ठाउँमा ऊ बन्धनमा हुन्छ ।”
सायद यही कुरा बाख्रामा पनि लागू भएको थियो । पेट भरिएको, सुरक्षित र नियन्त्रित जीवनले उफ्रने चाहनालाई थामि दिएको होला । बथानका कयौं बाख्रीहरूले आफ्ना सन्तान गर्भमा हुर्काउँदै गरेका जस्ता देखिन्थे । पशु भएपनि तिनीहरूले सोचेका होलान् – हाम्रो पेटमा सन्तान कसरी आयो ?
पुराणमा पनि एउटा सानो प्रसङ्ग छ– जब इन्द्रले स्वर्गका गाईहरूलाई सुरक्षित राख्न चारैतिर घेरा हालिदिए, ती गाईहरू शान्त भए । त्यो कुरा ऋषिहरूलाई मन परेन । उनीहरूले भने– “यो शान्ति स्वभावको होइन, सीमाको परिणाम हो । शान्ति स्वभावमा हुनु पर्छ ।”
अर्कोतर्फ, हिडिरहेका मानिसहरूलाई हेर्दा पनि यस्तै लाग्यो । सयौँ मानिसहरू अनुशासित रूपमा हिँडिरहेका थिए । कोही ठूलो आवाजमा बोलिरहेका थिएनन्, कोही कसैलाई धक्का दिइरहेका थिएनन् । त्यो दृश्य सुन्दर थियो । तर मनमा प्रश्न उठ्यो – के यो अनुशासन स्वभाव हो कि सामाजिक संरचनाको परिणाम ? मलाई लाग्यो – तिनीहरूले स्वास्थ्य, समयको मूल्य, सामाजिक मर्यादा एकै ठाउँमा मिसाएका छन् ।
यहाँका मानिसहरूले आफ्नो “किन” भेटेका हुन् कि हराएका हुन् ? यो प्रश्न मनको गहिराइमा पहिल्यैदेखि अल्झिरहेको छ । त्यो तालको छेउमा रहदा यो सन्देह अझै हल्लियो । बाहिर हेर्दा “कसरी” अत्यन्त सन्तुलित, अनुशासित र सुगठित देखिन्छ । तर त्यो सन्तुलन कतै अदृश्य बोझको थैलीभित्र शान्त बसेका बाख्राहरूजस्तै त छैन ! बाख्रा अघाएर ओभानो ठाउँमा बसेका थिए । तर तिनीहरूले आफ्नै उफ्रने स्वभावलाई मौन सम्झौतामा बाँधेका थिए ।
मानिस बाहिरबाट व्यवस्थित, सफल र सभ्य देखिएका थिए । हामीले देखेजस्ता तिनीहरू अवश्य थिएनन् होला । तिनीहरू भित्रभित्रै कुनै अनुत्तरित प्रश्नसँग जुधिरहेका होलान् । पुराणमा भनिएको छ – “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” अर्थात्, मन नै बन्धन र मुक्ति दुवैको कारण हो । “किन” हराएको छ भने “कसरी” केवल अभिनय हुन्छ । “किन” भेटिएको छ भने “कसरी” भित्रैदेखि सन्तुलित हुन्छ । बाहिरको शान्ति सधैं भित्रको शान्ति होइन । कहिलेकाहीँ त्यो केवल सुन्दर व्यवस्थापनको आवरण पनि हुन सक्छ ।
मानिस जति परिपक्व भए पनि ऊ भित्र कतै न कतै बाल्यकाल जिउँदो रहेको हुन्छ । बाख्राको त्यो बथान देख्दा म फेरि गाउँ फर्किएँ । त्यसैले भिन्सेन्ट मिल्लेले भनेकी होलिन् – “बाल्यकाल यस्तो राज्य हो, जहाँ कोहि मर्दैन ।” आजको हिँडाइले मलाई फेरि सम्झायो– हामी जहाँ पुगे पनि, जति सिके पनि, हाम्रो मन सधैं बाल्यकालतिर फर्कन चाहन्छ । गाउँको स्वतन्त्रता, कोलाहल र सरलता हाम्रो मनले खोज्दो रहेछ । तालको फन्को पुरा भयो । सूर्य अलि माथि उक्लिसकेका थिए । पानी अझै शान्त थियो । तर मेरो मनभित्र अनेक तरंगहरू उठिरहेका थिए । मैले नेपाली उखान सम्झे – “अरू हाँसेको र नानीको बाउ काँसेको” । आजको हिँडाइले केवल शरीरलाई मात्र होइन, मनलाई पनि लामो यात्रा गरायो । मेरो हिंडाइ शान्त बथानबाट चलायमान सत्यतर्फ मोडियो ।
(लेखक पाण्डे हाल अमेरिकाको क्यालिफोर्नियामा छन् ।)




