बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सन्दर्भ विश्व हाँसो दिवस : ‘अति हाँसो खती’ नहोस्

सन्दर्भ विश्व हाँसो दिवस : ‘अति हाँसो खती’ नहोस्


  • माधव चापागाईं
  • बैशाख २० २०८३, आइतबार

आज विश्व हाँसो दिवस, हामी सबै “हाँस्नै पर्ने” दिन, आफ्ना दुख, पिर, व्यथा र मानसिक दबाबलाई बिर्सिएर हाँस्ने, हँसाउने र हाँसो दिवसको शुभकामना व्यक्त गर्ने यो पावन दिनमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका आमाबुबा, दिदिबहिनी एवं दाजुभाइमा हँसिलो शुभकामना व्यक्त गर्दछु । आजकलको हाँसो पनि अचम्मको छ । पहिले मान्छे उखान, टुक्का र चुट्किला सुनेर हाँसिन्थ्यो । अहिले मोबाइल हेरेर हाँसिन्छ । अनुहारमा हाँस्य रस उत्पन्न होस् या नहोस् गम्भीरतालाई यथास्थितीमै राखेर मानिस आफ्नै फोनको भरमा हाँसिरहेको छ । मर्निङ वाक, योग र व्यायाम गर्नेहरू सबेरैदेखि “हाहा हुहु” गर्छन्, मानौँ हाँसो नै व्यायाम हो जस्तो, हाँसो हो कि तनाव शान्तिको उपाय छुट्याउनै गाह्रो, त्यसउपर विश्व हाँसो दिवसले हामीलाई हाँस्न सम्झाउँछ । तनावमा हाँस्न सकियो भने निकै फलदायी हुन्छ । तर मनबाट हाँस्नुपर्छ । हाँसोको अभिनयले मात्रै मानसिक खुशी, सन्तुष्टि र शारीरिक तन्दुरुस्ती मिल्दैन । त्यसैले आजको मानिस वास्तविक हाँसो हाँस्न सकिरहेको छैन ।

हरेक वर्ष मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक सोच, भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउनु यो दिवसको मुख्य ध्येय हो । सन् १९९८ मा भारतबाट सुरु भएको यो दिवसले हाँसोलाई स्वास्थ्य र आनन्दको प्राकृतिक औषधिको सूचक मानेको छ । जसले तनाव कम गर्न र प्रतिरोधी क्षमता बढाउन मद्दत पु¥याउँछ । हाँसोले तनाव उत्पन्न गर्ने हर्मोनलाई घटाउँछ र खुशी बनाउने उद्देश्य राख्छ । हरेक दिन १०–१५ मिनेटको हाँसोले मुटु स्वस्थ राख्न मद्दत गर्छ । हाँस्दा शरीरका मांसपेशीहरु सक्रिय हुन्छन् । तत्पश्चात् आराम मिल्छ । मानव शरीरले वास्तविक र कृत्रिम हाँसोबीच फरक छुट्याउन नसक्ने भएकोले कृत्रिम हाँसो हाँसेर पनि जबरजस्ती स्वास्थ्य लाभ लिन सकिन्छ । हाँसोले शारीरिक र मानसिक तनाव क गरेर शारीरिक तन्दुरुस्ती दिलाउँछ ।

हाँसो व्यङ्ग्यको एउटा शैली हो । ख्याल ठट्टा र कटाक्षमा यहिं शैली प्रयोग गरेर व्यक्ति, परिवार, समाज, समुदाय, राजनीति, संस्कार वा विकृतिहरूमाथि चोट पु¥याइन्छ । यसको उद्देश्य मनोरञ्जन गर्नु मात्र होइन, समाजका विसंगत पक्षलाई सुधारतर्फ आकर्षित गर्नु हो । व्यङ्ग्यले अप्रत्यक्ष रूपमा आलोचना गर्छ । सामाजिक विकृति र विसंगतिमाथि प्रहार गर्नु, मनोरञ्जनसँगै चेतना जगाउनु यसको धर्म हो । मान्छेलाई रमाइलो गर्न मन पर्छ । रमाइलो भएपछि हाँसिन्छ । हामी कहाँ हँसिला, फरासिला र राम्रो हाँस्यचेत भएका व्यक्तिहरूले हँसाइरहेका हुन्छन् । अनि हामी प्रतिक्रिया स्वरुप मुसुक्क, खिसिक्क, किंच्च, खितखिताएर, मन खोलेर वा ‘आन्द्राभुँडि चुँडिनेगरी हाँस्छौं । अन्ततः हामी काउकुती लाग्नेदेखि चित्त बुझेसम्म हाँस्छौं । कहिलेकाही बुझ्दा हाँस्छौ भने कहिले बिना सुझ्बुझ अरुको लहैलहैमा पनि हाँस्छौं । कतिपय अवस्थामा अर्कालाई उडाउँदा, डिल्लगी गर्दा वा ठट्टा गर्दा पनि प्रायः मान्छे हाँसेकै हुन्छन् । तर, मानिसलाई हाँसोका कुटिलता र कठोरताहरूसित डर लाग्छ । त्यसैले प्रायः मानिसलाई एउटै पिर हुन्छ आफुलाई देखेर वा आफ्नो कामबाट कोहि मान्छे हाँस्लान् कि भन्ने डर चौतर्फी हुन्छ । त्यसैले त समाज चलेको छ । यदि डर हुँदैनथ्यो भने समाज अनुशासनविहिन हुन्थ्यो ।

हिजोआज हाँसोको बजार व्यापक भएको छ । यो बजारको रिमोट मोबाइल हो । इन्टरनेटबाट प्राप्त श्रव्यदृश्य सामाग्री नै हाँसो मौलाउने आधार हुन् । हाम्रो हाँस्यबजारमा ठट्टा, चुट्किला र उखानटुक्का धेरै बिक्छन् । सोचौं, हाँस्दा हाम्रो केहि जाँदैन । केही नष्ट हुँदैन । त्यसैले एक बारको जिन्दगी होस् या दुई दिनको होस् । मज्जाले हाँसौं ।

पहिले हिन्दू परम्परामा हाँसोलाई उपहास मानिन्थ्यो परन्तु हिजोआज “जो हाँस्यो उहीँ सय वर्ष बाँच्यो“ भन्ने चलन छ । क्रिस्चियन धर्ममा हाँस्नुलाई पाप मानिन्छ । इस्लाम धर्ममा लामो र चर्को हाँसो पूर्ण रुपमा निशेष छ । बौद्ध धर्मले अपराध मानेको हाँसोलाई जैन धर्मले ध्यान मान्छ । तर हरेक धर्ममा बिस्तारै धर्म संस्कार हराउँदै जाने क्रममा अचेल हाँसोलाई त्यति ठूलो अपराध मानिदैन । धर्म संस्कार र परम्पराको जस्तोसुकै मान्यता होस्, हाँस्न भने छोड्नु हुन्न । मज्जाले हाँस्नु पर्छ । खुल्ला मन र उज्यालो दिल बनाएर हाँस्नुपर्छ । हाँस्नु मानवीय स्वभाव हो । यसकारण कुनै पनि प्रसंगमा हामी हाँस्छौं भने यसलाई आफ्नो बानीमा किन रुपान्तरण नगर्ने ? दिनभरका निरासा, पिडा, तनाव र आलस्यतालाई त्यागेर मज्जाले हाँस्ने कि ? या त मुस्कुराइरहने ? अबको बुझाइ यता हुनुपर्छ ।

हामी दिनभर केही न केही प्रसंगले हाँस्छौं । तर, कस्तो हाँसो कसरी हाँस्यौं ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी पनि त सबैको ओंठमा हाँसो देख्न चाहन्छौं । कोहि मान्छे स्वतन्त्र र इमानदार रूपमा हाँस्छन् यस्तो हाँसोले आनन्द दिन्छ । कोहि बाध्यताले मुस्कुराइरहेका हुन्छन् । मानिसको व्यक्तित्व नै खुशी र प्रसन्नतामा अडिएको छ । हाँस्ने मान्छेको परिचय नै छुट्टै हुन्छ । नबोल्ने र नहाँस्ने मान्छेलाई प्रायः कसैले रुचाउँदैनन् । आँत र दाँत दुबै हाँस्नु नपर्ने तर समाजमा आफू राम्रो र असल भएको देखाउन दोस्रो व्यक्तिसँग भेट हुँदा वा कुरा गर्दा मात्रै फिस्स हाँस्ने औपचारिक हाँसो सामाजिक हाँसो हुनुपर्छ । कपटी र इष्र्यालु मान्छेहरू नक्कली हाँसो हाँस्छन् । यो हाँसोमा मानिसको आँत नभएर दाँत मात्र हाँस्ने गर्छ । मानिस कहिलेकाही निस्वार्थ भावले अट्टहास हाँसो हाँस्छ । त्यो मीठो हाँसो ठहर्छ । यस प्रकारको हाँसोबाट पेट, गाला, आँखा र दुवै कुमको भरपुर कसरत हुन्छ । नाटकीय रूपमा कसैमाथी षड्यन्त्र गर्नु अघि उत्पन्न हुने हाँसोलाई दुष्ट हाँसो भनिन्छ । त्यस्तै बालबालिका रोइरहेको बेलामा फकाउने मनशायले उत्पन्न गराइएको हाँसोलाई रुन्चे हाँसो मान्नुपर्छ । भित्री मनदेखि निस्कने अर्गानिक र पेट मिचिमिची हाँस्नु पर्ने हाँसो लहरे हाँसो हो । जब जँड्याहा, गँजडी वा गुण्डाहरु एक जना हाँस्दा अरु पनि सँगै हाँस्छन् भने त्यस्तो हाँसोलाई मनोरञ्जनात्मक हाँसो भनिन्छ ।

व्यङ्ग्यात्मक हाँसो अर्कालाई व्यङ्ग्य गर्न वा होच्याउन प्रयोग गरिन्छ । त्यस्तो हाँसोले विकृती विसङ्गतिप्रति पनि प्रहार गरेको हुन्छ । स्वतस्फूर्त र प्राकृतिक हाँसो मिठो र फलदायी हुन्छ । जुन हाँसोले हामीलाई अथाह आनन्द र खुशी दिन्छ । यही हाँसो नै हाम्रो शरीरको मुख्य औषधी भएकोले शरीरलाई प्राकृतिक रूपमै थकान, पीडा र तनाव निर्मुल गरिदिन्छ । शरीरलाई स्वस्थ्य फूर्तिलो र चङ्गा बनाइदिन्छ । स्वच्छ हाँसोले तपाईं मात्र होइन, तपाईंको वातावरणलाई पनि हाँस्छ । जब तपाईं यस्तो शालिन, भव्य, उन्मुक्त र स्वतस्फूर्त हाँसो हाँस्नुहुन्छ, तपाईंको सान्निद्यमा रहेका मान्छेहरु खुशी र पुलकित बन्छन् । सम्झनुस् बालबालिकासित केही समय मात्रै रमाइ दिनुहोस् । ख्याल ठट्टा गर्नुहोस् आनन्दको सिमा रहँदैन । हाँसोमा त्यस्तो शक्ति हुन्छ, जसले तनावपूर्ण अवस्थालाई तुरुन्त सहज बनाउँछ ।

मानव हाँसो विभिन्न उत्तेजना, आन्तरिक र बाह्य प्रतिक्रियाको परिणामस्वरूप प्रस्फुटन हुने एक शारीरिक प्रतिक्रिया हो । जुन आकस्मिक रुपमा प्रविष्ट हुन्छ र क्षणिक रूपमा समाप्त हुन्छ । जसले स्वास्थ्यमा निकै फाइदा पु¥याउछ । जो व्यक्ति दिल खोलेर हाँस्छ, त्यो मान्छेको कल्पना गर्ने शक्ति बढ्छ ।

भनिन्छ, हाँसोले उच्च रक्तचाप घटाउँछ । त्यसैले आजैबाट हाँस्न सुरु गरिहाल्नुहोस् । हाँस्यव्यङ्ग्य साहित्य पढ्नुहोस् । र, मज्जाले हाँस्नुहोस् । परन्तु गम्भीर वा दुःखद घडीमा रहेका मानिसको अगाडि नहाँस्नुहोस् । हाँस्ने कार्य स्वास्थ्यका लागि फाइदाजनक छ भन्दैमा अत्यधिक नहाँस्नुहोस् “अति हाँसो खती“ हुनसक्छ । शास्त्रले अति सर्वत्र वर्जयेत भनेको छ । धेरै हाँस्ने मानिसलाई सामाजिक रूपमा कठिनाइ आउन सक्छ । त्यसैले सामाजिक भएर हाँस्नुहोस् । मतभेद, झगडा, दुर्घटना र मृत्युमा नहाँस्नुहोस् । हाँस्ने भनेर मांसपेशी नै बाउडिने गरि नहाँस्नुहोस् । वृद्धवृद्धाहरू र गम्भीर रोगबाट ग्रस्त व्यक्तिहरूलाई कडा हाँसोले क्षति पु¥याउन सक्छ । कतिलाई त हृदयघात नै हुन सक्छ । त्यसैले अति हाँस्दा खती हुन सक्छ । विचार पु¥याउ । जय हाँसो ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->