बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उज्यालो यात्रा : सार्थक जीवनको पर्याय

उज्यालो यात्रा : सार्थक जीवनको पर्याय


  • माधव चापागाईं
  • बैशाख २७ २०८३, आइतबार

आधुनिक नेपाली साहित्यका सुप्रसिद्ध छन्दवादी कवि एवं समालोचक रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित “उज्यालो यात्रा” शीर्षकको कविता उत्कृष्ट नीति चेतनामूलक कविता हो । कवितामा आशातीत गन्तव्यको चर्चा गरिएको छ । आशावादी भाव प्रबल रहेको यस कवितामा नेपाली जनतालाई अन्धकारमय निराशालाई चिर्दै उज्यालो गन्तव्यतर्फ डोर्याइएको छ । मानवले जीवन संघर्षलाई शाश्वत सत्य स्वीकार गर्नुपर्ने सन्देश यहाँ उदृत छ ।

कविताले मानिसमा नैतिक चेतना, सकारात्मक सोच, नयाँ उत्साह र आत्मविश्वासका भावहरु प्रदान गरेको छ । नीति चेतनालाई प्रमुख आधार बनाएर रचित यो कविताले समग्र मानव जातीलाई प्रगति पथमा हिंड्न आग्रह गरेको छ । प्रगतिवादी दृष्टिकोणसंग निकट यस कविताले शास्त्रोक्त नियमलाई अवलम्बन गर्दै प्रगतिशील चिन्तनलाई समेत आत्मसात् गरेको छ । प्राणी जगतमा विवेकशील एवं सर्वश्रेष्ठ प्राणी मानिसलाई सत्कर्म र सत् मार्गले महान तुल्याउँछ । सबै मानिसहरू सत्मार्गप्रति प्रेरित बने सभ्य समाज निर्माण हुन्छ । भोलिको भविष्य लोभ लाग्दो बन्छ ।

उज्यालो यात्रा शीर्षक आफैंमा आशा, परिवर्तन, नविनता र उज्ज्वल भविष्यको प्रतीकात्मक अभिव्यक्ति हो । कवितामा अन्धकारबाट उज्यालोतर्फको यात्रालाई जीवन संघर्षसँग समानान्तर मानिएको छ । मानव जीवनमा उत्पन्न दुःख, पिर, वेदना, अन्याय, अत्याचार र निराशालाई “अन्धकार” को संज्ञा दिंदै सामाजिक न्याय, आशा, सफलता, शान्ति, समृद्धि र सर्वोदयलाई “उज्यालो” को रूपमा चित्रण गरिएको छ ।

निरन्तरको संघर्षपछि प्राप्त हुने सुनौलो आगतलाई मुख्य विषय मानेको यस कविताले उज्यालो भविष्यलाई आत्मसाथ गरेको छ । मानव जीवन संघर्षको पर्याय हो । निरन्तर कर्मशिल बन्नु, सुखमा नमात्तिनु, दुखमा नआत्तिनु, विपत्तिको सामना गर्नु, जस्तोसुकै विकृत अवस्थामा पनि निराश नहुनु र सकारात्मक सोच राख्नु भन्ने भाव कविताले बहन गरेको छ । “परोपकार पुण्याय पापाय पर पीडनम्’’ को मूल मन्त्रलाई अनुशरण गरेको कविताले दुखी, गरिब, असहाय मानिसको उपकार गर्नु पुण्य हो अरुलाई पीडा दिनु पाप हो । यसरी कवितामा नेपाली समाज अन्याय, अत्याचार, अभाव र पीडाबाट मुक्त भइ उज्यालो पथमा अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।

मानव जीवनमा दुःख र संघर्ष स्थायी हुँदैनन् । दृढ इच्छाशक्ति र निरन्तरको अभ्यासबाट सफलता पाइन्छ । सर्वोच्च आशा र विश्वासले जीवनलाई उज्यालो बनाउँछ । व्यक्ति, परिवार समाज र राष्ट्रको उन्नतिका लागि सकारात्मक सोच आवश्यक हुन्छ । जीवनलाई आशावादी दृष्टिले हेर्न सिकाउनु यस कविताको मुल ध्येय हो । अँध्यारोबाट उज्यालोतर्फ आकृष्ट गरेको यस कविताले मानिसलाई निराशाबाट उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ । धैर्य, साहस र संघर्षको मद्दतले आशावादी जीवन ज्युनु पर्ने भाव यहाँ उदृत छ ।
सार्थक जीवनका लागि दृढ अठोट, सङ्कल्प र निरन्तरको सङ्घर्ष चाहिन्छ । कर्तव्य परायणतालाई आत्मसाथ गर्नुपर्छ । पौरखी मान्छेको जीवन सुखी हुन्छ । हामीले अन्तरहृदयबाट नै इष्र्याद्वेष र वैमनस्यताका भाव त्यागेर राष्ट्रका लागि काम गर्नुपर्छ । आफूमा निहित ज्ञान, सीप र परिश्रमले धर्ती सजाउनुपर्छ । अन्यायका विरुद्ध आवाज उठाउनु शाश्वत सत्य हो । चन्द्रसूर्य बनेर धर्तीको अन्धकारलाई हटाउन उद्द्त हुनु नै असल कर्मको थालनी हो । विषय वासना र क्षणिक सुखको लागि कर्तव्यबाट पछि हट्नु हुँदैन । उदारताका भावलाई सर्वस्वीकार्य ठान्नु नै उदात्त चरित्र निर्माण हो । त्यसैले असल कर्म गरेर हामी महान् बन्न सक्नुपर्छ । भन्नु नै यस कविताको केन्द्रीय विषय हो ।

लोभलालच त्याग्नु, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र धर्ती सजाउने काममा लाग्नु नै सार्थक जीवनको बाटो समाउनु हो । अथक परिश्रम र निहीत शक्तिबाट जङ्गल पनि स्वर्गको बगैंचा समान बन्न सक्छ । जसरी शक्तिशाली दाउरोलाई सयौंपल्ट घोटेर सुगन्धित चन्दन बनाउन सकिन्छ । त्यसरी नै यो मानव जीवनलाई संघर्षको पर्याय मानी सफल बन्न सकिन्छ । “घन घोटी बञ्चरो’’ भन्याझैं असीमित परिश्रमद्वारा जीवनलाई सर्वोच्चता प्रदान गर्न सकिन्छ । दृढ इच्छाशक्ति र निरन्तरको मिहिनेत भए यो संसारमा असम्भव भन्ने केही छैन । यो संसारमा जति महान् मानिसहरु छन्, उनीहरु सबै दृढ अठोट र निरन्तरको अभ्यासबाट महान् भएका हुन् । तसर्थ आजका मानिसहरूले पनि मनमा दृढ अठोट एवं उच्च सङ्कल्प लिएर मिहिनेत गरेमा महान् बन्न सक्छन् भन्ने भाव यहाँ व्यक्त छ ।

हामीले मनबाट इष्र्या र द्वेष हटाएर सबल जीवन ज्युँनु पर्छ । महान् मानिस बन्न खराब आचरण त्याग्नुपर्छ । इष्र्या र द्वेषता हाम्रा शत्रु हुन् । हाम्रो सुख र शान्तिका बाधक हुन् । यति मात्र नभएर समाज उन्नतिका बाधक हुन् । अरुको डाह गरेर मनमा शत्रुताको भावना राखेर हामी कहिल्यै असल र अग्रणी मानिस बन्न सक्दैनौं । मन सफा भयो भने मात्रै हामीले प्रेमको सुवास छर्न सक्छौं । हामीमा “सर्वजन सुखाय सर्वजन हिताय’’ को भावना जागृत हुनुपर्छ । “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’’ अर्थात् सबै सुखी होउन्, सबै निरोगी (रोगमुक्त) होउन्, सबै मानिस सुखी, स्वस्थ र सुरक्षित रहून्, कसैले पनि दुःख नपाउन् भन्ने भाव पैदा हुनुपर्छ । तब मात्रै हामी देवता समान पूज्य हुन्छौं । आफ्नो व्यक्तिगत स्वार्थ उपर परोपकारी र लोककल्याणकारी कार्यमा समाहित मानिसहरू विश्वकै गौरव भएर रहन सक्छन् । तसर्थ हामीहरु असल मानिस बनेर धर्ती सजाउनुपर्छ ।

असल कर्म गर्ने मान्छे मात्रै आदर्श मान्छे बन्छन् । मानिस कर्म कुकर्मको पहिचान र अबलम्बनबाट महान् बन्छ । कर्मले नै यो धर्ती सुन्दर बनाउन र जङ्गललाई नन्दन बनाउन सकिन्छ । जसरी ढुङ्गालाई सयौंपल्ट कुदेर मात्रै मूर्ति बनाउन सकिन्छ । त्यसरी नै मानिस सत्कर्मको परिपालनले महान बन्न सक्छ । हाम्रा पू्र्खाहरु महान् कर्मले नै सफल भएका हुन् । सत्कर्मले नै उराठ मरुभूमिहरुमा दुबो उमारिएको हो । अनकण्टार पहाडहरु फोडिएका हुन् । तसर्थ बिना कर्म संसार अँध्यारो हुन्छ । सत्कर्मको निरन्तरताले मान्छेलाई भगवान् बनाउँछ । जीवनभर सत् कर्मको यात्रामा लागेका मानिसहरूले समाजलाई अग्रगती प्रदान गर्दछन् । जुन कर्मले मानिसलाई मरणोपरान्त अमर तुल्याउछ । अबोध बालबालिकालाई पनि असल कर्मले सबैको प्रिय र सफल बनाउँछ । बिना कर्म ज्ञान मिल्दैन । त्यसैले हामी भाग्यवादी भएर बस्नु हुँदैन । कर्मशिल भएर भविष्य निर्माण गर्नुपर्छ ।

परिश्रम गर्नु वा मिहिनेती बन्नु नै कर्मशील बन्नु हो । मिहिनेतबाट नै सम्भावनाका सर्वत्र ढोकाहरु खुल्छन् । कविका अनुसार हामी आत्मनिर्भर र स्वावलम्बी बन्न मनमा उच्च सङ्कल्प र दृढ अठोट लिएर काम गर्नुपर्छ । तब मात्र हामी सफल बन्छौं । दान लिने हातभन्दा दान दिने हात सयौं गुणा पवित्र हुन्छन् । त्यसैले हामी लिनुमा भन्दा दिनुमा रमाउनु पर्छ । मनमा सकारात्मक विचार र उदार भावना लिनु, इष्र्याद्वेष र वैरभाव त्याग्नु, सबैप्रती समभाव पैदा गर्नु, समाजमा प्रेमको सुवास छर्नु, कर्मशिल जीवनको यात्रा तय गर्नु, आफूलाई न्यायका लागि दरिलो बनाउनु पर्छ । त्यागका लागि सधैं तत्पर रहने र उदात्त कर्ममा जोडिने मानिस नै विश्वमा आदर्श मान्छे बन्दछन् ।

बाधा अड्चनहरू आउँदा निराश बनेर पछाडि हट्नुहुँदैन । हाम्रो ज्ञान, सीप र क्षमता परोपकार, समाजको उन्नति र देशको विकासमा खर्चिनुपर्छ । हाम्रा दैनिक कर्महरु राष्ट्रोन्नतीतर्फ उन्मुख हुनुपर्छ । हामी सधैँ न्यायका खातिर समर्पित हुनुपर्छ । अन्याय, अत्याचार, शोषण सहेर बस्नु पाप हो । मनमा लोभलालच पालेर सङ्कुचित बन्नु मानव धर्म विरुद्ध हुन्छ । तसर्थ आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र समाजको उन्नतिका लागि त्याग गर्नुपर्छ । सधैं आदर्श मान्छे बन्ने लक्ष्य राखेर महान् कर्ममा खटिनुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि हामी चन्द्रसूर्य जस्तै अटल हुनुपर्छ । आफ्नो बाटो आफ्नै पौरखले खन्नुपर्छ ।

सबै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गरिएको यस कविताका अन्तिम श्लोकमा कवि आफैंले आफू आत्मनिर्भर बन्ने अनुमान गरेका छन् । उनी आफ्नो जिन्दगीको बाटो आफ्नै पौरखले खन्न चाहन्छन् । उनी परनिर्भर जीवन ज्युँन चाहँदैनन् । उनी कर्मको कलमले भाग्य बदलेर सर्वोच्च व्यक्ति बन्न चाहन्छन् । सर्वोच्च कविता लेख्न चाहन्छन् । यसरी कवि स्वयंले आफू कर्मशील, असल र सफल बन्न अझै संघर्ष गर्नुपर्ने अनुमान गरेका छन् ।

“अन्धकार” र “उज्यालो” जस्ता बिम्ब, प्रतीकको प्रयोग एवं अनुप्रास युक्त कलात्मक पंक्तिहरुले प्रेरणादायी र भावपूर्ण अर्थ बोकेका छन् । सरल, सरस, मिठासपूर्ण र प्रभावकारी भाषाशैलीमा अनुष्टुप छन्दको प्रयोग गरी रचित यो कविता उत्कृष्ट नीति चेतनामूलक कविता हो । हामी सबैलाई परोपकारी बन्न प्रेरित गरिएको यस कवितामा कर्मशील बनेर गन्तव्य उन्मुख हुनुपर्ने र कर्मशिल बनेर समाजको आदर्श व्यक्ति बन्नुपर्ने भाव दर्शाइएको छ ।
(लेख कक्षा १० को पाठ्यक्रममा आधारित भएकोले विद्यार्थीलाई विशेष उपयोगी हुनेछ ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->