के हामी समय सञ्चय गर्न सक्छौँ ? समयलाई नदीसँग तुलना गरिन्छ । नदीजस्तै समय निरन्तर बगिरहेको हुन्छ । समय केवल वर्तमानको एउटा बिन्दु मात्र हो । हामी त्यही बिन्दुमा अडिएर बितेका सम्झना र आउने आशाहरूको दोसाँधमा रुमल्लिरहेका हुन्छौँ । हाम्रो देशमा बेरोजगारी तथा कामको वर्गीकरण गर्ने मानसिकताका कारण ‘टाइम पास’ गर्न जुवा–तास खेल्ने जस्ता कार्य पनि गरिँदै आएका छन् । केही काम नपाए अरूकै कुरा काटेर समय बिताउँछौँ । कतिका छोराछोरी रोजगारी र अन्य कारणले विदेशमा भासिँदा वृद्ध बाबुआमा सहाराविहीन हुन पुगेका छन् । बुढेसकालमा धन–सम्पत्तिले मात्र काम चल्दैन । जापानी संस्कृतिमा ‘इकिगाई’ अर्थात् जीवन जिउनुको अर्थ खोज्ने परम्परा पाइन्छ । तर हाम्रा धेरै वृद्धहरू ‘मृत्युको अर्थ’ कुरेर बसिरहेका जस्ता देखिन्छन् । धेरै वृद्धहरूको मुखमा झुन्डिएको वाक्य हुने गर्छ– “फ्याट्ट मर्न पाए त हुन्थ्यो ।” वृद्धहरूका यस्ता निरीह अभिव्यक्तिले हाम्रो राज्य व्यवस्था र समाजको समवेदनाको बैंक टाट पल्टिएको संकेत गर्छ ।
हाम्रा नेताले देशलाई स्वीजरल्याण्ड बनाइदिन्छौँ भन्न थालेको पनि लामो समय भइसकेको छ । एक नेताले अर्कोलाई समय समयमा भन्दै आएका छन्– “नेपाललाई नेपालै रहन देऊ, तर नेपाली पैसा त्यहाँ लगेर जम्मा नगर ।” यहाँ स्वीजरल्याण्डजस्ता देशहरूले समयलाई बैंकमा जम्मा गरी अशक्त र वृद्ध अवस्थामा कसरी साँवा व्याज असुल्छन् भन्नेबारे चर्चा गर्न खोजिएको हो । बैंकमा पैसा त जम्मा हुन्छ, समय कसरी जम्मा हुन सक्छ ? यस्तो जिज्ञासा रहनु स्वाभाविकै हो। कुनै पनि विकसित देशहरूले धार्मिक संस्थाले झैँ भण्डारा लगाएर जनतालाई सुविधा दिने गर्दैनन् । सरकारको काम देशका साधन–स्रोतको परिचालन र वितरणको सुव्यवस्था मिलाउनु हो । समय बचत गर्नु भनेको मानवीय साधनको सुपरिचालन गर्नु हो । स्वीजरल्याण्ड लगायत केही विकसित देशहरूमा समय जम्मा गर्ने बैंक अर्थात् संस्थाहरू खुलेका छन् ।
कयौँ व्यक्तिहरूमा औपचारिक रोजगारीबाट अवकाशपछि पनि काम गर्न सक्ने क्षमता हुन्छ । बिना काम घरमै बस्दा उनीहरूलाई दिक्दारी महसुस हुनु स्वाभाविकै हो । उनीहरूले आफ्नो त्यो समय शारीरिक तथा उमेरगत रूपमा अशक्त व्यक्तिहरूको स्याहार सुसारमा खर्च गर्ने गर्दछन् । वृद्धहरूसँग कुराकानी गरेर समय बिताउँदा पनि उनीहरूलाई ठूलो राहत मिल्दछ । यसरी बिताएको समयलाई पनि कामकै रूपमा मानिँदो रहेछ । प्रत्येक दिन कसैले गरेको कामको घण्टालाई पैसा सरह समय बैंकमा जम्मा गरिँदो रहेछ । यसरी जम्मा भएको समय भविष्यमा आफू अशक्त हुँदा वा वृद्ध अवस्थामा पुगेपछि बचतकर्ताले झिकेर खर्च गर्न सक्दा रहेछन् । पहिले आफूले गरेजस्तै सेवा वा आवश्यकताअनुसारको सेवा पाउनका लागि बचतकर्ताले समय बैंकलाई आदेश दिनासाथ उपयुक्त सेवक सम्बन्धित व्यक्तिको घरमै पठाइदिने गरिँदो रहेछ । स्वास्थ्य बिमाले उपलब्ध गराउन नसक्ने वा बिमाले नभ्याउने अवस्थामा यस्तो सेवा अत्यन्त लाभदायी हुँदो रहेछ ।
यो व्यवस्थाले हाम्रो गाउँघरमा परम्परागत रूपमा चल्दै आएको ऐँचोपैँचो वा पर्म लगाउने प्रचलनको झल्को दिन्छ । नेपालको सन्दर्भमा आधुनिक समय बचत बैंकको अवधारणाबारे चर्चा गर्नुअघि यो अवधारणासँग मिल्दोजुल्दा अन्य देशहरूमा गरिएका अभ्यासहरूतर्फ हेरौँ ।
जापानमा “फूरिआई किप्पु” नामक परम्परागत व्यवस्थालाई आधुनिक रूप दिएर अभ्यास गरिँदै छ । यो व्यवस्थामा टाढा बस्ने छोराछोरीले आफू बस्ने सहरका वृद्धहरूको सेवा गरेर क्रेडिट कमाउँछन् । त्यो क्रेडिट आफ्ना वृद्ध बाबुआमाको सेवामा खर्च गर्दछन्, जो आफ्नै सहरमा बसेका हुन्छन् । आफ्ना छोराछोरीले कसैको सेवा–सुसार गरेको हुँदा आज हामीले अरूका छोराछोरीबाट सेवा पाइरहेका छौँ भन्ने गर्व बाबुआमालाई हुने गर्छ । यस्तो अवस्थामा उनीहरूले आफ्नै परिवारका सदस्यबाट सेवा पाइरहेको जस्तो आत्मीयता महसुस गर्दा रहेछन् ।
नेदरल्यान्डमा अन्तर–पुस्ता आवास कार्यक्रम सञ्चालन गरिएको पाइन्छ । यो व्यवस्थामा केही नर्सिङ होमहरू सक्रियतासाथ संलग्न छन् । ती नर्सिङ होमहरूले विश्वविद्यालयका विद्यार्थीलाई निःशुल्क कोठा सुविधा दिन्छन् । यसरी निःशुल्क बस्न पाएबापत विद्यार्थीहरूले महिनाको तीस घण्टा तोकिएका वृद्धवृद्धासँग समय बिताउनुपर्दछ । उनीहरूले वृद्धवृद्धाहरूलाई सिक्न चाहेका कुरा सिकाउनु पर्छ । उनीहरूसँग बसेर कुराकानी मात्र गरे पनि हुन्छ । जर्मनीमा त्यहाँका नागरिकहरूले आफ्नो कमाइको निश्चित हिस्सा हेरचाह बिमा कोषमा जम्मा गर्नुपर्छ । भविष्यमा आफू अशक्त भएमा बिमाले व्यावसायिक नर्स वा घरमै बसेर हेरचाह गर्ने व्यक्तिको खर्च व्यहोर्ने गरेको पाइन्छ ।
कयौँ देशहरूमा उमेरगत कारणले बिर्सने रोग लागेकाहरूका लागि छुट्टै गाउँको व्यवस्था गरिएको पाइन्छ । त्यस्ता गाउँलाई ‘स्मृतिभ्रंश गाउँ’ भनिँदो रहेछ । त्यस्ता गाउँमा सिनेमा हल, रेस्टुरेन्ट र पसलहरू व्यवस्थित गरिएका हुन्छन् । त्यहाँ काम गर्ने कर्मचारीहरू, विशेषगरी नर्स र डाक्टरहरूले आफ्नो युनिफर्म लगाउँदैनन् । उनीहरू साधारण छिमेकीजस्तै बनेर त्यहाँका वृद्धहरूको निगरानी र सहयोग गर्दा रहेछन् ।
संयुक्त राज्य अमेरिकामा समय बैंकिङको अवधारणा धेरै पहिलेदेखि अभ्यासमा रहेको पाइन्छ । अमेरिकामा राज्यपिच्छे फरक शैलीमा समय बैंकिङ सञ्चालन गरिएका छन् । प्रत्येक नगरपालिकाले आफ्नै विशिष्टतालाई मध्यनजर गरी समय बैंकिङका कार्यक्रम चलाएको पाइन्छ । अमेरिकामा समय बैंकको कार्ड स्वास्थ्य र बुढेसकालका लागि मात्र नभई अन्य सेवाहरूका लागि पनि प्रयोग गर्ने परिपाटी रहेको देखिन्छ । उदाहरणका रूपमा, कसैले घरको बगैँचा सफा गरिदियो भने बदलामा बगैँचा मालिक आफैँले वा अन्य व्यक्तिमार्फत सम्बन्धित व्यक्तिलाई कानुनी सल्लाह, ट्युसन वा कम्प्युटर मर्मतजस्ता सेवाहरू प्रदान गरिदिनुपर्ने रहेछ । कयौँ ठाउँमा समय डलर कमाउन सक्ने सुविधा पनि छ । यस्तो डलर आफ्नो नपुग स्वास्थ्य प्रिमियम तिर्न वा अतिरिक्त सेवा लिन प्रयोग गर्न सकिने रहेछ । डिजिटल प्लेटफर्ममार्फत आफूलाई चाहिएको सेवा पोस्ट गरी उपलब्ध स्वयंसेवकबाट ‘पिक’ गर्ने गरिन्छ ।
अब हाम्रो देशतिर फर्कौँ । हाम्रो समाजमा समय बचतको आधुनिक अवधारणा कानुनी रूपमा नभए पनि गाउँघरमा अहिले पनि पाइन्छ । ऐँचोपैँचो र पर्ममार्फत विशेषगरी कृषि तथा निर्माण कार्यमा श्रमको विनिमय हुने गरेको पाइन्छ । नेवार समुदायमा प्रचलित गुठीले जन्मदेखि मृत्युसम्मका सामाजिक कार्यमा सामूहिक सहभागिता सुनिश्चित गर्दै आएको छ । हाम्रोमा कयौँ अवस्थामा आफन्तलाई भन्दा छिमेकीलाई नजिक मानिने परम्परा रहेको पाइन्छ। “साथी फेर्न सकिन्छ, तर छिमेकी फेर्न सकिँदैन” भन्ने मान्यता अझै जीवित छ । छरछिमेकमा असहज अवस्थामा सहयोगको विनिमय भइरहेकै हुन्छ ।
नेपालमा अहिले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता दिने कार्य सकारात्मक मान्नुपर्छ । नहुनेहरूका लागि यो न्यून भत्ताले पनि ठूलो राहत दिएको छ । अहिले भत्ता पाउनै लागेका बृद्धहरूको भत्ता पाउने उमेर बढाएका कारणले निरासा छाएको छ । उमेर मात्र नहेरि अवस्था अनुसार भत्ता दिने परिपाटी हुनुपर्ने हो । ज्येष्ठ नागरिकहरूले विभिन्न सार्वजनिक सेवा उपभोगका क्रममा पाउने सहुलियतको व्यवस्था पनि राम्रो मान्नुपर्छ । तर नेपालमा ज्येष्ठ नागरिक हितका लागि बनेका नियम कानुनको कार्यान्वयन पक्ष अत्यन्त फितलो देखिन्छ । विगत वर्षदेखि सरकारले ल्याएको नियमअनुसार सन्तानको कमाइको दस प्रतिशत हिस्सा आमाबुबाको खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था छ । नेपालको धार्मिक, सांस्कृतिक, आर्थिक तथा व्यवहारिक धरातलमा यस्तो कानुन प्रभावकारी हुन नसक्ने प्रतीत हुन्छ ।
हाम्रो पूर्वीय दर्शनमा मातापितालाई “देवो भव” भनिन्छ । सेवालाई धर्मको मार्ग मानिन्छ । जब यस्तो पक्षलाई कानुनले बाँध्न खोजिन्छ, सेवाको आध्यात्मिक सुगन्ध हराउँछ । श्रवण कुमारले आफ्ना बाबुआमालाई काँधमा बोक्दा बैंक खाताको ब्यालेन्स हेरेका थिएनन् । छोराछोरीबाट दस प्रतिशत अंश खोज्नु ममताको पराजय मानिन्छ । नेपालमा ठूलो जनसंख्या अनौपचारिक क्षेत्र, खेतीपाती तथा ज्यालादारी कार्यमा संलग्न छ । यस्ता कार्यमा निश्चित मासिक तलब हुँदैन । धेरै सन्तानहरू न्यून आय र अदृश्य बेरोजगारीसँग जुधिरहेका छन् ।
डिजिटल साक्षरताको कमीले गर्दा पनि सरकारको यस्तो प्रावधान व्यवहारिक देखिँदैन । हाम्रो शिक्षामा नैतिकता हराउँदै जाँदा समस्याले थप मलजल पाएको छ । नेपालका केही वृद्धवृद्धाहरूका लागि दस प्रतिशत पैसाभन्दा विदेशमा रहेका सन्तानको दस मिनेटको भिडियो कल बढी फलदायी हुन सक्छ । वृद्ध आमाबुबालाई पैसाको नोटले होइन, सन्तानको ओठको मुस्कानले बढी ऊर्जा दिन्छ । तर अहिले उपभोक्तावाद हावी छ । हाम्रो शिक्षाले हातमा प्रमाणपत्र त दियो, तर हृदयमा समवेदना भर्न बिर्सियो । दुर्गम स्थानमा वृद्धको हातमा पैसा भए पनि सिटामोल नपाउने अवस्था छ । यस्तो ठाउँमा दस प्रतिशत बैंक ट्रान्सफरभन्दा दस पाइला हिँडेर घरसम्म पुग्ने छिमेकीको हात ठूलो हुन्छ । च्यारिटीमा आधारित पक्ष अधिकारमा रूपान्तरण हुने क्रममा धेरै प्रतिकूलता आउन सक्छन् । पैसा जम्मा गर्ने कुरा व्यवहारिकभन्दा भावनात्मक रूपमा पराजित देखिन्छ ।
बुढ्यौलीको अशक्तता एक दिन सबैले भोग्नुपर्छ । आजको युवा पनि कुनै दिन वृद्ध हुन्छ । यो केवल वर्तमानमा भइरहेको समस्या होइन । आजका युवाले पनि बुढेसकालका लागि समय बचत गर्दै जानुपर्ने हुन्छ । हाम्रो समाजमा समय बैंकिङको एउटै मोडेल उपयुक्त हुन्छ भन्न सकिँदैन । कयौँ ठाउँमा जापानी डिजिटल पर्मको मोडेल उपयुक्त हुन सक्छ । यसले काठमाडौंमा काम गर्ने युवाले त्यहाँका अशक्त वृद्धलाई दिएको दुई घण्टा दुर्गम गाउँमा रहेका आफ्ना बाबुआमाका लागि स्थानीय सेवा बनेर फर्कन सक्छ । नेपालमा आश्रमभन्दा आवास मोडेल उपयुक्त हुने देखिन्छ । नेपालका ठूला सहरहरूमा एक्लै बस्ने वृद्धवृद्धाको घरमा विद्यार्थीलाई न्यून भाडामा बस्न दिने र बदलामा विद्यार्थीले उनीहरूको हेरचाह तथा कुराकानीमा समय दिने व्यवस्था गर्न सकिन्छ ।
सामुदायिक गुठी व्यवस्थालाई आधुनिक रूप दिँदै समय बैंकिङ थप्दै जान सकिन्छ । स्थानीय सरकारले यस्तो कार्य व्यवस्थित गर्न सक्छ । धनी वर्गका लागि निजी क्षेत्रबाट सुविधासम्पन्न आवासको व्यवस्था गर्न सकिन्छ । अहिले नेपालमा तीन तहका सरकार छन् । पूर्ण स्वायत्तता पाएका स्थानीय सरकारले समेत आफ्नो ठाउँको आवश्यकता, सामथ्र्य र मनोविज्ञानका आधारमा समय बैंकिङको अवधारणालाई मूर्त रूप दिन सक्छन् । सिर्जनात्मक मोडेल स्विकास गर्न सक्छन् ।
मानिस जीवनको सबैभन्दा ठूलो सम्पत्ति पैसा होइन, समय र समवेदना रहेछन् । बैंकमा थुपारिएको धनले एक दिन साथ छोड्न सक्छ, तर कसैको पीडामा दिइएको समय जीवनभरि प्रतिध्वनित भइरहन्छ । वृद्धावस्था भनेको केवल शरीर कमजोर हुने अवस्था होइन, त्यो त आत्मीयता खोज्ने समय पनि हो । संसार प्रविधिमा तीव्र गतिले अगाडि बढिरहे पनि यदि मानिसले मानिसलाई समय दिन छोड्यो भने सभ्यता भित्रभित्रै उजाड बन्दै जान्छ । मानिसले कमाएको सबैभन्दा ठूलो व्याज भनेकै अर्को मानिसको अनुहारमा फर्किएको मुस्कान हो ।
अन्तमा, समय विनिमयलाई एउटा सुन्दर सामाजिक सम्झौताका रूपमा बुझ्नुपर्छ । यो विनिमयमा तन्नेरीले आफ्नो आजको शक्ति खर्च गरेर भोलिको अशक्ततालाई सुरक्षा कवच तयार पार्न सक्छ । यदि भोलि सहयोग लिनै नपर्ने अवस्था भएमा झन् राम्रो हुन्छ । एउटाले अर्काको पसिना साट्नु नै हाम्रो मौलिक समाजशास्त्र हो । समृद्धि केवल डिजिटल अंकमा हुँदैन । समृद्धि एक–अर्काको समय र समवेदना सञ्चय गर्ने अर्थमा लुकेको हुन्छ । यस्तो समृद्धिका लागि सम्बन्धित सबै पक्ष, विशेषगरी तालुकदार निकाय र नियम कानुन बनाउने सरकार अगाडि बढून्, सोचुन् । शुभकामना !
(शिक्षाचार्य लेखक ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय कार्यसमितिका सदस्य हुन् ।)




