बागलुङ/सदरमुकामबाट टाढा भएपनि निसीखोला गाउँपालिकाले स्थानीय सरकार आउनु अघि नै राष्ट्रिय राजमार्ग पायो । मध्यपहाडी लोकमार्गको कारणले यसअघिका समस्याहरु समाधान बन्दै गए । सडक आएकै कारण उपचारमा सहजै सहर जान सकियो । स्तरीय सडक भएकै कारण शिक्षा, स्वास्थ्य र खाद्यान ढुवानीमा सहज बन्दै गयो । जता पनि जान सकिने भएपछि स्थानीयले हिजोका दिनमा भोगेका धेरै दुःख पीडा बिर्सेका छन् ।
जसका कारण हिजोको दिनमा अति दुर्गम मानिने निसीखोला अहिले सुगम बन्दै गएको छ । बुर्तिवाङदेखि प्रवेश गरेर रुकुम पुर्वको सिमानासम्म लोकमार्गकै कारण सहज यातायातको सेवा पुगेको छ । केही वर्ष अघिसम्म किनमेल गर्न बुर्तिवाङ र गुल्मीको रिडीसम्म पुग्ने निसीखोलाबासी अहिले अन्यत्र जानै पर्र्दैन । निसीखोला गाउँपालिकाभित्रै आँफै बजार बनेका छन् । बजारले आवस्यकताहरु जन्माएको छ । स्थानीयको भाषा, लवाई खवाई समेत फेरिएका छन् । सदरमुकाम र राजधानी देखिका गाडी सिधै यहाँ आइपुग्छन् । जसका कारण यातायातमा त सहज भयो नै, राजधानी र अन्य सहरी क्षेत्रको सचेतना पनि सजिलै भित्रिएको छ ।
जसले आम नागरिकको सोच्ने शैली, विकासलाई मूल्यांकन गर्ने शैली पनि फेरिएको छ । राष्ट्रिय राजमार्ग मात्र होइन, स्थानीय रुपमा पनि यतिबेला राजमार्ग लक्षित सडकहरु दर्जनबढी निर्माण भएका छन् । छिमेकी जिल्लाको पनि पहुँच विस्तार भएको छ । सडकका कारण नागरिकहरु बजारीकरण गर्न सकिने कृषि, पशुपालन र अन्य व्वयसायमा सक्रिय छन् । स्वास्थ्यका सूचकहरु सुधार भएका छन् भने विद्यालयमा पढाइको स्तर र भवनहरु आर्कषक बनेका छन् । स्थानीय सरकार गठनपछि गाउँमै आएको बजेटले नजिकका समस्या देखेको छ । समयमा ती समस्याहरु समाधान पनि भएका छन् । निसीखोलालाई समृद्व बनाउने अभियानमा तमाम सुचकहरु आँफै सहयोगी बनेर आइरहेका छन् ।
पहिला सडकलाई आवस्यक ठानियो, क्रमशः बजारीकरण, शिक्षा, स्वास्थ्य र रोजगारीले पनि समृद्दिको बाटो समातेको छ । ग्रामीण क्षेत्रमा जाने सडकहरु पनि अब विस्तारै स्तरीय बनाउनुपर्छ भन्ने आम नागरिकको बुझाइ बनिसकेको छ । ग्रामीण अर्थतन्त्र पनि सुधार गर्ने, सजह यातायात बिस्तार गर्ने कार्यले निसीखोलाले आर्थिक समृद्दिको बाटो समाउन सक्छ । किनकी ग्रामीण क्षेत्रका किसानले लगाउने कृषि फसलदेखि पशुचौपाया तथा अन्य सामाग्रीलाई बजारीकरण गर्न सडकको आवस्यकता पर्छ । पालिकाले केही सडक, खानेपानी, सिंचाइ लगायतको क्षेत्रमा लगानी बढाएको छ । लगानीलाई सफल बनाउन ग्रामीण क्षेत्रका कृषिजन्य वस्तुले बजार पाउनुपर्छ ।
निसीखोलाले आर्थिक समृद्विको बाटो नै कृषि क्षेत्रलाई प्रमुख मानेको छ । यहाँ उत्पादन हुने कृषि उपज र पशुपालन महत्वपुर्ण छ । लोकमार्गले गर्दा निसीखोलाको उत्पादनलाई बजारीकरण गर्न पनि धेरै सहयोग मिलेको छ । हिजोको दिनमा बुर्तिवाङ बजार नपुगेसम्म कुनैपनि व्यवसाय संभव थिएन । कतिपय मेला महोत्सवको अबसर पारेर रिडीसम्म पुगेपछि मात्र निसीखोलाबासीको आवस्यकता सम्बोधन हुन्थे । तर अहिले घर छेवैमा सडक पुगेपछि यातायात मात्र हैन, ढुवानीमा सहज वातावरण बनेको हो ।
कृषि उपजको हिसाबले धान उत्पादन कम छ निसीखोलामा । तर अन्य कृषि फसल प्रसस्त फल्छ । खोला छेवैमा भएकोले सिंचाइको समस्या छैन । मकै, गहुँ, आलु जस्ता बाली त प्रसस्त फल्ने नै भयो । यो पालिका आलु जोनमा सूचिकृत छ । त्यस बाहेक मकै पकेट, सुन्तला पकेट लगायतका कार्यक्रम बनाएर पालिकाले किसानलाई उत्पादनमा जोडेको छ । भेडा पालनका लागि त संघिय सरकारले दिएको १ करोड १२ लख रुपैयाँले केही संरचना र भेडापालक किसानलाई उत्पादन बढाउन सहजीकरण भैरहेको छ ।
निसेलढोर कृषि उत्पादनका लागि सबैभन्दा उर्भर भूमी हो । चारैतिर हरियाली र मनमोहक उपत्यका भएकोले कृषि उपजको प्रचुर संभावना सँगै पर्यटन प्रवद्र्धनका कार्यक्रम बनाउन पनि उत्तिकै सकिने अवस्था छ । निसेलढोरमै बसेर आलुखेती गर्छन् । पशुपालन गरेका छन् । निसेलढोरका किसानले लाखौंको आलु फलाउने गरेका छन् । उक्त आलुलाई उचित बजारीकरणमा पालिकाले ध्यान दिनुपर्ने छ । यहाँ त परम्परागत रुपमा सयौं स्याउका बोट छन् भने गाउँपालिकाले पनि तीनवर्ष अघिदेखि यहाँका किसानलाई फुजी र गोल्डेन स्याउको बिरुवा बितरण गरेर उत्पादन बढाउन लगाएको छ ।
अघिल्ला वर्ष रोपिएका बिरुवाले फल दिन थालेपछि किसान झन् खुसी छन् । गतवर्ष देखिनै उनीहरुले स्याउ फलाएर खान थालिसकेको बताए । कृषि शाखाका प्राविधिकलाई लगेर उनीहरुले स्याउको स्वाद चखाए । उत्पादन बिक्रीका लागि किसानले बजारको खोजी गरिरहेका छन् । थोरै उत्पादन त नजिकको बजारमा सहजै बिक्री हुनेछ । तर धेरै उत्पादन हुँदा पालिकाले बजारीकरणमा साथ दिनुपर्ने घर्ती बताउँछन् । त्यसका लािग गाउँपालिकादले योजना बनाइरहेको छ भन्छन् घर्ती ।
धार्मिक र सांस्कृतिक रुपमा पनि निसीखोला समृद्ध छ । निसीखोला गाउँपालिका कला र संस्कृतिको खानी हो भन्छन् गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती । माघेसक्रान्तिमा देखाइने मारुनी र पुतली नाँच, मादल, पत्ता नाच, तरवार नाँच तथा पपैया नाँच संरक्षणमा वडाले पहल गरेको छ । वडाले युवापुस्ताले सिक्न चाहेमा तालिम संचालन गर्ने र सामाग्री खरिद समेत गराइदिने गरेको छ । भूमीपुजा, झाँक्री बसाल्ने जस्ता अनौठो प्रकृतिका संस्कृति जोगाउन सक्दा पर्यटन प्रवद्र्धन बढाउन सकिने संभावना छ । कतिपय संस्कृतिलाई रुपैयाँमा परिणत गर्न सकिन्छ । झाँक्री नाँच त चर्चित नै छ । ती संस्कारहरु जोगाउन धेरै पहल भैरहेको छ । युवापुस्तामा ती संस्कृति हस्तान्तरणका लागि पहल भएको छ ।
‘उत्पादनलाई बजार जोड्ने लक्ष्यले लगानी गरिएको छ’
सूर्यबहादुर घर्ती
अध्यक्ष
निसीखोला गाउँपालिका
समृद्द निसीखोला बनाउने तपाइको सपना कुन बिन्दुमा पुग्यो ?
हिजोका दिनमा साना योजना खोज्दै सदरमुकाम पुग्ने बाध्यता हाम्रो हटेको छ । स्थानीय सरकार आएपछि निसीखोलाले आफ्नै बजेटबाट विकासको काम गर्न पाएको छ । त्यस बाहेक हामीले गौरवको आयोजनाको रुपमा वडा नं. ६ को रिग ताललाई बिशेष पर्यटकीय क्षेत्र बनाउने अभियानमा छौं । यो अभियान स्वरुप तालको व्यवस्थापन, जाने पदमार्ग आर्कषक बनाउने र पर्यटकहरु रमाउने अन्य संरचना बनाउने र बस्ने स्थल समेत बनाउने लक्ष्य छ । त्यसका लागि चालु वर्ष पनि हामीले ५० लाख रुपैयाँ खर्चेर संरचनाहरु बनाइरहेका छौं । यो क्रमले तालको संरक्षण, सिंढी मार्गले थप आर्कषण थपेको छ । तर नेपालको वन ऐनले केही समस्या ल्याएको छ । वनकै कारण कैयौं विकासका काम गर्न पाइएको छैन ।
त्यस बाहेक हामीले देविस्थान र लेवाङमा गएको बाढी पहिरो नियन्त्रणमा संघिय सरकारको समपुरक बजेट परिचालन गरेका छौं । त्यो बजेटले अहिले पहिरो नियन्त्रणमा आएको छ । वडा नं. ७ को चोलाङ जाने सडकमा प्रदेश समपुरक बजेटबाट बनाइएको । विशेष योजनाको रुपमा पञ्चासे सडक निर्माण गरियो ।
गतवर्षको संघिय अनुदानबाट पाखुटे बतासे हुँदै हर्पे जाने सडक बनेको छ । यो सडक स्तरीय बन्दा वडा नं. १ र ७ लाई सहज बन्नेछ । उक्त सडक पुरा गर्न क्रमागतमा राखेर आगामी वर्षका लागि पनि बजेट माग भएकोमा संघिय सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेटले नपुगे पनि केही सुधार हुने छ । यो सडक पाखापानी लेवाङ जानका लागि केन्द्रीत छ । यो सडकले छिमेकी जिल्लासम्म जोड्ने र पर्यटन, दैनिक आउजाउ र कृषि उपज बजारीकरणमा सहयोग पुग्नेछ । जे जस्तो काम गरेर पालिकालाई समृद्द बनाउन सकिएला भन्ने थियो, त्यो भएको छैन, तर हिजोको अवस्था तुलना गर्दा निसीखोलाको पहुँच विस्तार, विकासका योजनाहरुको आँफै कार्यान्वयन गर्ने अवसर जुटेको छ ।

?
समृद्द निसीखोलाका लागि अहिले के गर्नुभयो ?
चालु वर्ष पनि हामीले सडक, खानेपानी, पर्यटन र कृषि क्षेत्रमा धेरै काम गरेका छौं । विशेषगरी आन्तरिक बजेटले कृषि क्षेत्रको विकासमा लगानी गरेका छौं भने विकासका पुर्वाधार, पर्यटनका योजना सम्पन्न गर्न विभिन्न क्षेत्रको समन्वय छ । एकीकृत कार्यालयमार्फत पर्यटकीय क्षेत्रहरुमा पदमार्ग निर्माण गरेका छौं । संघ र प्रदेशका समपुरक तथा अनुदानबाट सडक बनेका छन् ।
अधिकांस वडामा आधारभूत खानेपानी सबै घरमा लैजाने काम भएको छ । धेरै योजनाहरु त नेवाको सहकार्यमा भए । अन्य गैरसरकारी संस्थाले पनि पालिकामा साथ दिएका छन् । वडा वडामा ‘एक घर एक धारा’को अभियानमा हामी लगभग सफल जस्तै भैसक्यौ । सडक क्षेत्रमा रहेका स्वास्थ्य चौकीले नपुगेर ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य इकाई स्थापना गरेर दरबन्दी समेत दियौं ।
चालुवर्ष पनि हामीले निसेलढोर जाने सडक स्तरीय बनायौं । त्यस बाहेक पातीहाल्नेदेखि रिग ताल जाने पदमार्ग बनाएका छौं । नरसिंङकोट जाने पदमार्ग बनेको छ । अर्नाकोटमा खानेपानीको समस्या समाधानमा काम थालिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्यमा सुधार भैरहेको छ । हिजोका दिनमा निसीखोलाको शिक्षा र स्वास्थ्यले अध्यारो युगमा थियो भने अहिले त धेरै सुधार भएको देख्न सकिन्छ । कृषि फसलका लागि भने युवा उद्यमीहरुलाई प्रोत्साहनका कार्यक्रम भैरहेका छन् । नाफा परियोजनामार्फत फलफूल खेतीमा लगानी बढाइएको छ । किसानहरु यो अभियानमा जोडिएका छन् । भेडापालक किसानलाई अनुदान दिएका छौं भने भेडापालक किसानलाई लक्षित गरेर ठूला खोर बनाएका छौं ।
विकास र समृद्विको आधार के रहेछ भन्ने लाग्यो ?
सडकबिना अन्य काम गर्न सकिंदैन । मध्यपहाडी लोकमार्गले हामीलाई यत्तिको सहज बनाएको हो । मध्यपहाडीमा जोडेर पहुँच मार्ग बनाएका छौं भने चालुवर्ष नै लोकमार्गको वैकल्पिक सडक बनाएर हालको सडकदेखि पुर्वको खण्डबाट सडक बनेको छ । अब भने यो सडक बनेपछि वर्षातले लोकमार्गमा पहिरो गएपनि सवारी रोकिंदैनन् । ठूला बस र ट्रक समेत गुड्ने गरी निसीदेखि ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सम्मको विकल्पको सडक बनेको हो ।
उत्पादन र पशुपालनको हिसाबले निसीखोला अब्बल छ । लगानी र उचित तालिम तथा प्रविधिको भने अभाव छ । कृषिलाई मुख्य समृद्विको आधार भएपनि सडक अभावमा कतिपय किसानको उत्पादनले बजार पाएको छैन । निसेलढोरका किसानले फलाउने आलु र स्याउ समयमा बजार पठाउन नसकेर किसान मारमा थिए । अहिले भने सडक स्तरीय बनेकोले समयमा बजार पठाउन किसान सफल बन्नेछन् भन्ने लागेको छ । मध्यपहाडी भएकै कारण पातीहाल्ने देखिका नागरिकले बजार, प्रशासनिक सेवा र अन्य साथ पाएका छन् । कतिपय बस्ती र गोठ जाने ठाउँमा बाटो र सडक लैजान सकिएको छैन । ती सबै स्थानमा सडकले जोड्न सक्दा निसीखोला समृद्व बन्ने छ ।
शिक्षा र स्वास्थ्यको विकासमा लगानी गरिरहेका छौं तर निर्माणाधिन आधारभुत अस्पतालले भने हामीलाई गिज्याएको छ । बजेट अभावले धेरै काम रोकिएका छन् । संघिय सरकारमा बजेट माग भैरहेको छ, छिट्टै काम सकेर सेवा प्रवाह गर्ने योजनामा छौं ।
पालिकाले नीति लिए अनुसारको काम गर्न नसकेको हो ?
हामीले नीति त राम्रो बनायौ तर हामी भित्रकै एकताले धेरै काममा असर परेको छ । जनप्रतिनिधि र कर्मचारीबीचको एकता महत्वपुर्ण हो । तर हामीले आँफै कहिले कर्मचारीलाई काम गर्ने वातावरण दिन सकेका छैनौं, कहिले हामी नमिलेर कर्मचारीबाट काम भएको छैन । म त सोझो छु जस्तो लाग्छ, सबैलाई राम्रो गर्न पनि खोजेकै छु, तर के कारणले हो मैले नै सहजीकरण गर्न सकेको छैन । तर पनि अझै सत्कर्म गरौं, सत्चरित्र बनायौ भने सफलता पाउन सकिएला भन्ने छ ।
काम त सोचेजस्तो नभएकै हो । सपना धेरै थिए, बजेट र हाम्रो सक्रियताको कमीले सपनाहरु पुरा भएनन् । विकासका लागि केही खाका भने हामीले कोरेका छौं, अबको नयाँ जनप्रतिनिधिले पनि यो बाटोमा लगानी बढाउन सकेमा विकासले निसीखोला धेरै अगाडि बढ्छ ।
हाम्रो समाजका धेरै बानी व्यबहार र संस्कारमा हामीले सुधार गर्नुपर्छ । भौगोलिक कठिनाइले सदरमुकाम आसपासमा बन्ने संरचना त्यही अनुसार ग्रामीण क्षेत्रमा बन्न सक्दैन । तसर्थ हामीले आफ्नै परिवेश अनुसार काम गर्न पाउनुपर्छ । नत्र नीति र कार्यक्रमले मेल खाँदैन । पर्यटनलाई हामीले पहाडी संस्कृतिमा जोड्न खोजेका छौं । पोखरा वा काठमाण्डौंको जस्तो पर्यटन खोजेर सफल भईदैन ।
तपाईले पालिकाभित्रै मेलमिलाप गर्न नसकेको आरोप छ न ?
यो जिषयमा त मैले मेरै कमजोरी भएको भनिसकेको छु । तर मैले आँफू तल परेर पनि समस्याहरु समाधान गर्न पहल गरिरहेको छु । सबै साथीहरुले समान रुपमा जिम्मेवारी बहन गरिदिने हो भने सुशासन र विकासमा अगाडि बढ्न सक्छौं । निसीखोलामा केन्द्रीय तहका नेता छैनन् । स्थानीय र जिल्ला तहका नेताहरुको सहभागिता र सल्लाहबाटै नीति कार्यक्रम र विकासका योजना बनाइरहेका छौं । केही त्रुटी भएका होलान्, तर समन्वयमा भने केही पछि परेजस्तो लाग्छ । अहिले हामीले चनाखो प्रमुख प्रशासकीय अधिकृत पाएका छौं, उहाँबाट धेरै काम गर्न सकिन्थ्यो, अझै रिझाउन सकिएन की भन्ने लागेको छ ।
अझै धेरै समय काम गर्न पाए के गर्नु हुन्थ्यो ?
सुशासनमा जोड दिने, नागरिकलाई सहजै काम पाउने व्यवस्थापन मिलाउने हो । बजेट बढाउन सकेमा मध्यपहाडीबाट सबै बस्तीमा सडक जोड्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने र पर्यटनमार्फत पालिकाको राजश्व बढाउने गर्न सकिन्छ भन्ने हो । प्रयास गर्दागर्दै पनि प्रतिफल देखाउन सकिएको छैन ।
्





