बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

योग र स्वस्थकर वृद्धावस्था सम्बन्धी एक चर्चा

योग र स्वस्थकर वृद्धावस्था सम्बन्धी एक चर्चा

योग भन्नाले जीम गर्ने, दौडने, उफ्रने, स्याँ स्याँ गर्ने, पसिना निकाल्ने, आसनहरु गर्ने र शरीरलाई निचोर्ने पद्धति भनेर मात्र मानिएको छ, जुन साँघुरो दृष्टिकोण हो ।


  • डा. नरनाथ पाण्डे
  • असार ७ २०८३, आइतबार

सदा झैँ यसवर्ष पनि जुन २१ तारिखका दिन (२०८३ असार ७ गते) ‘स्वस्थ उमेरका लागि योग’ भन्ने नाराका साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउने कार्यक्रम रहेको छ । नेपालमा भने विश्व योग दिवस बाहेक प्रत्येक वर्ष माघ महिनाको १ गते राष्ट्रिय योग दिवस समेत मनाउने गरिन्छ जुन अहिले एउटा राष्ट्रिय पर्वको रुपमा स्थापित पनि भएको छ । विश्व योग दिवसको यसवर्षको नारा अनुसार योग नै स्वस्थकर वृद्धावस्थाको मुख्य सहारा हो र योगबाटै जति बाँचिन्छ स्वस्थकर ढंगले बाँचिन्छ भन्ने आशय प्रकट भएको देखिन्छ । योग चिकित्सा संसारको सबैभन्दा महत्वपूर्ण चिकित्सा पद्धतिका रुपमा स्थापित भएको छ, जसले अब व्यक्ति औषधीको सहारामा बाँच्ने होइन कि योगको सहारामा बाँच्ने हो भन्ने सन्देश दिएको छ । नियमित योग गर्नाले शरीरमा रोगको प्रवेश हुन नपाउने र रोग लागिसकेको अवस्थामा समेत रोगबाट सिकिस्तताको अवस्था आउँदैन भन्ने कुरा अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ । विश्व योग दिवसको तात्पर्य नै विश्वभरका मानिसहरु स्वस्थ रहुन् भन्ने चाहना हो । विश्वभरका सबै मानिस एकै हौं र सबै सँगै बाँचौं भन्ने सामाजिक एकताको प्रक्रियालाई पनि पूर्वीय दर्शनले विश्वास गर्दछ । वर्षको सबैभन्दा लामो दिन जुन २१ तारिखका दिन विश्व योग दिवस मनाइरहँदा हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जसको नेतृत्वमा विश्व योग दिवस मनाउने वातावरण तयार भयो र नेपालका पनि योगका विभिन्न अभियन्तासँगै राष्ट्रयोगी मानसाग्निको अभियानले विश्व योग दिवस सार्थक हुनपुग्यो । पूर्वीय दर्शनका अध्येता यस्ता ऋषितुल्य व्यक्तित्वको सम्झना यस पवित्र दिनमा गर्नुपर्ने हुन्छ, अन्यथा योगका कुरा गर्नु निरर्थक हुनेछ । त्यसकारण यस आलेखमा विश्व योग दिवसको प्रसंग, वृद्धावस्थामा देखापर्ने समस्या र स्वस्थकर उमेरका लागि योगको आवश्यकता सम्बन्धी विषयवस्तुमा चर्चा गरिनेछ ।

योगको इतिहास र १२ औं अन्तर्राष्ट्रिय योग दिवस
सन् २०१४ को सेप्टेम्बर २७ तारिखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघको सभाले ११ डिसेम्बर २०१४ मा प्रस्ताव पारित गरी २०१५ जुन २१ तारिखका दिनदेखि उक्त दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि सन् २०१५ देखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको हो । पहिलो विश्व योग दिवस भारतको नयाँदिल्ली स्थित राजपथमा ३५,९८५ जना सहभागीका साथ गिनिज बुकमा नाम दर्ज गर्दै मनाइएको थियो । विश्व योग दिवसको सन्दर्भ पारेर देशका विभिन्न ठाउँमा विभिन्न योग अभियन्ता, संघ–संस्था र व्यक्तिबाट समेत योग दिवस मनाउन आव्हान गरी सप्ताहव्यापी कार्यक्रमहरू पनि मनाउने गरिएको छ ।

योग दिवस किन मनाउने र यसले यति महत्व किन पायो त भन्ने सम्बन्धमा कुरा गर्नु अघि योग भनेको के हो भन्ने बुझ्नु आवश्यक छ । वास्तवमा योग भनेको जोड हो । योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रुपमा रुपान्तरण गर्दछ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त हुनुका साथै शारीरिक र मांसपेशीय मजबुती समेत पैदा हुन्छ । फलस्वरुप व्यक्तिको आन्तरिक तथा बाह्य क्षमता बलियो हुनपुग्छ र स्वस्थकर जीवनशैलीमा जीवन परिणत हुन्छ । योगको सुरुवात हजारौं वर्ष पहिलादेखि नै भएको मानिन्छ । संसारको सबैभन्दा पुरानो ग्रन्थ वेदका अनुसार संसारमा पहिलोपटक योग गर्ने व्यक्ति भगवान शिवलाई मानिएको छ । शिवले पाएको उक्त ज्ञान सप्तऋषिहरुलाई हस्तान्तरण गरेका र ती ऋषिहरुले योगको ज्ञानलाई संसारभर फैलाएको भनाइ पाइन्छ । योगासनलाई जीवनमा उतार्ने र सो अनुसार हठयोग सम्प्रदाय सुरु गर्ने सन्त शंकरावतार गुरु गोरखनाथ हुन् । उनको सम्प्रदायलाई योग सम्प्रदाय भनिन्छ । यसरी भगवान् शिवदेखि गुरु गोरखनाथसम्मको योगदानलाई हामी कदापि बिर्सन सक्दैनौँ । यसैगरी त्रेतायुगमा भगवान् रामचन्द्र योगी थिए, द्वापर युगमा श्रीकृष्ण भगवान् त योगका प्रणेता नै बने, भगवान बुद्ध योगी थिए, धनवन्तरी, महषर््िा पतञ्जलि लगायत अहिले ओशो, मानसाग्नि, रामदेव, आचार्य बालकृष्ण, भानु गुरु, रमेश नेपाल र विकासानन्द हुँदै धेरै व्यक्तिहरु योगीका नामले चिनिन्छन् ।

हाल संसारका सबैजसो राष्ट्रमा योग सम्बन्धी पठनपाठन र अभ्यास हुनेगर्छ । किनकि योग प्राचिनकालदेखि अस्तित्वमा आएता पनि हाल यसले एउटा विज्ञानको रुप लिएको छ । योग केवल अभ्यास मात्र होइन कि व्यक्तिको सर्वाङ्गीण विकास गराउने माध्यम पनि हो । विश्वभर अहिले योग भनेको शरीर मात्र होइन कि मन मस्तिष्क सफा गर्ने माध्यम, आध्यात्मिक चिन्तन गर्ने माध्यम, शान्तिका लागि अघि बढ्ने माध्यम र पूर्ण स्वस्थ भई जीवनयापन गर्न सकिने महत्वपूर्ण माध्यम हो भन्नेकुरा स्थापित भैसकेको छ । योगलाई धेरैले शारीरिक अभ्याससँग मात्र जोडेर हेर्ने गर्छन् जुन गलत सोचको परिणाम हो । योग भनेको शारीरिक अभ्यास वा व्यायाम पनि हो तर यो सँगै योगका अन्य सातवटा मार्ग ओझेलमा पर्ने गरेका छन् । ऋषि पतञ्जलिले योगसूत्रमा योगका लागि अष्टाङ्ग योग मार्ग भनेर आठवटा बुँदामा उल्लेख गरेर प्रष्ट बाटो देखाइदिएका छन् । ती हुन्( यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि । यदि यो बाटो अनुसार चल्ने हो भने आसन वा व्यायाम त तेस्रो नम्बरमा मात्र आउँछ र त्यसपछि पनि पाँचवटा मार्ग रहेका छन्, जुन सबै अनुसरण गर्ने व्यक्तिलाई मात्र योगी भनिन्छ । तर आजकाल योग भन्नाले जीम गर्ने, दौडने, उफ्रने, स्याँ स्याँ गर्ने, पसिना निकाल्ने, आसनहरु गर्ने र शरीरलाई निचोर्ने पद्धति भनेर मात्र मानिएको छ जुन सरासर अल्पज्ञानका कारण र योगलाई हल्का देख्ने व्यक्तिका नजरबाट मात्र देखिएको साँघुरो दृष्टिकोण हो । संक्षेपमा भन्नुपर्दा योग भनेको लक्ष्य हो भने व्यायाम त एउटा उद्देश्य मात्र हो भनेर बुझ्दा राम्रो होला ।

योग अभ्यास गर्दा बिहान अमृत समय वा ब्रह्म मुहूर्तमा उठी (बिहान ४–५ बजे) दिसा पिसाबबाट निवृत्त भएपछि, मनतातो पानी पिएर, खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ । योग अभ्यास गर्दा जानेको व्यक्ति (गुरु) बाट सिकेर आफ्नो शरीरको अवस्थालाई हेरेर शरीर तताउने हल्का अभ्यास गरेपछि मात्र सकेको मात्रामा आसन, प्राणायाम र ध्यानका साथ गर्नुपर्छ । योग गर्दा प्रतिस्पर्धा नगरी आफ्नो शरीरको क्षमता अनुसार गर्नुपर्छ किनकि योग प्रतिस्पर्धा होइन एक साधना हो । यसरी नियमित रुपमा योग अभ्यास गर्नाले अनगिन्ति स्वास्थ्य लाभहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । यसका साथै आफ्ना परिवारका साथमा वा समूहमा बसेर योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्नसक्ने हुँदा सकभर परिवारका सदस्यहरु वा समूह सहित योग गर्नुपर्छ भन्ने मान्यता रहेको छ । योगबाट हुने लाभका सम्बन्धमा के भन्न सकिन्छ भने–
–शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्दछ जुन योगबाट प्राप्त हुन्छ ।
–हातगोडा, टाउको र शरीर चलाइ अभ्यास गर्नु मात्र योग होइन कि मनलाई समेत आनन्दित राख्न सक्नु नै योग हो ।
–शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोंच र वस्तुलाई चेतनारुपी उज्यालो छर्कन सक्नु नै योग हो जुन योग अभ्याससँगै गरिने प्राणायामबिना पूरा हुनै सक्दैन ।
–चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।
–योगले जति बढी फाइदा आत्मालाई पु¥याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको महत्वपूर्ण खुराक नै योग हो ।
–सामाजिक एकता, आध्यात्मिक विकास, मानसिक कल्याण र शारीरिक स्वास्थ्यको परिपूरक नै योग हो ।

बढ्दो उमेर र शरीरमा देखापर्ने प्रभावहरु
प्रकृतिको नियमानुसार र समयको गतिसँगै मानिस पनि जन्मेपछि शिशु, बाल्यावस्था, किशोरावस्था, प्रौढावस्थाबाट परिवर्तन हुँदै वृद्धावस्थामा प्रवेश गर्दछ । यसरी उमेर बढ्दै जाँदा बुढो हुने प्रक्रिया नै वृद्धावस्था हो । वृद्ध हुनु एक प्रक्रिया हो, जसलाई रोक्न सकिंदैन । बुढ्यौली के कारणले हुन्छ भन्दा पनि यो एक प्राकृतिक देन हो, जहाँ व्यक्ति जन्मेपछि क्रमशः परिपक्व हुने र लामो समयपछि कमजोर भइ अन्तमा मृत्यु हुन्छ । त्यसो त मानिस ३० वर्षको भएपछि बिस्तारै काम गर्ने क्षमतामा कमी आउनथाल्छ र ६० वर्षको भएपछि अन्य समस्याहरू थपिन थाल्छन् । बुढ्यौली वातावरण, खानपान, रहनसहन, परिश्रम जस्ता कुराहरूमा पनि भरपर्दछ । बुढेसकाल लागेपछि शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक रुपमा विभिन्न प्रभाव तथा असरहरु स्वभाविक रुपमा देखिन थाल्छन् । जस्तैः छालाको स्वरुप र रंगमा परिवर्तन आउने, पातलो लचकदार हुने र चाउरी पर्ने, अनुहारमा धर्का देखिने, ४० वर्ष कटेपछि आँखाको वरपर सुन्निएको जस्तो देखिने, दृष्टि कमजोर हुने, रंग छुट्याउन नसक्ने, मोतीबिन्दु र आँखाका अन्य समस्या देखापर्ने, हाडजोर्नी कमजोर हुने, दुख्ने, शरीर कमजोर हुने र दाँत झर्ने, टाउको ठूलो देखिने, नाक कानको लम्बाई बढ्ने, पिसाब थैलीमा पिसाब जम्मा हुने क्षमता घट्ने, छिटो छिटो पिसाब लाग्ने र पिसाब छान्ने क्षमतामा ह्रास आउने, सुन्ने क्षमता घट्ने, मुटु र फोक्सोमा समस्या परी स्वाँ स्वाँ हुने, यौन अक्षमता बढ्ने र यौन इच्छा भएरपनि सम्पर्क राख्न नसक्ने, रौं फुल्ने, शरीर कुप्रो पर्ने, फरक सोंचाइ आउने आदि । यी बाहेक वृद्धावस्थामा सबैले भोग्ने साझा समस्याहरु खानेकुरा खाँदा अड्किने, असजिलो तकियाले निद्रामा समस्या आउने, खुट्टा र पिँडौला फर्कने तथा खुट्टाका पैताला झमझमाउने आदि हुन्छ ।

यस्ता समस्या जो कोहीलाई हुनसक्ने हुँदा वृद्धावस्थाको व्यवस्थापनमा घर परिवार, समुदाय तथा राज्य सबैले ध्यान दिन आवश्यक छ । सम्पन्न देशहरुलाई वृद्ध समाज बन्न सयौँ वर्ष लाग्यो किनकि उनीहरुले स्वास्थ्य, सामाजिक सुरक्षा र बुढ्यौली व्यवस्थापनका लागि राम्रो तयारी गरे । तर नेपालमा भने आर्थिक रुपमा सबल नबन्दै वृद्ध जनसंख्या बढ्दै गइरहेको छ । त्यसैले अहिले नै स्वस्थ बुढ्यौली, जीवनशैली सुधार र ज्येष्ठ नागरिकको स्वास्थ्यमा काम नगरे आगामी केही वर्षमै ठुलो चुनौती थपिने निश्चित छ । जनसांख्यिकिको एउटा महत्वपूर्ण पक्ष ज्येष्ठ नागरिकहरूको संख्या पनि हो । किनकि यो वर्ग आश्रित वर्ग हो र यसले कुनैपनि देशको सामाजिक, आर्थिक तथा अन्य पक्षहरूमा प्रभाव पार्दछ । औषधी उपचार, विज्ञानमा भएको प्रगति र गुणस्तरीय जीवन शैलीका कारण मानिसको औसत आयुमा वृद्धि भई वृद्धहरूको जनसंख्या बढिरहेको छ । सन् २०११ को जनगणनाको प्रतिवेदन अनुसार नेपालमा वृद्धहरूको जनसंख्या ८.१३ प्रतिशत रहेकोमा सन् २०२१ मा बढेर ३८.२ प्रतिशत र वार्षिक वृद्धिदर ३.२९ प्रतिशत पुगेको छ । यसबाट अनुमान लगाउन सकिन्छ कि नेपालमा समेत वृद्धहरूको जनसंख्या बढ्ने क्रम दु्रत गतिमा भइरहेको छ । विश्व स्वास्थ्य संगठनले २०१८ मा प्रकाशित गरेको तथ्यांक अनुसार नेपालीको औसत आयु पुरुष ६८.८, महिला ७१.६ र औसत ७०.२ वर्ष रहेको छ । यो विश्वको औसत आयुको मामलामा ११७ औं स्थान हो ।

स्वस्थ बुढ्यौली र योगको आवश्यकता
अहिलेको विश्व परिवेशमा कुरा गर्दा विश्व स्वास्थ्य संगठनले समेत स्वस्थ बुढ्यौलीलाई प्राथमिकतामा राखेको छ । पहिला यसलाई सक्रिय बुढ्यौली भनिन्थ्यो भने अहिले स्वस्थ बुढ्यौली भन्ने गरिन्छ । स्वस्थ बुढ्यौली भनेको ६० वर्षभन्दा माथि लाग्दा पनि, शारीरिक रुपमा रोग भएर पनि त्यो नियन्त्रणमा हुनु वा यस्ता रोगका कारण हिँडडुल गर्न, मन लागेको काम गर्न सकिरहेको अवस्था भन्ने बुझिन्छ ।

सामान्यतया वृद्धावस्थामा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक समस्याहरु सबैलाई हुनसक्ने भएता पनि घरपरिवार, समुदाय र राज्यबाट उचित सम्बोधन हुनसके वृद्धावस्था पनि स्वस्थकर र व्यवस्थित हुनसक्ने कुरामा दुईमत छैन । यसका साथै वृद्धहरुले पनि आफ्नो स्वास्थ्य स्वस्थकर बनाइ दीर्घजीवी हुन नियमित कसरत, धुम्रपान/मद्यपान त्याग गर्ने र तनाव घटाउने प्रयास गर्ने, समाजमा सक्रिय व्यक्तित्व हुने, धेरै व्यक्तिसँग सम्बन्ध बढाउने, हतार नगर्ने, चिकित्सकको सहयोग लिने, नियमित रुपमा योगासन, नृत्यका साथै रोग देखापरिहालेमा उपचार गरिहाल्ने, मनोरञ्जनका साधनको प्रयोग गर्ने, भजनमा रमाउने, गफगाफ गर्ने र वृद्धहरूको समूहमा रमाउने आदि गर्नुपर्ने हुन्छ । डर, रिस, ईष्र्या, घमण्ड, घृणा र पछुतो जस्ता कुराहरु छाडेर नियमित योग, ध्यान, घुमफिर, स्वस्थकर खानपिन, सामाजिक तथा पारिवारिक सम्बन्ध मजबुत बनाउने प्रयास गर्नुपर्छ । योगका आसनहरुमा जबर्जस्ती सकी नसकि गर्ने अभ्यास होइनकि बसेर गरिने कुर्सी आसन, हात गोडाको सूक्ष्म व्यायाम, वृक्षासन, बक्रासन, वीरभद्रासन, ध्यान, प्राणायाम तथा हास्यासन जस्ता योग अभ्यासहरु गर्न राम्रो मानिन्छ । जसलाई नियमित रुपमा व्यवहारमा अपनाउँदा स्वस्थकर वृद्धावस्था हुनसक्छ र माथि उल्लिखित विभिन्न स्वास्थ्य समस्याहरु पनि हट्ने वा पीडारहित अवस्था आउनसक्छ । त्यसकारण स्वस्थकर वृद्धावस्था कायम राख्ने हो भने नियमित योग अभ्यासमा लाग्नु आवश्यक छ जुन यस वर्षको विश्व योग दिवसको सन्देश पनि हो ।

अन्तमा सुस्वास्थ्य, वुद्धिको विकास, स्वस्थकर उमेर र विश्व शान्तिका लागि एकदिन योग दिवस मनाउन मात्र होइन कि नियमित रुपमा योग गरौँ, योगलाई दैनिक जीवनको एक अंग बनाऔं, योगमा बाँचौँ र योगलाई नै स्वास्थ्यका लागि भरपूर विश्वास राखौँ, स्वस्थ र सुखी बनौँ । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->