म्याग्दी/ हिमालको काखमा अवस्थित अन्नपूर्ण गाउँपालिका प्राकृतिक सुन्दरताका लागि मात्र होइन, दुर्गम भूगोल र छरिएर रहेका बस्तीका कारण सेवा प्रवाहका चुनौतीका लागि पनि परिचित छ ।
यहाँका नागरिकले वर्षौँदेखि स्वास्थ्य सेवाका लागि लामो दूरी तय गर्नुपर्ने, सामान्य उपचारका लागि समेत सदरमुकाम वा पोखरासम्म धाउनुपर्ने, विशेषज्ञ सेवा त झन् कल्पनाभन्दा बाहिरको विषय बन्ने अवस्थासँग जुध्दै आएका थिए । तर पछिल्ला वर्षहरूमा स्थानीय सरकार स्थापना भएपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गरिएका लगानी र कार्यक्रमहरूले ग्रामीण स्वास्थ्य सेवाको स्वरूप परिवर्तन गर्ने प्रयास थालेका छन् ।
अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सञ्चालन गरेका कार्यक्रमहरू त्यसको प्रमाणका रूपमा देखिएका छन् । गाउँपालिका भित्रका स्वास्थ्य चौकीको क्षमता अभिवृद्धिदेखि गाउँघर क्लिनिक, निःशुल्क भिडियो एक्स–रे सेवादेखि औषधि व्यवस्थापन, विद्यालय स्वास्थ्य नर्स कार्यक्रम र मानसिक स्वास्थ्य प्रवद्र्धनसम्मका कार्यक्रमले गाउँपालिकाले स्वास्थ्यलाई केवल उपचारको विषयका रूपमा नभई समग्र सामाजिक विकासको आधारका रूपमा बुझेको संकेत गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कपिल पाण्डे बताउछन ।
उनले भने, ‘स्वास्थ्य राम्रो नभएसम्म विकासका अन्य सूचकहरू बलिया हुन सक्दैनन् । विद्यालय जाने बालबालिकादेखि खेतबारीमा काम गर्ने किसान, व्यवसायी, कर्मचारी, ज्येष्ठ नागरिक र गर्भवती महिलासम्म सबैका लागि स्वास्थ्य पहिलो आवश्यकता हो ।’
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले स्वास्थ्य क्षेत्रमा खर्च बढ्दै जाँदा संसारभर रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने रणनीतिलाई प्राथमिकता दिन थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले पनि यही सोंचलाई आत्मसात् गर्दै स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको बरुवाले सुनाए । ग्रामीण क्षेत्रमा परम्परागत रूपमा शारीरिक श्रम बढी हुने भएकाले जीवनशैलीजन्य रोग कम देखिने मान्यता थियो ।
तर पछिल्ला वर्षहरूमा खानपानको परिवर्तन, शारीरिक गतिविधिमा कमी र बजारमुखी जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा मुटुरोगका बिरामी अन्यत्र बढिरहेको स्वास्थ्यशाखा प्रमुखको भनाइ छ । जनचेतनामूलक कार्यक्रमले दीर्घकालीन रूपमा उपचार खर्च घटाउने, नागरिकको स्वास्थ्य अवस्था सुधार गर्ने तथा उत्पादनशील जनशक्ति कायम राख्न मद्दत गर्ने भएकाले सोही अनुसार गाउँपालिकामा काम भएको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गाउँघर क्लिनिक कार्यक्रम दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य चौकीसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्थाबाट मुक्त गर्न रहेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला, अशक्त व्यक्ति तथा आर्थिक रूपमा कमजोर परिवारका लागि स्वास्थ्य संस्थासम्म पुग्नु आफैँमा चुनौती हुन्छ । गाउँघर क्लिनिकले स्वास्थ्यकर्मीलाई समुदायमा पु¥याएर आधारभूत स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउन सहयोग गर्ने र यसले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै रोगको प्रारम्भिक पहिचान गर्न पनि मद्दत पु¥याउने उनले सुनाए ।
अन्नपूर्ण गाउँपालिकाले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद, आयुर्वेदिक औषधि खरिद तथा स्वास्थ्य संस्थाका लागि आवश्यक सामग्री व्यवस्थापनमा बजेट विनियोजन गरेको अन्नपुर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन् । औषधिको नियमित आपूर्ति हुन सकेमा सामान्य रोगको उपचार स्थानीय तहमै सम्भव हुने र नागरिकको आर्थिक भार कम गर्नुका साथै अस्पतालमा हुने अनावश्यक चाप पनि घटाउँने भएकाले त्यस तर्फ ध्यान दिएको उनको भनाई छ ।
गाउँपालिकाले थालेको एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रमले विद्यालय उमेर समूहमा देखिने कुपोषण, रक्तअल्पता, सरसफाइ सम्बन्धी समस्या, किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन, महिनावारी स्वास्थ्य तथा यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको मुक्तीमार्ग माध्यमिक विद्यालय घारका प्रधानाध्यापक रामकृष्ण खड्काले बताए । नेपालका धेरै विद्यालयमा विद्यार्थीले सामान्य स्वास्थ्य समस्या हुँदा पनि उचित परामर्श पाउने व्यवस्था छैन तर विद्यालयमा नर्सको उपस्थितिले विद्यार्थीको स्वास्थ्य सुरक्षामा नयाँ आयाम थप्न सक्छ ।
गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, निःशुल्क ल्याब सेवा तथा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ । गर्भावस्थामा नियमित जाँच नगराउँदा उच्च रक्तचाप, रक्तअल्पता, भ्रुणको असामान्य अवस्था लगायतका जोखिम समयमै पत्ता लगाइ निःशुल्क परीक्षण सेवाले आर्थिक अभावका कारण स्वास्थ्य जाँचबाट वञ्चित हुने महिलालाई राहत पु¥याउने स्वास्थ्य शाखा प्रमुख बरुवालको भनाई छ ।





