पर्वत / पर्वत उद्योग वाणिज्य सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा किशोरावस्थाका व्यवहारिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
किशोरावस्था तथा बाल्य उमेरमा बालबालिकाहरूमा आउने संवेगात्मक तथा मनोवैज्ञानिक परिवर्तन, ती परिवर्तनको विषयमा परिवार र विद्यालयले बुझ्नुपर्ने र सुझबुझपूर्ण व्यवस्थापन तथा कमजोर व्यवस्थापनबाट उत्पन्न हुन सक्ने परिणामको विषयमा अन्तरक्रियामा सहजीकरण तथा छलफल भएको छ ।
कार्यक्रममा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत मनोचिकित्सक डा. अच्युत आचार्य र प्रदेश अस्पताल पर्वतमा कार्यरत बाल रोग विशेषज्ञ डा. प्रकाश गौतमले सहजीकरण गरेका थिए । किशोरावस्थामा आउन सक्ने परिवर्तनहरूको बारेमा ध्यान नदिँदा, त्यो उमेरका व्यक्तिहरूको मनोवैज्ञानिक अवस्थाको बारेमा नबुझ्दा परिवार, विद्यालय र समाजबाट सकारात्मक सहयोग नपाउँदा मानसिक रूपमा कसरी असर हुन्छ भन्ने कुरा अन्तरक्रियामा सिकाइएको छ ।
नेपालमा बढिरहेको आत्महत्याका घट्नाहरुको कारण नै व्यक्तिहरूको मनोभावनाको बारेमा ध्यान नदिनु भएकोले समस्याग्रस्त व्यक्तिको बारेमा सबैले ध्यान दिनुपर्ने चिकित्सकहरूले बताएका छन् ।
बालबालिकाहरूको स्वास्थ्य तथा मनोविज्ञानको विषयमा परिवारका सदस्यहरूले आवश्यक ध्यान नदिएका कारण बालबालिकाहरू निकै कठिन अवस्थाबाट गुज्रिनुपरेका अवस्थाको बारेमा अन्तरक्रियामा जानकारी दिइएको छ । बुबा आमाको सम्बन्ध विच्छेद, वैदेशिक रोजगारीमा रहेको अवस्थामा अभिभावकको अभाव, छात्रावासमा बसेर एकोहोरो घोकाइमा रहँदाका मानसिक अवस्था, पढेरै अब्बल भएर देखाउनुपर्ने परिवार र विद्यालयको दबाब लगायतको विषयमा पनि चिकित्सकहरूले सहजीकरण गरेका थिए ।
पर्वतका विभिन्न विद्यालयका शिक्षक तथा अभिभावक, प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल, पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा बालबालिका र किशोर किशोरीहरूले किन आत्महत्याको बाटो रोजिरहेका छन् ? भन्ने विषयमा पनि सहजीकरण गरिएको थियो । हरेक व्यक्तिहरू आफ्नो शारीरिक रोगको बारेमा चिन्तित हुने गरेको भए पनि मानसिक सोच र चिन्तन सम्बन्धी समस्याको बारेमा कम चासो राख्दा व्यक्तिहरू समस्याले गुम्सिएर बस्नुपरेको अवस्थाका बारेमा पनि छलफल भएको छ ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले अभिभावक तथा शिक्षकहरुले बालबालिकाप्रति गरिनुपर्ने सकारात्मक र नियन्त्रित व्यवहारका बारेमा जानकारी गराए । बालबालिकाहरूले माग गरेका हरेक कुरा पूरा गरिदिने तर उनीहरूका गतिविधिको बारेमा ध्यान नदिँदा आउने दुष्परिणामको बारेमा सबै सचेत हुनुपर्ने उनले सुझाए ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सी.इ) नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीबाट विषय उठान भएको कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेल, एन.सी.इ पर्वतका संयोजक आशिष शर्माले पनि आत्महत्या र बाल मनोविज्ञानको क्षेत्रमा समाजले भोगिरहेको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्घको कार्यालयका प्रमुख यज्ञ प्रसाद शर्माले गरेका थिए ।





