आलेखको प्रारम्भ
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ५ ताकु, आरुखर्क गाउँमा सुत्केरी भेटघाट गर्न जानुपर्ने पारिवारीक समय आएको थियो । मेरी साली एविता थापा मगरको विवाह गोरखा ताकुमा भएपछि सन्तानको रुपमा छोरा काठमाडौंमा जन्म भएपछि बाबाआमाको तर्फबाट सुत्केरी खर्च लैजाने मगर समुदायको प्रचलनअनुसार जानुपर्ने थियो । म र जिवनसंगिनी रुपक देवी थापा मगरको सार्वजनिक बिदाको समय मिलाएर जानुपर्ने थियो । लगातारको शुक्रबार, शनिवार र आइतबार सँगैको ४ दिने विदामा हामी गोरखा, आरुखर्क जाने भन्ने योजना बन्यो । मलाई गोरखा जानुअघि साइट दृश्यहरु समेत भम्रण गर्ने योजना बुन्दै पर्यटकीय स्थलबारे खोजीनीति गर्न थाले । तर समय छोटो हुन्छ कि भन्ने लागेको थियो । हामी अब ढोरबराही, छाब्दीवराही, दमौली बजार, मानुङकोट, बन्दीपुर, घाँसीकुवा,भिमाद सङग्रहालय लगायतका पर्यटकीय स्थलहरुमा जाने मनोभावना बुन्न थाले । हामी सासुआमाले तयारी गरेको कोसेलीहरु बोकेर बागलुङ बजारबाट यात्रा तय ग¥यौ ।
गोरखाको यात्रामा पर्यटन मिसियो
यात्रा विस्तारै भएको थियो । हामी तनहुँ जिल्ला दमौलीमा कार्यरत साडुभाइ राजु बरामलाई यात्रा आराम्भ गर्ना साथ फोन गरेका थियौं । पोखरासम्म पुग्दै जाँदा बिच बिचमा सम्पर्क भयो । हामी दमौली पुग्ना साथ पृथ्वी राजमार्गको बिचमा भेट भयो । छाब्दी बराही भ्रमण गर्न बाटो नदेखेकोले राजु बराम भाईले गाइड गर्नुभयो । पानीको धारा, माछाको आकारमा पानीको धारा, ठुला–ठुला माछाहरु खेलिरहेका र बराही मन्दिरमा मगर समुदायको मात्र पुजारी हुनुपर्ने लगायतको जानकारी लियौं । फोटो खिच्ने, भिडियो बनाउने काम भयो । मलमास भएकोले भक्तजनको आवतजावत कम भएकोले हामी पनि भरमग्दुर भक्तिभावका साथ छाब्दी बराहीको दर्शन गर्दै नजिकैको स्थानीय होटलमा खाना खायौ र दमौली बजारमा फर्कियौ । साडुभाइले हामीलाई गोरखाको बाह्रकिलो, चोरकाटे, दरौदी पुल, केराघारीसम्म छोड्न जाने काम भयो । सालका रुखहरु भएको स्थान भएकोले ताकु आरुखर्कमा बढी गर्मी महसुस भयो । बराम जातिको घनाबस्ती गोरखामा मात्र भएको जानकारी लियौं । यसभन्दा अगाडि गण्डकी खेलकुद विकास परिषद, पोखराको आयोजनामा बारपाकमा भएको खुल्ला भलिबल प्रतियोगितामा जिल्ला खेलकुद समिति बागलुङबाट प्रतिनिधित्व गरेर यात्रा गरेको थिए । गोरेटो बाटो बिचमा हामीलाई लिन साली नानी एविता थापा मगरको ससुरा बाबा आउनुभएको थियो । पारीवारीक गफगाफपछि एकरात बसेर बागलुङ फर्कने योजना बन्यो ।
गोरखकाली रबर उद्योग र बन्दीपुर केवलकारमा यात्रा
ताकु आरुखर्कबाट यात्रा हामीले पोखरातिर गर्ने समयमा मोटरबाटो बिचमा होडिङ बोर्ड र सडक बोर्डमा साइड लगाएर फोटो खिच्ने काम भयो । गोरखाबाट चोरकाटे, बाह्रकिलो हुँदै आँबुखैरेनी बजार आउने समयमा नेपालको एकमात्र रबर उद्योग गोेरखकाली रबर उद्योग लिमिटेडको साइनबोर्ड देखे । सोको आडमा उभिएर फोटो खिच्ने र बन्द रबर उद्योगको परिसर गेटमा उभिएका चौकीदारहरुको अनुमति लिएर घुम्ने काम भयो । मन अत्यन्त भावुक भयो । खिन्न मन बनाउँदै आगामी दिनमा के फेरी रबर उद्योग संचालन होला कि नहोला भन्दै मनोभावना बुन्न थाल्यौ । रेडियो नेपालबाट विगतमा सुनिने गोरखकाली रबर उद्योगको विज्ञापन र प्रचार सामाग्रीको ताजा याद आयो । मन अघाउने गरी र लोभ लाग्ने गरी फोटो खिच्दै टिकटक, रिलमा अपलोड गर्न मिल्ने भिडियो बनाउँदै चाडोभन्दा चाँडो सञ्चालन होओस् भन्ने भारी मनकामना र इच्छा जाहेर गर्दै गोरखा जिल्लालाई विदाई गर्दै आँबुखैरेनी हुँदै पोखरातिर यात्रा थाल्यौं ।
हामी बन्दीपुरमा केही छिन भम्रण गर्ने योजना बुन्दै गर्दा मोटरबाटो बायाँतर्फ भानुभक्त आर्चायको शालिक देखेपछि त्यसको आडमा उभिएर फोटो खिच्ने मनोभावनाले रोकिए । हामीले आदिकवि भानुभक्त आचार्यको शालिकमा फोटो खिचेपछि माथितिर उभिएको सुरक्षा गार्डले हात हल्लाउदै माथि आउन अनुरोध गरेको संकेत देखियो । राजमार्गबाट छिटफुट रुपमा गाडीहरु पनि माथितिर गएको देखेपछि हामी पनि माथि रहेको बाटो हुँदै गएको त बन्दीपुर केवलकारको स्टेशन रहेछ । स्टेशन वरिपरिको कलात्मक सजावट त भव्य रहेछ । तर हामी बन्दीपुर केवलकारको टिकट काटेर सरासर पहाडकी रानी बन्दीपुरतर्पm लाग्यौं । केवलकार चढ्ने बित्तिकै ताइवानी युवतीसँग यात्रा संयोग जुरेको थियो । हल्का परिचय पछि फोटो खिच्ने र हल्का भिडियो समेत बनाउने काम भयो । ताइवानबाट नेपालमा दश दिन यात्रा गर्ने, भारत, श्रीलंका, माल्दिभ्स, भुटान, थाइल्याड देशहरु घुमेर लामो यात्रा एक्लै गरेर जाने साहस र आत्मविश्वास देखेर मलाई अचम्म लागेको थियो । छोटो–मिठो परिचयसँगै केवलकारको यात्रा टुगिंयो । हामी बन्दीपुर गाउँपालिकाको कार्यालय परिसरमा फोटो खिच्दै गयौं । ताइवानी युवती सरासर अगाडी बढिन् । बन्दीपुर बजारमा मानिसहरुको भिडभाड र फोटो सेसन देख्दा बहुत रमाइलो लाग्थ्यो । मगर, गुरुङ, थकाली, नेवारी लगायतका पोशाक भाडामा लगाउन पाइने र फोटो खिच्ने, भिडियो बनाउनेहरुको भीडभाड उधुम थियो । हामी बन्दीपुरमा सामुदायिक होमस्टे नम्बरहरु सबै हेर्ने काम भयो । साथै सो अवसरमा बलेवा पैयँुपाटा क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा हाल बागलुङ नगरपालिका न्यायिक समितिका सहजकर्ता ज्ञानेन्द्र गौतम र उहाँको परिवारसँग संयोगले भेटघाट भएकोेले सामूहिक फोटो खिच्ने काम भयो । हामीले बन्दीपुर बजारमा हल्का खाजा खाएर बुद्ध गुम्बा विहार हेर्न जाने सोच बन्यो । भन्तेसँग चिनजान कुराकानी पछि नौलो विहार हेरेर बन्दीपुर गाउँपालिकाका उपाध्यक्षसँग चिनजान फोटो सेसनपछि हामी बन्दीपुरको यात्रालाई टुंगाएर दमौली बजारतिर यात्रा तय भयो । बन्दीपुरको बाख्रापालन फर्म, स्थानीय थप होटलहरु हेर्ने मेसो मिलेन । बन्दीपुर बजार माथिको पदमार्ग हेर्न पाइएन । केवलकारमा फर्कने क्रममा पार्कमा भएका कलात्मक संरचनाहरुका बारेमा मज्जाले फोटो खिच्ने, भिडियो बनाउने काममा समय बितेको पत्तो नै भएन । मनोरम दृश्यको लागी हामीलाई भरपुर मनोरञ्जन र आनन्द लिन खुब इन्जिनियरिङले डिजाइन र व्यवस्थापन गरेको रहेछन् ।
तनहुँको दमौलीमा भेटघाट र मानुङकोट भ्रमण
दमौलीतिरको यात्राको क्रममा बिचमा बाटोमा साइड लगाएर खाजा खाने मेसो भयो । दमौलीका आफन्तहरुसँग भेटघाटका लागि भुकण्डे, अर्भकका दाजु पुर्व प्रहरी निरीक्षक मिन बहादुर थापासँग आफन्तहरुको मोबाइल नम्बर मागेर भेटघाट र चिनजान गर्ने योजना बुन्दै गर्दा जाने कि नजाने भन्ने दोधारमा भयौं । अन्ततः मेरो मनसाय त दमौलीको मानुङकोट डाँडामा जाने र सोको बारेमा हल्का जानकारी लिएको थिए । मलाई फेरी मौका मिल्छ कि मिल्दैन होला भन्दै दमौलीमा यात्रा गरेको पहिलो पटक भएको र आफन्तहरुसँग चिनजान तथा भेटघाट समेत हुने भएकोले बस्ने निर्णय भयो । मोबाइल फोनबाट लोकेसन लिने काम भयो । दमौली बजारको छेउमा रोकिएकाले आफन्तहरु बाबु सुरज थापा मगर लिन आउनुभयो । दमौली बजारबाट माथि दुम्सीचौरमा लाग्यौं । दुम्सीचौरमा दुम्सीको शालिकसँग फोटो खिच्ने र आफन्तहरुको जमघट तथा घर भएको भुगोलमा पुग्ने काम भयो । हामीले दुम्सीचौर गाउँ र दमौली बजार, छाब्दी बराही बस्ने निम्न अनुसारका ससुरा बा मनबहादुर थापा मगर, सासुआमा दिल कुमारी थापा मगर, ठुली दिदीसासु अमृता थापा मगर, माइली दिदीसासु खिरमती थापा मगर, माइला साडुदाजु गंगा बहादुर सारु मगर, साइली दिदी सासु कौसिला थापा मगर, साइला साडुदाजु तुलबहादुर दर्लामी मगर, काइली दिदीसासु पार्वती थापा, काइला साडुदाजु जंगबहादुर राना मगर, कान्छी साली कल्पना थापा मगर, साडुभाइ किसान गरङजा मगर, भतिज रामबहादुर थापा, भतिजी माया थापा मगर, भतिज सुजन सारु मगर, भतिजी बुहारी पुनम थापा मगर, नाती असपिन मगर, बुहारी नानी शर्मिला आले, नातिनी अरजुसा मगरको छुटाछुट्टैंै भेटेर सामुहिक फोटो खेचेर अविष्मरणीय र मनोरम पल बनाउँदै पारिवारीक नाताको चिनजानले खुशीयाली बहार छाएको थियो । बाक्लो तुवाँलोले ढाक्ने दमौलीमा मंसिर, पुस महिना आउनुपर्ने सुझाव सल्लाह पाइयो ।
हामीले साँझमा ससुरा बा मनबहादुर थापाको घरमा र बिहान दिदीसासु अमृता थापाको भान्छा तर दिदीसासु कौशिला थापा मगरको घरमा खाने अवसर प्राप्त भयो । हिजो योजना अनुसार हामी मानुङकोट डाँडामा घुम्न जाने भएकोले हामीलाई पथप्रदर्शकका रुपमा राम बहादुर थापा मगर र भतिज सुजन सारु मगरले गर्ने कार्यक्रम तय भयो । दमौली बजारबाट मादी नदिको पुल तरेर हामी घुमाउरो बाटो हुँदै उकालो बाटो विस्तारै लाग्यौं । सिमसिमे पानी आएको थियो । कतै पानीले यात्रालाई अवरोध गर्दछ की भन्ने लागेको थियो । तर हामी मानुङकोट डाँडामा पुग्न सफल भयौ । तर दमौली बजारलाई बादलले छपक्क छोपेको थियो । बादल फाँटेर खुल्ला दमौली बजार हेर्न नपाइने हो कि भन्ने मनमा आभास मिलेको थियो । तर विस्तारै हावा चलेपछि बादल फाँटेर गयो । त्यसपछि बल्ल मनोरम दमौली बजारलगायत आसपासका गाउँहरुको दृश्य हेर्न पाउँदा मन खुशीले चंगा झैं उडन थाल्यो । फोटो खिच्ने, भिडियो बनाउने काम भयो । मानुङकोटमा मानिसहरुको उपस्थिति बाक्लो नै थियो । पारिवारीक पिकनिक, सुख्खा पिकनिक, विद्यार्थीहरुको भम्रण र मनोरम दृश्य हेर्नका लागि मानिसहरुको लर्को लाग्ने रहेछ । घुम्ने गन्तव्य मलाई नौलो तर सुनेको मात्र भएको थियो । मानुङकोट मसिर, पुस महिना उपयुुक्त समय हो भन्ने जानकारी लिदै समय मिलेमा पुस महिनामा मानुङकोट आउने योजना बुन्दै हामी पोखरातिर यात्रा तय गर्यौ ।
अन्तमा
मादी नदीको पुल तरेर पोखरातिर यात्रा गर्ने क्रममा भिमाद बजारबाट नजिकै भएको मगर सङग्रालयमा गएर एकछिन रमाइलो, फोटो सेसन गर्ने र खाजा चिया खाएर आउने सोच थियो । तर हामी थोरै अगाडी आएपछि बल्ल जानकारी भयो । फर्केर जाउँभन्दा कुराकानी मिलेन । पोखरा अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने योजना भएकोले सो कार्य गर्न अगाडी बढ्यौं । पोखरामा शर्मिला थापा मगर बुहारीको घरमा पोखरा चाउथेमा बास बसेर बागलुङ बजार आउने काम भयो ।
यात्राहरु पर्यटनका दृष्टिकोणले हुनुपर्ने हुन्छ तर समय र आर्थिक व्यवस्थापन गर्न बहुत गाह्रो हुने गर्दछ । अनिवार्य दायित्वको कामलाई पुरा गर्दै जिल्लाभन्दा बाहिर जाने शिलशिलामा छेउछाउका पर्यटकीय स्थलहरुमा सकभर पुग्ने धोको फुर्सदको समयमा रहेको छ । जीवन यात्रा हो भन्ने मान्यता राख्ने म धेरैभन्दा धेरै नेपालभित्र नै नघुमेका नौला र रमाइलो स्थानहरु पुग्न र घुम्न बाँकी नै छ । विदेशमा घुम्ने रहर हुँदाहुँदा पनि घुम्न सकिरहेको छैन । भम्रण गरेर संस्मरण स्वरुप लेखेर पुस्तकका रुपमा प्रकाशित गर्ने भावी योजना छ । लेख्ने सामाग्रीहरु निर्माण र सिर्जना गर्नका घुम्नु, डुल्नु, भ्रमण गर्नु र विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने अनिवार्य रहेछ भन्ने मान्यतालाई साकार रुप दिएको छु ।




