बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलविद्युतको हब बन्दै म्याग्दी

जलविद्युतको हब बन्दै म्याग्दी

करिब ३ सय मेगावाट उत्पादन शुरु, थप सयौं मेगावाट उत्पादन हुने


  • अमृत बास्कुने
  • असार ३२ २०८३, बिहिबार

म्याग्दी/  प्रकृतिको अनुपम वरदान पाएको म्याग्दी जिल्लाका साना–ठूला नदी र खोलाहरूबाट विद्युत उत्पादन गर्ने र नयाँ सम्भाव्यता पहिल्याउने कार्यले अभूतपूर्व गति लिएको छ । यसले नेपालको जलविद्युत विकासको नक्सामा आफूलाइ तीव्र गतिमा एक प्रमुख ‘हाइड्रो हब’ का रूपमा उभ्याउँदै गएको छ ।

२०२६ जुलाई २ तारिखमा सार्वजनिक भएको नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत विद्युत विकास विभागको अद्यावधिक प्रतिवेदन अनुसार म्याग्दीका विभिन्न नदीहरूमा उत्पादन अनुमति पाइसकेका र सर्वेक्षणका विभिन्न चरणमा रहेका आयोजनाहरूले जिल्लाको समृद्धिको ढोका ढकढक्याइरहेको मान्न सकिन्छ । जिल्लामा सञ्चालनको तयारीमा रहेका र सर्वेक्षण अनुमति पाएका कम्पनीहरू तथा तिनको अवस्थाको विस्तृत विवरण निम्न अनुसार अनुसार निर्माण तथा उत्पादनको चरणमा रहेका आयोजनाहरू मध्ये १ मेगावाटभन्दा माथिका केही प्रमुख जलविद्युत आयोजनाहरूले उत्पादन अनुमति प्राप्त गरी काम अगाडि बढाइरहेका छन् । भने अहिले केही जलविद्युत आयोजनाहरु सञ्चालनमा आएका छन् ।

म्याग्दीमा सबै भन्दा शुरुमा २०५१ सालमा अनुमती पाएर सञ्चालनमा आएको दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको आयोजना थियो । अहिले पछिल्लो समय १४ मेगावाटको घारखोला जलविद्युत, ४२ मेगावाटको मिस्त्री खोला, ५ मेगावाटको घलेम्दी खोला, ३७ मेगावाटको राहुघाट मंगले र ३८ मेगावाटको निलगिरी खोला जलविद्युत आयोजनाले अहिले बिद्युत उत्पादन गरी रहेका छन् । त्यसैगरी ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाले विद्युत उत्पादन गरी रहेको भए पनि अहिले भने वर्षा पछिको बाढीले क्षती पुगेकाले रोकीएको छ । त्यस्तै ७१ मेगावाट लिगिरी खोला क्यासकेट, ४८.५ मेगावाट अपर राहुघाट, २१.३ मेगावाटको ठुलोखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भै रहेको विद्युत विकास विभागका सूचना अधिकारी बद्री कुइँकेलले जानकारी दिए ।

त्यस्तै गरी विद्युत उत्पादन गर्नका लागि निर्माण कार्य थालेका मध्ये रघुगंगा गाउँपालिका अन्तरगत रहने गरी ४० मेगावाटको जलविद्यूत निर्माणका लागि राहुघाट खोलाको पानी उपयोग गर्ने गरी रघुगंगा हाइड्रोपावर लिमिटेडले यसको उत्पादन अनुमति पाएको छ ।
त्यस्तै ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत आयोजना म्याग्दी खोलाको प्रचुर बहावलाई प्रयोग गर्न हाइड्रो एम्पायर लिमिटेडले सञ्चालन गर्दै छ । यो आयोजना म्याग्दीको मराङ, मुदी र मुना क्षेत्रमा फैलिएको छ । धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको २५ मेगावाटको दरबाङ म्याग्दी खोला जलविद्युत आयोजना म्याग्दी खोलामै निर्माण हुन लागेको यो अर्को महत्वपूर्ण आयोजना हो ।

त्यस्तै अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ५३.३ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत आयोजना पनि म्याग्दी खोलाकै माथिल्लो तटीय क्षेत्रमा निर्माणाधिन अवस्थामा छ । एभरेष्ट एनर्जी एण्ड इन्फ्रास्ट्रक्चर फण्ड प्रालिले अनुमति पाएको १४.७ मेगावाटको मुदी खोला जलविद्युत आयोजना निर्माण गरी रहेको छ । त्यस्तै ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना म्याग्दी खोलाको पानीबाट उर्जा निकालनाका लागि हाइड्रो भिलेज लिमिटेडले उत्पादन अनुमति सुरक्षित गरेको छ । अर्को हो चिमखोला क्षेत्रमा बागर खोलाको पानी उपयोग गरी ५.५ मेगावातको बागर खोला जलविद्युत आयोजना मोना हाइड्रोपावर लिमिटेडले अनुमति प्राप्त गरेको छ । २० मेगावाट कुनवान खोला जलविद्युत आयोजना मुदी क्षेत्रमै पर्ने कुनवान खोलाबाट विद्युत उत्पादनका लागि सुस्मित इनर्जी प्रालिले अनुमति पाएको छ । उर्जा उद्यमी सुशील पोखरेलले नेतृत्व गरेर म्याग्दीमा तीन वटा जलविद्युत आयोजनाहरु निर्माणको क्रममा रहेका छन् ।

त्यसैगरी धार्मिक रुपमा पवित्र मानिने कालीगण्डकी नदिको पानी प्रयोग गरेर १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले कालीगण्डकी नदीको विशाल प्रवाहलाई समेट्दै कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको मेगा प्रोजेक्टको अनुमति पाएको छ । ५३.५३९ मेगावाट मिडिल कालीगण्डकी जलविद्युत आयोजना कालीगण्डकी नदीमै हाइड्रो सपोर्ट प्रालिले उत्पादन अनुमति प्राप्त गरेको छ । ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाका लागि कालीगण्डकी हाइड्रोपावर प्रालिले अनुमति पाएको छ । ४ मेगावाटको रुप्से खोला जलविद्युत आयोजना निर्माणको अनुमती रिसर्च एण्ड डेभलपमेन्ट ग्रुपले पाएको भए पनि पर्यटकीय रुपमा निकै आकर्षक देखिने रुप्से झरनाको सौन्दर्य नासिने भन्दै स्थानीयले बिरोध गरेका छन् ।

म्याग्दी जिल्ला भित्र मात्रै साना–ठूला गरी दर्जनौं आयोजनाहरूले उत्पादन अनुमति पाउनु र निर्माण तीव्र हुनुले यो जिल्लामा लगानीकर्ताका लागि सुरक्षित र आकर्षक गन्तव्य बनेको प्रमाणित गर्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । म्याग्दी जिल्लामा धेलै जलविद्युत आयोजना निर्माण हुँदै गर्दा कम्तीमा पनि जिल्ला भरका नागरिकले आयोजना प्रभावितका रुपमा शेयर हाल्न पाउने व्यवस्था हुनु पर्ने समेत उनले माग गरे ।

म्याग्दी र कालीगण्डकी करिडोरमा बन्ने यी आयोजनाहरूबाट मात्रै राष्ट्रिय ग्रिडमा ८०० मेगावाटभन्दा बढी विद्युत थपिने सुनिश्चित भइसकेको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा जलविद्युत प्रवद्र्धक प्रमोद श्रेष्ठको भनाई छ । उनका अनुसार यी आयोजनाहरूले स्थानीय स्तरमा रोजगारीको सिर्जना मात्र गरेका छैनन्, सडक, शिक्षा र स्वास्थ्य जस्ता पूर्वाधारको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएका छन् । जलविद्युत क्षेत्रमा भइरहेको यो क्रान्तिले म्याग्दीलाई नेपालकै अग्रणी उर्जा उत्पादन केन्द्रको रूपमा स्थापित गराएको छ र आगामी दिनमा यसले देशको आर्थिक समृद्धिमा कोसेढुङ्गा सावित गर्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->