पोखरा/हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा सदस्यहरू कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
नेपाली कविता र कलाका प्रभावशाली प्रतिभा श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् । लोकनृत्य, गाईजात्रा, बाघजात्रा भैरवनृत्य संरक्षणमा चार दशक आफूलाई समर्पित गराएका उनका दर्जन कविता कृति प्रकाशित छन् ।
वाङ्मय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभवसमेत छ । उनी यसअघि दर्जन बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान, पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
संस्थाद्वारा सञ्चालित शुभप्रभात काव्यमाला पुरस्कार गन्धर्व सारंगी पाठशाला हेमजालाई प्रदान गरिने भएको छ । संयोजक बलराम पौडेलको संयोजकत्वमा सोमनाथ गौतम र डिल्लीराम पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई संस्थाको बैठकले अनुमोदन गरेको हो ।
प्रतिष्ठानले मासिक रूपमा सञ्चालन गर्ने शुभप्रभात काव्यमाला र प्रतिष्ठानका कार्यक्रममा सारंगीको धुनसहितको गायनले प्रतिष्ठानका गतिविधि सफल पार्न पु¥याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको जनाइएको छ । पाठशालाका बालबालिका सम्बरबहादुर गायकद्वारा प्रशिक्षित हुँदै आएका छन् ।
प्रतिष्ठानले संस्थाको कोषका लागि स्वेच्छिक सहयोग प्रदान गरेका दाताको रकमलाई एकीकृत पारी २०८१ सालमा हेमजा साहित्य राष्ट्रिय पुरस्कार कोष स्थापना गरेको हो ।संस्थाको मासिक रचनावाचन कार्यक्रमलाई प्रभावकारी बनाउन तत्कालीन अध्यक्ष बलराम पौडेलको पहलमा साहित्यकार डापुष्पा केसी भण्डारी र असफल गौतमको सहयोगमा शुभप्रभात बालसाहित्य कोष स्थापना गरिएको हो ।
पहिलो पटक अर्पण गर्न लागिएका दुवै पुरस्कार संस्था स्थापना दिवस यही साउन ८ गतेका दिन एक समारोहबीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनील गायकले जानकारी दिए ।





