बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कर्णधारलाई कुकर्मबाट बचाऔं

कर्णधारलाई कुकर्मबाट बचाऔं

अपराध दण्डनीय हो र यो कर्म गर्दा उन्मुक्ति पाइँदैन र भविष्य डामाडोल हुन्छ भन्ने सन्देश प्रवाह गर्ने, सहायक कारकको रुपमा देखिएको सामाजिक सञ्जालको प्रयोगबाट उनीहरुलाई टाढा राख्ने एवं पारिवारिक विघटनले उत्पन्न सामाजिक संरचना बदल्नेतर्फ राज्यले ध्यान दिनै पर्छ ।


  • Dhorpatan News
  • साउन ११ २०८३, सोमबार

बागलुङको बडिगाड गाउँपालिकाका एक किशोरको हत्यामा समवयी ४ जना संलग्न भएको समाचार सार्वजनिक भएको छ । १७ वर्षीय लजिन थापाको आइफोन हत्याउनका निम्ति उही उमेर समूहका २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असीम वन र १५ वर्षीय ददि परियारले गरेको आक्रमण आङ सिरिङ्ग पार्ने खालको त छँदै छ, किशोर र बालबालिका गम्भीर अपराध कर्ममा संलग्नताको डरलाग्दो चित्र पनि प्रस्तुत भएको छ ।

पछिल्लो समय बालबालिका र किशोरकिशोरी अपराध र लागुऔषध कुलतमा पर्ने उपक्रम बढेको विभिन्न प्रतिवेदनबाट पुष्टि भएको छ । केही दिनअघि कास्की प्रहरीले बलात्कारको कसुरमा बाल सुधारगृहमा रहेका र जेनजी आन्दोलनको क्रममा भागेका एक बालकलाई पुनः पक्राउ गरेको समाचारले पनि गम्भीर अपराधमा बालबालिकाको संलग्लता पुष्टि गर्छ । यस्तो किन भइरहेको छ ? भविष्यका कर्णधार भनिएका बालबालिकाहरु किन गम्भीर अपराध कर्मतर्फ मोडिएका छन् भन्नेबारे चाहिँ अब नयाँ कोणबाट सोच्नुपर्ने देखिएको छ ।

इन्टरनेट र सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सहज बनेको छ । यसले उनीहरुलाई सकारात्मक भन्दा पनि नकारात्मक कुरा सिक्न मद्दत पु¥याएको छ । केही विकसित राष्ट्रले बालबालिकालाई इन्टरनेट र सामाजिक सञ्जालबाट टाढा राख्ने प्रयत्न सुरु गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । नेपालको कुरा बेग्लै छ । यहाँ हातेफोन बालबालिकालाई भुलाउने माध्यम बनेको छ । परिवारका सदस्यहरु नै भाइरल बन्ने धुनमा टिकटक ,रिल्स, इन्स्टासहितका सामाजिक सञ्जालमा व्यस्त हुँदा त्यसको प्रभाव बालबालिकामाथि नपर्ने कुरै भएन । सामाजिक सञ्जालको कोलाहलमा रुमलिएको नेपाली समाजमा त्यसैले मान्छेको मति बिगारिदिएको छ । बालबालिका त्यसबाट अछुतो रहने कुरै भएन ।

अर्कोतर्फ, समाज बदलिँदो छ । हिजोका मूल्य, मान्यता भत्किएका छन् । पारिवारिक संरचनाहरु पनि उस्तै गरी फेरिएका छन् । बालबालिकाहरु आफूभन्दा ठूलाको अदवमा बस्ने हिजोको संस्कार विस्तारै मर्दै छ । बालबिज्याइँ बढ्नुमा पारिवारिक विघटन, गरिबी र देखासिकीले पनि उत्तिकै काम गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले बालबालिका संलग्न अपराधको प्रवृत्ति अध्ययन प्रतिवेदन २०७५ अनुसार अल्लारे उमेर समूहमा रहेकाहरु यौन शिक्षाको अभाव, सूचना प्रविधिको गलत प्रयोगका कारण अपराधमा संलग्न भएको औंल्याएको छ । यस्तै लागुऔषधसहितका अन्य कुकर्ममा लाग्ने क्रममा उनीहरुले आफूभन्दा ठूलाको सिको गरेको पनि भेटिएको छ । बालबालिकालाई अपराधबाट टाढा राख्नको लागि बालसुधार गृह वा कानुनी प्रक्रियामात्र पर्याप्त हुँदैन भन्ने यी घटना क्रमले पुष्टि गरिसकेका छन् ।

अतः अपराध कर्ममा बालबालिकाको संलग्नता नहोस् भन्नका खातिर राज्यले अब छुट्टै रणनीति एवं कार्ययोजना तय गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । अपराध दण्डनीय हो र यो कर्म गर्दा उन्मुक्ति पाइँदैन र भविष्य डामाडोल हुन्छ भन्ने सन्देश प्रवाह गर्ने, सहायक कारकको रुपमा देखिएको सामाजिक सञ्जालको प्रयोगबाट उनीहरुलाई टाढा राख्ने एवं पारिवारिक विघटनले उत्पन्न सामाजिक संरचना बदल्नेतर्फ राज्यले ध्यान दिनै पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->