मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

नाम नमिल्दाको संकट पर्दामा

नाम नमिल्दाको संकट पर्दामा


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

पोखरा/माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौं सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा कलाकार तथा चलचित्र निर्माण टोलीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले नेपाली समाजमा देखिने गम्भीर तर कमै चर्चा हुने समस्यालाई केन्द्रमा राखेको संकेत गर्छ । सार्वजनिक टेलरमा पेन्सन पट्टामा नाम नमिल्दा उत्पन्न हुने समस्या, त्यसका कारण परिवारले भोग्नुपर्ने आर्थिक तथा सामाजिक कठिनाइ र त्यसको समाधानको खोजीलाई प्रस्तुत गरिएको छ ।

सामान्य कागजी प्रक्रियाजस्तो देखिने विषयले परिवारको भविष्यमा कति ठूलो असर पार्न सक्छ भन्ने पक्षलाई चलचित्रले उठान गरेको देखिन्छ ।पेन्सन पट्टा कुनै सरकारी कागजात मात्रै नभई परिवारको दैनिक जीवन चलाउने महत्वपूर्ण आधारसमेत हुन सक्छ भन्ने भाव यसमा देखाइएको छ ।

चलचित्रले प्रेम, त्याग, संघर्ष र आत्मसम्मानलाई कथासँग जोडेको छ । ट्रेलरमा पात्रहरूले सामना गर्ने समस्या, पारिवारिक सम्बन्धमा त्यसले पार्ने प्रभाव र समस्या समाधानका लागि गरिने प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । यसमा अभिनेता दयाहाङ राई र गौमाया गुरुङ मुख्य रूपमा देखिएका छन् । उनीहरूमार्फत् चलचित्रको पारिवारिक तथा सामाजिक परिवेशलाई अगाडि बढाइएको छ ।

चलचित्रमा पशुपति राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, सुरज तमु, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, पुस्करबहादुर गुरुङ, सुनील थापा, प्रतीक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुसा राई, मनिका गुरुङ लगायतका कलाकारको अभिनय छ ।

कास्कीको ताङतिङ गाउँ र पोखरा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रले स्थानीय परिवेश र पात्रहरूको जीवनशैलीलाई कथासँग जोडेको छ । माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा सामाजिक यथार्थलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

‘पेन्सन पट्टा’को यसअघि सार्वजनिक गरिएको टिजर र ‘जुनी जाला’ गीतले दर्शकको ध्यान तानिसकेको छ । टिजर तथा गीतपछि सार्वजनिक टेलरले चलचित्रको विषयवस्तुबारे थप कौतुहलता बढाएको छ ।

निर्देशक गुरुङले चलचित्रको कथा सामाजिक परिवेशसँग नजिक रहेकाले दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । चलचित्रले समाजमा घटिरहेका तर धेरैपटक पर्दापछाडि रहने विषयलाई कथाका रूपमा उठाउने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->