शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

कांग्रेस कास्की २ मा धाँधलीको आरोप

कांग्रेस कास्की २ मा धाँधलीको आरोप


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८३, बिहिबार

पोखरा/नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा मत परिणाम आइसकेपछि विवाद सुरु भएको छ । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफू अनुकुलका कुनै पनि सभापतिका उम्मेदवारले चुनाव नजितेपछि धाँधली भएको आरोप लगाएका छन् ।

क्षेत्र २ मा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले ११ जना आफू अनुकूलका व्यक्तिलाई मनोनित गरेका कारण निष्पक्ष मतदान हुन नसकेको थापाको आरोप छ । थापाले क्षेत्रीय सभापति र प्रदेश सभापति २ जनालाई मत नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

थापाले ३२ वटा निर्वाचन अधिकृतले सही नगरेको मतपत्र बक्सामा गएको आरोप लगाएका छन् । ‘राति गनेको समयमा ३२ वटा भनिएकोमा ४ वटामात्रै देखियो, ८ वटा देखिएन भन्ने छ । अब रातमा मतदान अधिकृतले हस्ताक्षर गर्नुभयो,’ उनले भने, ‘यो पूर्ण धाधलीपूर्ण छ । एक्लौटी रुपमा जाँदा हामीलाई २२ मतको फरक प¥यो ।’

‘चालिसेजीले मनोनयन गरेका साथीहरु एकदम राम्रो हुनुहुन्छ, उहाँहरुले मलाई भोट पनि दिनुभएको छ तर, क्षेत्रीय सभापति र प्रदेशको सभापति २ जनालाई चाँहि उहाँहरुले भोट दिनुभएको छैन,’ थापाले भने, ‘उहाँले (चालिसेले) जहाँ भन्यो, त्यही मत हाल्ने किसिमका व्यक्ति नियुक्ति गर्नुभयो ।’

असन्तुष्ट थापा पक्षका प्रतिनिधिले अदालत जाने तयारीसमेत गरेका छन् । उनीहरुले क्षेत्रीय र प्रदेश समितिक पदाधिकारीमा फेरि मतदान गराउनुपर्ने र ११ जना मनोनीतहरु खारेज गर्नुपर्ने मागसमेत राखेका छन् । थापाले अदालत जानेबारेमा छलफल चलिरहेको र चाँडै जानेसमेत सुनाए ।

प्रदेश र क्षेत्रका सभापतिका उम्मेद्वारहरु देवकृष्ण पराजुली, दीपेन्द्र मर्सानी र अर्जुन पोखरेलले विवादित विषयको निष्पक्ष छानबिन नगरी मतगणना र परिणाम घोषणा अगाडि नबढाउन माग गरेका छन् । ‘पोखरामा नभएका प्रतिनिधिले समेत मत हालेको पाइएको हुँदा यथार्थ छानबिन गरी मतगणना तथा घोषणा गर्नका लागि अनुरोध गर्दछौं,’ उनीहरुले बुझाएको पत्रमा उल्लेख छ ।

अर्का क्षेत्रीय सभाप तिका उम्मेदवार सुवास सिग्देलले पनि छानबिनको माग गरेका छन् । कास्की २ को सभापतिमा नवीन बराल, प्रदेश (१) मा भोजराज आचार्य र (२) मा अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका छन् ।

बराल १४९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सुभाष सिग्देलले १ सय ४२ मत प्राप्त गरे । देवराज आचार्यले १ सय ३१ र देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरे । ५ सय ५४ प्रतिनिधि रहेकोमा निर्वाचनमा ५ सय ४० मत खसेको थियो ।

प्रदेशसभा ‘१’ सभापतिमा भोजराज आचार्य १ सय ३२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले १ सय २३ मत प्राप्त गरे । उक्त क्षेत्रमा कुल २ सय ५६ मत खसेको थियो । प्रदेशसभा ‘२’ को सभापतिमा अमृत शर्मा तिमिल्सिना १ सय ४८ मतसहित विजयी हुँदा दीपेन्द्र मर्सानीले १ सय र सुवर्ण केसीले ३३ मत प्राप्त गरे । उक्त क्षेत्रमा २ सय ८४ मत खसेको थियो ।

कास्की क्षेत्र नम्बर ३ ‘१’ को निर्वाचन पुनः स्थगित भएको छ । पूर्वसहायक मन्त्री प्रकाश गुरुङको निधनको शोकका कारण बुधबारका लागि लागि तय गरिएको निर्वाचन रोकिएको हो । स्थगित मतदान असोज १५ गते हुनेछ । यसअघि मतपत्रमा उम्मेदवारको नाम छुटेको भन्दै त्यहाँ सहमतिमै मतपत्र जलाइएको छ । कास्की १ मा भने बुधबार रातिबातट मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->