बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

६० हजार घरको लालपूर्जा अब विद्युतीय अभिलेखमा

६० हजार घरको लालपूर्जा अब विद्युतीय अभिलेखमा


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७५, मंगलबार

पोखरा, ५ चैत – पोखरा महानगरभित्रका ६० हजार घरको कागजातको विद्युतीय अभिलेख राखिने भएको छ । पहिलो चरणमा साविकको लेखनाथ नगरपालिकाबाट यो कार्यको थालनी गरिएको छ भने २०७३ अघिका सबै घरहरुको अभिलेख कम्प्युटरमा उतारिनेछ ।पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले पोखरा महानगरपालिकाले पुराना कागजातको विद्युतीय अभिलेखीकरण कार्य थालनी गरेको हो । सोमबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले यसको औपचारिक शुभारम्भ गरेका छन् ।
महानगर कार्यालयलाई कागजविहीन (पेपरलेस) बनाउने अभियानअन्तर्गत पहिलो चरणमा साविकको लेखनाथ नगरपालिकाबाट सुरु गरिएको हो । खोजेको समयमा कागजात नभेटिने समस्याका कारण सेवा प्रभावित बन्न थालेपछि डिजिटलाइजेशन कार्य शुरू भएको हो । कार्यालयमा कागजको चाङ बढ्दै जाँदा राख्ने ठाउँको अभाव हुन थालेपछि विवरण कम्प्युटरमा राखेर पुराना कागज धुल्याउने तयारी भएको हो ।अभिलेखीकरणको शुभारम्भ गर्दै महानगर प्रमुख जिसीले प्रविधि मैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने बताए । नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यवस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग गर्ने मेयर जिसीले बताए ।
उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइन मार्फत् भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टचारलाई कम गर्ने उल्लेख गरे ।विद्युतीय प्रणाली लागू भएपछि महानगरमा भएका भवनको सङ्ख्या, अवस्था, प्रकार, प्रयोगको प्रकृति, कर तिरे नतिरेको विवरणलगायत जानकारी तत्काल उपलब्ध हुँदा सेवा प्रवाह छरितो भएको छ ।‘सबै कामहरु सेवाग्राही र कर्मचारी बीचमुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘ यसो गर्न सके रकमको बार्गेनिङ समेत हँुदैन ।’ कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई पेपरलेस बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

पौडेलले अनलाइन नक्सापास वडाबाटै सुरु गरेको महानगरले कर तथा राजश्वलाई समेत घरनक्सापाससँग जोडेर शुल्क निर्धारण गर्ने व्यवस्था मिलाउने कार्यलाई अघि बढाउने समेत बताए ।
महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरण मार्फत व्यवस्थित गरिने बताए ।काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सा पासका अभिलेखलाई व्यवस्थापन गर्नेछ । पहिलो चरणमा साविक लेखनाथका पाँच हजार दुईसय र महानगरका गरी दश हजार घर नक्सापास किताबलाई विद्युतीय अभिलेखीकरण गरिने आइटी इन्जिनियर असोक द्वारेले जानकारी दिए ।
यो सफ्टवयर मार्फत योजनाका सम्झौता, राजश्व, प्रशासन लगायतका महत्वपूर्ण कागजातलाई पनि विद्युतीय अभिलेखीकरण गर्न मिल्ने उनले बताए । सेल्स टेक्नोलोजीका प्रबन्ध निर्देशक राम रिमालले प्रविधिको प्रयोगले पेपरलेस महानगर बनाउन सहयोग पुग्ने बताए । यसबाट महानगरलाई विद्युतीय नक्सा पास प्रणालीमा लैजान सजिलो हुने र त्यसभित्र विगतका तथ्याङ्कसमेत समावेश हुने अधिकारीहरूको भनाइ छ ।

महानगरपालिकाका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले एक हजार वर्ग फिट सम्मका घरहरुको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताउँदै, योजनाका सम्झौतालाई समेत विद्युतीय अभिलेख गर्ने गरी अगाडि बढाइने उल्लेख गरे । वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्युतीय अभिलेखीकरणले सुशासनमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->