
पोखरा, ५ चैत –काठमाण्डौ र हेटौडापछि पोखरामा पनि बर्डफ्लु भेटिएको छ । कास्कीको मादी गाउँपालिका ३ याङजाकोटमा स्थानीय कुखुराहरु मर्न थालेपछि चेकजाँचको लागि काठमाडौँस्थित प्रयोगशालामा पठाईएको थियो ।
प्रयोगशालामा रगत परिक्षण गर्दा कुखुरामा एच फाईभ एच वान देखिएको हो । पशु चिकित्सक डा. गृष्म न्यौपानेले बर्डफ्लु भेटिएको पुष्टि गरे । सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी न्यौपानेले याङजाकोटका स्थानीय सन्तु परियारले पालेको स्थानीय र गिरिराज जातको कुखुरामा बर्डफ्लु भेटिएको हुँदा उनले पालेका ४१ वटा कुखुरा नष्ट गरिएको जानकारी दिए ।
परियारले पालेको गिरिराज जातको कुखुराबाट स्थानीय जातका पनि कुखुरामा बर्डफ्लु संक्रमण फैलिएको हुन सक्ने बर्डफ्लु रोग नियन्त्रण कक्ष कास्कीका रुम ईन्चार्ज डा. केदारराज पाण्डेले जानकारी दिए । नष्ट कुखुराको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिईने उनले जानकारी दिए ।
कुखुरासहित ८५ वटा अण्डा, ३५ केजी दाना तथा १० केजी सुली समेत नष्ट गरिएको छ । यस्तै, संक्रमित क्षेत्र आसपास र जिल्ला भित्रका पंक्षी घनत्व बढि भएका क्षेत्रमा सघन रुपमा निगरानी राखिएको उनले जनाए ।
उक्त क्षेत्रमा गत फागुन १४ गतेदेखि नै कुखुराजन्य वस्तु आयातनिर्यातमा रोक लगाईएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण कक्ष कास्कीले जिल्लाका अन्य पोल्ट्री व्यवसायीहरुलाई समेत १ हप्ता कुखुरा ओसारपसार नगर्न अनुरोध गरेको छ ।
पोल्ट्री व्यवसायीहरुले भने १० दिनसम्म आयातनिर्यात रोक्ने जनाएका छन् । यस्तै, कुखुरा बोक्ने गाडी, कुखरा राखिएका ठाउँहरुको सार्वजनिक रुपमा अनुगमन गर्ने पनि उनीहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।
कास्कीमा बर्डफ्लु भित्रिएपछि यसको न्यूनीकरणको लागि सोमबार बिहान प्रमुख जिल्ला अधिकारी सहित प्राविधिकहरुको टोलीको बैठक बसेको थियो । बैठकले बर्डफ्लु संक्रमित कुखुराहरु नष्ट गर्ने, सीमा क्षेत्रको चेकजाँचमा कडाई गर्ने तथा कुखुराहरु बाहिर लैजान र दाना ओसारपोसार गर्न पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।





