पोखरा, १६ चैत – कुनै बेला नेपाल आउने विदेशी पर्यटकहरु पर्वतको मालढुङ्गा पुगेर कालीगण्डकीमा हेलिन्थे । कायकहरुको सुरक्षाघेरासहित ¥याफ्टिङमा होमिएका उनीहरु एकअर्कालाई पानी छ्यापाछ्याप गर्थे अनि छालमा तलमाथि हुँदा पानीसँग लोप्पा खेल्थे । थकाई लाग्दै गर्दा उनीहरु नदीले बनाएको फराकिलो बालुवे पठानमा पुग्थे । बालुवामा टेण्ट गाडिन्थ्यो । पर्यटकहरु बालुवामा सुस्ताउँथे, जुनेली रातमा नाच्थे अनि फेरि पानीमै हेलिन्थे । देवघाट पुग्दा उनीहरुलाई ५ दिन कटेको थाहै हुँदैनथ्यो ।
‘कहिलेकाहिँ त हामी यो यात्रालाई एकसाता लामो पनि बनाउँथ्यौँ’, नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष समेत रहेका मीनबहादुर थापा मगरले सन् १९९६ तिर फर्केर भने, ‘मिर्मीमुनि काली थुनिएपछि हाम्रो यात्रा पनि छोटियो, पर्यटकहरुले पनि पहिलाजस्तो रमाइलो मान्दैनन् ।’ सन् २००२ मा कालीगण्डकी जलविद्युत आयोजना सम्पन्न भयो । ¥याफ्टिङ व्यवसाय मालढुंगाबाट राम्दीसम्म खुम्चियो । नदी थुनिएपछि राम्दीसम्म मात्र हैन, देशका विभिन्न भागमा जलखेलकुद चलाउँदै आएका मगरले थपे, ‘अहिले नेपालको ह्वाइट वाटर गतिविधी नै खतरामा परेको छ ।’ मस्र्याङ्दी नदीमा सन् २००८ मा मध्यमस्र्याङ्दीको निर्माण सकिएपछि यो क्षेत्रको अर्को प्रख्यात जलखेलकुद गन्तव्य पनि बुलबुलेबाट फलियासाँघुमाथि बनेको ड्याम र पाउँदीबाट तुरतुरे गरी दुई भागमा बाँडिएको छ । नाराका अध्यक्ष मगरका अनुसार नेपालको जलखेलकुदको लागि राम्रा मानिएका सबैजसो नदीमा जलविद्युत परियोजना बन्ने क्रममा रहेका छन् ।
दमौलीदेखि गाईघाटसम्मको जलयात्रा सेती जलविद्युतले छोट्याउँदै छभने पश्चिम सेती, कर्णाली, बुढीगण्डकीतिरको जलयात्रा पनि रोकिने क्रममा रहेको छ । ‘नेपालमा धेरै बिजुली निकाल्न सकिने नदीहरु पनि छन् र बिजुली नै निकाल्दा पनि जलखेलकुद नबिगारी काम पनि गर्न सकिन्छ’, उनले गुनासो गर्दै भने, ‘तर, विकासको नाममा पर्यटक भित्र्याउन सकिने साहसिक पर्यटनलाई सिध्याउने काम भएको छ ।’ नेपाल सरकारले देशका १४ वटा नदीमा जल खेलकुदको अनुमति दिएको छ । नेपाल टे«किङ एजेण्टस् एसोसियसनका पूर्वअध्यक्ष महेन्द्र्रसिँह थापाका अनुसार अहिले १० वटा नदीहरुमा व्यवसायिक रुपले ¥याफ्टिङ हुँदै आएको छ । मस्र्याङ्दी, त्रिशूली, भोटेकोसी, कर्णाली, सुनकोसी, कालीगण्डकी, सेती, राप्ती, भेरी लगायत नदी यस खेलका लागि विश्वकै उत्कृष्ट मानिन्छन् ।
ती नदीको पानीसँग खेल्न विश्वका एकसे एक खेलाडी र शौखिनहरु आउने गरेको र देशलाई ठूलो मात्रामा विदेशी मुद्राको योगदान दिएको थापाले दाबी गरे । उनका अनुसार, सन् १९९६ तिर नेपाल आउने पर्यटकहरुमध्ये करिब १ लाख जनाले ¥याफ्टिङको मज्जा लिने गरेका थिए । उनीहरुले खोला किनारामा मात्र औषत ३ दिन बिताउँथे भने दैनिक १५ हजार नेपाली रुपैयाँभन्दा बढी खर्च गर्थे । नेपालको जलखेलकुद खुम्चिन थालेपछि यहाँ आउने पर्यटकहरु अन्यत्रै मोडिन थालेको पर्यटन उद्योगसँग सम्बन्धितहरुले जिकिर गरेका छन् । नाराका वर्तमान अध्यक्ष मगरका अनुसार देशका टे«किङ रुटहरुमा मोटर पुगेपछि र जलयात्रा पनि घटेपछि ‘एडभेञ्चर ब्याकप्याकर’हरुले गन्तव्य मोडेका छन् । नेपालमा जस्तै एक दिन वा दुई दिनको जलयात्राको लागि दुबईले कृतिम संरचना तयार गरेको तथा भुटान, थाइल्याण्ड, भारत, मलेसिया जस्ता देशमा पनि त्यस्तै सुविधा पाइने भएपछि पर्यटकले अर्को गन्तव्य छानेका हुन् ।
‘तीब्र गतिको नदी अनि बग्दै क्याम्पिङ गर्दै अगाडि बढ्ने नेपाली ¥याफ्टिङको विशेषता हो, त्यहीँ मासिएपछि ‘मल्टिडेज टुर’ चाहनेहरु नआउनु कुनै आश्चर्य हैन’, उनले थपे, ‘पर्यटन उद्योगको विकास भनेर नथाक्नेहरुले अब पनि बुझेनन् भने ढिलो हुन्छ ।’ आफूहरु विकास बिरोधी नभएको तर विकास गर्दा प्राकृतिक सम्पदा र अर्को सम्भावनालाई मार्न नहुनेमा उनले जोड दिए । जलविद्युत परियोजना बनाउँदा निश्चित पानीको मात्रा खोलामा छाड्नु पर्ने नियम समेत नेपालमा लागु नहुँदा जलचर र समग्र वातावरणमा परेको असरले समेत पर्यटक घट्नेतर्फ सचेत रहन पनि उनले सरोकारवालासँग आग्रह गरे ।गण्डकी प्रदेश सरकारले आउँदो ५ वर्षभित्र यो प्रदेशबाट १० हजार मेघावाट विद्युत निकाल्ने तथा समृद्धिको लागि पर्यटन र कृषिको व्यवसायिकरण गर्ने योजना अगाडि सारिरहँदा नाराका अध्यक्ष मगरले यो क्षेत्रलाई ‘पर्यटकीय गन्तव्य’ बनाई राख्न जलखेलकुद मास्न नहुनेमा जोड दिए । ‘दिगो पर्यटनले दिने योगदानबारे सबैले बुझ्नुपर्छ, अन्नपूर्ण पदयात्रा मार्ग र नाम्चे क्षेत्रका बासिन्दाको जीवनस्थल बिजुलीले हैन, पर्यटनले उकासेको हो’, उनले भने, ‘हामी अझ पनि बचेखुचेका खोलाहरुमा जथाभावी जलविद्युत लाइसेन्स नदिइयोस् भन्ने चाहन्छौँ ।’ पोखरा र आसपासको क्षेत्रमा ¥याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, अल्ट्रालाइट, क्यानोनिङ, बञ्जिजम्प लगायतका गतिविधी संचालन गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।





