बागलुङ, ३ भदौ – जिल्लाको बिकासका लागि कालीगण्डकी कोरिडोर, मध्यपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी राजमार्ग लाईफ लाईन हुन् । तीनवटै लाइफलाईनलाई आधार बनाएर ग्रामीण सडकहरु, कृषि सडक र अन्य बिकासका पूर्वाधार निर्माण भैरहेका छन् । लाइफलाईनले राष्ट्रिय गौरवको रुप लिनुअघिका संरचना र ग्रामीण सडक पनि अहिले राजमार्ग केन्द्रीत भएका छन् । गौरवकै आयोजनामा अर्वौ रकम खर्च भएको छ । उक्त खर्चको उपलब्धी भने बर्षेनी बाढी बनेर बगिरहेको छ । हरेक बर्ष खर्च हुने रकमको सदुपयोगकालागि उचित वातावरण र नीति बनेको छैन । जसको कारण जनताले तिरेको कर राजश्वको दुरुपयोग भैरहेको छ । मध्यपहाडीका ईन्जिनियर किरण श्रेष्ठ भन्छन्, ‘सहायक सडकले हिउँदको लगानी खोलामा पुगेको छ ।’ लाइफलाईनमा हरेक बर्ष बजेट खर्च भएर काम पुरा नहुनुमा पनि हाम्रै संरचनाहरु दोषी बनेका छन् । बिशेषगरी स्थानीय तहले खर्चने अधिकांस बजेटका ग्रामीण सडकले राजमार्ग कुरुप बनाएका छन् । मुल सडकमा जोड्ने निहुँमा खनिएका सडकमा खसेका पहिरोले राजमार्ग बगाएकोले मर्मतमा समेत कठिनाई भएको बडिगाड गाउँपालिका प्रमुख मेहरसिंह पाईजा बताउँछन् । यो गाउँपालिका तहमा पनि केही योजना गौरवको योजनामा सूचिकृत छन् । सूचिकृत भएका योजना कम्तिमा २ करोड लगानी गरियो । त्यस्ता योजनाबाट समेत राजमार्गमा व्यापक क्षति पुग्यो । ग्वालीचौर देखि जलजला हुँदै रणसिंकिटेनी पुग्ने सडक गौरवको योजना मध्यको एक हो । झण्डै २५ किमी ट्रयाक खुलिसकेको यो सडक स्तरउन्नती गर्ने गौरवको योजनाको लक्ष थियो । सोही अनुसार केही स्थानमा चक्ल्याउने र गिटी बिच्छ्याउने काम पनि भयो । तर झण्डै ८ किमी माथीदेखिको बाढी मध्यपहाडीमा आइपुग्छ । हिलो र लेदोले राजमार्गमा चलेका सवारीलाई सास्ती दिने गरेको छ । यो एउटा उदाहरण मात्र हो । काठखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानाको भ्युटावरमा महिनौ देखि जोखिम छ । गलकोट नगरपालिकाले बनाएको स्वागत द्वार र सहायक सडकहरुको कारण निरन्तर पहिरो खसेर राजमार्ग जोखिममा पारेको छ । यो क्रम बागलुङ भित्र दर्जनौ स्थानमा छ । जसले राजमार्गमा यात्रा गर्दा सहायक मार्गहरु जोखिम बनिरहेका छन् ।
गत बर्ष बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमाना स्थित तुरतुरेमा पहिरो खसेर एक महिना राजमार्ग बन्द भयो । ताल जोगाउन खोज्दा यो बर्ष फुटेर अर्को जोखिम थपियो । राजमार्गको २ सय मीटर खण्ड पुरै बगेपछि यो बर्षपनि पश्चिम बागलुङका जनताले सास्ती खेप्ने बाध्यता बनेको छ । दैनिक उपभोग्य सामाग्री र खाद्यान्न ढुवानी ठप्पै छ । बिरामीलाई उपचारका लागि सदरमुकाम देखि शहरी क्षेत्रमा लैजान पनि समस्या थपिएको छ ।
मापदण्डमा पनि अबरोध
मध्यपहाडी लोकमार्गको मापदण्ड मध्यबिन्दु देखि ३१ मीटर दायाँ बायाँ हो । तर हालसालै बन्ने घरहरु पनि ५ मीटर समेत नछाडेर बनाउन थालिएको छ । गलकोट, बुर्तिवाङ र राजमार्ग छेउछाउका बजारीकरण भैरहेको स्थानमा सडकमै च्यापेर घर बन्ने क्रम बढेको छ । ग्वालीचौरमा केही जग्गाको कारोवार गर्नेले घडेरी प्लटिङको नाउँमा कालोपत्रे सम्मै डोजर लगाउँदा राजमार्ग जोखिममा परेको छ । केही खण्ड पहिरो खसिसकेको छ । खानेपानीले पाईपलाईन हटाउने, बिद्युतको पोल हटाउने र केही घरको मुआब्जा दिने काममा आयोजनाले ढीलाई गरिदिएपछि सदरमुकाम देखि घोडाबाँधे सम्मको २५ किमी खण्डमा काम रोकिएको छ । ‘ठेकेदारको केही लापरबाही छ भने केही खण्डमा अन्य अबरोध रहेछन्, बुझ्नुपर्नेछ’ बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री भन्छन्, ‘काम जिम्मा लिएर ओगट्ने प्रवृत्ति बिरुद्ध सबैको चासो र दवाव आबस्यक छ ।’ स्थानीय तह गठन पछिका दुइ बर्षमा अधिकांस बजेट मुल सडकमा जोडेर गाउँ लैजाने गरी खन्याइएको छ । यो क्रम मध्यपहाडी लोकमार्गमा मात्र छैन । कालीगण्डकी कोरिडोरमा पनि छ । बागलुङ देखि गुल्मी जोड्ने कोरिडोर उत्तर दक्षिण जोड्ने जिल्लाको अर्को लाईफ लाईन हो । यो सडक नेपाली सेनाले जिम्मा लिएको छ । गत माघमा १० मीटर चौडा पार्ने गरी काम थालिएकोमा अझै पुरा भएको छैन । गत जेठमा हस्तान्तरण गरिने भनिएको सडक साउन मसान्त सम्म भएको छैन । बरु उल्टै ६ महिना देखि सडक अबरुद्ध गरेर सेनाले काम गरेको छ । मालढुंगा देखि बलेवा एयरपोर्ट सम्म र गुल्मी खण्डपनि बन्द बनाएर काम गरेको छ । त्यसको बिकल्प दिनुको साटो दक्षिण बागलुङ हिडेका सवारीलाई घण्टौ जाममा पार्ने गरिन्छ । पूर्ण ठप्प पारिएको बाहेकका केही खण्डमा पनि बिना सूचना सडक अबरुद्ध पारिएका छन् । सूचना जारी गरेर पनि महिनौ सम्म गौरवको योजना अबरुद्ध पार्न मिल्छ मिल्दैन भन्ने बहस चलाउन आवस्यक भएको स्थानीय सरोकारवालाले बताए । जिल्ला भित्र दुइवटा लाईफ लाईन छन् । ती आयोजना पुरा हुँदाको दिन जिल्लाको बिकासमा ठूलो योगदान पुग्छ । तर बर्षौदेखि हिउँदे सडकको रुपमा मात्र रहँदा जिल्लाबासीले खेपेको सास्तीलाई उजागर गरिएको छैन । ‘मुख्य सडक महिनौदेखि अबरुद्ध छ, ग्रामीण सडकको घुमाउरो बाटो हिड्नुपर्दा जोखिम व्यहोरिरहेका छौं’ बागलुङ देखि जैदी तर्फ जिप चलाउने चालक कृष्ण लामाले भने, ‘मुख्य सडक कहिले खुल्छ र सहज यात्रा गर्न पाइन्छ भन्ने लागेको छ ।’
मध्यपहाडी लोकमार्गकै पोखरा बागलुङ खण्ड अहिले छिया छिया छ । हिउँद बर्षा पहिरोको जोखिम, घण्टौ जाम, धुलो र हिलोमा यात्रा गर्ने बाध्यताले यात्रीहरु हैरान छन् । डेढ दुइ घण्टामा पुगिने पोखरा ४ देखि ५ घण्टामा परिणत भएको छ । नवलपुरदेखि पोखरा जोड्ने छोटो सिरिङ मार्ग पनि बर्षौदेखि अलपत्र छ । ठेक्का सम्झौता सकिएको बर्षौ सम्म पटक पटक म्याद थपेर पनि सडक हिलाम्मे छ । जोखिम मोलेर यात्रा गर्न बाध्यले सडक सुधारको माग गरिरहेका छन् ।
पालन भएन सडक गुरुयोजना
चार बर्ष अघि तत्कालिन जिल्ला बिकास समितिले बागलुङको जिल्ला सडक गुरुयोजना बनाएको थियो । गुरुयोजना बनेर थन्केको चारबर्ष सम्म कुनैपनि स्थानीय तहले खोजी समेत गरेका छैनन् । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा मात्र बर्षेनी ५ सय योजना संचालन गरिन्छ । ती मध्ये आधाजसो सडकका छन् । जैमिनी, ढोरपाटन र गलकोट नगरपालिकाको योजना पनि यस्तै प्रकारका छन् । सबैले पूर्वाधार भित्रको बजेटलाई सडकमै खन्याएका छन् । तर अधिकांस सडक बर्षातमा सवारी चल्नै नसक्ने गरी बग्छन् । गुरुयोजना पालना नभएपछि अधिकांस सडक बर्षातमा बगेको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना बताउँछन् । बागलुङमा एक हजार दुइसय ६ किमी सडक संजालको ट्रयाक खुलिसकेकोले थप्न आवस्यक नभएको गुरुयोजनामा उल्लेख छ । बढीमा एक हजार चारसय ५१ किमी सडक आवस्यक देखिएकोले मुल सडक र खुलेका सडकको स्तरउन्नती गर्नुपर्ने ढुंगाना सुझाव दिन्छन् । केही वडामा सडकले नछोएकोले ती स्थानमा मात्र लैजाने र बाँकीको स्तरउन्नती गर्दा फाइदा हुने उनले बताए । जिल्लामा एकसय १६ वटा ग्रामीण तथा कृषि सडकको संजाल बनिसकेको छ ।
गुरुयोजनामा तत्कालिन तीनवटा गाविस जोड्ने, सदरमुकाम देखि मुख्य व्यपारिक बजार जोड्ने सडक ‘क’ बर्ग, दुइ गाविस जोड्ने र मुख्य व्यपारिक बजार देखि ग्रामीण बजार जोड्ने सडकलाइ ‘ख’ बर्ग र साना सडकलाइ ‘ग’ बर्गमा विभाजन गरिएको छ । सडक गुरु योजनाको नामले समेत सम्बोधन गरिने भएपनि सडकसँगै पुल पुलेसा र नाली निर्माणको समेत काम हुने भएकोले जिल्ला यातायात गुरुयोजना भनिएको हो ।





