बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शालिकराम मृत्यु, रवि र न्यायका कुरा

शालिकराम मृत्यु, रवि र न्यायका कुरा


  • सोम शर्मा रामु
  • भाद्र ५ २०७६, बिहिबार

के हरेक ब्यक्ति एउटाको पक्षमा लाग्नै पर्दछ ? मलाई त्यस्तो लाग्दैन । कसैको पक्ष र बिपक्षमा नरहिकन पनि आफ्नो विचार ब्यक्त गर्न सकिन्छ । यतिवेला पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण र रवि लामीछाने लगायतको पक्राउको वहस छ । गत साउन २० मा चितवनस्थित होटल कंगारुमा पत्रकार शालिकराम पुडासैनी झुन्डिएको अबस्थामा मृत फेला परेका थिए । घटनालगत्तै उनको मृत्यु शंकास्पद भन्दै भोलिपल्टैबाट आफन्त र स्थानियद्वारा बिरोध कार्यक्रम भए । घटनाको निश्पक्ष छानबिनको लागि आवाजहरु उठिरह्यो । उन्को शवलाइ काठमान्डुमा टिचिङ अस्पतालमा ल्याइ पोस्ट्मार्टम गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उक्त घटना आत्महत्या हो भनेर आममानिस र उनका परिवारले पनि पत्ताउन सकिरहेको थिएन, कारण उनी एक निर्भिक र साहसी पत्रकार थिए । उनीमा त्यसकिसिमको कमजोर सोच थियो होला भन्नेमा सबैको शंकै रहिरह्यो । त्यतिबेलैमा उनको मृत्यु अघि उनले आफ्नो मोबाइलमा एउटा भिडियो रेकर्ड गराएर छोडेका छन भन्ने आवाजहरु आए ।
घटनाको यथार्थ बिबरण हत्या या आत्महत्या भन्ने पोस्टमार्टमको रिपोर्ट नआउंदै पत्रकार शालिकरामले मृत्यु हुनुअगाडि रेकर्ड गरिएको भिडियो एक्कासी एउटा युट्युब च्यानलबाट बाहिरियो । आममानसमा उनको हत्या नै हो कि भन्ने शंका भैरहेको बेलामा उक्त भिडियोले हरेकलाई स्तब्ध बनायो । भिडियोमा उनलाई आत्महत्या गर्न बाध्य पार्ने ब्यक्तिहरुको नाम लिइएको थियो । उनले भिडियोमा पुर्व सहकर्मी रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम लिए । त्यही भिडियोको आधारमा प्रहरीले तीनै जनालाई गिरफ्तार गर्यो । प्रहरीले पहिला अस्मितालाई र उनको बयानपछि दुई पत्रकार रबि र युवराजलाई उनीहरुकै सञ्चारगृहबाट पक्राउ गरियो । कसैमाथी आरोप लाग्यो भने प्रहरीले उसलाई पक्राउ गरेर अनुसन्धान गर्न पाउछ, त्यसैले उनीहरुलाइ पक्राउ गरिएको हो । उनीहरुलाइ पक्राउ गर्नेबेलामा दुवैजना सञ्चार गृहमै थिए र त्यहीबाट पक्राउ गरियो । यो कानुन सम्मत हो वा होइन भन्ने वहसको खास अर्थ लाग्दैन । त्यसको जवाफ समबन्धित निकायले नै देला ।
पक्राउ गरेर जब उनीहरुलाइ चितवन लगियो, सामाजिक सञ्जाल व्यापक रुपमा तात्न थाल्यो । खासगरी रवि लामीछानेको रिहाईको आवाज मात्रै बढि उठे । अरु दुईजनाको खास धेरै चर्चा छैन । रविलाई षडयन्त्रपुर्वक फसाउन लागियो भन्ने कुरा बढि जोडका साथ आयो । उनी निर्दोष नै हुन भनेर किटान गरियो । भोलिपल्टबाट चितवन तात्न थाल्यो, अदालतले प्रहरीलाई पहिला पाँच दिन र पछि पनि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न सहमती दियो । एकाएक जनमानसको घुइचो बढ्न थाल्यो, रबिको रिहाइको निम्ति व्यापक प्रार्थना गर्न थालियो, निशर्त रिहाइको चर्काचर्का नाराहरु घन्किन थाले । प्रहरी र अदालतमा पुगेको मुद्दामा निश्पक्ष छानविन होस भनेर आवाज उठाउनु ठिक होला, तर उनलाई निर्दाेष नै करार गर, निशर्त रिहाइ गर भन्नुलाई राम्रो मान्न सकिदैन । यो केसमा कानुनको उपहास मज्जैले गरेको देखियो । हुन त बिगतका धेरै घटनाले निर्दोषलाइ पनि दोषी बनाएर कठघरामा उभ्याएको हुनाले उनलाई पनि त्यसरीनै बलिको बोका बनाउने भए भन्नेहरु उनका समर्थक छन । उनलाई फसाउने खेल भइरहेको हुन सक्ला या नसक्ला त्यो समर्थकको कुरा भयो । तर अदालतको कामकारबाहीमा दखल दिने तबरले जम्मा भएको भिडले गलत निर्देश गरेको छ भन्ने आवाज पनि चर्काे छ । अदालतले पनि आफ्नो गरिमा र बिश्वासनियता संधैभरी कायम राखिरहनुपर्छ । कानुनी शासनबाट नै न्याय खोजिनु पर्दछ । न्यायिक ठाउंमा उभिएर न्यायलाइ नै अबिश्वास गरियो भने देश कता जाला ? कानुनको रक्षा गर्नु हामी सबैको दायित्व र अपरिहार्यता हो । कतै न्याय किनबेच भयो भन्दैमा हरेक केसमा त्यही अबिश्वास कायम राख्नु हाम्रो मुर्खता नै होला ।
न्याय माग्ने निहुँमा न्याय मार्न मिल्दैन भन्ने हामी सबैको माग हुनुपर्छ । यता शालिकरामको ज्यान गएको छ, उता रबि, युवराज र अस्मिता हिरासतमा छन । हामीले कुनै एक ब्यक्तिको मात्रै न्यायको लागि नभएर कोही पनि अन्यायमा पर्नु हुदैन भन्ने कुरामा ध्यान दिनुपर्दछ । सवैले न्याय पाउनु पर्दछ भन्ने आवाज उठाउनु पर्दछ । समग्रमा ब्यबस्थाको न्यायको निम्ति हामी सवै उठ्नुपर्छ । ब्यानरमा शालिग्राम र रबि लगायत सवैलाइ न्याय देउ भनेर लेखिनुपर्छ, किनकी एक आरोपित भएर जेलमा छन उनी दोषी हुन या हैनन अझै प्रमाणित भैसकेको छैन । अर्को एक परिवार छ जुन आफ्नी छोरा, दाइ भाइ अनि श्रीमान गुमाएको पिडामा छ । सडकमा आएको भीड सिधा कुराको टिमका लागि भएपनि न्याय हरेकले पाउनुपर्छ । यता रबि निर्दोष प्रमाणित भएर छाडिए पनि उता शालिकरामको आत्महत्याको दुरुत्साहन कसको कारणले भयो या हत्या नै भयो त्यस्मा फेरि चुप बस्न मिल्दैन । सडकको भीड शालिकरामलाई न्याय देउ भन्दै कुर्लिन पनि सक्नुपर्छ । हो रबि एक साहसी ब्यक्ति हुन भन्ने उनको कार्यशैलीले देखाएको छ । उक्त कार्यक्रमका अर्का सिनियर रिपोर्टर युवराज कँडेल जो मेरै ठाँउंको परिचित र पृय मान्छे हुन । उनी पनि एक साहसी र सच्चा पत्रकार हुन । अस्मिता कार्कीको बारेमा म जान्दिन । यिनै निर्भिक पत्रकारका कारणले केही नेपालीले वास्तविक न्याय पाएका पनि छन । त्यसैको उपज आज सडकमा उनको निम्ति जनताको भीड आएको छ । यही जनप्रदर्शनको भरमा उनी गलत होइनन् भन्न त सकिएन नि ? त्यसका लागि निश्पक्ष रुपमा छानविन गरेर नतिजा आउनु पर्यो नि । मलाइ बस यहि बिश्वास छ कि नेपालको कानुनले हरेकको कुराको निर्णय गर्नेछ । यदि उनीहरु सवैलाई सप्रमाण दोषी करार गरेछ या निर्दोष करार जे गरे पनि म स्विकार्न सक्छु, किनकी न्यायमुर्तिले कसैको पनि दवावमा परेर निर्णय फैसला गर्ने छैनन् भन्नेमा म बिश्वस्त छु ।
यो घटनाले अरु कुराहरु पनि सोच्न बाध्य बनाइदिन्छ, के अब मानिसमा न्यायमुर्तिको कार्य सम्पादनप्रति बिश्वास गुमेकै हो त ? किन मानिस अन्याय नगर भन्दै अदालत धाउनु पर्यो ? भीडले न्याय दिलाउने भए किन चाहियो कानुन, प्रहरी प्रशासन र न्यायलय ? मानिसले किन अदालतले कसैलाइ अन्याय गर्दैन भन्ने सोच्न सक्दैनन् । न्यायमुर्ती कसैको प्रभावमा बिक्दैनन भन्ने चेतना आउदैन ? या त यी सब जनताका भ्रम हुन ? या कि त त्यहाँ राज्यब्यबस्थाको बिरुद्ध र सरकारलाइ लक्षित हुनेगरी केही घुसपेठले यस्ता नारा लगाएका हुन ? नेताले समेत यसबाट पाठ सिक्नुपर्दछ । अब न्यायलयले पनि न्यायप्रति आममानिसको बिश्वास उडेकै हो त ? भन्नेमा गम्भिर समिक्षा गर्नु पर्दछ ।
यो घटनाले धेरै शिक्षा पनि दिएको छ र सजग पनि गराएको छ । जनतामा बिश्वास दिलाउन सकेमा जनताले उनलाई देउता मान्दा रहेछन भन्ने पनि देखिएको छ । न्यायमुर्तिमाथि पनि जनताको बिश्वास हराउंदै छ भन्ने सोच्न बाध्य पारेको छ । कसैलाई अति देवत्वकरण र कसैलाई अति दासत्वकरण पनि उचित हैन भन्ने पनि सिकाएको छ । न्याय सम्पादनमा हरेकलाई समान रुपमा र बराबर हैसियतले हेर्न सक्नुपर्छ । यी र यस्तै धेरै कुराहरु यो घटनाले सिकाउने पाठ हुन । अव, सबैले बस यहि कामना गरौ कि न्याय नमरोस, कसैमाथि पनि अन्याय नहोस, दोषी नउम्कियोस । रबि दाइ र युवराज भाइ यदि गलत गरेको छैन भन्ने बिश्वासछ भने ढुक्कका साथ बस्नुस तपाइहरुलाई अन्याय हुन कदापी दिनेछैनौ तर गल्ती रहेछ भने स्वयं भगवानले पनि सजायको भागिदार हुनबाट जोगाउने छैनन किनकी एउटा उखान छ नि सत्य मेवः जयते ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->