जतिबेला देशमा पंचायती शासन थियो, त्यतिबेला राजा नै शक्तिशाली थिए भनेर यहाँ व्याख्या जरुरी छैन । त्यो समयमा मनाइने प्रजातन्त्र दिवस होस् या राजाको जन्मदिवस ! कर्मचारी, विद्यार्र्थी, नागरिक समाजका व्यक्तित्वहरुको उपस्थिति बाध्यकारी थियो । जब ‘हाम्रो राजा हाम्रो देश’ नारा उरालिन्थ्यो, तब जुलुसमा जानेले अनिवार्य रूपमा ‘प्राण भन्दा प्यारो छ’ भनेर नारा लगाउनु पर्ने अवस्था थियोे । हामी पनि त्यो समयमा स्कुलबाट कार्यक्रम जाने मात्रै हैन ठूलो स्वरमा चिच्याई– चिच्याई ‘हाम्रो राजा हाम्रो देश ः प्राण भन्दा प्यारो छ’ भनेर भन्दै हिन्न बाध्य थियौँ । त्यतिबेला राजा महाराजाको गुणगान गर्नु भनेको ठूलो सरकार र शक्ति केन्द्रसँग नजिक हुनु पनि थियो ।
अहिले देशमा व्यवस्था फेरिएको छ तर अवस्थामा केही परिवर्तन भएको छैन । देशमा गणतन्त्र स्थापना भएको पनि १० बर्ष नाघिसक्यो तर नेपाली जनताको इच्छा आकांक्षा भने पूरा भएको छैन । जताततै नातावाद, कृपावाद र फरियावादले देश ढपक्कै ढाकेको छ । यहाँ सानोतिनो काम गर्न गराउन पनि पैसा बिना केही पनि हुँदैन । हुन त यतिबेला देशमा नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार छ । नेपाली जनताको आशा र भरोसाको केन्द्र भनेर प्रचारप्रसार गरिएको सरकार गठन भएपछि ठूलो परिवर्तन हुने आशा गरिएको थियो तर त्यो सबै कुरा भताभुङ्ग भएपछि जनता निराश छन् । जुन आशा र भरोसा जनताको थियो त्यो अहिलेसम्म पूरा नभएपछि सरकारप्रति आक्रोश देखिन थालेको छ ।अहिले सत्ताको फाइदा केही सिमित ब्यक्ति र संस्थाले लिदै जान थालेका छन् । सत्ताको नजिक रहेका व्यक्ति र संस्थाहरू देशको संविधान, ऐन,कानूनभन्दा पनि ठूलो भएको महसुस गर्न थालेका छन् । आफ्नो हिजोको हैसियत भुल्न थालेको मात्रै हैन आफू नै सबथोक भएको भन्ने भ्रम सृजना भएको छ । देशमा अराजकता बेथिति ह्वात्तै बढेर गएको छ । सकारात्मक कुरामा भन्दा पनि नकारात्मक कुरामा रमाइलो गर्ने प्रवृत्तिको विकास भएको छ ।
हामी संघियताको गोलचक्रमै रूमलिने गरेका छाँै । स्थानीय तह, प्रदेश र केन्द्रबीच तालमेल नै हुन सकेको छैन । जताततै कर लगाउने काम भएको छ । नेपाली जनता साँच्चै भन्ने हो भने अहिले आजित बनेका छन् । महंगी नियन्त्रण गर्नेतर्फ कसैको पनि चासो छैन । देशमा सरकार छ कि छैन भनेर प्रश्न गर्नुपर्ने बेला भइसकेको त हैन होला तर वातावरण हेर्दा छाँटकाँट त्यस्तै देखिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा सरकारले ल्याएको छ । साँच्चै नारा अति नै सुन्दर छ तर त्यो नारा अनुसार अगाडि जाने बाटो के कसरी हो भन्ने कुरा बाहिर आएको छैन । अहिले इतिहासकै शक्तिशाली सरकार छ । हिजो देशमा संविधान बनेपछि नाकाबन्दी भयो । केपी ओली प्रधानमन्त्री बने । जतिबेला अभाव थियो नुन किन्न समेत बजारमा पाइँदैनथ्यो । ग्याँस, तेल, डिजेल, पेट्रोलको अभाव थियो तर त्यो समयमा नेपाली जनताले देशमा सरकार देखेको थियो । साँच्चै भन्ने हो भने जुन बेला पैसा तिरेर पनि भनेको चिज खरिद गर्न पाइँदैनथ्यो, त्यतिबेला जनताले सरकारलाई राष्ट्रवादी देख्यो । अहिले समय फेरिएको छ । देशमा नाकाबन्दी छैन । अहिले नुनदेखि सुनसम्म जिरादेखि हीरासम्म सबथोक जतिसुकै मात्रामा किन्न पाइन्छ तर पनि नेपाली जनताले देशमा सरकार देखेको छैन । प्रधानमन्त्री केपी ओलीको भाषण सुन्ने हो भने देश सिंगापुर बनी सक्यो । देशमा समृद्धि आइसक्यो । नेपाली जनता सुखी भइसके भन्ने आभाष हुन्छ । तर, अहिले सरकारबाट भएका सकारात्मक कामको पनि प्रचारप्रसार हुन सकेको छैन । नेपाली जनतालाई देशका हरेक निकायमा सहज रूपमा काम हुन्छ भन्ने विश्वास दिलाउन सरकार असफल देखिएको छ । अहिले त्यसैको फाइदा केही चतु¥याइँ गर्न सक्ने मान्छेले उठाइरहेका छन् । सरकारका सबै निकायले नेपाली जनताको वास्तविक काम सहजरूपमा गरिदिएको भए आज यो अवस्था आउने थिएन ।
जताततै बेथिति छ । भ्रष्टाचार संस्थागत भएको छ । जुनसुकै निकायमा नियुक्ति हुन लाखौँ हैन। करोडौं रूपैयाँ नजराना चढाउनु पर्ने सरकारले गर्ने सरूवा बढुवामा समेत आर्थिक चलखेल हुने भए पछि कहाँबाट भ्रष्टाचार शून्य हुन्छ ? आज जताततै भएको बेथितिको फाइदा बाहिरी ब्यक्तिले उठाउन थालेको कुरा सबैलाई थाहा छ तर परिवर्तन गर्नेतर्फ कसैको ध्यान गएको देखिदैन ।साँच्चै देशमा यतिबेला २४० वर्ष पुरानो सामन्ती राजतन्त्रको पनि अन्त्य भइसकेको छ । नेपाली जनताले सोचेका थिए, देशबाट राजतन्त्रको अन्त्य भए पछि कायापलट हुनेछ तर अहिलेसम्म केही हुन नसकेपछि यस्तै धमिलो पानीमा माछा मार्नको लागि केही व्यक्ति र समूह र संस्थालाई सजिलो भएको छ । अहिले जति धेरै भ्रष्टाचारको बिरोध ग¥यो, त्यति धेरै ताली बज्छ ।जति धेरै नेता,मन्त्री,कर्मचारी, जनप्रतिनिधिहरुलाई गाली ग¥यो त्यति धेरै जनसमर्थन पाइन्छ । यति हुँदा समेत सरकार मौन छ । जसले गलत गरेको छ, त्यसलाई कार्वाही गर्ने कुरा छाडी दिऊँ, सामान्य सोधपूछ गर्ने हैसियत समेत नराख्ने भएको हुनाले अहिले केही मान्छे हिरो हुने माैका मिलेको छ । केही काम राम्रो गरेको देखाएर बाँकी आफ्नो गोरखधन्दा संचालन गर्ने गरेको धेरै उदाहरण नेपाली जनता सामुन्ने छ ।
जनताले अदालतबाट न्याय पाइन्छ, जुनसुकै सरकारी निकायमा काम लिएर जाँदा सरासर काम हुन्छ भन्ने अनुभूति जहिलेसम्म गराउन सकिँदैन तबसम्म यस्तो अवस्था भइरहने छ । अहिले जसले सडकमा बसेर सरकारको बिरोध गरिरहेका छन् जसले बेथिति भयो भनेर चिच्याइरहेका छन्,के उनीहरूले भनेजस्तो सजिलो छ परिवर्तन गर्न ? अहिलेको प्रमुख समस्या के हो ? यसलाई समाधान गर्ने के–के तरिका छन् ? यसको खोजी गर्नु जरुरी छ । राजनीतिमा हुने भ्रष्टाचार र बेथिति जबसम्म हामीले रोक्न सक्दैनौँ, तबसम्म केही हुनेवाला छैन । अहिले सरकार चुकेको यहीँनेर हो । निर्वाचन लड्न लाखौं करोडौँको चलखेल हुने भएपछि कहाँबाट समाजसेवा हुन्छ ? आफ्नो खर्च उठाउन जे पनि, जसो पनि गर्ने परिपाटी संस्थागत भएर गएको छ । अख्तियार दुरुपयोग नियन्त्रण आयोगमा जान समेत आर्थिक चलखेल भएको कुरापनि कहीँकतै छिपेको छैन । जुन निकायले भ्रष्टाचार गर्नेलाई नियन्त्रण गर्ने हो, कार्वाही गर्नु पर्ने हो, आज त्यहीँ निकायमा बस्ने व्यक्ति नै भ्रष्टाचार काण्डमा तानिएका छन् । हामीले जसलाई भर विश्वास गरेर नेपाली जनताको मुटुको ढड्कन भनेर हिँड्छौ, भोलीको दिनमा त्यही भगवानले धोखा दिएको धेरै उदाहरण छन् । हामी नेपालीले कसैको समर्थन गर्नु परे अन्धभक्त भएर समर्थन गर्ने गर्छौँ । कसैको बिरोध गर्नु परे तथानाम गाली गलौज गछौँ । त्यसको सकारात्मक पक्ष नै देख्दैनौँ । यही नै हाम्रो समस्या हो ।
अहिले पनि केही व्यक्तिलाई समर्थन गर्ने नाममा अन्धभक्त भएर जिन्दावाद र जयजयकार गर्ने जुन खालको संस्कृति चलिरहेको छ यसले हामीलाई सही गन्तव्यमा पु¥याउन सक्दैन । राज्ययन्त्र कमजोर भएको बेला यस्तै खालको प्रवृत्ति मौलाउँछ । त्यसकारण सरकारबाट अहिले भएका कमिकमजोरीलाई सच्चाएर जनताको चाहना भावना अनुसार अगाडि बढ्न सक्नुपर्छ । त्यो नै सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ । देशमा बसेपछि संविधान ऐन कानून सबैले पालना गर्नुपर्छ । सबैभन्दा माथि म छु भन्ने भावना कसैले राख्छ भने त्यसको परिणाम ढिलोचाँडो आफैले भोग्नुपर्छ ।




