विषय प्रवेश
लेखनशिपको सिजर्नात्मक क्षमता हासिल गर्ने हिसाबले गहन र अर्थ पुर्ण लेखनको प्रस्तुतीले नै विश्वका आमुल परिवर्तन भएको पाउन सकिन्छ । लेखनशिपलाई सुक्ष्म तरिकाले प्रस्तुत गर्ने र व्यवहारमा उतार्ने शैलीले इतिहास लेखनमा थप इट्टाको काम गर्दछ । लेखकीय क्षमतालाई अब्बल खालको क्षमतामा रुपान्तरण गर्नको लागि गहिरो अध्ययनको आवश्यकता,प्रशिक्षण र साथी सगीका हिसाबको साथ साथै सोच विचारको आवश्यकता पर्ने गर्दछ । अध्ययन संस्कृतिको चलन र चेतनास्तरको प्रतिविम्बको झल्को समेत लेखनको हिसाब र क्षमतामा प्रस्तुत हुने गर्दछ । लेखकीय शैलीलाई लोभ लाग्दो,फरक धारको बनाउनका लागि शुरुवाती दिनका प्रयास सबैका लागि प्रेरणाको श्रोत बन्न सक्दछ । कोही पनि लगातारको प्रयास विना लेखक बन्न सक्दैन । यस लेखमा मेरो आफनो लेखन क्षमताको विकास र विस्तार सँगै अरुका लागि उत्प्रेरणाको सामाग्री बनाउने हिसाबले तयार गरिएको छ । सिकारु र विद्यार्थीहरुले सिको गरेमा प्रेरणाका सन्देश र उदारणीय हुन सक्दछ । लेखनशिपका बारेमा धेरै लेखकहरुको इतिहास,आत्मवृतान्त खोज विस्तार गर्दा अध्ययन गरेका पुस्तकहरुको नाम र फलानो लेखकको लेखनशीपबाट प्रभावित भएको भन्ने पाइयो तर यसरी लेखन यात्रालाई शुरुवात गरेको भन्ने विस्तृत पाउन सकिएन । लेखन अभ्यास गरेका अनुभव कम मात्रामा पाइने रहेछ । फेरी इतिहास भनेको सफलताको मात्र हुन्छ । हार्ने र असफलता हात लाग्नेको इतिहास विश्वमा नै छैन भन्दा हुन्छ । त्यसैले मैले लेखनशिपलाई विद्यार्थीकाल देखि हाल सम्मको अवस्थामा आइपुग्दाको बेली विस्तार लगाउने हिसाव लेखनशिपलाई प्रस्तुत गरेको छु ।
शुरुवाती लेखनशीपको शैली
विद्यालयमा अध्ययन गर्दा नेपाली विषय पढाउने शिक्षक जगनाथ शर्मा हाल सेवा निवृत शिक्षक ( बागलुङ नगरपालिका १० भकुण्डे गलुवा निवासी ) ले दैनिकी लेख्नका लागि पढाउनु भएपछि गृहकार्य स्वरुप दिइएको दैनिकी लेखनमा अभिरुची बढ्यो । घरको दैनिक जिवनशैलीलाई एउटा सिगो कापीलाई दैनिकी लेखनका लागि छुट्टाई नियमति जस्तो लेख्न थाले । घरपरिवारका सामान्य घटनालाई जस्तै रातो भाले बेचेको,आलु बेचेको,कोदो रोपेको,भेडाको साँढ बेचेको,खेताला गएको आएको जस्ता लेख्दै जादा मेरो दाजु टेक बहादुर थापा ( हाल भैरव उच्च माध्यमिक विद्यालय भकुण्डेका शिक्षक ) ले सृजनात्मकता बढने गरी उपलब्धीमुलक खास खास घटनालाई लिपीबद्ध गर्नुपर्ने सुझाव दिनुभयो । युवामञ्च, गरिमा पत्रिका,नवयुवा मासिक पत्रिका,मुल्याकन मासिक, मुना पत्रिकामा प्रकाशित राम्रा लागेको कथा,कविता,भनाइलाई बाक्लो गाता भएको कपीमा सार्ने काम गर्थे । विभिन्न साहित्यकार,लेखक,वैज्ञानिकहरुको महत्वपुर्ण भनाईहरुको संग्रह गर्थे । छिटफुट रुपमा गाउँखाने कथा,सामान्यज्ञान,पुस्तकको नामहरु पनि डायरी किन्ने हैसियत नभएकोले कापीलाई नै डायरीको रुपमा रुपान्तरण गरेको थियो । विद्यालयमा पढने समयमा स्प्रेयलर डायरी समातेको देख्दा मलाई पनि सोही स्प्रेयलर डायरीमा लेख्ने धोको खुब मनमा पलाथ्यो । बाबा लाल बहादुर थापाले खाना पकाउने समयमा बेलुका डोको बुन्ने,भेडाको ऊन काढने चर्खा चलाउने गर्नु हुन्थ्यो भने भाइ र म टुकीको नजिक बसेर गृहकार्य गर्ने, लेख्ने काम गर्दथ्यौ । कहिले काही पढाइ लेखाइमा ठग्न खोज्दा बाबाले मज्जाले राम धुलाइ गर्नुहुन्थ्यो । मैले पढने बाबा आमाको लागि हो भन्ने मनोभावनाले काम गर्दथ्यो । पढे भविष्यमा आफुलाई नै सफलताको लागि सजिलो हुन्छ भन्ने ज्ञान धेरै पछि मात्र आयो । मेरो बाबाले म त गोठाला भए, कृषक भए तर छोरालाई पढाएर गोठाला नहुने र गरिखाने बनाउने इच्छा छ क्यारे । बुद्धि छोराले लिने हो भनी बारम्बार भनी रहनु हुन्थ्यो ।
विद्यालयको औपचारीक अध्ययनको समाप्ती पछि उच्च शिक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पस बागलुङ ( हालको धवलागिरी बहुमुखी क्याम्पस ) मा अध्ययन गर्न थाले पछि क्याम्पसमा हुने साहित्यीक कार्यक्रम,गोष्ठी, कविता प्रतियोगीतात्मक कार्यक्रममा श्रोताको रुपमा सहभागी हुन थाले । आत्मविश्वासका साथ सहभागी हुन शब्दज्ञानको कमी र अध्ययनको कमी थियो । मेरो संगत पत्रकारिता गर्ने साथीहरुसँग हुदै गएपछि न्यू धौलागिरी दैनिक बागलुङले आधारभुत पत्रकारिताको लेखन शिपका बारेमा तिन दिने तालिम आयोजना गरेको तालिममा सहभागी पश्चात धेरै आत्मविश्वास बढ्यो । तालिममा सहभागी पश्चात भकुण्डेका किसान,शिक्षक,पर्यटकीय स्थल मध्ये बराहताल,मुलाबारी भ्यू टावर,सौरे डाडा लगायत सामाजिक अगुवाका विषयमा मात्र केन्द्रित भै फिचर लेखनलाई लेख्न थाले । भकुण्डेको दायरा भन्दा फराकिलो क्षेत्रको बारेमा लेखनशिपलाई जोडनु पर्दछ भन्ने हिसाबले बागलुङ बजारमा विविध कार्यक्रममा सहभागी भएका र आफु संगठित संघ सस्थाहरुको लक्ष्य,उद्धेश्य,कार्यनिति,रणनीतिका विषयमा पर्चाहरु संकलन गरेर,विधान, घोषणा पत्रहरु अध्ययन गरी सारभुत रुपमा लेखनलाई बढाउदै लगे । निरन्तर लेख्दै जानु पर्दछ भन्दै उत्पेरणाको श्रोत बनी रहने र साहित्यीक कार्यक्रम भएमा निम्तो गर्ने साथै रचना बाचनको लागि मञ्च दिने काम धवलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनको सम्पर्कले लेखनमा अभिरुची बढाउन र अब्बल खालको विश्वास निरन्तरको लागि लगाब दिनमा साथ दिइ रहयो । स्मृति प्रकाशन बागलुङको सस्थापक सदस्यको रुपमा आवद्ध भएपछि पालै पालो पुस्तक प्रकाशन गर्ने,एक जनाले पुस्तक प्रकाशन गर्दा अन्य साथीहरुले निश्चित रकम सहयोग गर्ने भन्ने निति बमोजिम दुई जना साथीहरुको पुस्तक प्रकाशन गरे पछि मेरो पालोमा पुस्तक प्रकाशन गर्दा लेख रचना,कविता,गितको संकलन कम भएकोले झन बढी अब लेख्ने कामलाई निरन्तरता दिनु पर्दछ भन्ने लाग्यो । तर आलो पालो पुस्तक प्रकाशन गर्ने स्मृति प्रकाशनले निरन्तरता पाउन सकेन ।
क्याम्पस अध्ययन गर्दाको लेखन यात्रा
क्याम्पस अध्ययनको सुरुवातीमा आयोजक बनेर कार्यक्रम हुन्थे पछि स्वतन्त्र विद्यार्थी यूनियनको सचिवमा निर्वाचित भएपछि अतिथि बनेर कार्यक्रममा सहभागी भइन्थ्यो । नियमित कक्षा कोठामा सहभागी भै अध्ययन गर्न विविध कार्यक्रमले गर्दा समय व्यवस्थापन हुन सक्दैनथ्यो । राजनिति नै मुल कार्य मानी कार्यक्रम भेला, सम्मेलन,बैठकमा हिडदा हिडदै परिक्षा आइहाल्थ्यो । त्यसैले मैले कोठामा अध्ययन गर्ने समयमा पुस्तकलाई पढेपछि बुदा टिपोट गरेर पत्रिकाको लागि लेख लेखी न्यु धौलागिरी दैनिक,धौलागिरी स्टार साप्ताहिक,बागलुङमा दिन्थे । पत्रिकामा प्रकाशन भएको लेखलाई फेरी एक पटक अधोपान्त अध्ययन गर्थे । परिक्षाको लागि नोट कपी, कक्षा कोठामा सिकेका विषय वस्तुलाई पाठयक्रमसँग जोडदै लेखनयात्रालाई निरन्तरता दिए । अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्रका शिर्षकहरुका लेखले अहिलेसम्म पनि ताजगीकरण गरी रहेको छ । अहिले अझ गहिरोसँग कक्षा कोठमा अध्ययन गरेको भए हुने थियो भन्ने आत्मग्लानी लाग्दछ । फेरी अग्रेजी भाषाको ज्ञानमा कमी भएका कारण अलमलमा पनि परे ।
प्रशासनीक र निजामति सेवाको लेखन
राजनीतिक यात्रा,साहित्यीक यात्राले सफलता पाउनको लागि सहसम्बन्ध,आर्थिक पुर्वाधारले महत्वपुर्ण भुमिका खेल्दो रहेछ । राजनीतिक लेखनको दर्शनमा गहिराइमा पुग्न घरको आर्थिक अवस्थाले दिएन । मैले फरक व्यवसाय गरेर जिविकोपार्जन गर्न असफल भए । अग्रजहरुको सुझावले लोक सेवा आयोगको परिक्षामा ध्यान दिन थाले । सेवा निवृत उपसचिव तिल बहादुर थापा मगर, न्याय सेवाका उपसचिव लालसिंह थापा मगर ( सर्वोच्च अदालत काठमाडौ ), भन्सार अधिकृत हेमचन्द्र शर्मा ( हाल भन्सार कार्यालय भैरहवा ), सहपाठी पदम बहादुर थापा मगर ( काली गण्डकी कोरीडोर आयोजना मुस्ताङ) को संगतले खरिदार र त्यसपछि लेखापाल पदमा प्रवेश गरे । राजपत्राकृति श्रेणी शाखा अधिकृत पदको परिक्षामा पास हुने उच्च अभिलाषाले प्रशासनिक र निजामतिका सिद्धान्त,नीति,प्रतिवेदन,पाठयक्रममा आधारित भै लेखनलाई निरन्तरता दिए । आफुले सकलन गरेको श्रोत सामाग्रीहरुको टिपोटलाई आलेखमा तयार पारे । फरक फरक बुझाईमा भएका लेखलाई नियमित साप्ताहिक स्तम्भका रुपमा ढोरपाटन दैनिक र धौलागिरी जागरण दैनिकमा लेख्ने कामले मलाई लेखनशिपमा सुधार गरयो । थुप्रै पत्रिकाका पाठकलाई लोक सेवा आयोगको पाठय सामाग्री पाई सोहीको प्रेरणाले खरिदार, नायव सुब्बा,अधिकृत समेत भएको पाउदा अत्यन्त खुशी लाग्दछ । किन आजभोलि प्रशासनिक र निजामति सेवाका विषयमा हजुरको लेख पढन नपाइएको हो भन्ने प्रश्न साथीहरुबाट आइरहन्छ तर मैले अब भोलिका दिन पाउनुहुने छ र तपाईहरुले समेत लेखन शिपलाई अभ्यास गर्ने हो नि भनिदिन्छु ।
अध्ययन संस्कृति र उत्प्रेरणामुलक लेखन यात्रा
मेरा छोरा छोरी विद्यालयमा अध्ययन गर्ने युवा अवस्था प्रवेश गरेपछि घरमा सम्झाउदा भने जस्तो नगरिदिने खाली मोबाइल,टेलिभिजनमा प्रशस्त समय बिताइदिने भएर वाक लाग्ने गर्ने बानीले गर्दा अध्ययन संस्कृति, सकारात्मक सोच र उत्प्रेरणामुलक लेखन शिपलाई अगाडी बढाएको हो । आजकल युवाहरु अधिक समय रातमा मोबाइलमा बिताउने तर अध्ययन भन्दा बढी भिडियो ग्ेम, युटुवमा अधिक समय बिताउने प्रवृत्ति विरुद्ध लाग्न जरुरी थियो । कुशल अभिभावकत्व भुमिका निभाउनको लागि अध्ययन र लेखन यात्रालाई निरन्तरता दिएको हो । छोरा छोरीलाई घर परिवार भन्ने विषय र लेखनको भाषाबाट भन्ने विषय समान नै हुन्छन् । घर परिवारमा भन्दा परिवारका सदस्यलाई मात्र सन्देशमुलक हुन्छ भने त्यसलाई लिपीबद्ध गरी संचार माध्यमको सहायता लिएमा आम पाठकका लागि हुन्छ । त्यसैले बुझाइ,गराइ,हेराइ तथा अनुभव सकारात्मक सोचका साथ हुन पाएमा समृद्धिको सपना टाढा थिएन । तर बुझेका आर्दशका मन्त्रहरु व्यहारिक पक्षमा अनुभव गर्दा तितो सत्यतामा परिणत हुन्छ । अनी मान्छे संघर्ष विना बाँच्न सक्दैन भन्नेमा पुग्दछ । उत्प्रेरणा प्रदान गर्ने भन्दा पन्छाउने र किनारा लगाउने नै परिपाटीको सस्थागत विकास भएको अनुभवका ताती नै छन् । सकारात्मक सोच,अध्ययन संस्कृति विकास र उत्प्रेरणाका लागि विभिन्न विद्यालयहरुमा सहभागी अनुभव आदान प्रदान गर्दाको लेखन यात्रा झन अनुभव योग्य र खारिएको लेखन यात्रा हुदो रहेछ । यात्रा सस्मरण गर्दाको लेखाइ झन ताजगीकरण हुने भएकोले लेखन यात्राको शिक्षा र सार तत्व मेरा छोरा छोरीले ग्रहण गरुन साथै असल नागरिक र रोजगारी हासिल गरुन भन्ने नै मुल उद्धेश्य हो ।
अन्तमा जिवनमा दुख,पिडा,अन्यायको मात्र गित,संगीत,साहित्य पाइन्छ । अब विश्व विख्यात भनाईलाई अनुशरण गर्दै निरन्तर अगाडी बढनुको विकल्प छैन । सुख, समृद्धि,हाँसो,खुशीको अनुभव साटने साहित्यको लेखनी सुरुवात गर्नुपर्दछ । म असिमित मानव क्षमताको भविष्य देख्दैछु किनभने अहिलेसम्म मान्छेले आफनो मस्तिष्कको बढीमा ५ प्रतिशत क्षमता मात्र प्रयोग प्रयोगमा ल्याइरहेका छन् । — डा. जोन हेजलिन । बारम्बार असफलता भोग्नु परेपनि आत्म निरीक्षण गरेपछि मात्र सफलता हात पर्छ । —सोईचिरो होण्डा । आफनो लक्ष्य बारे लेख्दै गर्ने हार्वर्ड विश्व विद्यालयका मात्र ३ प्रतिशत विद्यार्थीहरुले कालान्तरमा यति पैसा कमाउन सफल भए कि लक्ष्य नलेख्ने ९७ प्रतिशत विद्यार्थीहरुे पनि त्यति कमाउन सकेनन् । —येल विश्वविद्यालयको प्रतिवदेन । लेखन यात्रालाई निरन्तरता दिनको लागि अध्ययन विना सम्भव छैन । अध्ययन संस्कृति विकास लागि टेवा पुगोस भन्ने प्रयास गर्दा लेख तयार भएको हो ।




