शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पिडितले न्याय कहिले पाउने ?

पिडितले न्याय कहिले पाउने ?


  • Dhorpatan News
  • भाद्र १९ २०७६, बिहिबार

बागलुङ,१९ भदौ- २०५८ सालको कात्तिकमा पक्राउ गरेर सुरक्षाकर्मीको हिरासतमा मारिएका एक जनाको परिवारले अहिले सम्म न्याय र राहत पाउन सकेको छैन ।
हरिचौरका भबिलाल बिक पक्राउ परेको एक बर्षपछि प्रहरीले परिवारलाई शव दिएको थियो । उक्त घटनापछि अहिले सम्म पिडित परिवारले न्याय र राहत नपाएको हो । ज्यालामजदुरी र खेतीपाती गरेर जीवन बिताएकी भविलालकी श्रीमती प्रमिलाले राहत समेत नपाएपछि छोरीहरु पढाउन समस्या भोगेको गुनासो गरिन् । प्रमिलाका ३ छोरी छन् । कान्छि छोरी अहिले कक्षा १० मा पढ्छिन् ।
पक्राउ गर्दा सेनाले बिक दम्पत्तीलाई माओवादीको आरोप लगाएको थियो । श्रीमान पक्राउ परेपछि एक बर्ष सम्म उनले दुःख कष्टले छोरी हुर्काइन् । श्रीमानको खोजी गरिरहिन् । तर एक बर्षपछि जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकाम बोलाएर शव थमाएको थियो ।
बर्षौ सम्म उनले न्याय नपाएको गुनासो गरिन् । लामो समय सम्म सदरमुकाम आउने जाने गरेपनि उनको उजुरी कतै दर्ता भएको थिएन । २०७२ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उनको लागि राहत खोजिदिने निर्णय ग¥यो । प्रशासनले उनको निवेदन शान्ति मन्त्रालयमा पठाएको थियो ।

प्रमिला अहिले पनि ज्यालामजदुरी गर्दैछिन् । सदरमुकामको उपल्लाचौरमा जग्गा भाडामा लिएर तरकारी खेती गर्छिन् । छोरीलाई पढाउने काममा अझै उनले लगानी गरेकी छिन् । तर उनले श्रीमान किन पक्राउ परेका थिए, किन मारियो, कुन घटनामा मारिएको हो वा हिरासतमा मारियो भन्ने अझै बुझ्न नपाएको गुनासो गर्छिन् । ‘अहिले सम्म किन मारिएको हो भन्ने मलाई थाहा छैन’ दुइ छोरीलाई कक्षा ८ देखि पढाउन सकिन’ उनले रु“दै भनिन्, ‘कान्छिलाई कक्षा १० मा पढाएको छु ।’ द्वन्द्वपिडितका छोराछोरीले छात्रवृत्ति पाएपनि उनले छोराछोरीलाई मजदुरी गरेर ल्याएको पैसाले पढाएको बताईन् ।

दशबर्षे जनयुद्धमा बेपत्ता पारिएका र मारिएका परिवारका सदस्यले प्रारम्भिक राहत ३ लाख रुपैया“ देखि ५ लाख सम्म पाएका छन् । छोराछोरीले कक्षा १२ सम्म छात्रवृत्ति पाएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘सूचिकृत गरिएका पिडितका छोराछोरीको नामाबलीको आधारमा राहत आउने गर्छ’ उनले भने, ‘आए अनुसारकै रकम बितरण गरिएको छ ।’ बिकको छोरीहरुले भने त्यो अवसर पनि पाएनन् ।

उनको उजुरी उपर छानबिन पछि जानकारी आउनुपर्नेमा अहिले सम्म केही पत्तो नलागेको नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले बताए । ‘हामीले बेपत्ता र अन्य पिडित परिवारको समस्या बारे खोजी गरेका छौं, उहा“पनि एक बर्ष बेपत्ता र राज्यबाट मारिएको हो’ आचार्यले भने, ‘बेपत्ता भएपनि मृतक भएपनि राहत पाउनु पर्छ ।’ रेडक्रस सहित जिल्लामा क्रियाशिल सामाजिक संस्थाहरुको अगुवाईमा पिडितलाई न्याय दिलाउन धेरै पहल भएका छन् । ती पहलबाट पिडित परिवारले प्रारम्भिक राहत पाएका छन् । बिकले भने अझै केही नपाएको गुनासो गरिन् । ‘अब त माईत र घरमा कोही छैनन्’ उनले भनिन्, ‘मजदुरी गरेर छोरीहरु पाल्दैछु ।’ राहत पाएपनि छोरीको शिक्षामा लगाउने उनले आस गरिन् । घटनाबारे रेडक्रस, न्यायका लागि द्वन्द्वपिडित समाज, प्रशासन र मन्त्रालयमा थाहा भैसकेकोले धेरै धाउन नसकेको बताईन् । ‘सबैलाई थाहा छ, मेरो दुःख पनि देखेका छन्, केही आउनु पर्ने हो’ उनले भनिन्, ‘राहत पाएमा छोरीलाई उच्च शिक्षा पढाउने धोको बनाएको छु ।’ समाजका अध्यक्ष बद्रीबहादुर केसीले बिकको समस्या समाधानमा पहल गर्ने बताए । ‘सत्य जान्न पाउने अधिकार खोजेको धेरै भयो, अहिले सम्म पाईएन’ हामीले राहतका लागि मात्र नभई सत्य जानेर पिडकलाई क्षमा दिन चाहेपनि राज्यले अवसर दिएको छैन ।’

जिल्ला प्रशासन कार्यालय र जिल्लाका क्रियाशिल सामाजिक संस्थाको तथ्यांक अनुसार २४ जना बेपत्ताको सूचि छ । उक्त अवधिमा १ सय ३९ जनाको मृत्यु भएको थियो भने १ सय २ जना अपहरणमा परेका थिए । बिस्थापित ७९ जना, अंगभंग २३ जना, घाइते ५३ जना थिए । तत्कालिन तथ्यांकमा ४१ जना बालबालिकाले बाबुआमा मृतक भएकोले छात्रवृत्ति पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->