बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नारा समाजवादको व्यवहार नाङ्गो पूँजीवादको

नारा समाजवादको व्यवहार नाङ्गो पूँजीवादको


  • राजेशचन्द्र राजभण्डारी
  • भाद्र ३० २०७६, सोमबार

नेपालीमा एउटा उखान छ, ‘काशी जाने कुतिको बाटो !’ देशमा हाम्रो गन्तव्य समाजवाद हो कि पूँजीवाद भनेर बहस चल्न थालेको छ । नेपालको संविधान २०७२मा नेपाल राज्य स्वतन्त्र अविभाज्य सार्वभौमसत्ता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर स्पष्ट रूपमा लेखिएको छ । यो कुरा किन केका लागि लेखियो त भनेर बहस गर्ने कि हाम्रो गन्तव्य समाजवाद हो कि हैन भनेर बहस गर्ने प्रश्न यो हो जस्तो लाग्छ ।अहिले जानुपर्ने समाजवादमा हामी गइरहेका छौँ कि नांगो पूँजीवादमा ? अहिलेसम्मको लक्षण हेर्ने हो भने समाजवादमा जाने न त निति छ न त कार्यक्रम नै । सबैभन्दा खरो रूपमा समाजवादको बहस गर्ने नेता नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसाल छन् । भुसालले गर्ने एकएक प्रश्नको जवाफ अहिलेसम्म कुनै नेताले दिएको देखिएको छैन। केही दिन अगाडि राजधानीमा भएको एक पुस्तक बिमोचनमा नेता भुसालले नेकपाको अबको राजनीतिक बाटो समाजवाद कि पूँजीवाद ? भन्ने प्रश्न गरे । नेताहरूबीच यसबारे सार्वजनिक मञ्चमै तर्क–वितर्क चल्यो । नेताहरूले शीर्ष नेतृत्वलाई प्रश्न गर्न थालेका छन्, ‘नेपाल समाजवादमा जान्छ कि जाँदैन? ’
संविधानमै समाजवादउन्मुख देश लेखिएको छ । पार्टीको चुनावी घोषणापत्रदेखि कार्यक्रम समाजवाद भएको बताइएको छ । मुलुकको वस्तुगत धरातल र संरचना भने ‘दलाल पूँजीवादी’ देखिएको नेताहरूको भनाइ छ । अध्यक्ष पुष्पकमल दाहाल र स्थायी समिति सदस्य घनश्याम भुसालबीच देशलाई समाजवादको दिशामा लैजाने कि पूँजीवादी संरचनासँगै आत्मसमर्पण गराउने भन्नेमा बहस भयो । नेकपा भक्तपुर जिल्ला सचिव डीपी ढकालको पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ सार्वजनिकीकरण कार्यक्रममा नेता भुसालले अध्यक्ष दाहाललाई ¥याख¥याख पारे ।अहिले समाजवादको कुरा उठाउने घनश्याम भुसालहरू देखिएका छन् । साँच्चै मन, वचन र कर्मले समाजवादको कुरा उठाएका हुन् भने यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रचण्डले आफू समाजवादकै लागि लडेर मर्ने बताएका छन् । समाजवादको नेपाली मोडेलबारे पार्टीभित्र ‘महान् बहस’ चलेको उनले सुनाए । ‘घनश्यामजीले मलाई ठाडठाडै प्रश्न गर्नुभयो । के हुन्छ कमरेड भनेर । समाजवादी मोडेल नेपालमा कस्तो हुने ? विश्वभरका अनुभवहरूको संश्लेषण कसरी गर्ने भन्ने ग्रेट डिबेटमा हामी छौँ’, उनले भने, ‘मैले हिजो जानेमानेको चिनियाँ, रुसी, भियतनामी, क्युबाली, कुनै मोडेलबारे यान्त्रिक रूपले भन्न सक्छु । तर, हिजोका क्रान्ति–प्रतिक्रान्तिको संश्लेषणसहित अबको मोडेल यो छ भन्न एउटा ठूलो बहस र संघर्षको बीचबाट हामी गुज्रिन जरुरी छ ।’
साँच्चै नेपाल समाजवादमा जान लागेको छ कि छैन भनेर प्रश्न गर्ने हो भने यसको जवाफ अहिले कसैसँग पनि छैन ।मात्रै नाराले हुने भएको भए राजा वीरेन्द्रले पंचायतकालमा नेपाललाई एशियाली मापदण्डमा पु¥याउने कार्यक्रम घोषणा नगरेका हैनन् । पुग्यो त, एशियाली मापदण्डमा ? अहिले पनि नेपालको संविधानमा लेखिए अनुसार हुने भएको भए सायद आज यो अवस्था आउने थिएन होला ।२०४६ सालको जनआन्दोलन प्रजातन्त्रको आगमनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देशलाई सिंगापुर बनाउने भनेर ठूलो भाषण नै गरे । ३० बर्ष बितिसक्दा पनि नेपालको अवस्था झन दयनीय हुन पुगेको छ । पंचायतकालको भन्दा हजारौं गुणा विदेशी ऋण थपिएको छ । विकास जुन गतिमा हुनुपर्ने हो त्यो भएको छैन ।
देशमा विकास खर्चभन्दा प्रशासनीक खर्च बढी हुन्छ । विकासको लागि छुट्टयाइएको बजेट समेत खर्च नभएर फिर्ता हुनेगर्छ । युवा जनशक्ति दिनहुँजसो हातमा राहदानी बोकेर विदेशीको गुलामी गर्न जान बाध्य छन् ।स्वदेशमा रोजगारी छैन कसैले आफ्नो ठाउँमा केही गर्न खोजे त्यसलाई हौसला दिने भन्दा पनि काम गर्ने वातावरण नबनाई दिने छ ।प्रत्येक ठाउँमा दलाली, गुलामी र घुसबिना कुनै काम हुने वातावरण छैन । सामान्य जनता महंगीको मारमा छन् न बजार भाउ, न अनुगमन, न त कार्वाही ! जसले जे–जे मनलाग्छ त्यहीँ त्यही गर्ने छुट छ ।नारा समाजवादी भएर हुने भए किन चाहिन्छ कार्यक्रम । अहिले समाजवादको कुरा छोडौँ,पूँजीवादमा पनि नांगो पूँजीवाद हावी भएको छ । शिक्षा स्वास्थ्य रोजगारीको जबसम्म ग्यारेन्टी हुँदैन तबसम्म यस्ता नाराको कुनै काम छैन । अहिले शिक्षा र स्वास्थ्यमा जस्तो ब्रम्हलुट अरू केही पनि छैन । एकजना गरिबले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमा पढाउन पनि संभव छैन भने निजी बिद्यालयमा पढाउने कुरा त आकाशको फल आखाँ तरिमर भनेजस्तै भएको छ । समाजवादको आफ्नै ब्याख्या छ । आफ्नै सिद्धान्त छ । अहिले जताततै निजीकरण गर्नुपर्ने भनेर कराइ रहेका छन् । सरकारले आयल निगम चलाउँदा यसको बिरोध भइरहेको छ । साझा यातायात बाहेक सरकारको नियन्त्रणमा कुनै यातायातका साधन छैनन् । सरकारले यातायातमा भएको सिण्डिकेट हटाउन खोज्यो तर सकेन । ठेकेदारको दादागिरी हटाउने कुरै छोडिदिऊँ । झन ठेकेदार शक्तिशाली बन्यो । शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र जताततै बेथिति भन्दा अर्को थोक केही छैन । मुलूकमा माफिया, दलाल, भ्रष्टाचारी, भूमाफिया, जलमाफियाको हालिमुहाली भएपछि समाजवाद अहिले आउँछ ?
नेपाली उखान त्यसै बनेका हैनन् । ‘जुन गोरूको सिँङ छैन त्यसको नाम तिखे’ भनेझँै जोसँग एकपैसा धन छैन, त्यसको नाम धनबहादुर । जोसँग शक्ति छैन, त्यसको नाम शक्तिबहादुर । जोसँग मन छैन, त्यसको नाम मनबहादुर । जोसँग अर्बौंको सम्पत्ति छ, त्यसको नाम गरीबराम । जो समाजवादी हैन, त्यसको नाम समाजवादी भनेझँै भएको छ । अहिलेको सरकार कुहिरोको काग जस्तो भएको छ । हरेक कुरामा अलमल देखिएको छ । मात्रै दलालको हकहितको लागि काम गर्नेभन्दा अर्को केही गर्ने हैसियत छैन कि जस्तो भएको छ । यसो भन्दा मलाई पनि प्रतिगामी भनेर आरोप लगाउन सक्छन् तर वास्तविकता यही हो ।अहिले जताततै बेथिति छ । हिजो राष्ट्रवादी सरकार प्रमुख भनेर ठूलो नाम कमाएको केपी ओली अहिले नेपाली जनताको आलोचनाका पात्र हैन हाँस्यपात्र बन्दै गइरहेका छन् । दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टी एक भए पनि अहिलेसम्म पार्टी एकढिक्का भएर जान सकेको छैन । अहिले भएका नेताहरू कि त भारतीय दलालीमा फसिरहेका छन् ,हैन भने चोर,डाँका, फटाहा र माफियाको दलालीमा दिन बिताइरहेका छन् । मात्रै मञ्चमा समाजवाद भनेर भाषण गरेर हुने भए गणतन्त्र घोषणा गरेजस्तै नेपाल समाजवादी देश भनेर संसदबाट दुई तिहाई बहुमत बाट भनिदिए के फरक पर्छ ? सरकार चलाउन विदेशी ऋण, पार्टी चलाउन विदेशी सहयोग लिने नेताहरूले नेपाली जनतालाई समाजवादको सपना देखाएर किन उल्लु बनाउने धन्दामा लाग्नुपर्छ ? साँच्चै यो देशलाई समाजवाद बनाउने हो भने नारा हैन व्यवहार समाजवादी बनाउन जरुरी छ । सरकारले शिक्षा स्वास्थ्य निःशुल्क गराउने अनि रोजगारीको ग्यारेन्टी गर्ने हो भने अरू केही पनि गर्नु पर्दैन देशको आधा भन्दा बढी समस्या समाधान हुनेछ । भ्रष्टाचार लगभग न्यून हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->