बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन्दर बिहानी नआई सुखै छैन

सुन्दर बिहानी नआई सुखै छैन


  • नारायण पौडेल
  • असोज १ २०७६, बुधबार

साँझले जबरजस्ती अध्यारो बनाएर के भो त, भोलिको सुन्दर बिहानीसँगै अझ बलियो र अझ हिम्मतवाला भएर आउनुपर्छ । तिमी हामी जो संसारमा आयौ, यो सुन्दर संसार तिम्रो हाम्रो लागि त हो’नि हैन र ? समाजले के कसरी सिकाउँछ, त्यसलाई परिस्कृत र परिमार्जन गर्दै सुनौलो बिहानीका किरण छर्न सक्नुपर्छ, जुन तिम्रो हाम्रो कर्तव्य अनि दायित्व पनि त हो । संसार कति बिचित्र छ है, कोही यहि संसारमा जन्मन पनि नपाई गर्भमै इहलिला समाप्त हुन्छ, कोही सुन्दर यो संसारलाई सानो आँखी झ्यालबाट चिहाउन मात्र के पाएको हुन्छ, सकिन्छ त कतिपय यहि संसारमा हुर्कदै चुरबुराउदै लाउला खाउला भन्ने उमेरमा विलिन हुन्छ । तर तिमी हामी त त्यस्तो छैनौ नि । अब तिमी हामीले यो समाजको मुहार फेर्न सक्नुपर्छ, समाजमा सबैलाई उदाहरणीय बन्दै भावीपुस्ताले स्यालुट गर्न सक्ने बन्नु पर्छ ।
समाजमा तिम्रो हाम्रो मेहनतले धेरैभन्दा धेरै मानिसलाई नयाँ जीवन दिन सक्नुपर्छ, जीवन दिनु भनेको खान, लाउन र बस्न दिए मात्र हुने होइन बरु उसलाई सफल हुने उपाय दिएर हुने हो संसारमा रमाउन  सिकाएर हुने हो नकि एकैछिनका नारा र कोरा कल्पना भाषणले मात्र हुँदैन । संसारमा तिमी र हामीलाई जसरी जन्म दियो नि यो एउटै कारणले दिएको हो, समाजमा शान्ति, सद्भाव र सहकार्यको निम्ति दिएको हो । समाजमा तिमी र हामीले गर्ने हरेक कार्यमा मतभेद गरेको छ, जसलाई चिर्न सक्नुपर्छ, परिमार्जन र परिस्कृत गर्न सक्नुपर्छ । तिम्रो काम मेरो र हाम्रो काम बन्नुपर्छ । मेरो काम तिम्रो हाम्रो काम बन्नुपर्छ भलै प्रकृतिले जन्मजात दिएको केही विषयहरु परिवर्तन सम्भव छैन तर ९९५ कामहरु परिवर्तन र परिस्कृत गर्दै संगै रमाउने वातावरण वनाउनु पर्दछ, जुन कुरा तिम्रो मात्रै अठोटले वा मेरो मात्र अठोटले सम्भव छैन तर सम्भव छ जहाँ तिमी र म सगै हुन्छौ । हामी र हाम्रो बनाउन सक्छौ नि, त्यति बेला असम्भव के पो होला र ? हो यो जो विषयमा हामी पछाडि फर्कने अधिकार छैन अगाडी बढ्ने हिम्मत गर्नुपर्छ सम्भव छ, सकिन्छ । यो समाजमा केही चर्का परिवर्तनका नारा लगाउने तर व्यवहारमा पश्चगामीहरुको कमी त छदै छैन, जसले तिमीले गर्ने कामलाई मैले गरेँ भने वा मैले गर्ने काम तिमीले गरेउ भने विभिन्न उपमा झुण्डाउँछन अनि नारा लगाउँछन् परिवर्तनको, खैर छोडिदेउ भन्नेहरुलाई तर परिवर्तन तिमी र म बाट हुने हो । सुन्दर बिहानी ल्याउने हो ।
समाजमा तिमीलाई गर्न भनेर बनाइएका तर तिम्रो हाम्रो र समाजमा अबरोध खडा गर्ने बन्धनहरुलाई गाँस्न नमिल्ने गरी चुडाल्ने हो, छिन्नभिन्न बनाउने हो किनकि संसार बदल्नु छ, परिमार्जन गर्दै सुन्दर बिहानी अँगाल्नुछ । सचेत रहनु पर्छ साँच्चिकै समाजमा राम्रो सम्पदा र असल कामहरुको बाँडफाँड छभने अगाल्नुपर्छ, फैलाउनु पर्छ । तर समाजको गतिमा धावा बोल्नहरुलाई गन्ती नगरी सकाउँनुछ । किनकि फेरी संसार त बदल्नु छ । संसार बदल्नको लागि तिमी हामी पनि त बद्लिनु पर्छ नि । जसरी साँझले जबरजस्ती अध्यारो ल्यायो त्यसरी बिहानीले जबरजस्ती उज्यालो ल्याउँछ, अब हाम्रो प्रयत्नले सुन्दर उज्यालो बिहानी ल्याउनु छ । काम संगसंगै मिलेर गर्ने हो सुन्दर बिहानी पनि सबैलाई अनुभव गराउने हो, हिम्मत एक दुई जनाले गर्नै पर्छ । संसार बदल्ने र सुन्दर बिहानी ल्याउने हामी र हाम्रो पुस्ताले हिम्मत नगरेर कसले गर्ला र ?
अब म तिमीले गर्ने कामको आधा हिस्सासंगै गर्न सघाउँछु भनेर अगाडी सरिन भने वा तिमी मेरो कामको आधा हिस्सा म पनि संगै गर्छु भनेर अगाडी नसरे कसरी होला परिवर्तन, कसरी होला सुन्दर बिहानी होइन र ? तिमीले भात पकाउदै गर्दा मैले के तरकारी बनाउन हुदैन र ? तिमीले कपडा सरपमा भिजाउँदै गर्दा मैले पानीमा कपडा धुनु हुदैन र ? तिमीले घरबगैचा सफा पार्दा मैले संगै सघाउन हुदैन र ? तिमीले दुःखी गरिबलाई सहयोग गर्दा मैले पनि सहयोग गर्न हुदैन र ? हुन्छ नि त । अनि यो समाजलाई रूपान्तरण गर्ने अभियानमा मैले पनि धेरै थोरै सहयोग गर्न सक्दिँन र ? सक्छु नि तर तिम्रो हाम्रो समाजले अनेकन कुरा काट्न सक्छ र काट्छ तर यो संसारलाई सानो कुराबाटै हामीले परिवर्तन गर्ने सुरुवात गर्नुपर्छ, होइन र ? यसका लागि पहिले म आफै हो नि बद्लिने त अनि तिमी हामी नै हो’नि त बद्लिने जसले गर्दा समाजमा अरुलाई बदल्न सहयोग पुगोस् । के हाम्रो आमाले गरेको काम वा महिलाहरुले गर्ने काममा हामी पुरुषले सहयोग गर्दैमा बिग्रन्छौ र ? के कुनै काम महिलाले मात्र गर्नुपर्ने पुरुषले गर्न नहुने भनेर कुनै शास्त्रमा लेखेको हुन्छ र ? हुँदैन, न त पुर्विय शास्त्रमा छ न त पश्चिमाहरुमा, समस्या त बरु हाम्रो दृष्टिकोण र चिन्तनमा हो । यो हाम्रो दृष्टिकोण र चिन्तनलाई जरैबबाट नउप्काएसम्म न त हाम्रो सुन्दर बिहानी आउँछ न त समाजको परिवर्तन हुन्छ । अब सोच्ने हामी आफैले हो, परिवर्तन गर्ने आफैबाट हो, शुरु अब म बाट गर्नुपर्छ । यो पुरुष प्रधान समाजबाट मातृ प्रधान मात्र समाज बनाउने अभियान भन्दा पनि परिस्कृत र सुन्दर सु–सभ्य समाज निर्माण र सुशासन सहितको राष्ट्र निर्माण हाम्रो अभियान हो भनेर हामी पुरुषले बुझ्ने कहिले ? अझै पनि बजारको चोक–चोकमा महिलाहरुको कहालीलाग्दो अबस्था छ, जातिय हिसाबले पनि त्यस्तै दर्दनाक अबस्था बजारको चोक–चोकमा पाइन्छ भने अझै दुरदराजमा कस्तो अबस्था छ होला ,कल्पना गरौ ।
समाज अहिले पनि जातिय, धार्मिक, सांस्कृतिक, लैङ्गिक आदि विभिन्न हिसाबले कति विभाजित र विभक्त छ भन्ने कुरा न कसैले भनेर सक्छ न त कसैले देखेर लेखेर सक्छ । लाग्छ घरिघरि यो समाज, यो राष्ट्र कति विविधताले भरिपूर्ण छ, यहि विविधताको भरिपूर्णलाई समाजमा केही व्यक्ति तथा समुहको स्वार्थले कसरी अन्याय अत्याचार गरिरहेको छ एकातिर भने अर्कोतिर यसैमा टेकेर लैङ्गिक, धार्मिक, सांस्कृतिक तथा जातिय कुरालाई समाएर ठुलो ठुलो पद लिने र आफ्नो उक्त विविधतालाई तिलान्जली दिनेको पनि कमी छैन भने फेरी हामी पनि तिनैको पछि लागेर हो रैछ क्यार भनेर लहडमा बहस र तर्क गर्न पछि परिरहेका छैनौ । यसमा पनि त तिम्रो, हाम्रो प्रयत्नले मात्र सुन्दर बिहानी आउँछ नभए त उहि श्राद्वमा विरालो बाँधे जस्तै त हुन्छ नि । यसकारण पनि तिम्रो हाम्रो साझा प्रयत्नले संगसंगै भएर सुन्दर बिहानी ल्याउने हो र उक्त सुन्दर बिहानीको सुनौला किरणसंगै स्वर्णिम अक्षरले आफ्नो नाम पोत्नु पर्छ र साँझले जबरजस्ती पारेको अध्यारोलाई सकाउदै सुन्दर बिहानीमा रमाउने हो । समाज पनि कति स्वार्थी छ हगि…तिज, तिहार आउँछ कयौ चेलीहरु तिजमा र तिहारमा पनि रक्सी खाएर बसेको बुढो र छोराछोरी स्याहारेर सबै दिदीबहिनी माइत जाँदा रुदै बस्नुपर्ने, त्यहि पुरुष दशै जस्ता चाडबार्ड आउँछ अनि सुटबुट कसेर ससुराली वा मावली दौडन्छ । उसलाई यत्ति पनि ज्ञान छैन कि त्यहिँ महिला जो श्रीमती छ उसैलाई बिहे गरेर ल्याउनाले आफु ससुराली जान पाएको हो, त्यहि महिला जसले जन्म दिइन् र संसार देखाउन दुःख गरिन उसैलाई पीडा दिई बसेर फेरी फुर्तिका साथ ससुराल वा मावल जान्छ । त्यहि पुरुष हो जसले एक महिला मन परेन भने बिभिन्न लान्छना लगाउँछ र अर्की ल्याउँछ तर समाज मौन रहन्छ । तर त्यहि नारी हो जसले त्यस्तो पुरुषलाई सधैभरी उसैलाई स्याहारसुसार गरेर जिन्दगी व्यतित गरिरहेकी हुन्छिन् । फेरी यहि समाज हो त्यहि नारीलाई यस्ती र उस्ती भनेर लान्छना लगाउँछ । त्यहि नारीलाई यहि समाजले समाजमा बहिष्कार गर्न समेत पछाडी पर्दैन, यसकारण पनि तिमी हामी यसको जरुर विरुद्व उभिएर नयाँ सुन्दर बिहानी ल्याउनु पर्छ ।
नयाँ सुन्दर बिहानी ल्याएरै छोड्नुपर्छ, समाजको कु–संस्कार तोडेरै छोड्नुपर्छ, दिनरात काम गर्ने महिलाको निम्ति हरेक क्षणमा सघाउने पुरुष र हरेक पुरुषको काममा हरेक क्षणमा सघाउने महिला, हरेक जाति, धर्म, र संस्कृतिमा समानता खोजेर सुन्दर बिहानी ल्याउनै पर्छ हाम्रै पालामा । विशेष गरि समाजमा महिलाको निम्ति मात्र भनेर छुट्याइने कामहरुमा हामी पुरुष भनाउँदाहरुले हरेक काम सहयोग गर्न सके मात्र समाजमा सुन्दर बिहानीको परिकल्पना गर्न सकिन्छ । त्यसको लागि सुधार गर्ने शुरुमा मैेले नै हो र तिमीले पनि हो संगसंगै । अब परिवर्तन त शुरुमा तिमी होइन म हुने हो नि त ।
मेरो समाजलाई परिवर्तन गर्ने मेरो कर्तव्य हो, परिवर्तन गर्नैपर्छ । म परिवर्तन हुन सक्नुपर्छ । समाज अझै पनि पुरुष प्रधान छ यसमा कुनै दुई मत छैन भलै केही हुने खानेहरुको घरमा थोरै परिवर्तन भएको छ भने शासकिय शैली, संवैधानिक व्यवस्था र अधिकांस मानिसमा चेतनाको राम्रो रुपमा विकास हँुदै गइरहेको छ, जुन खुसीको करा हो तर समग्रमा हेर्दा हाम्रो समाजमा केही यस्तो कहालीलाग्दो अबस्था देख्न पाइन्छ, कता कता अझै हजुरबुबाको पालामा त छैनौ भन्ने पनि लाग्छ ।
अब यसमा परिवर्तन गर्दै सबै मिलेर सुन्दर बिहानीको किरण छर्ने काम मेरो हो, तिम्रो हो, हाम्रो हो । यसै केहि पनि परिवर्तन हुँदैन शुरुवात कोही न कोहीले गर्नपर्छ, अब यसको नेतृत्व लिने पालो मेरो हो, तिम्रो हो र हाम्रो हो । सुसंगत, सुशासन, न्याय र समानता ल्याउनलाई हामी सुरुवात त गरौ न । यो भनिरहँदा कतिपयलाई लाग्न सक्छ समाजमा यो हाम्रो काम होइन सरकार को हो, नेताको हो, त्यस्तो होइन राम्रो काम हामी जसले गर्न पनि हुन्छ । समानता ल्याउन, सुसंगत बनाउन जसले पहल गरेपनि हुन्छ । तर म आफैले मेरो घरमा यि कुराहरु गर्न त तयार हुनुपर्यो नि । मैले यहाँ लेखेर मात्र पनि भएन, पाठकले यो पढेर मात्र पनि भएन, परिवर्तनको शुरु आफैबाट काम गरेर नै गर्नुपर्छ । अरुलाई दोष दिनुभन्दा पहिले आफ्नो पुरा अनुहार र व्यवहार ऐनामा हेर्नुपर्छ राम्रोसंग । दोष लगाउन जति सजिलो छ, कुरा गर्न जति सजिलो छ, काम गर्न त्यति गाह्रो छ । बाहिर महिला अधिकार र दलित, जनजाति अधिकार भनी हामी भाषण गरेका छौ सत्यमा हामी नै कति काम गरेका छौ आफै खोजौ न र आत्ममुल्याङ्कन गरेर परिवर्तन हुन सकेको खणडमा सुन्दर बिहानी स्वर्णीम छ । सपना देख्नु पर्छ, लक्ष्य निर्धारण गर्न्पर्छ, ढिलो चाँडो होला पुग्न सकिन्छ त्यो हाम्रो सुन्दर बिहानीको अंगालोमा । तर हिम्मत हारेर कही पुगिदैन, अरुलाई गाली गरेर मात्र त जम्माजम्मी हामी समय कटाउन मात्र सकौला अरु केहि हुँदैन । निराश होइन आशावादी हुनुपर्छ, दृढ संकल्पित हुनुपर्छ, सुन्दर बिहानी तिमी र म संगै छ, हामी सगै छ । सुन्दर बिहानी जति बलजफ्ति रोक्न खोजे पनि आउँछ आउनुपर्छ । सुन्दर बिहानी त बिहानी नै हो नि नआएर सुख नै छैन त ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->