दक्षिण कोरिया ईपिएस प्रणालीमार्फत कामदार लैजाने देश मध्येको एक । नेपाली कामदारका लागि पनि यो देश नै पहिलो देश हो जहाँ जान कुनै दलालको फन्दामा पर्नु पर्दैन, नत अन्य धेरै झमेला खेप्नु पर्छ । कम लागतमा राम्रो कमाई हुने र कसैले नलुटेपनि तर त्यहाँ जान कम मेहनतले पुग्दैन । पछिल्लो पटक कोरियन सरकारले अघि सारेको प्रकृयाले कोरिया जाने सपनालाई अझै कठिन बनाइदिएको छ । बर्षदिन भन्दा बढि समय लगाएर अर्काको देशको भाषा पढ्यो । लाखौ प्रतिस्प्रर्धीलाई पछि पारेर भाषा पास गर्याे । त्यतिले मात्र भएन, स्किल टेस्ट र अन्तवार्ता दियो । त्यति गर्दा पनि भनिन्छ कोरियन भाषा परीक्षा पास गर्नु कोरिया जाने संभावना हो तर ग्यारेन्टी चाहिँ होइन् । सबै प्रकृया पु¥याएर कोरिया भित्रेपछिको काम र दुःख त आफ्नै ठाउँमा छ । कोरिया जानका लागि भएको प्रतिप्रर्धा र तछाडमछाडले त यस्तो संकेत गर्छ कि मान्छेहरु कुनै स्वर्गमा जाँदै छन्, जहाँ आरामले मोजमस्तीसंग जीवन निर्वाह गर्न सकिन्छ । जहाँ बसीबसी पैसा पाइन्छ । तर कठिन तरिकाले भाषा पढ्नु पर्ने, लाखौको बिचमा प्रतिस्पर्धा गरेर भाषा परीक्षा पास गर्नु, स्किल टेस्ट, लेबर कन्ट्राक, स्वास्थ्य जाँच सहितका झमेला झेल्दा झेल्दै युवाहरुमा आधाआधी त मानसिक रुपमा विछिप्त हुन्छन् ।
जब युवा युवतीहरु जब रोजगारीका लागि कोरिया पुगेर काममा जोतिन्छन् तब बाउको बिहे देखिन्छ । काममा जोतिदा शारीरिक र मानसिक रुपमा त कमजोर हुन्छन् नै त्यहाँको रिती चलन र सिस्टम नजान्दा अझै समस्या पर्छ । त्यहिँ माथि कोरियन सरकारले कामदारको तलब सेवा सुविधामा चरम कटौती गर्दै गएको छ । विपक्षी दलका नेताले त विदेशी कामदारको तलब घटाउन सार्वजनिक रुपमै बोले, जसको धेरैले विरोध गरेका थिए । कोरियामा बर्षेनी आत्महत्या र औद्योगिक दुर्घटनामा मर्ने नेपालीको संख्याले पनि हामीलाई दुखी बनाउँछ । थ्रि डि ‘डट्टि’ ‘डेन्जर’ र ‘डेथ्स’ काम गर्ने नेपालीहरुका लागि त्यहिँ अवसर पनि बर्षेनी कटौती हुदै गएको छ ।
भाषा पास गरेर दक्षिण कोरिया जान नपाएका २ हजारभन्दा बढि परिक्षार्थीले ईपिएस पिडित नामक संस्था नै खोलेर कोरिया जान पाउने माग राख्दै आन्दोलन गरिरहेका छन् । पछिल्लो पटक कोरियन सरकारले रोजगारीमा जाने कामदारका लागि तेर्साएको व्यवस्थाले त त्यहाँ जान खुट्टा उचालेका युवा युवतीलाई थचक्क बस्न बाध्य पार्दैछ । सरकारी कोटामार्फत कोरियन भाषा परिक्षा पास गरि दक्षिण कोरिया जान थालेको ११ बर्ष बढि भयो । गत बर्षसम्म कोरियन भाषा मात्र पास गरे दक्षिण कोरियामा लेबर काम गर्न जान योग्य हुन्थे । केही प्रतिशतको श्रम सम्झौता हुन नसक्दा कोरिया जान नपाउने समस्या भएपनि ९० प्रतिशत बढि सहज रुपमा ढिलोचाढो कोरिया पुगेर रोजगारी लिने अवस्था थियो । तर यसबर्ष मानव संसाधन विकास केन्द्र कोरियाले २०२० मा नेपालका लागि १० हजार बढी कामदार कोटाको घोषणा गरेको थियो । भाषा परिक्षामा १२ हजार बढी पास गर्याे । भाषा परीक्षा पास भएपछि पास भएका १२ हजार बढीमा खुसीको बहार छायो कतिपयले त कोरियन भाषा पास गरेको भन्दै आफ्ना साथीभाइलाई भव्य पार्टि पनि खुवाए ।
अहिलेबाट कोरियन सरकारले फेरि यि १२ भाषा परीक्षा उत्तिर्ण मध्येबाट आधा भन्दा बढीलाई ( स्कील टेस्ट) अनुभव दोस्रो ९ अनुभव परिक्षणमार्फत आधा बढि भाषा परीक्षा पास गरेका परिक्षार्थीलाई फाल्ने जनाएको छ । परिक्षामा १२ हजार बढी भाषा परिक्षामा पास भएका परिक्षार्थी भाषा पास भएकोमा जति खुसी भएका छन् त्यो भन्दा बेसी दुःखी स्किल टेस्टमा फालिँदा हुने छन् । किनकि दक्षिण कोरिया जान निकै कडा परिश्रम गर्नुपर्ने छ भने शारीरिक, मानसिक रुपमा पनि पुर्ण तन्दुरुस्त हुनुपर्छ । कम लगानीमा आकर्षक कमाई भएपछि एसएलसी पास गरेका, उच्च माध्यामिक अध्ययन गरेका अधिकांस युवाहरु भाषा पढेर कोरिया जान चाहन्छन् । यो क्रम बर्सेनि बढेको तथ्यांकले प्रस्ट देखाउँछ । बजार र गाउँका कलेजहरु विद्यार्थी नभएर आलाराम लाउँदा यता कोेरियन र जापनिज भाषा सेन्टरमा विद्यार्थीको चाप थामिनसक्दो छ । यसले युवाहरुमा पढाई प्रतिको वितृष्णाा र अव्यवहारिक शिक्षाको घट्दो साखलाई प्रमाणित गर्छ ।
हुन पनि यहाँ उच्च शिक्षा हासिल गरेपनि रोजगारीको अवस्था छैन । स्वाभलम्बी बन्ने प्रयासमा लगानी अवरोध बनिदिन्छ । कोरियामा पाँच बर्ष दुःख गरे आर्थिक रुपमा केही सबल बनिने ध्येयले नेपाल मै रोजगार पाएका, डिग्री गरेका युवाहरु पनि दक्षिण कोरिया श्रम गर्न लाम लागेको दुःखद दृश्य हामी माझ छ । सन् २००८ देखि गत साउन मसान्तसम्म इपिएसमार्फत ५४ हजार ९०० बढि नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमा महिला तीन हजार बढि र पुरुष ५१ हजार बढिहेका छन् । युवा भनेका हरेक परिवर्तनलाई आत्मसात गर्ने पंक्ति हो । १८ बर्षदेखि ३९ बर्षको उमेर नै वास्तविक रुपमा संसार बदल्ने समूह हो । देशमा समृद्विको बहस चलिरहँदा समृद्विका खम्बा मानिने युवाहरु कोरिया जान मरिहत्ते गर्दैछन् । भाषा पास गर्नेहरु पनि अब स्किल टेस्टको कारण कोरिया जानबाट बन्चित हुने छन् । यसबर्ष भाषा उत्तिर्ण गरेका १२ हजारमध्ये मात्र ६ हजार दक्षिण कोरिया पसिना बेच्न जाने छन् । श्रम रगत र पसिनाको बैना दिएर कोरियन ‘थोन’ पैसा कमाउने छन् । कोरियामा एउटा भनाइ छ– ‘सिजाक हाल्ते बुथ कुन्नाल्तेकाजी खाया देयो ।’ अर्थात् सुरु गरेपछि अन्त्य गर्ने बेलासम्म निरन्तरता जारी राख्नुपर्छ । पाँच सात पटकसम्म भाषा परिक्षा फेल भएर पनि कोरियन भाषा पढेर कोरिया जान प्रयासरत हजारौ युवाहरुलाई देखेर सरकारलाई लाज लाग्नुपर्ने अवस्था छ । दक्षिणा कोरिया जानका लागि लाख बढिले दिने निवेदनबाटै अर्बाै रुपैंयाँ उठ्छ । त्यो रकमबाट मात्रै हजारौलाई रोजगारी दिन सकिन्थ्यो । पार्क चुङ हीको निरंकुशताले कोरियालाई समृद्ध बनायो । महेन्द्रको निरंकुशताले नेपाललाई गरिब बनायो । देश बन्नका लागि राम्रो शासक चाहिन्छ र देशप्रेमी र मेहनती नागरिक चाहिन्छ । कोरियन युद्वको मे १८ देखि २७ सम्मका दश दिनमा सरकारले ६४ हजार जनताको हत्या गरेको थियो । उक्त जनविद्रोहका सहभागी एक जना कोरियाली कविको भनाइमा ‘सडक सैनिक ट्याङ्कको मारमा थिचिएको थियो, सडक रातो रगतमा चोबलिएको थियो । ’




