जैमिनी (बागलुङ), २० असोज – आफै आयआर्जनमा लागे गर्न नसकिने के पो छ र ? गाउँघरमा नै वसेर आफ्नै श्रमले पनि प्रशस्त आम्दान गर्न सकिन्छ भन्ने उदाहरण बागलुङ जैमिनीका महिलाहरु वनेका छन । सहकारीमा आवद्ध भएर आयआर्जनमा लागेका जैमिनी २ र ३ नंं. वडाका महिलाहरुले दशै खर्च जुटाउने मात्रै होइन, आफुलाई आवश्यक खर्चका लागि राम्रै आम्दानी गर्न सफल भएका छन । विवाईसी मार्फत हेफर इन्टरनेशनलको सहयोगमा जैमिनी २ र ३ वडामा सञ्चालित पशुबस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सबलिकरण अन्र्तगत सहकारीमा आवद्ध महिलाहरुले अहिले बाख्रा पालनबाट राम्रो आम्दानी गर्न थालेका छन । यहाँका रुद्रताल सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड र भाग्योदय सामाजिक उद्यमी सहकारी संस्थामा आवद्ध ७ सय ४० जना महिलाहरुले आफैले उत्पादन गरेका खसी वोका वेचेर राम्रो कमाई गरेका छन । अरुलाई यतिबेला दशैंको चटारो लागे पनि उनीहरु भने खसी बोका विक्रीमा ब्यस्त छन । यी सहकारीमा आवद्ध महिलाले गत आर्थिक बर्षमा खसी बोका विक्री गरेर २ करोड बढि रुपैयाँ गाउँ भित्र्याएका थिए । यो बर्ष सो भन्दा बढिको रकम आउने उनीहरुको भनाई छ ।
यो दशैं र तिहारमा रुद्रताल सहकारीले ३ सय २३ र भाग्योदय सहकारीले २ सय १९ गरी ५ सय ३२ वटा खसी बोका बिक्री गर्ने लक्ष्य लिएका छन् । विगत ७ वर्षदेखि सञ्चालनमा रहेको साना किसान सबलीकरण परियोजना अन्र्तगत सहकारीमा आवद्ध महिलाहरुले उक्त परियोजनाबाट रुद्रताल सामाजिक उद्यमी सहकारीमार्फत ३ सय ७० जना र भाग्योदय सामाजिक उद्यमी सहकारी मार्फत ३ सय ७० जना गरी ७ सय ४० जना शेयर सदस्यहरु आयआर्जन केन्द्रीत भएपछि आत्मनिर्भर बन्ने ब्यवसाय सफल भएको उनीहरुको भनाई छ ।
सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या हेवात्तै बढेको छ । दुइ वटा सहकारी आवद्ध महिलाहरुले गत आर्थिक वर्षमा १ हजार १ सय ४० गोटा अर्थात ३१ हजार ९ सय २० केजी खसी बोका विक्री गरेर १ करोड २९ लाख २७ हजार ६ सय रुपैया गाउँ भित्र्याएका थिए ।
जैमिनी नगरपालिका वडा नं. ३ स्थित रुद्रताल सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडमा आवद्ध ३ सय ७० जना महिलाहरुले गत आर्थिक वर्षमा ६ सय ८ गोटा अर्थात १७ हजार २ किलो खसी बोका विक्री गरेर ६८ लाख ९४ हजार ७ सय २० रुपैया गाउँ भित्र्याउन सफल भएका छन् । चालु आर्थिक वर्षमा १ हजार खसी बोका विक्री गर्ने लक्ष्य लिएकोमा दशै तिहारको समयमा मात्रै ३ सय २३ वटा खसी बोका विक्री गर्ने लक्ष्य संस्थाले लिएको छ । हालसम्म १ सय ५५ भन्दा बढी खसी बोका विक्री भइसेको संस्थाका प्रवन्धक तारा पुनले जानकारी दिईन ।
गाउँमा रहेको घास र खेर जाने खाद्यान्न खुवाएर बाख्रा उत्पादन गर्ने र विक्री गरेर नगद आर्जन हुने भएपछि महिलाहरु त्यसतर्फ आकर्षित भएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष चित्राकुमारी छन्त्यालले बताईन । पाल्न पनि सजिलो, रकम पनि छोटो समयमा राम्रो आउने भएकाले आफुहरु बाख्रा पाल्ने कार्यमा जुटेको सहकारीका सदस्यहरुको भनाई छ ।
बाख्रासंगै कुखुरा, खरायो पालन समेत गर्दै आइरहेका महिलाहरु विस्तारै आत्मनिर्र्भर बन्न थालेका छन् । उनीहरुले आम्दानी भएको पैसा आफ्नै सहकारीमा जम्मा गर्ने गरेका छन् । सहकारीका कारण आम्दानी भएको पैसा बचत गरेर थप आयआर्जन गर्न सहज भएको सदस्य टुल्की सापकोटाले बताईन । पहिला घरमा यताउताबाट आएको पैसा त्यसै थन्किथ्यो, त्यसबाट थप आयआर्जन हुदैन्थ्यो, सापकोटाले भनिन्, आजभोली जति पैसा भए पनि सहकारीमा जम्मा ग¥यो, त्यसबाट पनि ब्याज आउने भएकाले हामीलाई फाइदै भएको छ ।
रुद्रताल सामाजिक उद्यमी महिला सहकारीका सदस्यहरुले जस्तै जैमिनी नगरपालिका वडा नं. २ दमेकमा रहेको भाग्योदय सामाजिक उद्यमी महिला सहकारीका शेयर सदस्यहरुले पनि बाख्रापालन व्यवसायलाई आम्दानीको प्रमुख आधार बनाउदै गएका छन । उक्त सहकारीमार्फत गत आर्थिक वर्षमा ४ सय ३० गोटा खसी बोका विक्री गरिएको छ । उक्त सहकारीका शेयर सदस्यहरुले गत आर्थिक वर्षमा मात्रै ४८ लाख ७६ हजार २ सय रुपैया बाख्रा बेचेर रकम आम्दानी गरेका छन् । सहकारीले दशै र तिहारको समयमा २ सय १९ वटा खसी बोका विक्री गर्ने लक्ष्य लिएको छ ।
चालु आर्थिक वर्षमा ६ सय ८ खसी बोका विक्री गर्ने गर्ने लक्ष्य लिएको संस्थाका सस्थाका अध्यक्ष भगवती सापकोटाले जानकारी दिईन। दुवै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका २५ केजी तलको प्रति केजी ४३० र २५ केजी माथिको प्रति ४५० मा रुपैयामा विक्री गर्ने गरेका छन् । यो मुल्य दशैंको लागि मासु ब्यवसायीसंग वसेर तय गरिएको हो । प्रतिकेजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन विक्री संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएको सहकारीले जनाएका छन् । सहकारीमार्फत महिलाहरुले गाउँमा पैसा भित्र्याउने काम गरेका छन् । उनीहरुलाई अझै सीप, पूँजि र प्रविधिमा सहयोग गर्न सके स्थानीय स्रोत र साधनको अधिकतम परिचालन भई समृद्ध समाज निर्माणमा थप सहयोग पुग्ने विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी बताईन।





