बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अपांगलाई कहिले मिल्ला न्याय ?

अपांगलाई कहिले मिल्ला न्याय ?


  • कृषिता अधिकारी (निशा)
  • कार्तिक ३ २०७६, आइतबार

मानिस जन्मन्छ, उसको जिवनको प्रारम्भिक शुरुआत जन्मसंगै हुन्छ । कोही पनि व्यक्ति जन्मदा यस्तो जन्मन्छ, उस्तो जन्मन्छ भन्ने हुँदैन, प्रकृतीले विभिन्न स्वरुप दिएको हुन्छ । कोही सानो, कोही अग्लो, कोही अपांग, कोही सपांग संसार एकैनाशको छैन, सबैलाई केही न केही कुरामा अपुग बनाएकै हुन्छ । किनकी यो प्रकृतीको देन हो । तर कोही मानिसलाई प्रकृतीले नै भिन्न अनि फरक क्षमता दिएको हुन्छ, जसलाई हाम्रो सामाजिक सोचले अपांगको संज्ञा दिएको छ । अपांगता भन्ने बित्तिकै हाम्रो समाजले दोश्रो नागरिक वा घृणाको नजरले हेर्ने गर्छ । परिवारमा कोही अपांग भयो वा समाजमा त्यो व्यक्तिलाई हेर्ने दृष्टि फरक बन्दै आईरहेको अवस्था हिजो पनि थियो र आजको २१ औं शताब्दीमा पनि फरक नै छ । के गरेर खाला यस्तो छ, यसले केही गर्न सक्दैन जस्ता शब्दले अपांगता भएका व्यक्तिको मनोबल कमजोर बनाउन सशक्त भुमिका खेलिरहेको हुन्छ । शारीरिक अपागंता भएर नै के भो त उसको बौद्विक क्षमता प्रबल छ । भारी बोकेर खान नसक्ला तर कलम घुमाएर खान सक्छ तर पनि केही मानव घमण्ड किन गर्छन् । साँच्चै अपांगता हरेक मानिसको साथी हो किनकी अपांग जो पनि हुन सक्छ । एक क्षणको लागि सबल मान्छे पनि भोलि अपांग हुन सक्छ, यो जिन्दगीको केही भरोसा हुँदैन । म सपांग छु, म गर्न सक्छु, म यस्तो छु, म उस्तो छु, आखिर एउटा अपांग भएको व्यक्ति पनि देशको साहित्यकार, कलाकार तथा डाक्टर भएका छन् नि त ? १६ वर्षमा दृष्टि गुमाएर त सृष्टि चम्किलो तारा बनिन् । यस्ता कैंयौ उदाहरणहरु छन् जसमा अपांगता भइकन पनि सपांग भन्दा कम छैनन् ।
तर पनि हाम्रो समाज शारीरिक रुपले सबल र मानसिक रुपले दुर्बल भएको छ, भौतिक शरीर राम्रो हुँदैमा त्यो मान्छे राम्रो र भौतिक शरीर अंगभंग हुँदैमा त्यो मान्छे नराम्रो हुन्छ र ! हाम्रो सामाजिक सोच कति दयनीय छ । शरीर राम्रो होला तर मानसिक रुपले नराम्रो पनि भएका देखिराखेका छौ । साँच्चै इतिहासमा त्यस्ता सयौं व्यक्ति पनि छन् जसले परिवार, समाज र देशनै नष्ट गरिराखेका छन् । के अपांगता भएका व्यक्ति समाजको लागि बोझ नै हुन् त ? यदि त्यसो हो भने महान् साहित्यकार, कलाकार सुदर्शन गौतम जस्ता दुवै हात गुमाएर पनि सगरमाथा चडेर विश्व कृतिमान कायम गरेका व्यक्तिहरु पनि छन्, जसले आफुमात्र सक्षम भएनन् कि सिंगो देशलाई नै चिनाएका छन् ।
यहाँ किन क्षमतालाई भन्दा पनि शरीरको आकार प्रकारलाई दाँजिन्छ । अचम्म लाग्छ तर सबाल यो हो कि प्रकृतिले जो कोहीलाई फरक क्षमता, प्रतिभा दिएको हुँदैन । हिजोको ढुङ्गे युगदेखि आजको आधुनिक युगसम्म आइपुग्दा धेरै विकास भए नयाँ–नयाँ आविष्कार बने तर हाम्रो समाज भने अझै पछि परेको अवस्था छ । यहाँ समाजदेखि लिएर राज्य तहसम्म अपांगता भएका व्यक्तिको हक अधिकार माथि औला उठाइएको छ । वास्तवमा भन्नुपर्दा प्रकृतीले त्यसै त ठगेको अवस्था छ भने अर्काेतिर समाजदेखि राज्य तहसम्म पनि अपांगता भएको व्यक्तिको अधिकार खोसेको छ । त्यसैगरी २०६८ सालको जनगणना अनुसार, अपांगको संख्या १.९४ अर्थात् २ प्रतिशत रहेको छभने महिला, पुरुष गरि ५ लाख विभिन्न प्रकारका अपांगता भएका व्यक्तिको उल्लेखनिय संख्या रहेको छ ।
त्यसमा पनि शारीरिक, बौदिक, दृष्टि, सुनाइबोलाई जस्तो विभिन्न प्रकारमा विभाजित गरी सोहि अनुसारको अपांग परिचयपत्र वितरण गर्दै आएको छ तर पछिल्लो समयमा नियम कानुन परिवर्तन भएसंगै स्थानीय सरकारबाट परिचयपत्र पाउने व्यवस्था रहेको छ । यो एक प्रकारको राम्रो पनि हो तर अहिलेको परिस्थितिमा अपांगताको हकअधिकार उनीहरुले पाउनुपर्ने सेवा सुविधा पाउन कठिन रहेको छ किनकी बेडमा सुत्ने चल्न नसक्नेहरुलाई पनि ‘ख’ वर्गमा विभाजित गरिएको छ । जसरी अशक्त, अति अशक्तलाई ‘क’, र ‘ख’ वर्ग र शारीरिक सुस्त आदिलाई ‘ग’, ‘घ’ वर्गमा विभाजन गरी सोहि अनुसारको परिचयपत्र र अपांग भत्ता पाउने गर्दथे । तर अहिलेको नीति नियमले अपांगता भएका व्यक्तिलाई पक्षपात गरेको छ ।
यहाँ समयसंगै विकासका गति अघि बढे राज्यका नीति नियम परिवर्तनसंगै स्थानीय सरकार बन्यो तर खै अपांगता भएका व्यक्तिको पहुँच कहाँ छ ? स्थानीय क्षेत्रका कुन चाहिँ निकायमा अपांग भएको व्यक्तिलाई राखिएको छ । आज राज्यका उच्च ओहोदामा रहेका व्यक्तिहरु आफ्नो शक्ति प्रयोग गरेका छन्, हिजो तिनै आम व्यक्ति लोकसेवा पास आज उच्च ओहोदामा पुगेका तिनै व्यक्तिहरुले अपांगता भएका व्यक्तिलाई शोषण गरिरहेका छन् । कैयौं अपांगता भएका व्यक्तिले परिचयपत्र पाइरहेका छैनन् भने कैयौं अपांगता भएका व्यक्ति सेवा सुविधाबाट बन्चित भएको अवस्था छ । त्यसैगरी निजामती सेवा ऐन २०४९ को दफा ७ मा खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्येको अपांगलाई ५ प्रतिशतबाट झारि ३ प्रतिशत बनाएको छ, लोकसेवा प्रतिस्पर्धामा भाग लिन समेत कठिन भएको छ । त्यसमाथि पनि कैयौं होचाकद अन्याहित र शोषित भएका छन् । उनीहरु प्रायःजसो कलाकारितामा संलग्न भएको देखिन्छ तर पनि उनीहरु शोषित र दमित समाजको अपहेलना झेल्न बाध्य छन् । यस्तो नियम कानुन बनाउने सरकारले ३ फिट सम्मको लागि मात्र परिचयपत्र पत्र दिन मिल्ने निर्देशिकामा तोकिएको छ के ? ३ फिटभन्दा माथिको व्यक्तिलाई समस्या हुदैन र ? बाटोमा हिड्दा अपहेलित, घरपरिवारबाटै हेला, समाजमा हाँसोको पात्र । यदि सपांग हो भने समाजमा सम्मानपूर्वक बाच्न पाउन पर्याे कि त परिचयपत्र पाउनु पर्याे । त्यसै त प्रकृतीले ठगेको अवस्था छ, त्यसमाथि पनि राज्यले समेत उनीहरुको शोषण गरेको छ ।
समाजको हेला र तिरस्कार खेप्दै आएका अपांगता भएका व्यक्तिलाई प्रोत्साहन दिनुपर्ने ठाउँमा यो कस्ता नीति नियम ल्यायो, यसप्रति कसैको ध्यान गएको छैन । भोट दियो जितायो केही होला, कहिकतै क्षेत्रमा ठाउँ पाइएला तर वा रे ! वा क्या गज्जब छ यहाँ ! स्थानीय सरकार बन्यो तर अपांगता भएका व्यक्तिलाई जुन जोगी आए नि कानै चिरे जस्तो भएको छ यहाँ ! आखिर कहिले मिल्ला खै न्याय, कहिलेसम्म शोषित भएर बस्ने ? तसर्थ स्थानीय निकायदेखि राज्यका हरेक तहसम्म यसको बारेमा ध्यान पुग्नैपर्दछ किनकी आज सबल र शक्तिशाली पद धारणा गर्ने व्यक्ति पनि भोलि अपांग नहोला भन्न सकिन्न । त्यसैले अपांगता भएका व्यक्तिको हक अधिकार सुनिश्चित गरी उनीहरुलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार दिलाइयोस सरकार !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->