बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थाइरोइड र यसको प्रभाव

थाइरोइड र यसको प्रभाव


  • कृष्ण कुमार सैजु (BHMS)
  • कार्तिक ८ २०७६, शुक्रबार

थाइरोइड भनेको एउटा ग्रन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यो ग्रन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो । यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ । यसले उर्जालाई स्फूर्त रुपमा सञ्चालन गर्दछ । शरीरका लागि यो अत्यावश्यक हर्मोन हो । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । थाइराइड ग्रन्थी घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्तस्थित हुन्छ । उक्त ग्रन्थीले थाइराइड हार्मोन उत्पन्न गर्छ । जसले हामीले खाएको पौष्टिक तत्वलाई जीनतत्वमा रूपान्तरण गर्छ । थाइराइड हार्मोनले शारीरिक शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थीको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा (अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ (हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ (हाइपोथाइराइडिज्म) । यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । मष्तिष्कबाट पिटुटरी ग्रन्थीमा थाइराइड स्टिमुलेटिङ् हार्मोन (टीएसएच) उत्पन्न हुन्छ । उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थीमा परिभ्रमण गरेर टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ । थाइराइड ग्रन्थीलाई टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ ।
महिला वंशाणुगत इतिहास रोग प्रतिरोधात्मक क्षमतामा ह्रास धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू ‘हाइपरथाइराइडिज्म’ हुनसक्ने जोखिम समूहमा पर्छन् । प्रौढ उमेर, महिला, वंशाणुगत इतिहास, पहिले थाइराइड सम्बन्धी रोग भएका (गलगाँड, ग्रन्थीको शल्यक्रिया वा विकिरण चिकित्सा), दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्ने ’हाइपोथाइराइडिज्म’ को जोखिम समूहमा पर्छन् । ६० वर्षभन्दा बढीका करबि २० प्रतिशत महिलालाई यो रोगका केही लक्षणहरू देखिन्छन्, तीमध्ये प्रतिवर्ष २–५ प्रतिशत महिलालाई यो रोग लाग्छ । बिरामीको इतिहास, शारीरिक परीक्षण (आँखा, छाला, मुटु, स्नायु प्रणाली, थाइराइड ग्रन्थी), थाइराइड अल्ट्रासाउन्ड, वायोप्सी, सीटीस्क्यान, प्रतिजैविक परीक्षण आदि विविध परीक्षणहरूभन्दा रक्त परीक्षणबाट यो रोगको निदान हुन्छ । रक्त परीक्षणमा यदि टी–३, टी–४ बढेमा र टीएसएच घटेमा हाइपोथाइराइडिज्म पत्ता लाग्छ । त्यस्तै, यदि टी–३ र टी–४ घटेमा तथा टीएसएच बढेमा हाइपोथाइराइडिज्मको निदान हुन्छ । स्वस्थ व्यक्तिमा ती हार्मोनहरू घटबढ नभई सामान्य मात्रामा हुन्छन् ।
समयमै रोगको निदान गरेर उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासी बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामी मृत्युको सम्भावना ५० प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा असर गर्छ । थाइराइड ग्रन्थीमा विषाक्त प्रभाव पर्छ । उच्च रक्तचाप, छाती दुख्ने, छिटो र अनियमित मुटुको धड्कन हुने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, वान्ता हुने, बढी उत्तेजित वा चिटचिटाहट, रिंगटा, हृदयाघात तथा चेतना हराएर कोमामा जाने आकस्मिक अवस्था हुन्छ । त्यस्तै, समयमा निदान एवं उपचार नगरेमा हाइपोथाइराइडिज्मले मस्तिष्कमा गम्भीर असर गर्छ । आन्द्रामा अवरुद्धता हुने, मुटुको धड्कन अनियमित हुने, संक्रमण, फोक्सो र मुटुमा पानी जम्ने, सोच्ने शक्ति हराउने, पागलपन, कोलेस्ट्रोल बढेर हृदयाघात, पक्षघात, निन्द्रामा श्वासप्रश्वास रोकिने, बिर्सनेलगायतका मस्तिष्कका रोगहरू लाग्छन् ।
परीक्षण पश्चात् थाइराइड ग्रन्थीको रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार लामो समयसम्म उपचार एवं नियमित रूपमा रक्त परीक्षण गर्नुपर्छ । चिकित्सा विज्ञानले रेडियोएक्टिभ, आयोडिन तथा एन्टी थाइराइड औषधि र शल्यक्रिया (हाइपरथाइराइडिज्मका लागि) र थाइराइड हार्मोन चक्की ((हाइपोथाइराइडिज्मका लागि) लगायतका विभिन्न रासायनिक हार्मोनहरूको प्रभावकारी आविष्कार गरेको छ । यी औषधीहरू सर्वत्र उपलब्ध छन् । यसका साथै आवश्यकता अनुसार विशेष उपचार तथा लाक्षणिक उपचार पनि गरिन्छ । यस्तो प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हार्मोनको रक्त परीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्ने हो । त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, अनावश्यक रूपमा एक्सरे, सीटीस्क्यान आदि पटक–पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोट नखाने एवं स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ । एकातर्फ हाम्रा दुर्गमबासी ढिके नुन खान बाध्य छन्भने अर्कोतर्फ यो रोग परीक्षणको ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार नभएकाले, जनचेतना न्यून भएकाले एवं सरकारी प्राथमिकतामा नपरेको हुँदा लाखौँ नेपालीले आफ्नो रोग थाहै नपाई मृत्युवरण गर्नुपर्ने विडम्बना छ ।
हाइपरथाइरोइडिज्म
एक्कासी धेरै मात्रामा तौल घट्नु । मुटुको धड्कन तीव्र तथा अनियमित हुनु । हतास तथा चिट्चिटाहट हुनु । हातहरू काम्नु । धेरै पसिना आउनु । कपालले हाँगा हाल्नु, झुरिनु, झर्नु । मैनावारी नहुनु वा अल्प मात्रामा हुनु । पटक–पटक दिसा लाग्नु । सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु । निन्द्रा नलाग्नु । सास फेर्न गाह्रो हुनु । आँखाहरू ठूला देखिनु । जोर्नीहरू दुख्नु । कमजोर अनुभव हुनु । घाँटीमा गलगाँडजस्तै बढ्नु । बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु । मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु र मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु ।
हाइपोथाइरोइडिज्म
कपाल र छाला सुक्खा हुनु । नङहरू टुट्नुरझुरो हुनु । छाला पहेँलो देखिनु । अरुची भए पनि तौल बढ्नु । सुस्त हुनु । छाला चिसो हुनु । चिसो सहन नसक्नु । थकित र कमजोर हुनु । स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनु । कब्जियत हुनु । महिनावारी अनियमित तथा धेरै हुनु । त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो तथा भाँस्सिएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु । बच्चाहरूमा अरुची, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु । कुनै–कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ ।
कारणहरू
    –कुपोषणः आयोडिनको अभाव थाइराइड कार्यक्षमता ह्रासको प्रमुख कारण हो । आयोडिन नमिसाएको ढिके नुनको सेवन गर्ने समूहलाई यो रोग बढी लाग्छ । त्यसबाहेक कोदो, सिमी तथा कन्दमूल मात्र खाने व्यक्तिलाई पनि यो रोग धेरै मात्रामा पाइएको छ । तनाव स्हार्मोन उत्पादन तथा नियन्त्रण गर्ने काम मस्तिष्कले गर्छ । सधैँ तनावमा रहँदा हार्मोन नियमित गर्ने प्रक्रियाले राम्रोसँग काम गर्दैन । –वंशाणुगतः बाबुआमालाई यो रोग भएमा सन्ततीलाई पनि हुने सम्भावना अधिक हुन्छ । –थाइराइड ग्रन्थीको संरचनागत नष्टः दुर्घटना वा चोटपटकबाट घाँटीमा गम्भीर असर परेमा थाइराइडको समस्या हुनसक्छ । –विकिरणः पटकपटक असुरक्षित तरकिाले घाँटी, छाती, दाँत तथा टाउकोको एक्सरे गर्दा त्यसको पाश्र्वप्रभाव स्वरूप यो रोग उत्पन्न हुनसक्छ ।
न्यून रोग प्रतिरोधात्मक क्षमता, दीर्घ कमजोरी तथा शारीरिक तौलजन्य समस्याले पनि यो रोग लाग्छ । करबि ४० प्रतिशत प्रौढहरूलाई कुनै न कुनै स्तरको थाइराइड समस्या लागेको अनुमान गरिएको छ । यसको प्रमुख कारण आयोडिनको कमी तथा अत्यधिक मोटोपना हो । मोटो व्यक्तिहरू मोटोपना घटाउन अनेक उपचार गर्छन् तर थाइराइड रोगबारे सचेत रहेको देखिँदैन । ग्रेम्स डिजिज, गलगाँड, ग्रन्थी सुजन, पिटुटरी ग्रन्थिको ट्युमर तथा केही मुटु रोगका औषधीको दुष्प्रभावबाट हाइपरथाइराइडिज्म हुन्छ । दीर्घरोगहरू जस्तै मधुमेह, लुपस, बाथ, हेपाटाइटिस, हासिमोटो थाइराइड सुजन, केही मुटुका औषधीहरूको कारण हाइपोथेराइडिज्म हुन्छ । धेरै गिर्खायुक्त गलगाँड, विषाक्त प्रभाव, थाइराइड क्यान्सर आदिले पनि थाइराइड समस्या उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->