बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदुषणले फोक्सोमा पार्ने असर र निमोनिया

प्रदुषणले फोक्सोमा पार्ने असर र निमोनिया


  • कृष्ण कुमार सैजु (BHMS)
  • कार्तिक १५ २०७६, शुक्रबार

फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो । शरीरमा फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ । यो श्वासनलीसँग जोडिएको हुन्छ । हामीले लिएको सास नाक, मुख, श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ । फोक्सोको अन्तिममा रहेको अंगुरको झुप्पाजस्तो भागमा पुगेपछि हावा रगतमा मिसिन्छ र मुटुमा जान्छ । अनि मुटुको देब्रे भागले पम्प गरेर शरीरभरि फैलाउँछ र कोष–कोषमा पुग्छ ।
फोक्सोमा कसरी हुन्छ संक्रमण ?
खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ । भाइरस, ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ । यसले सास फेर्ने नली सुन्निने हुन्छ । फोक्सो र करङको बीचमा पानी जम्ने (निमोनिया), क्षयरोग, पिप जम्ने जस्ता समस्या देखिन सक्छ । हामीले एकपटक सास तान्दा ५ सय मिलिलिटर हावा तान्छौं र त्यत्तिकै मात्रामा बाहिर फाल्छौं । यसको मतलब एक मिनेटमा हाम्रो फोक्सोबाट ४ देखि ६ लिटर हावा आवतजावत हुन्छ । हावामा किटाणुहरु हुन्छन् । अरु प्रदुषण हुन्छन् । हावासँगै किटाणु गए पनि सुरुमा नाकले फिल्टर गर्छ र सास नलीभित्र जान्छ । तर, शरीरको प्रणालीले धान्न नसक्ने गरी किटाणु, प्रदुषण हावामार्फत भित्र गयो भने विस्तारै फोक्सोमा असर पुग्न सक्छ । संक्रमण हुन सक्छ । मुख, घाँटी जताततै किटाणु हुन्छन् । कुनैबेला सर्केर फोक्सोमा गयोभने पनि संक्रमण हुन्छ । संक्रमण भइसकेपछि फोक्सो सुन्निने हुन्छ । त्यसलाई हामी बोलीचालीको भाषामा निमोनिया भन्छौं । विश्वको कुल जनसंख्याको एक तिहाइमा क्षयरोग हुन्छ । यो समस्या एसियाली मुलुकमा अझ बढ्दो रुपमा देखापरेको छ । क्षयरोगबाट जोगिन खानेकुरामा ध्यान दिनुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । सरुवा रोग भएकाले क्षयरोग लागेका बिरामीलाई अलग्गै राख्नुपर्छ । बिरामी र बिरामीलाई हेर्न जाने मान्छे दुवैले माक्स लगाउनुपर्छ । यो रोग लागेका मानिसले चुरोट, रक्सीबाट टाढै रहनुपर्छ । समयमै उपचार गरिएन भने निमोनिया तथा क्षयरोगले ज्यानै लिन सक्छ ।
लक्षण
फोक्सोमा समस्या आउँदा खोकी लाग्ने, खकारमा रगत देखिने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ ।
उपचार
हामी प्रायः खोकी लाग्यो भने औषधि पसलमा गएर आफूखुसी खोकी निको पार्ने औषधि किन्छौं र सेवन गर्छौं । तर, कुनै बेला त्यो खोकी सामान्य नभएर छातीको संक्रमणका कारणले भएको हुन सक्छ । त्यसैले आफूखुसी औषधि किनेर खानुभन्दा एकपटक डाक्टरलाई देखाएर औषधि खाँदा राम्रो हुन्छ । औषधिले साइडइफेक्ट पनि हुन सक्छ र कुनै बेला ज्यानै पनि जान सक्छ । त्यसैले लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिनुपर्छ । समयमै उपचार भयो भने संक्रमणबाट बच्न सकिन्छ ।
धुँवाधुलोको असर
धुँवाधुलोले छातीको संक्रमण हुन्छ । धुलोले एलर्जी हुने, आँखा चिलाउने जस्ता तत्कालीक र दीर्घकालिन असर दुवै गर्छ । लामो समयसम्म प्रदुषित वातावरणमा बसियो भने एलर्जी हुने, आँखा चिलाउने, घाटी खसखस हुने, खोकी लाग्ने, श्वास नली सुन्निने जस्ता तत्कालिक समस्या देखा पर्छ । दीर्घकालीन रुपमा भने दम, फोक्सोको क्यान्सर आदि हुन्छ । धुलोका कण सानो हुने भएकाले श्वासप्रश्वास प्रक्रियाबाट रगतमा पनि जान्छ र नशाहरु साँघुरो बनाउँछ । जसले उच्च रक्तचाप, हृदयाघात, मस्तिकाघात जस्ता जोखिम बढाउँछ । धुवाँधुलोले दीर्घकालीन रुपमा नराम्रो असर गर्ने भएकाले प्रदुषणबाट बच्नै पर्ने हुन्छ ।
कसरी बच्ने ?
धुलोले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने भएकाले रोग लाग्ने सम्भावना बढी हुन्छ । संक्रमणको कारण श्वासप्रश्वास भएकाले सकेसम्म किटाणु पस्न दिनु हुँदैन । त्यसका लागि बिरामी भएको मानिस नजिक जाँदा, भीडभाडमा जाँदा माक्स प्रयोग गर्नु उपयुक्त हुन्छ । चुरोट, रक्सीले पनि शरीरको प्रतिरक्षात्मक प्रणाली कमजोर बनाउँछ र श्वासनली सफा गर्ने प्रक्रियालाई निस्क्रिय पारिदिन्छ । स्वस्थ खानेकुरा खानुपर्छ र प्रदूषणबाट बच्ने उपाय अपनाउनुपर्छ । फोक्सो कै संक्रमनको कारणले पनि निमोनिया हुन सक्छ । निमोनियाबाट बच्न र निमोनिया भएको खण्डमा यसको छिटो र प्रभावकारी उपचार नै यस रोगसँग लड्ने सबैभन्दा सरल उपाय हो । यसै सन्दर्भमा निमोनिया सम्बन्धी केहि जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
निमोनिया के हो ?
निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको संक्रमण हो जुन ब्याक्टेरिया, भाइरस वाफंगसद्वारा हुन्छ्र । फोक्सोको संक्रमण सबैभन्दा धेरै पाइने संक्रमणमध्ये एक हो । निमोनियाले सामान्यतः जोकसैलाई पनि असर गर्नसक्ने भएपनि विशेष गरेर बालबालिका, ज्येष्ठ नागरिक, इम्युनकम्प्रोमाइज भएका बिरामीहरू (जस्तै मधुमेह भएका, हार्ट फेलियर, किड्नी फेलियर भएका र एच आइ भीसंक्रमित) र दीर्घ स्वासप्रस्वासका समस्या भएका बिरामीहरूलाई धेरै असर गर्ने गर्छ । समयमा र उपयुक्त उपचारको अभावमा फोक्सोको संक्रमण रक्तसंचारमा फैलेर सेप्सिस हुनसक्छ र ज्यानको जोखिम हुन सक्छ । निमोनियाका कारक मुख्यतः निमोनियाका कारक किटाणु ब्याक्टेरिया हुन् जसमध्ये स्ट्रेप्टोकोकस, हेमोपिलस धेरै मात्रामा पाइन्छन् । त्यस्तै, भाइरसमध्ये रेस्पिरेटोरी सिन्सिटीयल र इन्फ्लुएन्जा भाइरसको संक्रमण धेरै हुनेगर्छ । अस्पताल भर्ना भएकाहरूलाई हुने हस्पिटल इन्फेक्सन भने एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूले गर्ने हुँदा धेरै खतरनाक हुन सक्छन इम्मुन कम्प्रोमाइज भएकाहरूलाई भने फंगस, टीबी आदि किसिमका असाधारण किटाणुहरूले निमोनिया गराउन सक्छन ।
निमोनिया कसरी सर्छ ?
निमोनियाको संचारण हुने विभिन्न विधि पाइएको छ । यी मध्ये स्वासप्रस्वासको माध्यमबाट खोक्दा वा हाछ्युं गर्दा निमोनियाका किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ्र । त्यस्तै निमोनियाको जोखिमका अरू कारणहरूमा वायु प्रदुषण, धुम्रपान, मद्यपान पनि हुन् । त्यस्तै हस्पिटलमा भएको सक्रमण विभिन्न यन्त्रहरू (जस्तै भेन्टिलेटर, ट्युब, स्तेथ्स्कोप आदि) द्वारा एक बिरामीबाट अर्को बिरामीमा निमोनिया सर्न सक्छ ।
निमोनियाका लक्षणहरू
निमोनियाका मुख्य लक्षण खोकी, खकार, स्वास प्रस्वासमा समस्या र छाती दुखाइ हुन् । यो बाहेक ब्याक्टेरियल निमोनिया भएकालाई उच्च ज्वरो आउने गर्छ । साना बालबालिकाहरू र वृद्धवृद्धालाई भने ज्वरो नहुन पनि सक्छ भोक कम लाग्नु र वजन घट्दै जानु पनि निमोनिया (बिशेषत टिबी) का लक्षण हुन सक्छन् । निमोनियाको संक्रमण बिग्रिएको खण्डमा किटाणु शरीरभरि फैलिएर सर्कुलेटरी फेलियर, किड्नी फेलियर, फोक्सोमा पीप जम्ने (लंग एब्सेस), छातीमा पीप जम्ने (एम्पैएमा) जस्ता जटिलताहरू आउन सक्छन । त्यस्तै पुराना निमोनिया भएर ठिक भैसकेका बिरामीहरूलाई पनि स्वासनली सुन्निने (ब्रोकिएकटासीस) हुन सक्छ । जसमा दीर्घरूपमा खोकी र खकार हुने समस्या हुन्छ ।
निमोनियाको उपचार
निमोनिया भैसकेको खण्डमा यसको द्रूत तथा उपयुक्त उपचार नै सबभन्दा प्रभावकारी उपाय हो । ब्याक्टेरियल नेमोनियामा एन्टीबायोटिकको प्रयोग सकेसम्म छिट्टो गर्नु सबैभन्दा जरूरी हुन्छ । तर, एन्टीबायोटिकको प्रयोग गर्दा संक्रमणका सम्भावित किटाणुलाई ध्यानमा राख्नु झन् जरूरी हुन्छ । गलत एन्टीबायोटिकको प्रयोगले निमोनियामा जटिलता आउने मात्र नभई विभिन्न एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूको विकास हुन मद्दत गर्छ । त्यस्तै केही भाइरल निमोनिया (जस्तैः इन्फ्लुएन्जा, सी एम भी, वेरिसेल्ला) को लागि एन्टीभाइरल औषधि पनि उपलब्ध छन् । फन्गल निमोनिया र टीबीको उपचार गर्दा भने सकेसम्म निमोनियाको किटाणुको पूर्णयकिन गर्न जरूरी हुन्छ । किनकि यी संक्रमणहरूमा लामो समयसम्म एन्टीफंगल वा एन्टी टि बि औषधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।
निमोनियाबाट बच्ने तरिका
निमोनियाका किटाणुहरू धेरै जसो चिसो मौसममा फैलने हुँदा यसबाट बच्न बिषेशत जाडो मौसममा ध्यान पुर्याउनु आवश्यक छ । जाडोमा न्यानो कपडाको र मास्कको प्रयोगले यसलाई एक व्यक्तिबाट अर्कोमा सर्नबाट रोक्छ त्यस्तै वायु प्रदुषणमा कमी ल्याएर धुम्रपान र मद्यपान जस्ता बानीहरु त्यागेर पनि निमोनियाबाट बच्न सकिन्छ हस्पिटलबाट सर्ने निमोनिया कम गर्न भने नियमित हात धुने, हस्पिटल स्वच्छ राख्ने, अनावश्यक एन्टीबायोटिकको को प्रयोग रोक्ने आदि गर्नु जरूरी छ । निमोनियाबाट बच्नको लागि खोपको पनि विकास गरिएको छ । निमोकोकल र इन्फ्लुएन्जा खोपले यी दुई किटाणुबाट हुने निमोनियाबाट बचाउन मद्दत गर्छन । बिशेषत बच्चाहरू तथा वृद्धवृद्धाले यी खोप लिनु आवश्यक छ । त्यस्तै स्वास्थ्यकर्मी, इम्युन कम्प्रोमाइज भएका बिरामी, मधुमेह, सी के डी (किड्नीफेलियर) र स्वासप्रस्वाश का दीर्घरोगीहरूले पनि यी खोप लिनु आवश्यक छ । हाम्रो जस्तो अल्पबिकसित मुलुकमा निमोनियाका कारण प्रत्येक वर्ष लाखौं बालबालिका, बयस्क तथा ज्येष्ठ नागरिकको ज्यान जान्छ । यसबाट बच्ने उपाय जान्नु र यो रोग लागेको खण्डमा समयमै उपचार गर्नु नै यस रोगसँग लड्ने सबैभन्दा उपयुक्त तरिका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->