बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गल्कोट घुम्टे महोत्सवले दिनुपर्ने सन्देश

गल्कोट घुम्टे महोत्सवले दिनुपर्ने सन्देश


  • खिमानन्द कँडेल
  • मंसिर ५ २०७६, बिहिबार

गल्कोट घुम्टे पर्यटन विकास केन्द्रको विशेष पहलमा आजबाट गल्कोटको हरिचौरमा गल्कोट घुम्टे महोत्सव २०७६ शुरु हुँदैछ । यो महोत्सवलाई व्यापक रुपमा सफल बनाउनको लागि देश तथा विदेशमा रहेका गल्कोट क्षेत्रका राजनीतिक एवं सामाजिक व्यक्तित्वहरुको प्रयास प्रशंसनीय छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पश्चात भएको राज्य पुनःसंरचनाले समग्र गल्कोट क्षेत्रलाई समेत विभाजित गरिदिएको छ । गल्कोटे राजाहरुले राज्य गरेको हरिचौर, हटिया, नरेठाँटी आसपासलाई समेटेर गल्कोट नगरपालिका बनाईएको छ भने आफ्नो अलग्गै पहिचान भएको ताराखोला साविकका ४ वटा गाविसहरु तारा, हिल, अर्गल र अमरभूमिलाई समेटेर ताराखोला गाउँपालिका बनेको छ ।
बास्तबमा गल्कोट क्षेत्रको इतिहास पढ्दा साविकको गल्कोट राज्यको भूगोल हालको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका भन्दा पनि व्यापक छ । पूर्वमा काठेखोला (हाल काठेखोला गाउँपालिका), पश्चिममा रणसिंहकिटेनी (हाल बडिगाड गाउँपालिका), उत्तरमा ताराखोलाको धरी (दुरलेक) र दक्षिणमा वामी टक्सार (गुल्मी) सम्म फैलिएको भूगोलको रुपमा हामीले गल्कोट क्षेत्रलाई बुझ्नु सान्दर्भिक हुन्छ । यति मात्र नभएर यस क्षेत्रका जनताहरुको सामाजिक, आर्थिक, ऐतिहासिक र सांस्कृतिक पक्षहरुको भावनात्मक मालाको रुपमा गल्कोट क्षेत्रलाई बुझ्नु आवश्यक छ । गल्कोट क्षेत्रको केन्द्रको रुपमा घुम्टेको धुरी र यस भूगोलको ठीक बीच भागबाट गएको दरमखोला आसपास नै पछिल्लो समय गल्कोट क्षेत्रको रुपमा परिचित भैरहँदा बाईसे चौविसे राज्य अन्र्तगतको गल्कोट राज्य अन्र्तगत पर्ने सम्पूर्ण भूगोल र यस अन्र्तगतका महत्वपूर्ण स्थलहरु गाजाको दह÷धुरी, घोडााबाँधे, शिव धुरी, बिहुँकोट, झुलेनीको धुरी, गुल्मीको सिमाना क्षेत्र र पश्चिम बागलुङ समेत गल्कोट क्षेत्र हो भन्ने रणनीतिको आधारमा समग्र गल्कोट क्षेत्रको विकासको गुरुयोजना अगाडि सार्दा यस क्षेत्रको विकासमा अझै व्यापकता आउने निश्चित छ ।
गल्कोट घुम्टे महोत्सव मनाईरहँदा संघीयताको सन्दर्भमा बागलुङ जिल्लामा १० वटा स्थानीय सरकार बनेतापनि मुलतः बागलुङ जिल्लाका ४ वटा महत्वपूर्ण ब्लकहरु (पूर्वी बागलुङ क्षेत्र,दक्षिण बागलुङ क्षेत्र, गल्कोट ताराखोला क्षेत्र र बुर्तिबाङ आसपासको क्षेत्र) भित्रको रणनीतिक ब्लकको रुपमा गल्कोट क्षेत्रले भूमिका निर्वाह गर्नु आवश्यक छ । त्यसैले यस क्षेत्रको विकासको लागि बागलुङ जिल्लाका अन्य ब्लकहरुसँगको रणनीतिक सम्बन्ध र एक अर्का ब्लकहरु जोड्ने विकास पूर्वाधारहरु निर्माणमा गल्कोट क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता देखिन्छ ।
कुनै समय बागलुङ जिल्लाको सदरमुकाम गल्कोट क्षेत्रमा थियो । तत्कालीन समयमा शक्ति र पहुँचको आधारमा सदरमुकामलाई बागलुङ बजारमा सार्ने काम गरियो । यस पश्चात लामो समयसम्म बागलुङ जिल्लाका जनताहरुले नागरिकता, मालपोत, बैंकिङ सुविधा जस्ता अत्याबश्यक कामहरुको लागि पनि टाढा टाढाबाट हिँडेर बागलुङ बजार जानैपर्ने बाध्यता पर्यो । यति मात्र हैन नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बागलुङ जिल्लाको नितान्त पूर्वमा जिल्ला सदरमुकाम बन्दा ढोरपाटन, निसी, भुजी र तमान क्षेत्रका जनताहरुले लामो समयसम्म दुख पाए । यसले यस क्षेत्रका जनताहरुले दुख मात्र पाएनन् राजनीतिक शक्तिको हिसाबले पनि दुर्गम क्षेत्रले महत्वपूर्ण राजनीतिक अवसरहरु गुमाउँदै गयो । मुलुकमा संघीयता निर्माण पश्चात पश्चिम बागलुङ अलग्गै जिल्ला हुनुपर्छ भन्ने आवाज पनि व्यापकताका साथ आयो । यति मात्रै हैन पश्चिम बागलुङ क्षेत्रमा यही मंसीर १४ गते यस क्षेत्रमा हुन गईरहेको निर्वाचनमा समेत मधुरो स्वरमा पश्चिम बागलुङ अलग जिल्ला हुनुपर्छ भन्ने आवाज यस क्षेत्रका केही अगुवाहरुले उठाएको देखिन्छ । गल्कोट क्षेत्रका अगुवाहरुले केही समय अगाडि मात्रै पनि गल्कोट क्षेत्रलाई समेटेर विशेष प्रशासनिक क्षेत्रको रुपमा गल्कोटलाई समेट्नुपर्छ भन्ने ज्ञापनपत्रहरु सहित सत्तापक्ष र विपक्षी नेताहरुलाई भेटेको प्रसंग पनि ताजा छँदैछ ।
मैले माथिका प्रसंगहरु यहाँनेर जोड्न खोजिरहँदा प्रष्ट रुपमा दिन खोजेको सन्देश के हो भने आज पनि समग्र बागलुङ जिल्लामा प्रशस्त विभाजित मानसिकताहरु छन् । बागलुङ जिल्लाका चारवटा महत्वपूर्ण ब्लकहरु (पूर्वी बागलुङ क्षेत्र,दक्षिण बागलुङ क्षेत्र, गल्कोट ताराखोला क्षेत्र र बुर्तिबाङ आसपासको क्षेत्र) बीचभित्र विभाजित मानसिकता छ । यति मात्रै हैन यिनै भूगोलका रणनीतिक केन्द्रहरुले यिनै क्षेत्रभित्रका ग्रामीण क्षेत्रको विकासमा सकरात्मक भूमिका निर्वाह गर्दैनन् र यो मनोविज्ञानलाई छिटो भन्दा छिटो चिर्नु बागलुङ जिल्लाको महत्वपूर्ण आवश्यकता भएको छ ।
यति मात्रै हैन बागलुङ जिल्लाको राजनीतिक नेतृत्वको केन्द्रमा मुलतः पूर्वी बागलुङ ब्लकका नेताहरुको विशेष पहुँच छ । राजनीतिक इतिहास हेर्ने हो भने पनि यसै क्षेत्रबाट अधिकतम नेताहरुले देशको मन्त्री बन्ने अवसर पाएका छन् । मन्त्री बन्ने बेलामा न्यूनतम भूमिका निर्वाह भएपनि त्यसपश्चात यस क्षेत्रको विकासमा खरो रुपमा यस क्षेत्रका नेताहरु बोल्न समेत सक्दैनन् । उदाहरणको रुपमा मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ बजार देखि विहुँ घोडाबाँधेसम्मको सडकखण्डको काममा व्यापक ढिलाई भैरहेको छ । यस क्षेत्रका जनताहरुले यस बिषयमा निरन्तर आवाज उठाईरहेका छन् र पनि यस क्षेत्रका राजनीतिक दलहरु (सत्ता पक्ष र प्रतिपक्ष) बाट खरो रुपमा यस समस्यालाई समाधान गर्न लागेको देखिँदैन । यस क्षेत्रका जनताहरुले सिधैं बालुवाटार सिंहदरबारमा जनताका हरेक आवाजहरु सहजढंगबाट पुर्याउन चाहिरहेका छन् र यो संभव हुन सकिरहेको छैन । त्यसैले आज बागलुङ जिल्लाले समग्र बागलुङ जिल्लाको न्यायोचित विकासलाई जर्बजस्तढंगबाट अगाडि लैजान चाहिरहेको छ । समग्रमा भन्नुपर्दा ग्रामीण दुरदराजका आवाजहरु अहिले पनि संबोधन हुन सकिरहेका छैनन् जसले गर्दा एक प्रकारको विभाजित मानसिकता बागलुङ जिल्लाका विभिन्न ब्लकहरुमा अहिले पनि देख्न सकिन्छ । त्यसैले माथि उल्लेखित विभाजित मानसिकतलाई एकताको मालामा जोड्ने भूमिकामा गल्कोट घुम्टे महोत्सबले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ ।
अब सकरात्मक पक्षको कुरा गरौं । बागलुङ जिल्ला नेपालको मध्यभागमा रहेको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो विशेष परिचय बनाउन सफल पर्यटकीय क्षेत्रहरु कास्की पोखरा, लुम्बिनी, ढोरपाटन र मुस्ताङ क्षेत्रको बीच भागमा रहेको व्यापक संभावना बोकेको जिल्ला हो । मध्यपहाडी लोकमार्ग सडकखण्डको झण्डै १४० किलोमिटर सडकखण्ड बागलुङ जिल्लामा मात्रै पर्दछ । यसले बागलुङ जिल्लाका हरेक दुरदराजका गाउँहरुलाई सिधै राष्ट्रिय संजालसँग जोडेको छ । यस क्षेत्रको सामाजिक आर्थिक रुपान्तरणको लागि यो एउटा महत्वपूर्ण कोषेढुंगा हो । यति मात्रै हैन भारत र चीन जोड्ने कालीगण्डकी कोरिडर समेत बागलुङ जिल्लाको पूर्वी भागमा निर्माणको क्रममा छ भने लुम्बिनी र ढोरपाटनलाई जोड्न सालझण्डी ढोरपाटन सडकखण्डबाट पनि बागलुङ जिल्लाले व्यापक फाईदा लिन सक्नेछ ।
बागलुङ जिल्लाबासीहरु आर्थिक रुपमा पनि देश तथा विदेशमा व्यवसायिक ढंगबाट व्यापक रुपमा स्थापित हुँदै गएका छन् । गल्कोट क्षेत्र र बागलुङका विहुँकोट लगायत विभिन्न स्थानहरुबाट जापानमा मात्रै झण्डै ५००० भन्दा बढी व्यवसायीहरुले जापानमा व्यवसाय गरिरहेका छन् । यस क्षेत्रबाट युके, अमेरिका, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया जस्ता विकसित देशमा स्थापित भएका समुदायको पनि ठूलो उपस्थिति रहेको छ । केही यूवा र व्यवसायीहरुले यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा लगानी गरेको भएतापनि मुलतः वैदेशिक रोजगारी र व्यवसायबाट गल्कोटे एवं बागलुङ जिल्लाबासीको ठूलो आय आर्जन हुने भएकोले यो आय आर्जन यसै क्षेत्रमा गर्नको लागि उत्प्रेरणा दिन यो महोत्सव सफल हुनुपर्छ र समग्र नेतृत्वपंक्तिले यो बिषयलाई पनि निरन्तर महत्वपूर्ण विषयको रुपमा उठान गर्दै जानु आवश्यक छ । त्यसैले यस क्षेत्रबाट देश विदेशमा रहेका जनताहरुसँग भएको पँुजीलाई सिधै बागलुङ जिल्लाको विकासमा उपयोग गर्नको लागि लगानीका नयाँ नयाँ संभावनाहरु पहिचान गर्न गाउँ गाउँबाट लगानीको बहसको शुरुवात गर्नु जरुरी छ । आशा गरौं गल्कोट घुम्टे महोत्सवसले पनि आफ्नो क्षेत्रको विकासमा हामी आँफै लाग्नुपर्छ भन्ने सकरात्मक सन्देश आम यूवा पंक्तिमा दिँदै यस महोत्सवले पर्यटन क्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने उद्धेश्य सफल बन्न सकोस् भन्ने हाम्रो शुभकामना छ ।
गल्कोट क्षेत्र कला र संस्कृतिमा अत्यन्त धनी क्षेत्र हो । यही क्षेत्रका लोकगीतहरु अहिले पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् । ठूलो संख्यामा यस क्षेत्रबाट मानिसहरुको बसाईसराई भएको भएतापनि यिनै गाउँ पाखामा गुन्जने गीत संगीतहरुले अझै पनि गल्कोट क्षेत्र र समग्र बागलुङ जिल्लालाई माया गर्ने ठूलो समुदाय रहेको छ । यो शक्तिलाई समेत हामीले यस क्षेत्रको विकासमा उपयोग गर्न सक्नुपर्छ । यसको लागि यस क्षेत्रका सम्पूर्ण राजनीतिक दलहरु, स्थानीय सरकारहरु, सामाजिक अभियन्ताहरु एवं स्थानीय समुदायको निरन्तर विकासको एजेण्डामा एकमत भएर अगाडि बढ्नुपर्छ ।
गल्कोट क्षेत्रले पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष प्रयास गरिरहेको छ । गल्कोट घुम्टेलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा चिनाउनको लागि गल्कोट घुम्टे पर्यटन विकास केन्द्रले गरेको प्रयास प्रशंसनीय छ । लाखौ गल्कोटे जनताहरुको भावनाको केन्द्रको रुपमा रहेको घुम्टे क्षेत्रलाई नेपालकै उत्कृष्ठ पर्यटकीय गन्तव्यको सूचीमा राख्दै घुम्टे क्षेत्रको विकासको लागि प्रयाप्त बजेट नेपाल सरकारले बिनियोजन गर्नु आवश्यक छ । यो बिषयलाई पनि यो महोत्सबले प्रष्टसँ आवाज उठाउनु आवश्यक छ ।
समग्रमा भन्नुपर्दा देश तथा विदेशमा रहेको गल्कोट र बागलुङ जिल्लालाई माया गर्ने जनसमुदायहरुलाई यस क्षेत्रको विकासमा जोड्दै निरन्तर रचनात्मक कामहरु गर्दै जाँदा गल्कोट क्षेत्र बागलङ जिल्लाको रणनीतिक केन्द्रको रुपमा विकास हुनेछ । पक्कै पनि यही मंसीर ४ गते देखि ११ गते सम्म गल्कोट हरिचौरमा संचालन हुँदै गरेको महोत्सवले समग्र बागलुङ जिल्लालाई भावनात्मक एकताको डोरीमा बाँध्दै यस क्षेत्रको विकासको लक्ष्यमा सफल हुनेछ । त्यसैले बागलुङ जिल्ला भित्रका सम्पूर्ण मतभेदहरुलाई अन्त गर्दै समृद्ध बागलङ निर्माणको सन्दर्भमा यस क्षेत्रका राजनीतिक दलहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको पनि ध्यानाकर्षण हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

अध्यक्ष (धौलागिरी पर्यटन प्रवद्र्धन समिति)
धौलागिरी समाज नेपाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->