बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

के हो पिनास, के छ समाधान ?

के हो पिनास, के छ समाधान ?


  • कृष्ण कुमार सैजु (BHMS)
  • मंसिर ६ २०७६, शुक्रबार

पिनासलाई चिकित्सकिय भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो र क्षतिग्रस्त भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन् । यी साइनसहरूमा प्राकृतिक रुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।
पिनासका प्रकारः
पिनास तीव्र पिनास, मध्यम पिनास र जीर्ण पिनास र आवर्तक तीव्र पिनास गरी चार प्रकारका हुन्छन् । –तीव्र पिनासः पिनास ग्रन्थीहरू एकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफै ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ । –मध्यम पिनासः चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ । –जीर्ण पिनासः १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ । –आवर्तक तीव्र पिनासः लामो एक वर्षमा चार वा धेरै पटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ ।
कारणहरूः
एलर्जी, नाकमा मासु पलाउनु, नाकको हड्डी बाङ्गिनु, नाक, कान, घाँटी र दाँतको संक्रमण । माथिल्लो श्वासमार्गको संक्रमण । –भाइरसहरूको संक्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि । –ब्याक्टेरियाः स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार हृयालिस स्टाफाइलो कोकस अरिएस । –ढुसीको संक्रमणः कमजोर प्रतिरक्षा प्रणाली, जस्तैः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ । –रसायनहरूको गन्धः तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउँदछ ।
लक्षणहरूः
–रुघा लाग्नु । टाउको भारी भएर दुख्नु । पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु । स्वर परिवर्तित हुनु । नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु । दाँत दुख्नु । गन्धग्रहण शक्ति कमजोर हुने । स्वाद ग्रहण शक्ति कमजोर हुने । ज्वरो आउने । बेचैनी बढ्नु । नाक बुझिनु । नाकबाट सिंगान बग्नु । घाँटी खसखसाउनु । थकान । श्वास गन्हाउने । हाच्छुयु आउने । अनुहार सुन्निने ।
निदान विधिः
–रोगको इतिहासः पिनास हुँदा टाउको दुख्ने र रुघा लाग्ने लक्षणहरूबाट सुरु हुन्छ । अन्य प्रकारको रुघा लाग्दा सामान्यतया ७ दिनको पुरै समय लिएर ठिक हुन्छ तर पिनास हुँदा रुघा एक दुइदिन पछि नै रोकिन्छ र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरू प्रयजसो रुघाखोकी फ्लू दम, श्वासप्रश्वास प्रणालीको जिर्ण रोगहरू, माइग्रेन, राइनाइटीस, आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरूबाट ठिकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरूका साथसाथै पिनास ग्रन्थी वरिपरि दबाउँदा असाध्यै पिडा हुन्छ । –एक्स–रेः एक्स–रे गरेर पिनास ग्रन्थीमा कफ जमे नजमेको पत्ता लगाउन सकिन्छ । –सिटी स्क्यानः सिटी स्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ । एमआरआईः यो सिटी स्क्यान र एक्स–रे भन्दा पनि उत्तम खालको निधान पद्दती हो ।
रोकथाम र बच्ने उपायः
पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरूअनेक हुन सक्छन् । जस्तै ः
–माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुँवा–धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ । –ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहुनपर्छ । जस्तैः गद्दा, सोफा, कार्पेट, गलैचा, डोरम्याट, पर्दा रुमाल आदि । –परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई उलर्जी हुनसक्छ । –दुषित वायुमा जस्तै धुँवाधुलो धुम्रपान, आद्र वायुबाट बचौँ । –घरमा हावा गुम्सिन नदिऔँ । घरको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ । –जाडोको मौसममा कम तापमान र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बचौँ । यसैगरी अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ । –तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणादी कमजोर हुनगइ पिनास हुनसक्छ । –रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौं । –तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ । –मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ । –नाक, कान घाट र दातको संक्रमणले भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलकाहीँ यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुनसक्छ । –जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौँ । –दैनिक ३–४ लिटर पानी पिउने गरौँ । –नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ । –नाकको सफाईमा विशेष ध्यान दिऔँ ।
उपचारः
पिनासको उपचार गर्नुभन्दा पहिलो हामीले पिनास हुनको कारण पत्ता लगाउनुपर्ने हुन्छ । यसका साथसाथै पिनासको प्रकार पिनास बढाउने र घटाउने तत्वहरू पनि थाहा पाउनुपर्ने हुन्छ । कारणको एकिन निक्र्यौल गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।
प्राकृतिक उपचारः
–जलनेती गर्नेः प्रचिनकालदेखि नै ऋषिमुनीहरूले नाकको सफाई गर्नको लागि उपयोग गरेको यौगिक बिधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्दतिले पिनास नियन्त्रण गर्छ । –सूत्रनेतिः रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरि पुरै श्वासमार्गलाई नै सफाई गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नु पर्छ । –अनुहारको वाफ लिनेः उम्लिाएको पानीमा नाक खुलाउने दबाई हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पुरै टाउको र वाफको भाडोसहित ढाकेर नाकबाट वाफ लिनेगर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली प्रदाह कमा गर्न मद्दत गर्दछ । नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ । –कुन्जल क्रियाः उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८–१० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुन्छ नै । साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ । –टाउकाको मालिसः तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पु‍¥याउँदछ ।
–मसलाहरूको सेवनः तिक्ष्ण स्वाद भएका मसलाहरू जस्तैः तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार आदि हालिएको सब्जी खादा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तिक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ । –अकुप्रेसरः अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर विन्दुहरूमाथि वा हत्केला वा पैतालाका विन्दुह दवाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ । –भुइकटहरको गुवो वा अंगुरको बिचको प्रयोगः भुकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाईन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा ध्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ । –गाईको घिउः सुत्नुभन्दा पहिले २–३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ । –प्रशस्त पानी पिउनः पिनास भएकाहरूले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुँमा कोल्डड्रिङ्क्स, पेप्सी, जुस, चिनी हालिएका पेप सुप आदि पिउनुहुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनौट गर्नुपर्छ । –नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्िगएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।
योग चिकित्साः
–आसनहरूः शलभासन, मंडूकासन महावीरासन, वीरासन, पृष्ठचालनासन, कर्णपिडासन, शिर्षासन । प्राणायामः अनुलोम–विलोम, कपालभाती, भस्त्रिका, महाभेद । ध्यान वा पूर्ण विश्रामको लागि सिथिलिकरण वा शवासन को अभ्यास ।
खानपान व्यवस्थापनः
पिनास मुख्यतः एलर्जी, तनाव, कमजोर प्रतिरक्षा प्रणाली र संक्रमण संग सम्बनिधत रोग हो । पिनासको लागि खानपान व्यवस्थापन गर्दा मुख्यतः यिनै कारणहरूलाई आधार मानेर गर्नुपर्ने हुनेछ ।
के–के खाने ?
–मसलाहरूको सेवनः पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तैः लसुन, प्याज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसा, ज्वानो, सौफ, अदुवा, हिङ । अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका गर्दछ । खजुर, किसमिस, स्याउ, गैरअम्लिय ताजा फलफूल खाने गरौँ । तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छभने यी मसलाहरूको पहरेज गर्नुपर्छ । तातो पानीको सेवन, प्रशस्त झोल पदार्थको सेवन र तातो पानी र बेसार ।
के–के नखाने ?
तारे–भुटेको, संरक्षित खाद्यान्न, कोल्ड ड्रिङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थ । समयमै उपचार नगरे श्वास प्रश्वासमा समस्या । मस्तिष्कमा असर गर्ने । कानमा असर गर्ने । दम हुने । फोक्सोमा समस्या । नाक बांगिने हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->