संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्धको दिवस मनाउने गरिन्छ । सरकारी, गैरसरकारी लगायतका संघ संस्थाहरुले कार्यक्रमहरु मनाउने गर्दै आएका छन् । भर्खरै महिला हिंसा बिरुद्धको अभियान सकिएको छ । महिला हिंसा बिरुद्धको अभियान, फगत अभियान मात्रै बनेको छ । यो अभियानलाई ब्यवहारिकतामा परिणत गर्नुपर्छ । १६ दिनसम्म मात्रै होईन संधैभरी संचालन गर्नुपर्छ । जनजनमा हिंसा बिरुद्धको चेतना भर्नुपर्छ । महिला हिंसा बिरुद्धको अभियानलाई सरकारी वा गैरसरकारी संस्थाहरुले जागिरको रुपमा लिनु हुँदैन । यो अभियान कसैले जागिर खाने माध्यम बन्न हुँदैन मनैदेखि अभियान संचालन गर्नुपर्छ ।
महिला हिंसा र अपराध नियन्त्रण गर्नका लागि कानुनहरु बनेका छन् । तर अझै पनि दिनँहुः जस्तो पत्रपत्रिका, टेलिभिजन र रेडियो, समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु आउने गरेका छन् । । कहिँ दाईजो नल्याएको निँहुमा महिलाको शरीरमाथी आगो लगाएको घटना । आर्थिक रुपले बिपन्न, एकल महिलालाई बोक्सीको आरोप लगाउदै सार्वजनिक रुपमा बेइज्जती गर्ने, कुटपिट र मलमुत्र खुवाउने सम्ममका अमानविय कार्य गरेको पाईन्छ । यौन सम्बन्ध राख्न अस्विकार गरेको कारणबाट आफ्नै प्रेमीबाट एसिड खन्याएका घटनाहरु छन् । बालिका र महिलामाथी जर्बजस्ती करणी गरेका घटनाहरु छन् । यो अभियान अवधीभर पनि महिला र बालिका बलात्कारका घटना भएका छन् । कानुन बनाउनेदेखि कानुनको कार्यान्वयन गराउने सम्ममा पनि बलात्कार र यौन दुब्र्यवहार गरेको आरोप लागेको छ । कानुन बनाउने ठाउँ (संसद भवन) मा समेत महिला हिंसा गरेको आरोप लागेको छ ।
गण्डकी प्रदेश सभामा पनि सांसद महिलाहरुले हिंसा भएको महसुस गरेका छन् । उनीहरुले सार्वजनिक समारोहमा आफुलाई हिंसा भएको ‘फिलिङ’ गरेका छन् । यसले के देखाउँछ भने पढेलेखेका शिक्षित महिलाहरु, जो कानुन बनाउन गएका छन् । नागरिक अधिकारको रक्षाका लागि आवाज उठाउने ठाउँमा छन् । उनीहरु नै हिंसा हुने गरेका छन्भने आम महिलाहरुको अधिकारको रक्षा होला त ? बास्तवमा महिलाहरुलाई जुनसुकै क्षेत्र र स्थानमा पनि असुरक्षाको महसुस भएको छ । महिला हिंसा पितृसत्तात्मक सोच र संस्कारको उपज हो । महिलाहरुलाई कुपिट गर्ने, जिस्काउने, बलात्कार गर्ने, योन शोषण गर्ने मात्रै होईन । जथाभाबी अश्लिल शब्द प्रयोग घुरेर शिरदेखि पाउसम्म हेर्ने, शारिरीक बनावटका कुरा गर्ने यौन आसय प्रकट हुने खालका कुरा गर्नु र छुन खोज्नु हिंसा हो । हाम्रो समाज महिंलालाई हिंसा या यौन हिंसा गर्नमा अब्यस्त जस्तै भईसकेको छ । कतिपय सरकारी, सार्वजनिक सेवाप्रदायी संस्थाहरुमा आफ्ना कर्मचारी या सेवाग्राही (महिला) लाई सम्बोधन गर्ने शब्दहरु र ब्यवहारहरुले पनि उजागर गर्छ ।
हिंसा न्यूनिकरणका लागि पर्याप्त बिधागत कानुन बनेपनि कार्यान्वयनको पक्ष फितलो छ । हिंसाको घटनामा प्रायः पीडित एक्लै पर्ने अवस्थाले गर्दा दबाएर बस्नु परेको छ । घटनाहरु सार्वजनिक हुनछन् तर पीडितले न्याय पाउदैनन् । महिलामाथि हुने हिंसा चिन्ताजनक रुपमा बढ्दै गएको अवस्था छ । यसले महिला तथा किशोरीहरू जिन्दगीभर हिंसाका शिकार हुन्छन् भन्ने कुरा देखाउँछ । हाम्रो समाजमा बालिका तथा महिलाहरुलाई जोगाउन नै कठिन भएकोे अवस्था छ । महिलामाथि हुने हिंसा महिला र पुरुषबीच रहेको असमान शक्ति सम्बन्ध र लैङ्गिक विभेको कारणको प्रतिफल हो । महिलामाथि हुने हिंसाको विरुद्धमा आवाज उठाउनेहरूको संख्या बढ्दै गईरहेको छ । यति हुँदाहुँदै विभिन्न कारणले महिला हिंसाको मुद्दाहरु लुकाउनु परेको अवस्था छ । हिंसा सहने र गुपचुप बस्ने संस्कारले पीडकहरुको मनोबल बढ्दै गएको र हिंसालाई बढवालाई दिईरहेको अवस्था छ । कतिपय अवस्थामा समाज र राज्यले पीडकहरूलाई सजाय दिन नसक्दा यस्ता अपराधहरु झन् बढिरहेका छन् ।
न्यायको रोहमा जाँदा पहिलो प्रमाण, दोस्रो न्यायकर्ता पुरुष, तेस्रो पितृसत्तात्मक सोच, जस्ले गर्दा पीडित महिलाहरुले न्याय पाउन कठिन एवम् जटिल बन्दै गएको छ । उनीहरुले प्रदान गर्ने न्यायमा पनि फरक दृष्टिकोण रहन जान्छ । प्रमाण संकलन र अभियोजन गर्नेहरु ठाउँमा पनि पुरुष नै हुन्छन् । एका दुई घटनाबाहेक अधिकांशमा पद, पावर र सम्पत्तिको आधारमा मुद्धाको प्रमाण संकलन र अभियोजन हुन्छ । कतिपय यौन दुब्र्यवहार र आशयका आधारमा हुने हिंसाको प्रमाण पु¥याउन पनि कठिन हुन्छ । अहिले स्थानीय तहको शासन सत्तामा महिलाहरुको उलेख्य उपस्थिति देखिन्छ । स्थानीय न्यायाधिश पनि महिलाहरु (उपप्रमुख) छन् । तर उनीहरु नै बेलाबखत आफै हिंसा र असमानताको शिकार भएको रोईलो प्रकट गर्छन् । अझै पनि उपप्रमुखहरुले दिने न्यायमा नागरिकको बिश्वास देखिएको छैन । स्थानीय सरकारमा महिलाहरुको उत्साहजनक उपस्थिती भएर पनि महिलाहरु घरभित्रै, कार्यक्षेत्र र हरेक स्थानमा हिंसाको शिकार भएका छन् । महिलाहरु हिंसाबिरुद्ध एकजुट हुनुपर्ने देखिन्छ ।
यसरी महिलाहरुले अधिकार प्राप्त गरे पनि महिला हिंसा भएको सवालमा नदेखेझैं गरी बस्नु वा स्वार्थ राख्न हुँदैन । हाम्रै समाजमा कतिपय पढेलेखेकै महिलाहरुमा पितृसत्तात्मक सोचले जरा गडेको छ । महिलालाई कुनै पनि काममा बिश्वास नगर्ने, पुरुषहरुको आडमा आफु पद र पावरमा पुग्ने, अनि बोल्नका लागि मात्रै महिला अधिकार, ब्यवहारमा पटकै देखिदैन । आफ्नो स्वार्थका लागि महिला अधिकारको हतियार प्रयोग गर्ने महिलाको कारणबाट पनि आम महिलाहरु पीडित बन्नुपरेको अवस्था छ । महिला हक अधिकार, महिला सशक्तिकरण, लैङ्गिक समानता, समावेशी जस्ता शब्दहरु शहरमा बस्ने पढेलेखेका अधिकारकर्मी र राज्यको सुबिधा पाएकाहरुलाई थप सुबिधा प्राप्त गर्ने पर्याय बनेको छ । यीनै शब्द जालका आधारमा स्वार्थवश अभियानहरु चलाईन्छन् । परम्परा धान्नका लागि चलाईएका यस्ता अभियानहरुले केबल कहिले लक्ष्य पुरा हुन्छ ? जागिर र परम्परा धान्न होईन की मनैबाट अभियान चलाईयो भने लक्ष हासिल गर्न सम्भव हुनेछ ।




