विकास र विकासबारे चर्चा धेरै हुने गरेको छ । यो उपक्रमको पछिल्लो कडी हो, काठमाण्डौ–तराई–मधेश द्रुतमार्गको निर्माण नेपाली सेनाले गर्दैछ । ७२.५ किलोमिटर लामो यो मार्गमा पर्ने रुखहरु काट्न थालिएको छ । करिब ३८ हजार रुखहरु काटिएका छन् । निजगढ विमानस्थल निर्माणको क्रममा पनि रुखहरु काटिएका छन् । यी रुखहरु काटिँदा पर्यावरणलाई नकारात्मक असर पर्ने भन्दै वातावरणवादीहरुले िविरोध गरेका छन् । तर, विकासलाई यो वा त्यो बहानामा रोक्न नहुने आवाज पनि उत्तिकै चर्को छ । यही आवाजका बीच नेपालमा तीव्र गतिमा निर्माण कार्यहरु अघि बढेका छन् । वातावरणीय अवस्थाको बारेमा भने चर्का स्वरहरुलाई विकासको नाममा दबाउने गरिएको छ । कतिपय अवस्थामा विकासकै काम त हो नि भनेर यस्ता आवाजहरुप्रति ध्यान दिइएको छैन । यो गम्भीर विषय हो ।
निर्माणको क्रममा वातावरणीय सन्तुलन बिग्रने गरेका उदाहरणहरु हामीसँग बग्रेल्ती रहेका छन् । गण्डकी प्रदेश सरकारकै कुरा गर्दा पनि यहाँ मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा छ । मध्यपहाडी लोकमार्ग बनाउँदा धेरै ठाउँमा पहाडहरु कोतरिएका छन् । रुखहरु काटिएका छन् । यी रुखहरु काटेपछि के गर्ने ? वातावरणीय सन्तुलन कसरी कायम राख्ने भन्नेबारे पर्याप्त अध्ययन भएको छैन । यो नियति यहाँको मात्रै हैन, निजगढको पनि रहेकै छ । तराई जोड्ने राजमार्ग बनाउँदा यसले बन्यजन्तुको आवागमन तथा पर्यावरण अनि चुरेलाई कति असर पु¥याउँछ भन्नेबारे पनि केही भनिएको छैन । विकासको नाममा भएका यस्ता कामको विरोध गर्नेहरुलाई विकास विरोधी भनिन्छ भन्ने भयले धेरै आवाजहरु मौन रहेका छन् ।
चुरे तराईको लाइफलाइन हो । चुरेको अत्यधिक दोहनले तराईका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार हुन थालेको छ । विकासको नाममा गाउँगाउँमा मोटर पु¥याउने बाटो खन्दा गाउँहरु संकटमा परेका छन् । पहिरोका कारण धेरै गाउँहरु विस्थापनको अवस्थामा छन् । पानीका मुहानहरु सुक्नुले मानवीय जीवनमा पार्ने प्रभावबारे अब मूल्याङ्कन गर्ने बेला आएको छ । जलवायू परिवर्तनले पारेका अन्य प्रभावमा त ठूला देश पनि दोषी होलान् तर आफ्नै कारणले वातावरणीय क्षति भएकोबारे हामी मौन बस्न मिल्दैन ।
नेपालले तीव्र दरको आर्थिक विकास चाहेको छ । आर्थिक विकासको मेरुदण्ड भनेको बाटो र भौतिक संरचनाहरु पनि हुन् । यी संरचना नबनाइ रहन सकिँदैन ।जनताको आंकाक्षाहरु संवोधन हुनैपर्छ । तर, दीगो विकासको अवधारणालाई आँखा चिम्लनु पनि हुँदैन । अहिले देखिएका वातावरणीय विनासहरुले पनि हामीले पाठ सिकेका छौँ । एउटा रुख हुर्कन कति वर्ष लाग्छ ? जंगलले के मात्रै दिँदैन ? जंगल नहुँदा के हुन्छ भन्नेबारे हामीले अब ढिला नगरि अनुसन्धान थाल्नुपर्छ । विकासका अहिलेका मोडलहरु परिमार्जन गर्नुपर्छ र सक्दो कम क्षतिमा भौतिक पूर्वाधारहरु निर्माण गरिनुपर्छ । जलवायू परिवर्तनका मुद्दाहरु अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै गर्दा हामी स्वयंबाट भएका विनासका कथाहरु देखाउने अवस्था नआओस् भन्नेमा ध्यान दिनुपर्छ ।

