पालीमा एउटा उखान छ– ‘अर्थ न बर्थ गोविन्द गाई, टाउको दुखेको ओखती नाइटोमालाई’ भनेझै । यतिबेला राजधानीमा ठूलो तामझामका साथ टेलिभिजन बाट नेपाली राजनीतिको लिडर छान्ने अभियान शुरूवात गरिएको छ । संसारमा सबैभन्दा राम्रो निति भनेको के हो भन्दा राजनीति हो भनेर सबैले भन्नुपर्ने हो तर अहिले त्यो हुन सकेको छैन । राजनीति राम्रो भए देशमा सबै नीति राम्रो हुन्छ । अहिले नेपाल बिग्रेको राजनीति नराम्रो भएर हैन नेतृत्व नराम्रो भएर पनि हैन मात्रै अहिलेको राजनीति प्रणाली मै समस्या हो । हुनतः बाहिरबाट हेर्दा नेपालमा संघीय गणतन्त्र आइसकेको छ । पुरानो २४० बर्षसम्म राज गरेको सामन्ती राजतन्त्र पनि हटिसकेको पनि १० बर्ष बितिसक्यो । तर देशको बिकास जुन गतिले हुनुपर्ने हो त्यो गतिले हुन सकेको छैन ।
अहिले राजनीतिमा अपराधीकरको राजनीतिकरण हुदै गइरहेको छ । जसले हिजो गणतन्त्रको लागि लडाइँ लडे आज तिनको हालत बिहान खाए बेलुकी के खाने भन्ने दयनीय अबस्था पुगेको छ । जसले हिजोका दिनमा गणतन्त्रको बिरूद्व लागेर गणतन्त्रवादीलाई दबाउन लागिपरेका थिए आजका दिनमा तिनै मान्छेहरू हालीमुहाली गरिरहेका छन् । अहिले राजनीति पार्टीमा लाग्न जति सजिलो छ त्यहाँ गएर टिक्न धेरै गाह्रो छ । अहिले नेपाली टेलिभिजनका प्रस्तोता तथा पत्रकार रबि लामिछानेले रियालिटी राजनीतिक नेतृत्व खोज्ने जुन अभियान चलाउन खोजीरहेका छन् साँच्चै भन्ने हो भने यो अभियान भनेको काशी जानू कुटीको बाटो भने जस्तै हो भन्ने लाग्छ ।
अहिले राजनीतिमा आएका नेतृत्व असफल हो कि राजनीति प्रणाली असफल हो सबैभन्दा पहिला त्यो कुराको छिनोफानो गर्न जरुरी छ । अहिले समस्या भनेको हामी कहाँ भएको राजनीति प्रणाली नै सबैभन्दा असफल हो भन्ने कुरा जबसम्म हामीले बुझ्न सक्दैनौं तबसम्म हामी सहि गन्तव्यमा पुग्न सक्दैनौं । अहिले हामीले तामझाम गरेर नयाँ नेतृत्व खोज्न सकिएला तर त्यो खोजेको ब्यक्तिले के गर्न सक्छ ? अहिले नेपालको राजनीति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस अनि केही मधेसी दल मै सिमित हुन पुगेको छ । अझै केही बर्ष नेपालको राजनीति हालत यो भन्दा फरक हुने देखिदैन । हिजोको दिनमा नेपाली कांग्रेसका युवा नेता गगन थापा नेतृत्वमा आए देशको कायापलट हुने थियो भनेर प्रचारप्रसार गरियो थापा नेतृत्वमा पनि पुगे मन्त्री पनि बने तर परिवर्तन भने जिरो नै भयो ।
एकजना मान्छे सांसद हुनलाई करोडौं रूपैयाँ चुनावमा खर्च गरेर जानुपर्छ । पार्टीबाट टिकट लिन समेत करोडौं नजराना टक्राउनु पर्छ यसरी चुनाव जितेर गएको मान्छेले कसको सेवा गर्न सक्छ उत्तर खोज्न गार्हो छैन । अहिले पत्रकार रबि लामिछानेले जुन कुरा गरिरहेका छन् त्यो झट्ट सुन्दा भने रमाइलो लाग्छ हुनुपर्ने पनि यहीँ हो तर त्यो गर्न त्यति सजिलो छैन । साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले पार्टी खोलेका मात्र छैनन् काठमाडौदेखि देशको विभिन्न क्षेत्रमा निर्वाचनमा उमेदवार समेत उठाएर अनुभव समेत गरिसकेका छन् । चुनावमा जानको लागि पपुलर मान्छे खडा गर्न सकिन्छ तर चुनाव जित्नको लागि जनमत आबश्यक पर्छ त्यो नभएसम्म जतिसुकै राम्रो कुरा गरेपनि केही हुनेवाला छैन । त्यो सबै कुरा बुझिसकेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले छिमेकी मुलुक भारतमा आमआदमी पार्टी उदाए झै पार्टी उदाउन सक्छ भन्ने जुन सोच राखेका थिए त्यो सबै हावामा परिणत भएपछि अहिले नयाँ नेतृत्व छान्ने टिममा समाबेश भएका छन् । यो नै सबैभन्दा ठूलो बिडम्वना हो भन्ने लाग्छ । जुन नेतृत्व आफैमा सफल हुन सकेनन् फेरि आफै नयाँ नेतृत्व छनौट गर्ने टिममा बसेर कस्तो खालको नयाँ नेतृत्व छनौट गर्ने हो । अहिले रोग एकातिर छ औषधी अर्कोतिर गर्ने डाक्टर कै कारणले केही नभएको बिरामी समेत त्यसै मर्ने जुन अबस्था सृजना भएको छ यो झनै बढेर जानेछ । जताततै भ्रष्टाचार नातावाद, कृपावाद, फरियावाद घट्नु कता हो कता झन् संस्थागत भएर गइरहेको छ । एकजना सिडिओ एकजना प्रहरीको हाकिम जिल्लामा सरूवा गर्दा निश्चित रकम बुझाउनु पर्ने बाध्यता छ । करोडौं रूपैयाँ बुझाएर जिल्लामा जाने हाकिमप्रति जिम्मेवार बन्छ कुरा स्पष्ट छ जतिपनि अनियमितता हुन्छ त्यसको जड भनेको भ्रष्टाचार नै हो । जबसम्म राजनीति रूपमा हुने भ्रष्टाचारलाई यहाँ रोक्न सकिदैन तबसम्म सानोतिनो परिवर्तनको कुनै अर्थ छैन । छिमेकी मुलुक चीनमा भ्रष्टाचार गर्ने मान्छेलाई सिधै झुण्डाएर मृत्यु दण्ड दिने परिपाटी हुँदाहुँदै त त्यहाँ गलत काम हुन्छ भने नेपालमा नेताको आडमा भ्रष्टाचार झन संस्थागत हुँदै गइरहेको छ ।
अख्तियारका आयुक्तहरू नै भ्रष्टाचारमा मुछिएका छन् पक्राउ परेका छन् । साँच्चै अहिले जिल्ला जिल्लामा गाउँ गाउँमा नेता छान्न सकिन्छ यो ठूलो कुरा हैन राजनीति आखिर राजनीति दलकै ब्यक्तिले गर्ने हो । जति बाहिर कुरा गर्न सजिलो छ त्यति बास्तबिक रूपमा फिल्ड मै काम गरेर देखाउन धेरै गार्हो छ । नेपालको राजनीतिमा ३० औ बर्ष राजनीति गरिसकेका बिद्वान नेता भनेर चिनिने डा. बाबुराम भट्टराई जो देशको अर्थमन्त्री हुँदा जति सफल देखिएका थिए । नेपाली जनताले बाबुराम एकपटक देशको प्रधानमन्त्री भए कायापलट हुने थियो भन्ने सोच राखेका थिए जब बाबुराम भट्टराई प्रधानमन्त्री भए तब उनको हबिगत सबैले देखे आफै असफल भएपछि सर्बोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई कुर्सी हस्तान्तरण गरेको कुरा ताजै छ । आज बाबुराम रबिन्द्र मिश्र र शुशिला कार्की नेता छनौटको जिम्मेवारी लिएर हिडेका छन् । साँच्चैं भन्ने हो भने अहिलेको बाटो भनेको काशी जाने कुटीको बाटो झंै हो भन्दा कसैको दुई मत हुँदैन होला । अहिले नेपाली जनताले चाहेको ब्यबस्थामा परिवर्तन हैन अबस्थामा परिवर्तन खोजेका हुन । अहिले राजनीति उमेर तौलको हिसाब किताबले गर्ने बिषय हैन बिरालो कालो छ कि सेतो छ त्यो प्रमुख बिषय हैन बिरालोले मुसा मार्छ कि मार्दैन त्यो प्रमुख बिषय हो । केही महिना अगाडि नेकपाका युवा नेता घनश्याम भुसालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको अगाडि बहादुरी साथ एकदमै पपुलर भाषण थोके सबैले ताली बजाए भाषण सुन्दा भुसालले गरेका कुनै पनि कुरामा शंका गर्ने ठाउँ थिएन सबै जायज थिए । अहिले सरकारलाई बिहानदेखि बेलुकीसम्म सबै खालका दलालले घेराका छन् त्योबाट सरकार मुक्त छैन । अब भने हिजो चर्को भाषण गर्ने नेता अहिले मन्त्री बनेका छन् अब हेर्न बाकी छ भुसालले कति दलालबाट मुक्त भए अहिले सबैभन्दा बढी बेथिति कृषिमा छ । कृषिको कामनै नगर्ने मान्छेले कृषिको अनुदान खाने काम गरिरहेको कुरा भुसाललाइ पनि थाहा छ अब कति जनालाई कारवाही गरेर अनुदान फिर्ता गर्छन् त्यो हेर्न बाँकी छ जति भाषण गर्न सजिलो छ त्यति काम गर्न सजिलो छैन । अहिले भुसाल चुपचाप छन् अहिले आगोमा हामफालेका छन्, नम्बरी सुन भएर निस्कन्छन् कि जलेर खरानी हुन्छन् त्यो पनि प्रतिक्षाकै बिषय बनेको छ ।
देशको लागि राम्रो लिडर आवश्यक परेको छ त्यो कुरामा कुनै शंका छैन । यहाँ प्रमुख कुरालाई थाती राखेर हामी सहायक कुराको पछाडि दौडीरहेका छौ कि बिचार गर्ने जरुरी छ । खोज्ने हो भने एकसय एक लिडर भेटाउन सकिन्छ तर नतिजा भने शून्य साबित हुनेछ । भगवानको पालोमा सबैभन्दा राम्रो सृष्टि गर्ने भनेर कल्पना गर्दागर्दै उठ बनेको कथा अहिलेसम्म पनि पढिरहेका छौ अहिले पनि यस्तो नहोस सुन्दर समृद्ध नेपाल सुखी नेपाल हुने वातावरण तयार पार्ने भुमिका खेल्नुमा लाग्नुपर्छ ।




