बेलायतको नागरिकता लिन वा लिब टु रिमेईनका लागी पास गर्नुपर्ने ‘लाईफ ईन युके’ टेष्टमा बेलायतको ईतिहास जानकारी राख्नु पर्छ र परिक्षा पास भए पछि अनि मात्र नागरिकता लिनका लागी प्रकृया शुरु हुन्छ । जसमा बेलायतका चर्चित गायकगायकीदेखी कलाकार र साहित्यिक व्यक्तित्वको चिनारी सम्मको ईतिहास राखेको छ । नेपालमा भने मानार्थ नागरिकता दिँदा समेत बर्ष भए पुग्छ नेपाली भाषाको ज्ञान खोजिँदैन । संसारका विभिन्न देशमा भएका ट्राईबहरूको सूचीमा नेपालको ट्राईब पनि पर्छ तर हाम्रो गीत र भाकाको भने प्रचार हुन भने सकेन । हुन त कतिपय बिदेशी नागरिकले हाम्रो लोकगीतमा नै पिएचडी समेत गरेका छन् तर त्यो यूटुबमै सिमित छ । आज लोकगीतको बिषयमा लेख लेख्नुअघि लोक गीतका केही पुराना र नयाँ सर्जकका अन्तरवार्ता पनि हेरें । लोकगीत भनेको के हो के होईन अझै खुट्टिएको छैन । समाजले लोकगीत भन्दा बढी भाईरल गीत मनपराइराखेको छ । भाईरल गीत भाईरल ज्वरो जस्तै हो समय र डोज पुगे पछि हराएर जान्छ । बिसौं बर्ष नेपालमा बसेका बिदेशीलाई नेपाली गीत गाउँ वा भन भन्योभने एउटा भन्छ सक्छ त्यो हो रशमफिरिरि । त्यो पछि आजसम्म कुनै पनि गीतले फिरिरि पछि पालो पाउन सकेनन् । देशभित्र हरिदेवी कोईरालाको पाईन खबरमा जती लोक सन्देश थियो त्यस पछि अरु गीतले त्यही अनुपातमा स्मरण गराउन सकेनन् ।
पछिल्लो समय प्रकाश सपुतले गाएको एउटा गीत जसमा रोजीरोटी र सन्तानको पेट पाल्न प्रदेश पुगेका युवा युवतीहरूको अकालमा मृत्यु भएपछि लासरहित बाकस आउँछ त्यो यथार्थ हो । त्यसमा रहेर गाएको गीत जनस्तरमा पुग्यो तर त्यसपछि दोहोरी ब्याटल ल्याए त्यसले केवल एउटा उमेर समुहको शरिर त हल्लायो तर लोक भने हल्लाउन सकेन । तर पनि उनको क्षमता यतिमा सिमित छैन । पुन गलबन्दी ल्याए । लोक गीत भनेको के हो भन्नेमा आँफै पनि अनविज्ञ रहेको कुरा प्रकाश सपुतले बेलाबखत भनिराख्छन् । लोक गीत भनेको आटो ढिँडो, पानी पधेंरो, गुन्युचोली, जोतारो, नाङगो, नति मात्रै हो भन्ने हो भने अहिलेकाले त्यो पधेंरो जाने चलन देखेनन्, मही भन्दा कोकाकोला ठीक लागी सकेको छ, गुन्युचोली र दौरासुरुवाल हटदै गएपछि जिन्स पाईन्टले ठाउँ लिएपछि उ ताको लोकगीत जस्तो अहिले पाईँदैन । त्यो समयक्र सगँ बदलियो । त्यो बेलाको सुन्ने लोकगीत अहिले हेर्ने लोकगीतमा रुपान्तरण छ । युटुबमा भ्युवर बढाउनका लागी राखिने शीर्षकले नै हालको लोकगीतको ठाउँ उचाईमा टोपी झारेको देखाउँछ । अब जिन्स लगाउने, रेन्बो चश्मा लगाउनेलाई लोकगीत मन पर्ने भनेको सुन्दा भन्दा हेर्दा नै ठीक लाग्ने हो । अहिलेका लोकगीतका गायकलाई कुन लोक शब्द राख्दा ठीक होला भन्नु भन्दा गीत पछि यो गीतमा कुन राम्रो मोडल राख्ने होला भन्ने चिन्ता पहिला बढी देखिन्छ ।
लोकगीत सुनेपछि मानिसका मनमा उत्पन्न तरङले मन भित्रै एउटा भिजुयल बन्छ जुन पुराना गीत थिए जसमा भिजुवल थिएनन् र पनि मान्छे सुनेर रुन्थे । गीत सुन्दा मान्छे शब्दका कारण भन्दा गीतले कतै गएर आफ्नो मन छोएको भए रुन्छन् । मन छुनु भनेको गीत सुने पछि दिमाखमा आएको तस्वीर वा दृष्य नै हो । पाईन खबर सुनेर ति मान्छे बढि रुन्थे जसको घरबाट मुग्लान गएक मान्छे धेरै दिन भएको तर प्रत्येक दिन घर माथीबाट हिड्ने हुलाकीलाई हाम्रो चिठी आएकोछ भन्दा जब छैन भन्छ अनि उ त्यो संझेर रुन्थ्यो। लोकगीतले फेरी एकपटक मन्द सास फेरेको छ । लोकगीतको संरक्षण र यसको निरन्तरता गराउन गठित लोक दोहोरी प्रतिष्ठानको चुनाव क्याम्पसको स्वीयूको चुनाव भन्दा कम थिएन । राजनितिले नछोपेको ठाउँ कतै रहेन । अहिले त्यो कुरा छोडौं । लोकगीतमा लयको स्थान उच्च नै रहन्छ जसले भुगोल, जातजाती, चालचलन समेत देखाउँछ भने शब्द भने मुटु नै हो । नायायण गोपालले सबैले लेखेका गीत गाएका भए पक्कै नारायण गोपाल हुने थिएनन् अर्थात् शब्द थुपारी के हुन्छ भाव भए पो हुन्छ भने झै नारायण गोपालले आँफुलाई मन नपरेका गीत कहिलै गाएनन् पनि ।
शुरु शुरुमा गायकलाई ‘पाँच हजारे’ भनेर संवोधन गर्थे यो उपयुक्त सम्बोधन होईन । तर गीत पाँच हजार पाउनैका लागी सबैका गीत गाउने हो त ? भनेर प्रश्न गरियो भने गम्भिर बनाउँछ । अहिले पाँच हजार होईन धेरैमाथी पुगी सकेकोछ पारिश्रमिक पनि । पछिल्लो पटक लोकगीत पन्पन लगेको छ । तर अधिकांश अहिलेका लोकगीत कलमी गरेका नास्पाति जस्तै हुन । तर पनि गाउँमा नासपाती कलमी गर्दा जरा त फेरी मेहलकै हुन्छ नत्र नासपातीको बिरुवा ज्युँदो रहँदैन । गाउँमा ठुलाठुला नासपाती खान काठे नासपातीको रुखमा आधुनिक नासपातीको कलमी गरिन्छ कतिपय ठाउँमा मेहलको रुखमा पनि गरिन्छ तर यसमा स्वाद भने न नासपाति जस्तो न मेहलको जस्तो हुन्छ । हामीले अहिले शरिर हल्लाउने लोकगीतका गायक र सृजकको चर्चा गर्छौं तर ति शब्दहरू ले मन हल्लाओस् । शरीर त हल्लाउन अहिले गाउँमा बाजा नै काफी छैन । जब शब्दलाई लयले खुर्कन्छ अनि गीत सुथरो बन्छ । लोकगीत प्रति निराशा मात्रै पनि होईन आशा गर्न सकिने ठाउँ पनि छ । पछिल्लो समय सजृक नवराज पन्त जस्ता पनि छन् जसले लोकगीतका शब्द संकलन गरेका छन् । लोकगीतमा कहिलै पनि रचनाकार हुँदैन । शब्द संकलक हुन्छ । जस्तो डाँडे फुर्के सल्लो यो जीवन्त गीत छ जसको भिडियो हेर्न पर्दैन जब गीतले ‘गाउँ त चिने घर चिन्ने सकिन वल्लो कि हो पल्लो’ भन्दा हामीले आँफै गाउँको घुमाउने घर र कौसीवाला घरको याद आउँछ।त्यसै उनैले शब्द संकलन गरेको गीत ‘सातको पात टपरी हुने नहुने सल्लैकोण ।’
यो गीतमा भएका तमाम शब्दहरुले गाउँले जीवनको जीवान्ता देखाउँछ र लोकमा आधारित प्रेमगीत जस्तो पनि छ । कमला घिमिरे जस्ता नानीहरूको सानैदेखी यस क्षेत्रमा झुकाब हुनुले अलि आशलाग्दो बन्दै गएको छ । लोकगीतको लय र भाका देशको भुगौलिक अवस्था अनुसार हुन्छ । देशका पुर्विय भागमा गाईने गीत पश्चिममा गाईने गीतका भाका फरक होलान् तर शब्द भने लोकमा भएकै हुन्छन् । तर अहिले लोकगीतमा आएको रिमिक्सले लोकगीतलाई फरक तरिकाले बुझाई दिएको छ । लोकगीत कुनै बेलाका गाउँका गीतीपत्र थिए । एउटा गीतले गाउँमा रहेका सामाजिक सम्बन्ध समेत देखाउँथ्यो तर अहिले लोकगीतले त्यो लिक छोड्दै गएको छ । त्रिशुलीको किनारामा बालुवा चाल्नेहरू भन्ना साथ गरीबको प्रतिनिधित्व गर्छ । आजकाल लोकगीत ककटेल बनेका छन् । लोकगीतका शब्द पनि छन् तर शहरी शब्द पनि छन् । अझ यसैमा मान्छे वाह वाह गर्द लोकगीतका गायकहरू हौसिएको पनि देखिन्छ । लिक छोडेका लोकगीतहरु अहिले युटुबमा धेरै हेरिए पनि ति मोटाएका होईनन् खासमा सुनिएका हुन । हामी श्रोताले पनि सुनाउने खालका गीत सुन्ने कि मोटाउने खालका बिचार गर्न जरुरी छ ।
लोकगीतलाई साँचै माया गर्ने हो भने अब लोकगीतका शब्दहरू पाउन गाउँमा पस्नु पर्छ गाउँमा नपसेका गायकका गीतले पाउने माया गाउँ नछिरेका पाटीका भोट जस्तै हुन्छन् । लोकगीतमा लाग्ने हो भनेर संधैलाई होईन केही समय बिराएर गाउँ पस्नु पर्छ । शहरका ट्याक्टर छोडेर गाउँमा गोरु जोतेको हेर्नु पनि पर्छ । लोकगीतमा गीत हिट हुने लोक मर्ने भएको छ । गीत हिट शब्दले होईन मोडलले गराउने चक्कर चलेको छ । गीत बाँच्नका लागी शब्दले सास फर्नु पर्छ लयले त्यसलाई न्यानो संग बेर्नु पर्छ । तर हामी अहिले कसरी चर्चामा आउने मात्रै धुनमा छौं । चर्चामा आएका गीत कति बाँचे किन रेशमफिरिरि मात्रै संझन लायक भयो । किन पाईन खबर मात्रै सम्झनामा रह्यो अब फेरी पनि सालको पात टपरी जस्तै गीत बन्ला कि नबन्ला वा अब भविष्यमा आउने लासामा सुन छ चाँदी कहाँ होला,आदी मुटु मै सित छ आदी कहाँ होला ले ले संझना दिलाईरहला ।




