बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोकबाजाहरुको संरक्षण

लोकबाजाहरुको संरक्षण


  • Dhorpatan News
  • पुष २ २०७६, बुधबार

जीवन्त सहरमै गनिन्छ, पोखरा । नियमितजस्तै यहाँ केही न केही कार्यक्रम आयोजना भएकै हुन्छन् । यही उपक्रममा केही समयअघि यहाँ लोकबाजा सम्मेलन आयोजना गरियो । नेपाली मौलिक बाजाहरुको संरक्षणको लागि आयोजित ‘गण्डकीका धूनहरु’ नामक कार्यक्रममा विभिन्न लोपोन्मुख बाजा र भाकाहरु प्रस्तुत गरिए । गण्डकी प्रदेशमा रहेका ९५ थरी बाजाहरु प्रदर्शनमा राखिएका थिए । पुराना बाजा र धूनहरुको संरक्षण हेतु नेपाल संगीत नाट्य प्रतिष्ठान र हिमाली सांस्कृतिक परिवारको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भयो ।
हरेक जातजाति र राष्ट्रको आफ्नै विशेषता र मौलिक चिनारी हुने गर्छ । संस्कृति, कला, साहित्य र संगीतको समृद्धिले सुसंस्कृत देशको परिचय पनि दिने गर्छ । जंगलमा पाइने पातबाटै संगीत सृजना गर्नु, पञ्चेबाजामा विभिन्न तालहरु निकाल्नु नेपाली संगीतको अनुपम विशेषता हो । कुनै विशेष कार्यक्रममा त्यही बाजाको प्रयोग गर्दै फरक–फरक धूनहरुमार्फत अवस्थाको वर्णन गर्न सक्नु पनि नेपाली बाजाहरुको विशेषता हो । नेपालमा १ हजार ३ सय ५० वटा लोकबाजाहरु रहेको एक अध्ययनले देखाएको छ । तर, तीमध्ये धेरैजसो बाजाहरु आधुनिकतासँगै हराउँदै गएका छन् । यो चिन्ताको विषय हो । नेपाली मौलिक बाजाहरु हराउनु भनेको संस्कृति नासिनु पनि हो । संस्कृति नासिनु भनेको नेपाली पहिचान मेटिनु पनि हो ।
नेपाली संगीतको विश्वव्यापीकरणको थालनी भएको छ । नेपालका केही चर्चित सांगीतिक समूहरुले यहाँका पुराना बाजाहरु प्रयोग गर्दै नेपाली संगीतको विश्वव्यापीकरणको थालनी गरेका छन् । पोखराकै बुद्धिबहादुर परियारले सृजना गरेको ‘रेसम फिरिरी…..’ को मानकमा अडिएर अहिले थालिएको अभियानलाई सकारात्मक मान्नुपर्छ । अर्काको संस्कृति र संगीत प्रयोगले हैन कि नेपालमै भएका बाजाहरुबाट निक्लने धूनले नै नेपालीपनको परिचय दिने हो भन्ने अहिलेको पुस्ताले बुझ्न थालेको छ । नेपालीहरु विश्वका विभिन्न भागमा छरिएको अवस्थाले पनि यहाँको मौलिक संगीतलाई विश्वभर फैलाउन सजिलो भएको छ । यो अवसरको अब नेपालले उपयोग गर्नैपर्छ । मौलिकता नाँसिदै गएको भन्ने चिन्ता आफ्नो ठाउँमा छँदैछ, संस्कृति र संगीतको संरक्षणमा थालिएका पहलहरु पनि सकारात्मक नै छन् । नेपालका बाँसुरी बादक मनोज सिंह नेपाली मौलिक बाजाहरुबाट तयार गरेको धूनकै कारण संगीतको प्रसिद्ध ग्रामी अवार्डको मनोनयनमा परेका छन् । उनको मनोनयनले पनि नेपाली संगीत र मौलिकता विश्वभर बिक्न सक्छ भन्ने सन्देश दिएको छ । यो अवस्था मौलिक बाजा र धूनहरुको संरक्षणको जुन पहल पोखराबाट थालियो , त्यो असाध्यै सकारात्मक छ ।
नेपालको गण्डकी प्रदेश संगीतमा अग्रणी नै मानिन्छ । त्यसो त, नेपालमा रहेका हरेक जातजातिको आफ्नै मौलिक परम्परा र संगीत रहेको छ । यति सानो देशमा भएको यति ठूलो जातीय र भौगोलिक विविधता संगीतमा पनि देखिन्छ । बाजाहरुमा झल्कन्छ । अत ः पुराना बाजाहरुको संरक्षण गर्दै ती बाजाहरुमार्फत नेपालीपन जोगाउन र विश्वव्यापीकरण गर्न हामी चुक्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->