आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भक्तमायालाई  काम गर्न उमेरले छेकेन

भक्तमायालाई  काम गर्न उमेरले छेकेन


  • ढोरपाटन संबाददाता
  • पुष १५ २०७६, मंगलबार

बागलुङ,१५ पुस – उमेर ढल्केपछि काम गर्नै हुँदैन भन्ने होइन । शरिरले सक्दा जेसुकै काम गर्न हुन्छ र गर्नुपर्छ भन्ने यहाँकी ७६ बर्षिय हजुरआमाले देखाएकी छिन् ।
अनुहार त चाउरी परेको छ, तर उनको जोश र जाँगरमा चाउरी परेको छैन । बरु उनी अझै हट्टाकट्टा र केही गरौं भन्ने अबस्थामा छिन् । छोराछोरीले दिएको खाने उमेर भएपनि कामै गरेर देखाउँछु भन्दै बागलुङ नगरपालिका वडा नं. ४ की ७६ बर्षकी भक्तमाया चौलागाई बाख्रा पालेर बसेकी छिन् । अहिलेपनि उनले व्यवसायिक बाख्रा पालनमा लगानी गरिरहेकी छिन् । उनी दिनहुँ बाख्रा चराउन पनि हिड्छिन् ।
बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर बस्ने चौलागाईले आफ्नो कमाईले घरव्यवहार चलाउने मात्र नभई बचत गर्न पनि भ्याएकी छिन् । छोराबुहारीलाई समेत उनले कमाईबाट घरखर्च दिने गर्छिन् । पुख्र्यौली घर दोलखाको चरिकोट भएपनि २० बर्षदेखि उनीहरु बागलुङ बस्छन् । बागलुङमै पढेका छोराले पनि जागिर खान्छन् । श्रीमान रुद्रलाल काममा चासो राख्दैनन् । छोराको कमाई मात्र कति खानु भनेर उनले भाडाको घरछेउमा खोर बनाएर बाख्रा पालन गरेकी हुन् । घाँस किन्नुपर्ने, चरन क्षेत्रको लागि बेलाबेला पैसा खर्चनु पर्ने झण्झटबाट पनि उनले व्यवसाय गर्न छाडेकी छैनन् । स्थानीय जातकै बाख्रा पालेर उनले बर्षको २ लाख रुपैयाँ कमाउन सकेको बताइन् । उक्त रकमले घरखर्चको जोहो गरिरहेको ताईन् । ‘अहिले सम्म ज्यानले सकेकी छु, त्यसैले काम गर्छु’ चौलागाईले भनिन्, ‘खोरमै किन्न आउनेहरुले खसीबोका नियमित लैजान्छन्, नगद हात पर्छ ।’ मल समेत भएकोले उनले तरकारी खेती गरेकी छिन् । खनजोत गर्न छोरा अगाडि सर्छन्, मल घरैमा उपलब्ध भएकोले राम्रो उत्पादन भएको उनले बताईन् । छोरा अर्जुनले फलेको गोलभेडा र अन्य तरकारी बजारमा लगेर बेच्छन् । चौलागाईले २८ वटा सम्म बाख्रा पालेको स्मरण गर्दै माउ भने नियमित पालिरहेको बताईन् । छोराबुहारी, नाती नातिनी र श्रीमानसहित ६ जनाको परिवार कृषिपेशाबाटै चलेको छ । छोराले स्थानीय बिद्यालयमा सहयोगीको जागिर गर्छन् । घरको नियमित खर्चकालागि भने तरकारी र बाख्राले राम्रोसँग धानेको अर्जुनले बताए । ‘बुढेसकालमा दुःख नगर्नु भनेर धेरै पटक भने, तर आमाले काम गर्न छाड्नु भएन’ उनले भने, ‘मेरो हातगोडा चलुन्जेल तिमीहरुको कमाई खान्न भन्नुहुन्छ ।’ उनको काम देखेर छिमेकीलाई पनि हौसला थपेको छ । ‘बुढ्यौलीमा पनि उहाँको मेहेनत देखेर हाम्रा आमाबुबा पनि केही गरेर देखाउनु पर्छ भन्नुहुन्छ’ स्थानीय प्रमिला पुनले भनिन्, ‘टोलमा बाख्रा र गाई पाल्ने तथा तरकारी खेती गर्ने धेरै छन् ।’ बजार क्षेत्र भएकोले उत्पादित तरकारी र मासुजन्य पशुपालनबाट सबैले राम्रो कमाई गरेका छन् । चार छोरी र दुइ छोराकी आमा भएपनि नियमित काम गरेकै कारण यो उमेरमा पनि तन्नेरी झै काम गर्न सक्छीन् । ‘काम गरिरहेकोले होला नगरेको दिन के गरौं के गरौं लाग्छ’ उनले भनिन्, ‘बिहान घाँसपानी खुवाउने, दिउसो चराउने गरेपछि सजिलै दिन बित्छ ।’ फूर्सद मिलाएर उनी कहिले मन्दिर जाने त कहिले आफ्नो उमेर समूहका महिलालाई व्यवसाय गर्न हौसाउने गर्छिन् । उनको उमेर समूहका महिलाहरु व्यवसायमा कोही पनि छैनन् । युवाहरुपनि उनको मेहेनत र सक्रियता देखेर दंग छन् । ‘आमाको काम देखेर म समेत दंग छु’ अर्जुनले भने, ‘मेरा साथीहरुले पनि आमाको काम र सक्रियताको प्रसंसा गर्छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->