बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कान्छा वडाध्यक्षको खस्रा कुरा

कान्छा वडाध्यक्षको खस्रा कुरा


  • ढोरपाटन संबाददाता
  • पुष १८ २०७६, शुक्रबार

फिरफिरे ( तनहुँ),१८ पुस – तनहुँको फिरफिरेबाट उत्तर फर्कने हो भने हिमालको लामो पर्खाल देखिन्छ । आँखामा अन्नपूर्ण,माछापुच्छे«, लमजुङ र धौलागिरि हिमश्रृंखला टाँस्सिन आइपुग्छन् । कुनै बेलाको ढोर लामागाउँ पञ्चायत अहिले शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १२ भएको छ । नगर सुहाउँदा छैनन्, फिरफिरेका पूर्वाधार । ८१९ घरधुरीमध्ये मुस्किलले ६ सय घरमा मात्रै मान्छे बस्छन् । शुक्लागण्डकीको सबैभन्दा ठूलो वडाको जनसंख्या ३ हजार २ सय ३५ रहेको छ । र, गण्डकी प्रदेशकै कान्छा मनराज गुरुङ यो वडाको वडाध्यक्ष छन् ।
बल्ल २६ टेकेका मनराजलाई स्कूल पढ्दै राजनीतिले छोयो । तत्कालीन माओवादीका इलाका सेक्रेटरी मुक्ति सिग्देलको संगतमा परेपछि उनी क्रान्तिकारी बने । त्यो बेला उनी स्कूलको बाल क्लवमा सक्रिय थिए रे । मुक्तिले उनलाई क्रान्तिको पाठ सिकाए । एकोहोरो बनाए । ‘बाउबाजेदेखि परिवार नै लाहुरे । हट्टाकट्टा सबैले लाहुरे हुन्छ भन्थे’,कान्छा वडाध्यक्ष मनराजले अतित सम्झँदै भने,‘तर, आफूलाई भने राजनीतिले छोयो, छाती नपाउनेतिर ध्यान नै गएन ।’ कुन विचार र पार्टी राम्रो भन्ने थाहा नहुँदै उनी पार्टीको निष्ठावान कार्यकर्ता बने । कलेज पढ्दा पनि उनी अझ खारिए । पछि माओवादी नै फुट्यो । वैद्य समूह गएपछि उनी निरास बने । पार्टीको गाउँ इकाइ सचिव पनि उनी नै थिए । तर, मनको निराशाले पार्टीमा खासै सक्रिय भएनन् ।
२१ वर्ष कटेपछि लाहुरेको लागि छाती नपाउन नपाइने । घरमा छोरो बिग्रियो भन्ने भयो । २२ वर्षतिर बिहे पनि गरे । विदेश जान पासपोर्ट पनि बनाए । त्यही बेला मुक्ति झुल्किए । राजनीतिबाट नभाग्न आग्रह गरे । राजनीतिक गुरुले भनेपछि मान्नैप¥यो । उनी नेपालमै अडिए ।
स्थानीय चुनावको माहौल आयो । शुक्लागण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । पाँचवटा वडामा मात्र तालमेल सम्भव भयो । उनी भाग्यमानी दरिए । वडाध्यक्षको टिकट मनराजलाई दिँदा पार्टीमा कुनै विवाद नै भएन रे । वडा नम्बर माओवादीको भागमा प¥यो । पूर्वएमालेको प्रभाव क्षेत्र मानिने सो वडामा उनले चुनाव जिते ।
वडाध्यक्षमा उठ्ने कुरा भन्दा पनि भनेनन् । ‘घरकाले थाहा पाएपछि यो अब विदेश जाँदैन भन्ने बुझे र विदेश जाऊ भन्नै छाडिदिए’, उनले भने,‘त्यसपछि मेरो जीवन नै मोडियो । ’
सानै उमेरमा उनी जनप्रतिनिधि बने । जनप्रतिनिधि बन्न त बने तर काम गर्ने तरिका थाहै थिएन । पार्टीका मान्छेहरु पनि संसदीय अभ्यासमा थिएनन् । उनले आफ्नै सुरुले काम सुरु गरे । आखिर उनले गरे के त ?
‘म निर्वाचित भएपछि तीनवटा कुरालाई प्राथमिकतामा राखेको छु ,पहिलो कृषि नै हो,दोस्रो पर्यटन र तेस्रो पूर्वाधार विकास नै हो’, उनले भने,‘अहिले कामले गति लिएको छ ।’ उनले गाउँलेलाई उत्पादनसँग जोड्ने योजना बुने । वडाको घडेरी भन्ने ठाउँमा गएर गाउँलेलाई लोकल कुखुरा पाल्न हौस्याए । अनुदान समेत दिने आश्वासनपछि गाउँलेहरु ठूलो संख्यामा लोकल कुखुरा पाल्न तयार भए । चरेर खाने लोकल कुखुराको खोर र चर्ने ठाउँ बनाउने वुद्धि पनि आफैले निकाले । अहिले घडेरीका २० घरका किसानले पालेका छन् । लोकल कुखुरा उत्पादनको पकेट क्षेत्र नै माने हुन्छ रे, घडेरीलाई । ‘एउटा घरले एक वर्षमा डेढ लाखसम्मको कुखुरा बेचेका छन्’, उनले भने,‘यो सानो कुरा हैन ।’
वडाको रातामाटामा २२ घरमा बाख्रा पालनको मोडल तयार पारे । बाख्रा पालनको पकेट क्षेत्र, १५ वटा माउ बाख्रा पाल्नेलाई १ लाख, १० वटा भए ५० हजार र ५ वटा बाख्रा पाल्नेलाई ३० हजार अनुदान दिइयो । करिब ५० जना किसान अहिले बाख्रा किसानले अनुदान लिएको उनले बताए ।
‘बाख्रा मात्रै पालेर भएन, आधुनिक र व्यावसायिक तरिकाले पाल्नुप¥यो’,उनले भने,‘ दुग्ध उत्पादनको पकेट क्षेत्र बनाउने योजना अनुसार लिलाचोकमा भैँसीको संख्या अनुसार ५ वटा भए ५० र ३ वटा भए ३० हजार अनुदान दिने नीतिले काम गरेको छ ।’उनका अनुसार अहिले त्यहाँबाट अहिले करिब २ सय लिटर दूध बजार जान्छ रे । वर्खायाममा भने यो मात्रा बढ्ने उनले सुनाए । उनका अनुसार १५ वटा बाख्रा पाल्दैमा उद्यमी भइँदैन तर के खाऊँ भन्ने समस्या हट्छ । आधारभूत आवश्यकताको परिपूर्ति गर्न ठूला परियोजना आउनै पर्छ ।
सहरबाट खुर्सानी र गोलभेँडा ल्याउने बाटोमा करोडौँ लगानी गर्दा उत्पादनसँग जोड्ने अभियान चलाउनु पर्ने उनको भनाई छ । उनका अनुसार वडाले बाँझो जमिन उपयोग गर्न घमाइलो ठाउँमा कागती र केही चिसो ठाउँमा कफी रोप्ने योजना पनि अघि सारे ।
त्यसका लागि कम्तिमा ५० हजारवटा विरुवा रोप्नु पर्ने सर्त राखियो । अनुगमन गर्न नियम बनाइयो अनि तीन वर्षसम्म एउटा विरुवालाई १ सय अनुदान । १ हजार विरुवालाई अनुदान दिन सुरु गरियो । अनुदान किन त ?
‘किसानको गुजारा होस् र उनीहरु प्रोत्साहित होस् भनेर’, उनले सटिक उत्तर दिए । उनलाई घडेरीलाई कुखुरा र रातामाटालाई बाख्रा पकेट क्षेत्र घोषणा गर्ने जोस पनि चलेको छ । ‘तर प्रचार पो बढी हुन्छ कि ?’, उनले प्रश्न गरे । गण्डकी प्रदेश सरकारसँग मिलेर १२ अर्ब लगानीमा गाई फार्म राख्नेबारे पनि कुरा भइरहेको उनले सुनाए । त्यसको लागि १ हजार रोपनी जग्गा व्यवस्था भएको र जग्गाधनीलाई नै सेयर सदस्य बनाइएको पनि उनको भनाई थियो । उद्यममा विदेशबाट फर्केर आएका र यहीँ बसेका युवाहरु लागेको पनि उनले जिकिर गरे ।
आफ्नो कामप्रति सन्तुष्ट देखिएका उनलाई सोधियो,‘ पाँच वर्षपछि फिरफिरे कस्तो होला ?’‘गण्डकी प्रदेशमा फिरफिरे शब्द नसुनेको मान्छे नै नहोला । बल्ल हामी सुरु गर्दैछौँ,होमस्टेहरु व्यवस्थित गर्दैछौँ’, उनले भने । गाउँमा रहेका ८३० घर धुरीमध्ये ५ सय घरधुरी उद्यमसँग जोडिएको बनाउने, कृषिको मोडल गाउँको रुपमा बनाउने ,कम्तिमा गाउँहरु वडा कार्यालयसँग बाटोले जोडिने ठोकुवा पनि उनले गरे । उनका अनुसार वडाध्यक्षबाट विदाई हुँदै गर्दा गाउँको मूलबाटो आधा पिच हुनेछ । कादुरीसँगको सहकार्यले खानेपानीको समस्या हल भएको छ । खानेपानीको समस्या पूर्ण रुपमा हल हुनेछ ।
‘स्मार्ट भिलेज त कल्पना नै भयो’, उनले भने,‘ विकासका आधारभूत कुरा पूरा हुन्छन्, म अर्को पटक यही भूमिकामा भने रहन्नँ ।’ उनले आफ्नो राजनीतिक महत्वकांक्षा लुकाएनन् ।
उनले थप्दै गए ,‘मेरो मानसपटलमा के कुरा आएको छ भने, मेरो अबको जीवन नै राजनीतिक हो । कहिलेसम्म राजनीति गर्ने भन्ने हो । औपचारिक घोषणा त गरेको छैन, हामी युवाहरुले अरुलाई पनि सिकाउनु पर्छ । बिस्ताराबाटै संवोधन गर्नेगरि नेता बन्ने हैन, ५० वर्षपछि ३ महिना राजनीति गर्,प्रधानमन्त्री बनाइदिन्छु भन्दा पनि म गर्दिन ।’
जनताको आकांक्षा त असीमित भएको स्वीकार्ने उनले शिक्षा राम्रो नहुँदा बजार झर्नेहरु बढेको बताउँदै रोक्न सामुदायिक विद्यालय सुधारको योजना रहेको पनि सुनाए । उनका अनुसार नेतृत्वमा युवा हुँदा विकास हुने र नहुँदा विकास नहुने भन्ने हुँदैन रे । उनका अनुसार युवामा स्पिड भने हुन्छ ।
काम गर्दा सजिलो भने छैन उनलाई । उनकै भाषामा हिजोका साथी आज शत्रु र हिजोका शत्रु आज मित्र भएका छन् । गुरुङ गाउँ भएकाले काम गर्न भने सजिलो छ । विकासमा राजनीति नगरौँ भन्ने मत दह्रो छ ।
आफू कान्छो वडाध्यक्ष हुँदा कस्तो लाग्छ त ? अन्तिमतिर प्रश्न सोधियो । उनले सहज रुपमा भने, मुख्यमन्त्रीको मुखबाट सबैभन्दा कान्छो हौ भन्ने सुनेँ, काम ठूलो हो, उमेर तके कुरा ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->