प्रसंग नम्बर १ राष्ट्रिय सभा
राष्ट्रियसभाको निर्वाचन ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ जस्तो देखिएको छ ।यतिबेला निर्वाचन आयोगले राष्ट्रियसभाको लागि निर्वाचन मिति घोषणा गरेपछि आफ्नो पार्टीको तर्फबाट कसलाई उमेदवार बनाउने भन्नेबारे राजनीतिक पार्टीमा व्यापक छलफल र बहस पछि उमेदवार टुंगिएको छ ।
नेपालको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीको तर्फबाट उमेदवार टुंगोमा पु¥याउन सफल भएको छ । नेकपाले गण्डकी प्रदेशबाट पार्टीका प्रभाव शाली नेता तथा प्रवक्ता नारायण काजी श्रेष्ठ
‘प्रकाश’ लाई उमेदवार बनाएको छ । दुईवर्षअघि भएको संघीय निर्वाचनमा गोर्खाबाट निर्वाचन हारेका नेतालाई फेरि राष्ट्रिय सभामा लैजानु भनेको अहिलेको राजनीति प्रणाली कै अपमान गर्नु हो । हुनत, नेता नारायणकाजी श्रेष्ठ देशको लागि, संसदको लागि आवश्यक योग्य ब्यक्ति हुन् । त्यसमा कुनै शंका छैन तर नारायणकाजी जस्तो समझदार वुद्धिमान व्यक्ति आफैले बरू उमेदवार बन्दिनँ भनेर भन्नुपर्नेमा अलिकति पनि लाज नमानिकन राष्ट्रियसभामा जाने मात्र हैन अब सरकारको मन्त्रीमण्डलमा समेत जाने घोषणा गरिसकेका छन् ।
संघीय संसदमा राष्ट्रियसभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् । बरू वामदेवले थोरै भए पनि इज्जत जोगाएका छन् भनेर भन्दा दुई मत नहोला । किनभने वामदेवले भनेको कुरा लागू गर्न गराउन सजिलो छैन । प्रतिनिधिसभाको सदस्य मात्र प्रधानमन्त्री हुन पाउने कुरा संविधानमा उल्लेख छ ।अहिले वामदेवलाई प्रधानमन्त्री बनाउनको लागि किन संविधान संशोधन गरेर जान्थे ? कुरा स्पष्ट छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफूलाई प्रधानमन्त्री दिए दुईवर्षमै समाजवाद ल्याउने बताएका छन् । ‘विश्व व्यवस्था र चीन नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दाबी गर्दै आफूलाई २ वर्ष प्रधानमन्त्री बन्न दिएमा झन् छिटो समाजवाद ल्याइदिने ठोकुवा गरेका छन् ।
‘५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुईवर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ’ भनेर नेता गौतमले भनेपछि सहभागीहरू हाँसेका थिए । नेपाली कांग्रेसका अध्यक्ष
कृष्णप्रसाद भट्टराईले २०४६ सालको परिवर्तनपछि नेपाललाई स्विजरल्याण्ड बनाउने कसम खाएका थिए । हो, नेपालले १० बर्षमा चीनलाई जित्ने सपना देख्नुपर्छ तर त्यो कति संभव हुन्छ भन्ने नै हो । तत्कालको लागि अहिले चाहिने भन्दा नचाहिने हावादारी गफ गर्ने नेताहरू भएको हुनाले देशले गति लिन नसकेको हो । साँच्चिकै वामदेवले नेपाल लाई चीनलाई भन्दाबढी धनी र समृद्ध बनाउन सक्छन् भने पूरै संविधान संशोधन गरेर जिम्मा लगाइदिए हुन्छ ।
प्रसंग नम्बर २ उखु किसानको आन्दोलन
जाडो मौसमले सताइरहेको बेला तराईका उखुका किसानहरू आफूले दिएको उखुको भुक्तानी माग गर्दै राजधानीमा छिरेर आन्दोलन गरे । किसानहरू एकसरो लुगा लगाएर काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएपछि बल्ल समस्याको समाधान भएको छ । ५ वर्षदेखि चिनी मिलका मालिकलाई नगदेबालीको रूपमा रहेको करोडौंको उखु उधारो दिए भुक्तानी पटकपटक मागे पनि नपाएपछि बाध्य भएर राजधानी छिरे । माग पूरा नभएसम्म राजधानीमै बस्ने बरू मर्न तयार भएको भनेर उद्घोष गरेपछि सरकारको कानमा बतास लाग्यो । नेपाली जनताको सरकार भनेर प्रचारप्रसार गरेको कारणले पनि यसपटक किसानसँग ५ बुँदै सहमति गरेपछि बल्ल उखुका किसानले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
कृषिप्रधान देशको नामबाट परिचित नेपाल यतिबेला कृषिको हरिबिजोग हुँदै आएको छ ।अहिले पंचायतकालमा जत्तिको कृषि उत्पादन छैन । सुनदेखि तरकारी फलफूल सबै विदेशी किनेर खानुपर्ने अबस्थामा छौँ । तैपनि हामीलाई कृषिप्रधान देश नेपालको नागरिक भनेर गौरव गर्नुपर्ने अवस्था छ । देशमा वामपन्थीको बहुमतको सरकार छ । यस्तोमा पनि नेपाली जनताको सरकार अहिले कृषक ठगिएको भनेर आन्दोलनमा उत्रिनु पर्ने बाध्यता कायमै छ ।समाजवादी विचार बोक्ने युवा घनश्याम भुसाल कृषिमन्त्री छन् । नेपालको राजनीति देखि धेरै कुरामा माहिर मन्त्री भुसालले नेतृत्व गर्ने बेलामा उखु किसानका मागलाई सम्बोधन गरि पठाइएको छ । ५ वर्षदेखि उधारो दिएको उखुको भुक्तानी बल्लतल्ल एकदमै मुश्किलले पाउने भएपछि तराईका किसान खुसी भएर घर फर्किएका छन् ।नेपालमा आन्दोलन हुन्छ अनि सहमति पनि हुन्छ तर दुई पक्षबीच भएको सहमति ब्यबहारिक रूपमा भने कमै मात्र लागु हुने गरेको हुनाले शंका अझै पनि कायमै छ ।
जहिले पनि उखु किसान आन्दोलनमा उत्रिनु पर्ने जुन बाध्यता छ । यसलाई सँधैककालागि हल गर्न जरुरी छ । अबदेखि चिनी उद्योगले एक हातबाट उखु सरकारले निर्धारण गरिदिएको भाउमा दिने अनि भुक्तानी तत्काल लिने परिपाटी बनाउने नीति सरकारले बनाउन जरुरी छ । हैन भने सरकारले आफै जतिपनि उखु उत्पादन हुन्छ त्यो सबै खरिद गरेर चिनी मिल संचालन गर्नु बुद्धिमानी हुनेछ । यसो गर्दा नेपाली कृषकले उखुको मुल्य पनि तत्काल पाउनेनेपाली बजारमा चिनीको हाहाकार पनि नहुने बजार सरकार कै नियन्त्रणमा रहने छ ।
प्रसंग ३ नेपाल भ्रमण वर्ष २०२०
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणागरि २० लाख बिदेशी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखेको छ । सरकारले देशको संघीय राजधानीमा ठूलो तामझामका साथ नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरियो ।साँच्चै पर्यटनको लागि हाम्रो देश नेपाल विश्व कै सुन्दर देशमा पर्छ । विदेशी पर्यटकलाई लोभ्याउने हजारौं मनोरम प्राकृतिक दृश्य हामीसँग छन् । विश्वकै सबैभन्दा अग्ले हिमाल हामीसँगै छ । सरकारले संसारमा नेपाललाई चिनाउनको लागि पनि नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको मात्र छैन यसलाई सफल बनाउन सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफै दिनरात नभनी लागेका छन् ।
यतिबेला नेपालका संघीय सरकार ७ वटा प्रदेश सरकार र ८ सयभन्दा बढी स्थानीय सरकार विद्यमान छ । अहिले हरेक नगरपालिका र गाउँपालिकाले पर्यटन लाई लक्षित गरेर होमस्टे संचालन गराइरहेका छन् । नेपालमा शान्ति सुरक्षा राम्रो भएको कारणले पनि छुट्टिको समयमा रमाइलो गर्न विदेशी पर्यटक नेपाल आउने गरेको तथ्यांक छ ।सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर नयाँ तरङ्ग ल्याउन खोजे पनि त्यसलाई कसरी सफल बनाउने भन्ने योजना बनाउन भने सकेको देखिँदैन । मुख्य गरेर अहिले विदेशी पर्यटक नेपाल भित्र्याउने नाका भनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नै हो ।सरकारले यसलाई दैनिकी २१ घण्टा संचालन हुने गरेर ब्यबस्थापन गरिसकेको छ । तर पनि लक्ष्य अनुसारका पर्यटकलाई भने हामीले नेपालमा आकर्षित गर्न सकेका छैनौंँ ।अहिले पनि राजधानीका सडक अस्तब्यस्त छन् । यसलाई धमाधम रातारात काम गर्न लगाएर भए पनि पूरा गर्न जरुरी छ । पर्यटक बस्ने, रमाइलो गर्ने पर्यटकीय नगरी ठमेलकमा झुन्डिएको लथालिङ्ग तार काट्ने काम भए पनि यसलाई अझै राम्रोसँग व्यवस्थापन गर्न नसक्दा अर्को दुर्घटनाको शिकार हुनुपर्ने अबस्था सुृजना भएको छ ।राजधानी छिर्ने पर्यटक गण्डकी प्रदेशको राजधानी पोखरा, मनाङ, लमजुङ भने मजाले जान्छन् । तर, बागलुङ, पर्वत लगायतका जिल्ला २ प्रतिशत पनि पर्यटक भित्रिदैनन् । बागलुङ लगायतका जिल्लामा सुविधा सम्पन्न होटल तथा लजको ब्यबस्थापन छ भन्ने कुराको प्रचारप्रसार हुन नसकेर पनि यस्तो भएको हो । पर्यटन मन्त्रालयले यसलाई राम्रोसँग व्यवस्थापन गरेर प्रचारप्रसार गर्न सकेको खण्डमा सरकारले राखेको लक्ष्य पूरा हुने थियोे । नेपालले बेच्ने भनेकै पर्यटन हो । अहिले जसले सबैभन्दा बढी पर्यटक भित्र्याउँछ , त्यो देशले सबै बढी आर्थिक उन्नति गर्छ । अब हाम्रो देशमा दुईवटा नयाँ अन्तर्राष्ट्रिय बिमानस्थल बनिरहेको छ भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल अब दुईचार महिना भित्रै संचालनमा आउँदैछ । यसलाई हामीले अधिकतम उपयोग गर्न सकेको खण्डमा नेपालमा हरेक वर्ष २० लाख हैन हरेक प्रदेशमा लाखौं पर्यटक भित्र्याउन सक्ने निश्चित छ ।




