अवैध दोहनविरुद्ध लागेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप (ओमप्रकाश महतो) को क्रुर हत्या भएको छ । आफ्नो खेत रहेको खोलामा भएको अवैध दोहन रोक्ने अभियानमा सक्रिय उनलाई औरही खोलामा टिपर किचेर मारियो । मिथिला–५मा पर्ने श्रीपुर गाउँलाई नै जोखिममा पारेर गरिँदै आएको अवैध उत्खननको विरुद्धमा उनी लामो समयदेखि क्रियाशिल थिए । स्थानीय बसही खोलामा भएको दोहनविरुद्ध उनले अभियान नै चलाएका थिए । इञ्जिनियरिङ पढ्दै गरेका दिलीपसहितको टोलीले संचारकर्मीलाई खोलामै निम्त्याएर भइरहेको दोहनबारे जानकारी पनि गराएका थिए । उनीहरुले प्रहरी नगुहारेका पनि हैनन्,टिपरहरु समातेर बुझाएका पनि हुन् । तर, क्रसर मालिकहरुले प्रशासनलाई नै प्रलोभनमा पारेर आफ्नो धन्दा चलाउँदै गए । गाउँलेहरुलाई धम्क्याउँदै गए । धम्क्याउने सिलसिलामा क्रसर मालिक विपिन महतोले दिलीपका पिता रामजीवन महतोलाई घरमै पुगेर ‘छोरालाई सम्झाएर राख्नुस् नत्र टिपरले किचिदिन्छु’ समेत भने । त्यसो भनेको दुई दिनपछि नै दिलीपको हत्या गरियो । प्रहरीले घटनाको मुचुल्का नै नउठाई हतार–हतार दिलीपको शव उठायो । प्रहरीले आफ्नो भूमिकालाई नै संन्देहपूर्ण बनायो । दिलीप मारिएका छन् । घटनापछि स्थानीयबासी आन्दोलित भएका छन् । माफियाहरुको कतुर्त सार्वजनिक भएको छ । अब दिलीपका हत्याराहरुको पहिचान गरि उनीहरुमाथि कडा कारवाही गर्नुपर्छ । एउटा सामाजिक अभियन्ताको अभाव समाजले महशुस गरिरहँदा हत्यारामाथिको कारवाहीले दिलीपको आत्माले सन्तुष्टी पाउनेछ । यसका अलावा प्राकृतिक श्रोत र साधनमाथि भएको दोहन रोक्नेतर्फ पनि राज्यको ध्यान जानैपर्ने देखिएको छ ।
दिलीपको हत्याले देशभर प्राकृतिक श्रोत र साधनको दोहन भइरहेको तथ्य मात्र सार्वजनिक गरेको छैन, आपराधिक गिरोहको संलग्नताको पनि पुष्टी गरेको छ । यतिबेला मधेशदेखि पहाड र हिमालसम्म नै प्राकृतिक श्रोत–साधनको चरम दोहन भएको छ । माफियाहरुले चुरै सिध्याउँदैछन् । पहाडका खोलाहरु पनि त्यसरी नै दोहन गरिएको छ । यति ठूलो दोहन हुँदा पनि प्रशासनले माफिया गिरोहमाथि कारवाही चलाउन सकेको छैन । बरु, प्रशासन र राजनीतिक नेतृत्व नै त्यही समूहसँग मिलेको छ । राजनीतिक नेतृत्वमा लाग्नेहरु पनि यो धन्दामै छन् । कतिपय ठाउँमा त जनप्रतिनिधिहरु आफै खोलामा डोजर चलाउने धन्दा चलाइरहेका छन् । यसले गर्दा प्राकृतिक श्रोतहरुमा चरम लुट भएको छ । लुटसँगै स्थानीय बस्तीहरु जोखिममा परेका छन् । नागरिकहरुको उठिबास हुने अवस्था आएको छ । चरम लुटलाई बेलैमा रोक्न नसके हाम्रा बस्तीहरु नासिनेछन्, पानीका मुहानहरु सुक्नेछन् । चुरे दोहनले तराईका धेरै ठाउँमा पानीको अभाव देखिइसकेको छ । दोहनको उपक्रम रोकिएन भने देशले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने निश्चित छ । अर्कोतर्फ, दोहनमा सक्रिय समूहलाई कडा कारवाही गर्नेतर्फ पनि राज्यले ध्यान दिनुपर्ने भएको छ । विकासको नाममा गरिने दोहनमा भएको राजनीतिक र प्रशासनिक संलग्नतालाई चिर्दै माफियाहरुविरुद्ध कडा कदम चालिएन भने देश नै आपराधिक मनोवृत्तिका व्यक्तिको हातमा जाने निश्चित छ । अपराधीको जात र धर्म हुँदैन,उनीहरुले आफ्नो र अर्को पनि भन्दैनन् । अहिले संरक्षण गर्नेहरु पनि उनीहरुको कोपभाजनमा पर्न सक्छन् भन्ने बेलैमा बुझ्न जरुरी छ ।

